विदेशबाट रेमिट्यान्स पठाएर मात्रै देशको सेवा हुँदैन – Janata Live
  • Sunday, February 5, 2023

विदेशबाट रेमिट्यान्स पठाएर मात्रै देशको सेवा हुँदैन

  • जनता लाइभ
  • फागुन ०४, २०७५

विदेशबाट रेमिट्यान्स पठाएर मात्रै देशको सेवा हुँदैन

भोजपुरको भैंसेपंखा गाउँमा जन्मिएँ । तीन वर्षको उमेरमा बुबा स्वर्गे हुनुभयो । बुबाको अभिभावकत्व गुमेपछि आमाको एकल संरक्षणमा बुबाआमाको स्नेह, संरक्षण र मायाको सम्पूर्णता खोज्दै हुर्किएँ । जिउनका लागि परिवारमा कुनै समस्या थिएन । आर्थिक रूपमा गाउँकै मजबुद थियो हाम्रो परिवार । तर, बुबाको संरक्षणको अभाव हुँदा छोराछोरीले बाल्यकालदेखि नै फरक जिम्मेवारीबोध गर्नुपर्ने रहेछ । अभिभावकत्वका अपूर्णताले मनको अभावलाई भर्न सक्दैन । सायद, समाजमा भएको विभेदको सिंगो उदाहरण हो यो । जसबाट मेरो बाल्यकाल पनि प्रभावित भयो ।

समाजले दिएको एकल परिस्थितिको सामना आमाले गर्दै हुनुहुन्थ्यो । त्यो पीडा मेरो बालक मनोविज्ञानले पनि ठम्यायो सायद । बाल्यकालदेखि नै म गम्भीर प्रकृतिको भएँ । हरेक कामको जिम्मेवारी आफैंले उठाउनुपर्छ भन्ने बोध हुनथाल्यो । बुबा लामा हुनुहुन्थ्यो । गाउँको झैझमेला अनि छरछिमेकमा केही पर्दा बुबाले गर्ने जिम्मेवारी बिस्तारै मैले बोध गर्न थालेछु । १५ वर्षको उमेर हुँदा गाउँमा हुने समस्याको समाधान गर्नुपर्दा गाउँलेहरू मेरो सहायताको लागि आउँथे । सामाजिक व्यवहारको सुरुआत जन्मजात नै भयो मेरो मानसिकतामा । स्कुल पढ्दाताका नै गाउँको व्यवहार मिलाउन थालिसकेको मैले त्यहीँ सत्य बोल्न सिकें । गाउँलेको दुःख आफ्नै जसरी आत्मसात् गर्ने आदत बसिसकेको थियो मलाई । रमाइलो भए सहभागी भएर खुसी बाँड्थें, दुःख परे सँगै रुने बानी परिसकेको थियो । एकप्रकारले भनौं, मैले सामाजिक जीवनको बाटो बाल्यकालदेखि नै रोजिरहेको रहेछु ।

काठमाडौं उपत्यकाभन्दा केही पर, साँखुमा एक सय ७५ रोपनी जग्गा खरिद गरेर अर्गानिक फार्म हाउस सञ्चालनको काम अघि बढाएको छु । गाई फार्म सुरु भएको छ । तरकारी तथा फलफूलका बिरुवा लगाउन थालेका छौं । साँखुको फार्ममा तरकारी, फलफूल खेती, गाई तथा बाख्रापालन गर्ने योजना छ ।

मैले गाउँमै आईएसम्मको अध्ययन गरें । २०४८ सालताका कमाउन विदेश जानेको लहर चलेको थियो । हुन त मेरो परिवारको गुजारा गरिबीको रेखामुनिबाट चल्नुपर्ने बाध्यता थिएन । दाइ पनि हङकङमा पढ्दै हुनुहुन्थ्यो । मलाई त्यतिबेला नै विदेश जाने लहरले तान्यो । एकप्रकारले विदेशको अनुभव पनि सँगाल्ने चाहना भयो । रहरले कहिलेकाहीं आफ्ना निकटको स्नेहलाई त्याग्ने बाध्यता पनि थपिदिँदो रहेछ । म पनि त्यही रहरभित्र गुज्रिँदा आफू हुर्किएको समाजको स्नेहलाई लामो समय टाढा रहेर महसुस मात्रै गर्न सकें । जर्मनी जानका लागि अहिलेजस्तो भिसा आवश्यक थिएन । एयरपोर्ट गएपछि भिसा त्यहीँबाट लाग्थ्यो । मैले त्यो प्रक्रिया बुझें अनि जर्मनी गएँ । जर्मनीमा दस वर्ष लामो बसाइ रह्यो । त्यतिबेला मैले समाजको स्नेह बुझें । परिवारको आवश्यकतालाई पनि चिन्ने भावना अझ जागृत भयो मभित्र । त्योभन्दा बढी युरोपको दु्रत विकासको कारक चिन्ने अवसर मिल्यो मलाई ।

संघर्ष भोगें, दुःख महसुस गरें अनि मेहनतलाई नजिकबाट स्पर्श गर्ने मौका पनि पाएँ । अधिकांश मंगोलियन समाजमा परिवारको अघिल्लो पुस्ताले अपनाएको पेसालाई तन्काउँदै आफ्नो सिर्जनशीलता गुमाउने प्रचलन पुरानो हो । तर, मलाई लाग्छ नयाँ पिँढीले नयाँ जिउने तरिका खोज्नुपर्छ । त्यही नै सिर्जनशीलताको आधार हो । समाजमा नयाँ आविष्कार गर्ने सोच पनि फरक शैलीको जीवन पद्धतिले दिन्छ ।

अर्कोतर्फ विदेशको लामो बसाइले मलाई यो पनि सिकायो कि, रेमिटान्स मात्रै पठाएर देशलाई योगदान दिन सकिँदैन । मैले मेरो नेपाल भनेर गौरव गर्ने हो भने मैले कर्तव्यको पनि पालना गर्न जरुरी छ । पटक पटक यस्तै सोचहरूले गर्दा मेरो मनलाई नेपाल फर्काइरह्यो । आफ्नो देशको मायाले मलाई पलपल लपेटिरह्यो । अन्ततः २०५८ सालमा नेपालमै रहने गरी स्वदेश फर्किएँ ।

नयाँ सोच लिएर नेपाल फर्किएको थिएँ । तर, लामो विदेश बसाइपछि फर्किनेबित्तिकै सोचेजसरी अघि बढ्न नसकिने रहेछ । नेपाल आएपछि केही समय मैले रियल स्टेटको काम गरें । चार पाँच वर्ष बिताएँ, त्यो व्यवसायमा । तर, मेरो चाहना नेपालमै सिर्जना हुने नयाँ कामको थालनी गर्नु थियो । त्यसैले, रियल स्टेटको कारोबारमा मेरो सन्तुष्टि मिलेन । म उत्पादनको नयाँ काम गर्न चाहन्छु, नकि विनिमयको मात्रै ।

मेरो सोचले अहिले बिस्तारै पूर्णता पाउने तयारीमा छ । म उत्पादनको केही हिस्साको हकदार हुन चाहन