हारवर्ड, हटडग र एक्लो नेपाली – Janata Live
  • Sunday, February 5, 2023

हारवर्ड, हटडग र एक्लो नेपाली

  • बिपुल सिजापति
  • फागुन १०, २०७५

हारवर्ड, हटडग र एक्लो नेपाली

लाग्छ, पृथ्वीमा पाइने समस्त जातका, समस्त वर्णका, समस्त सभ्यता र संस्कृतिका मानिसहरूको नमुना जम्मा पारिएको यो परीक्षणशाला हो । कुनै दिन प्रलय भएर अमेरिकाबाहेक सबै स्थान ध्वस्त भएमा पनि यहीँबाट पुनः सबै जातका मानिस उत्पादन गर्न सकिन्छ ।

म अहिले समरभिलको एक अपार्टमेन्टमा छु । यताको सेप्टेम्बर महिना, उताको असोज, बाहिर शरदको चिसोचिसो सिर्सिरे हावा त्यता जस्तै यता पनि बहिरहेको छ । यो हावामा एउटा खास मिठास छ, खास आकर्षण छ, खास मोहनी छ, विशेष शक्ति छ । मीठो यो हावाले घर सम्झाउँछ, आकर्षक यो हावाले आत्मियजन सम्झाउँछ, मोहिनी यो हावाले दसैँ सम्झाउँछ, शक्तिशाली यो हावाले देश सम्झाउँछ । यो हावा विश्वको जुनकुनै कुनामा चल्दा जहिले पनि नेपालीका मनमा मधुमास लेराउँछ ।

आजको मेरो उदेश्य साँझको हावा खाँदै एक्लै बरालिएर हारवर्ड घुम्नु हो, ताना शर्माको बेलायततिर बरालिँदाको छोटो अनुभूति गर्ने रहरसहित । मेरी छोरी बसपास दिँदै भन्छे, ‘८९ नम्बरको बस चढ्नु र चढ्नेबित्तिकै नबिर्सिकन टिकट मसिनमा यो छिराउनु । केही भयो भने मलाई फोन गर्नु ।’ उनी सबै कुरा एकै सासमा भन्छिन् । मानौँ म अनुभवहीन अल्लारे केटा हुँ । उनी सानै छँदा मैले यी कुराहरूको प्रशस्त अनुभव योरोपमै गरिसकेको तथ्यलाई उनी नजरअन्दाज गर्छिन् । म यहाँ नौलो छु, उनी यहाँ निक्कै वर्षदेखि बस्दै आएकी छिन् । मेरो सुरक्षाको लागि उनको मनमा चिन्ता छ, उनको मनमा डर छ र उनको मनमा लुकेको वात्सल्य पनि छ । म सोच्दछु, ‘प्रत्येक युवतीझैँ उनी पनि कुनै दिन कसैको पत्नी बन्नेछिन्, कुनै परिवारको बुहारी बन्नेछिन् अनि आमा बनेर गृहस्थी सम्भाल्नेछिन्, एउटा परिवार सम्भाल्नेछिन् । गृहस्थीमा घरकी मूली भएपछि त्यसबखत आफ्ना सन्तती र आफ्ना परिवारजनका लागि चाहिने अति आवश्यक तत्वको रूपमा अविवाहित युवतीको मनमा हिउँ भएर जमेको मातृत्व र वात्सल्यका धुँवा हुन् यी ।’

अपार्टमेन्टबाट निस्कनुअगाडि मेरो हातमा केही डलर थमाउँदा मातृत्वको सल्लाह मेरो कानमा ठोकिन्छ, ‘आफ्नो ख्याल राख्नु, अँ साँच्ची, हारवर्ड स्टेसनमा स्टारबकको कफी असाध्यै मीठो हुन्छ, जाडो लागे पिउनु ।’

म बस बिसौनीतर्फ हिँडदै छु । शरदको हावा चलिरहेको छ, मन दुखाइरहेको छ, आफन्तका सम्झना लेराइरहेको छ, देश सम्झाइरहेको छ । म सडकका दायाँबायाँका प्रतेक चिजवस्तु र प्रत्येक सुविधालाई आफ्ना देशका चिजवस्तु र सुविधासँग तुलना गर्छु, कमीकमजोरी, गर्न सकिने र हुनुपर्ने कुराहरूको सूचि मनमा बनाउँछु र ढिलोचाँडो अवश्य हुन्छ भनेर आफैलाई सान्तवना दिन्छु । बस बिसौनीमा आफैँमा व्यस्त विभिन्न जातिका अनुहार छन् । उनीहरूको लागि म नौलो र अपरिचित मेरो लागि उनीहरू नैलो र अपरिचित । उनीहरू मलाई त्यति ध्यान दिँदैनन् तर म त्यहाँ उभिएका प्रत्येक अनुहारलाई ध्यान दिन्छु । सायद म ती अनुहारमा परिचय खोज्दैछु, नेपाली छाप खोज्दैछु, नेपाली आत्मियता खोज्दैछु र नचिने पनि फिस्स हाँसेर स्वागत गर्ने नेपाली बानी खोज्दैछु । अहँ ! कुनै अनुहारमा त्यो विशुद्ध नेपाली तत्व छैन । फेरि देशको यादले भित्र कतै पोल्छ । म परदेशमा उनीहरू बीच नै छु, एक्लो नेपाली, बस चढ्दा पनि, हारवर्डमा ओर्लदा पनि ।

हारवर्ड शिक्षाको लागि प्रख्यात छ । अमेरिकामा जोन हारवर्डलाई शिक्षाका पिता मानिन्छ । उनैले अमेरिकामा शिक्षाको ज्योति फैलाएका हुनाले उनको नाममा हारवर्ड विश्वविद्यालय स्थापना गरिएको छ । अरू त अरू अमेरिकी पनि यस विश्वविद्यालयबाट स्नातक, स्नाकोत्तर या विद्यावारिधि गरेपश्चात् गौरवान्वित महसुस गर्दछन्, विश्वभरमा सम्मानित हुन्छन् । फेसबुकको सुरुवात यहीका विद्यार्थीहरूको तीक्ष्ण मगजको उपज हो, बाराक ओबामाले दिने प्रभावशाली वक्तव्यमा यसै विश्वविद्यालयको शिक्षा छ । हारवर्ड विश्वविद्यालय परिसरको बीचमा जोन हारवर्डको पूर्णकदको प्रतिमा छ । ‘राजनो देशे पुज्यते, बिध्वान पुज्यते सर्वत्र ।’ म विद्वत् जोन हारवर्डको विशाल प्रतिमाअगाडि उभिन्छु र विद्वतालाई प्रणाम गर्दछु ।

‘ईश्वर तिमीजस्तै दयालु छ, केही खुद्रा पैसा भए पाउ नँ,’ फोहोरी देखिने एक याचक हारवर्ड स्क्वायरमा मेरो सामुन्ने देखा पर्छ । उसलाई देखेर म देवकोटाको माग्ने कविता सम्झन्छु तर उसको लागि तिछरो ‘माग्ने’ शब्द प्रयोग गर्न मेरो विवेकले दिएन । हरेक दिन म प्रत्यक्ष हाडमासुको आत्मासहितका मुर्तिसँग केही न केही मागिरहेको हुन्छु, नभए कल्पित ईश्वरसँग त मागेकै हुन्छु भने म त्यस याचकभन्दा कुनै पनि दृष्टिकोणमा भिन्न छैन । तर उसले याचनाको लागि प्रयोग गरेको वाक्यले मलाई सोच्न बाध्य बनायो, ‘ईश्वर मजस्तै दयालु छ कि म ईश्वरजस्तै दयालु छु ?’ नजिकै चर्चमुनिको चिहानमा लस्करै चिसा ढुंगाहरू छन्, चिहानका मृतआत्मा र मेरो बीच त्यो याचक छ । उसले मलाई ईश्वरझैँ दयालु देखेको छ, उसलाई म ईश्वरझैँ दयालु लागेको छ । ऊ, म र ईश्वर ! हामी तीनै बीच कतै केही समानता छैन र उसको भनाइअनुसार ईश्वर दयालु भएको भए हामीमा समानता हुने थियो, सबैमा समानता हुने थियो । म काठमाडौँ सम्झन्छु, बाटोमा बसेर याचना गरिरहेका याचक सम्झन्छु । उदेक त के लाग्छ भने काठमाडौँमा लगभग सबै याचक नेपाली मूलका भने हुँदैनन् र नेपाली पनि बोल्दैनन् । यहाँ पनि नेपाली कोमल भावनाको कमजोरीलाई आधार बनाई नेपालीलाई ठगिएको छ, सोझोपनको शोषण गरिएको छ । तर यहाँ भने गोरा र काला जातिबाहेक अरू जातकाहरू याचना गरेर बसिरहेका छैनन्, केही न केही काम अवश्य गरिरहेका छन् । यिनीहरू हातखुट्टा र शरीर सद्दे भएका स्थापित अमेरिकी याचक हुन् र उसले मलाई ईश्वरको दयालुपनसँग दाँज्दै भनेको वाक्य केही पैसाको लागि गरिएको चाप्लुसी भएको ठहरमा पुग्छु, । म खल्तीबाट हात निकाल्दिनँ, सोझै अगाडि बढ्छु ।

बस अड्डाको दायाँतर्फ स्टारबकको कफीसप छ । म भित्र जान्छु । भित्र मानिसहरूको राम्रै चहलपहल छ । काफिसपको माथिल्लो भित्ताभरि विभिन्न कफीका प्रकारका सूचि टाँसिएको छ ।

एउटै कफीको यति धेरै प्रकार ! म अनौठो मान्दछु ! अमेरिकामा रेड इन्डियनबाहेक अन्य जातिहरू विश्वका विभिन्न देशबाट बसाइँ सरेर आएका हुन् । सबैका आ–आफ्नै चाहना छ, छनौट छ, रुचि छ, स्वाद छ । त्यसैले कफी मख्खनबरफ, चुरोट, चियाजस्ता दैनिक उपभोग्य वस्तुहरू सबैको छनौट र रोजाइलाई चित्त बुझाउन विभिन्न स्वादका हुन्छन् । नेपालमा पनि कफी उत्पादन हुन्छ तर मैले यहाँ नेपाली कफीको कुनै उत्पादन देखिन, देखएको भए निश्चय नै मेरो छनौटमा नेपाली कफी रोज्दथेँ, नेपाली माटो र नेपाली श्रमलाई आदर गर्न । कफीको बारेमा अनभिज्ञ र अनभ्यस्त म छोरीको सल्लाह मूल्यांकन गर्न रेगुलर कफीको लागि अनुरोध गर्दछु । एउटी आकर्षक केटी २५० मि.लि. कफी ढक्कनसहितको आकर्षक बाक्लो कागजको गिलासमा मेरो लागि प्रस्तुत गर्दै पाँच डलर माग्दछे ।

पाँच डलरसहित उनलाई धन्यवाद टक्र्याउँदै म कफी लिएर बाहिर निस्कन्छु । बाहिर निक्कै चहलपहल छ । हारवर्ड स्क्वायरको होचो पर्खालको डिलमा केही मानिसहरू बसिरहेका छन् । म पनि उनीहरूझैँ पर्खालको डिलमा बस्छु र कफी पिउन थाल्दछु । छोरीले भनेझैँ कफीमा कुनै अतिरिक्त स्वाद पाउँदिनँ । कफीको लागि तिरेको पैसाको उत्पादकत्व खोज्छु, शून्य हात लाग्छ । यसको बदलामा नेपाली कफी पिउँदो हुँ त सायद नेपाली उत्पादन पिएको आधारमा केही आत्म सन्तुष्टि मिल्थ्यो कि ! यो बेस्वादको कफीसँग म वीर अस्पताल छेउमा पाइने चिया दाँज्छु, सतप्रतिशत त्यही मीठो ! म निक्र्यौल निकाल्छु ।

म बसेको स्थानअगाडि चौडा डबली छ र यसको मुनि बस र विद्युतीय सानो रेलको भूमिगत बिसौनी छ । विद्युतीय रेल यो शहरभरि जमिन मुनिमुनि नै चल्छ र बस कताबाट भित्र छिर्दछ र कताबाट निस्कन्छ, यस ठाउँबाट देखिँदैन । एकैपटक भूमिगत अड्डाको माथिल्लो मुखबाट ह्वारह्वार्ति मान्छेहरू निस्किँदा मुनि बस या विद्युतीय रेल आएको अनुमान लगाउन सकिन्छ । म आउने जाने प्रत्येक व्यक्तिलाई तेर्सो आँखा लगाएर नियाल्छु (ठाडो ट्वाल्ट्वाल्ती हेर्नु असभ्यता ठानिन्छ), उनीहरूको भेषभुषा हेर्छु, उनीहरूका हाउभाउ जाँच्छु तर कोही कसैसँग मिल्दैनन् । लाग्छ, पृथ्वीमा पाइने समस्त जातका, समस्त वर्णका, समस्त सभ्यता र संस्कृतिका मानिसहरूको नमुना जम्मा पारिएको यो परीक्षणशाला हो । कुनै दिन प्रलय भएर अमेरिकाबाहेक सबै स्थान ध्वस्त भएमा पनि यहीँबाट पुनः सबै जातका मानिस उत्पादन गर्न सकिन्छ ।

घाम डुब्न लागेको छ । निलो आकाशमा बादलको एक टुक्रा पनि छैन । अगाडि डबलीमा केही चहलपहल सुरु भएको छ । स्प्यानिस र काला जातिका केही युवाहरू ठूल्ठूला स्पिकर भएको म्युजिक सिस्टम जोडजाड गर्दैछन्, । वरिपरिका मान्छेहरू डबलि वरिपरिको पर्खालमा आफ्नो स्थान सुरक्षित गरिहेछन् । कोही मजस्तै एक्ला छन् भने कोही जोडीमा छन् र प्राय युवा जमात नै छन् । सम्भ्रान्त देखिने भिडबाट अलि पर नै बसेर एक–अर्कासँग कुरा गरिरहेछन् तर पनि उनीहरूको आँखा भने डबलीतिरै तेर्सिएको छ । दर्शकको भेषभुषा र लवाइ अत्यन्तै फरक छ । लुगादेखि लिएर शरीरका अंगसमेत फेसनयुक्त छन् । अंगहरू छेडेर विभिन्न अद्भूत आभूषण लगाएका, रंगीचंगी कपाल बनाएका, कपाललाई अनौठो तरिकाले काटेर आकार दिएका र अनौठो बस्त्र लगाएका युवायुवती प्रशस्त छन् । हरेक कुरामा आफूलाई अरूभन्दा भिन्न देखाउन र चर्चित बन्न रुचाउने यी जमातका प्रत्येक व्यक्तिको सोचाइले गर्दा यिनीहरू अनौठो देखिएका छन्, साँच्चिकै अरूभन्दा भिन्न छन् तर कसैको आँखामा यिनीहरूप्रति घृणाको भाव छैन, दूराशय छैन । उत्सुकहरू उत्साहले सोध्छन् र यिनीहरू गर्वका साथ आफ्नो स्वरूपको बारेमा वर्णन गर्छन् । सबैले अरूलाई बाधा नपर्ने गरेर आफ्नो स्वतन्त्रताको उपभोग गरेका छन्, इच्छ्याइएका कुरा लगाएका छन् । यो नै प्रजातन्त्र हो, यो नै विकास हो । तर एउटा निश्चित उचाइमा पुगे पछि जता झरे पनि झर्नु नै हो । कतै स्वतन्त्रता र विकासको पराकाष्टाबाट यिनीहरू झर्दै त छैनन् ?

एउटा गोरो वर्णको केटा स्प्रिङ जडिएको धातुको छडी लिएर आयो । त्यो छडीमा माथि अंग्र्रेजी टि आकारको समात्ने ठाउँ थियो भने बीचमा दुवैतर्फ पाउदान थियो । उसले त्यस स्प्रिङवाला छडीमा उभिएर त्यसको मद्दतबाट हावामा आफूलाई उछाल्दै अनेक करतववाजी देखाउन थाल्यो । डबलीवरिपरि मानिसहरू झुम्मिन थालेका छन् । उसको आश्चर्यजनक करतबमा सबैले ताली बजाएर हौसला प्रदान गर्दैछन् । ऊ बेलाबेलामा करतबमा गरेको सानो त्रुटिमा पनि माफी माग्दै त्यसलाई दोहो¥याएर देखाउँदैछ । आफ्नो कला प्रस्तुत गरेर उसले अगाडीका दर्शकहरु सामु झेकेर अभिवादन ग¥यो । हेर्दाहेर्दै डबलीमा एक स्प्यानिस केटाले बाक्लो कागजको बक्सालाई समतल पारेर बिछ्यायो । अब त्यहाँ दुई आमुन्नेसामुन्ने समूह देखा परे । ती समूहमा केटीहरूको सहभागिता पनि छ । अघि जडान गरिएको म्युजिक सिस्टम बज्न थाल्यो । मेरो दायाँ तर्फको समूहको एउटा केटा आएर अफ्रिकन हिपअप नाच देखाउन सुरु ग¥यो । उसले आफ्नो शरीरलाई हेर्दै अप्ठ्यारा लाग्ने तरिकाले मोडने, हावामा करतवबाजी खाने, टाउकाले टेकेर घुम्ने र शरीरका विभिन्न अंगमा विभिन्न तरिकाका झट्काहरू पारेर देखायो र अन्तमा मेरो बायाँतर्फको समूहलाई विशेष संकेत गरेर चुनौती दियो ।

बायाँतर्फबाट एउटा कालो केटा हावामा तीन चार फन्को पुल्टुङबाजी खाँदै डबलीमा आयो र अघिको केटाले भन्दा अझ अनौठा करतब देखाउन थाल्यो । एकै छिनमा उसलाई एउटी युवतीले साथ दिइन् । दुवैतर्फबाट चुनौती दिने र करतबयुक्त नाच देखाउने यो क्रम निकैबेर चल्यो । अफ्रिकाबाट भित्रिएको यो नाचमा यी केटाकेटीहरु पोख्त छन् । ब्रेक डान्स, हिपअप डान्स, मुन वाक आदि अफ्रिकी देशबाट यहाँ भित्रिए र यहाँबाट विश्व प्रसिद्ध भए । नाच सकिएपश्चात एक युवक उत्तानो टोपी लिएर सबैका सामु घुम्छ । सबैले आफ्नो इच्छाअनुसार मनोरञ्जन बापत सहयोग गर्छन् । म घर फर्किनको लागि उठ्छु । एक छेउमा एकजना इटालियन मूलका व्यक्ति स्प्रे रङहरु र हातको सहायताले अति चाँडो प्राकृतिक दृश्यका चित्रहरू बनाइरहेको छ । उसले आफ्नो पछाडि आफूले बनाएका केही चित्रहरू राखेको छ । उत्सुकहरू उसले बनाएका चित्रहरू ध्यान दिएर हेर्दैछन् र कोही किन्दै पनि छन् । २० डलर मूल्यको त्यो चित्र मेरो लागि महंगा हुन् ।

बसको समय अझै बाँकी भएकोले म हारर्वड बस अड्डाको माथिल्लो तलामा गएर उभिन्छु । मेरो छेउमा फास्टफुडको ठेला लिएर बसेकी मंगोलियन अनुहारकी युवती छे । मंगोलियन अनुहारकी ती युवती मलाई देखेर हाँस्छे, प्रतिउत्तरमा म पनि हाँस्छु । ‘यदि म गलत छैन भने तिमी पक्कै पनि शहर घुमेर थाकेका छौ र भोकाएका पनि छौ । के म गलत छु ?’ उसले मेरो अनुहारमा नजर गढाएर सोधिन् । मैले कुनै उत्तर दिइनँ, हामी दुवैको एक छिनको मौनता पछि उनी भन्छिन्, ‘तिम्रो भोक र थकान मेरो हट डगले मेटिदिने छ, यसमा म मैलै घरैमा बनाएको अति मीठो अचार राखिदिनेछु जसले तिम्रो अनुहारमा प्रसन्नता पनि लेराउनेछ,’ उनी अति नै शालिन तवरले हट डग किन्नको लागि अनुरोध गर्दैर्छिन् । म कुनै प्रतिक्रिया देखाउन्न । ऊ व्यापारमा पोख्त छे, उनका वरिपरि देखिने नयाँ अनुहारका भाव छाम्न सक्षम छे । मेरो शून्य प्रतिक्रियाको सपाट अनुहारका बावजुद पनि ऊ हट डग बेच्न तल्लिन छे, व्यापारको लागि भन्छे, ‘यस शहरमा हटडग त हरेकले बेच्दछन् तर जुन आत्मियता र प्रेमका साथ म आफ्ना ग्राहकहरुलाई हट डग बेच्दछु त्यसमा मलाई गर्व महसुस हुन्छ । मैले बेचेका हट डग एकपटक खाएर जाने हरेक यात्रुले यहाँ मलाई भेट्दा कृतज्ञताका एक मुस्कान अवश्य छाडेर जान्छन्, मानौँ उनीहरूले मेरो हट डग उधारोमा खाएर गएका हुन् । अर्कोपटक तिमीलाई यहाँ भेट्दा म त्यस्तै कृतज्ञताका मुस्कान चाहन्छु ।’
‘अति नै मीठो कुरा गर्दिरहेछौ,’ म भन्छु ।

‘त्यसो भए मैले तिम्रो लागि हटडग तयार गर्नु नै पर्ने भयो,’ उनी मेरो उत्तरको प्रतीक्षाबिना हट डग बनाउन तल्लिन हुन्छिन् । ‘तिमी सायद बिफ (गोरुको मासु) खाँदैनौ होला किनभने तिमी भारतीय मूलका देखिन्छौ,’ उनी मेरो कदकाठी र अनुहारको बनोटको आधारमा अन्दाज लगाउँछिन् । ‘यो पेसामा मैले ग्राहकको रुचि र स्वादको जानकारी राख्नै पर्छ ।’ म उनको कुरा गर्ने शैली, उनको व्यवसायप्रतिको प्रतिबद्धता र ग्राहकलाई एकै छिनमा आफ्ना मीठा कुरामा मुग्ध पारेर हट डग बिक्री गर्न सक्ने क्षमतामा प्रभावित हुन्छु । रबरका पञ्जा लगाएका हात हटडग बनाउन व्यस्त छ, उनले भनेअनुसार हट डग बनाउँदा उनका हातबाट प्रेम पोखिएझैँ लाग्छ, अनुहारबाट आत्मियता छल्किएझैँ लाग्छ । बडो आकर्षक ढंगले लोभ लाग्दो हटडग कागजको रुमालमा बेह्रेर मलाई पेस गर्छिन् र भन्छिन्, ‘मात्र पाँच डलर ।’ म वालेटबाट दश डलर निकाल्छु र उनीतर्फ बढाउँदै हट डग समात्छु । उनको सीप र आत्मीयताकाको सन्मान गर्दै भन्न मन लाग्छ, ‘किप द चेन्ज,’ तर सक्दिन, पाच डलर सेवाशुल्क दिनु मेरो हैसियत भन्दाबाहिरको कुरा हो, सम्झन्छु, एक डलर बराबर अठ्सट्ठी रुपैयाँ । मेरो मनको कुरा ओठसम्म आएर फेरि मनमै फर्किन्छ, बाँकी पैसा फर्किएझैँ ।

तल बस बिसौनीमा म फर्कने बस आएको संकेत देखियो । म बस चढने स्थानमा जान्छु । बस चढ्न तयार सबै लामबद्ध छन् । ८९ नम्बरको बस आएर रोकिन्छ । अगाडि पछाडि दुवैतर्फको ढोका खुल्छ । पछाडिको ढोकाबाट यात्रुहरू निस्कन्छन् । अगाडि ढोकाको पाउदानबाट धातुको ‘पटरी’ बाहिर निस्कन्छ । बस चालक बसभित्रकी अशक्त महिलालाई उनी बसेकी पांग्र्रेकुर्सीसहित सुरक्षित तरिकाले गुडाएर अर्को बस रोकिने स्थानमा लग्छ र त्यस अशक्त महिलालाई केही कुरा सम्झाउँछ । बस चालक आएर आफ्नो चालक कुर्सीमा बस्छ र कुनै बटन थिचेर अघिको पटरी भित्रतर्फ तान्छ ।

बल्ल मजस्तै प्रतिक्षित यात्रुहरु अघिल्लो ढोकाबाट बसमा चढछन्, बसपास भएकाले टिकट मसिनमा छिराउँदैछन्, विद्युतीय पास भएकाले ट्याप गर्दैछन् । पास नभएका टिकट मसिनमा पैसा छिराउँछन् र आफ्नो पासलाई रिचार्ज गराउँछन् । बस चालक बेलाबेलामा यस काममा निर्देशन दिँदै सघाइरहेको पनि छ ।

बस फेरि समरभिलतर्फ गुडेको छ । मेरो हातमा अघिको हट डग छ । मलाई वास्तवमा भोक लागेको छ । म हट डग खान्छु । म जान्दिनँ हट डग मंगोलियन अनुहार भएकी बिक्रेता युवतीले भनेझैँ स्वादिलो हो कि मेरो भोक मीठो तर म रुचाएर हारवर्डको सडकमा गुडिरहेको बसमा बसेर खाँदैछु र आफैँलाई हेर्दैछु, नौलो र अपरिचितहरू बीच हारवर्डमा हट डग खाँदै गरेको एक्लो नेपाली ।

Loading...
Loading...
Loading...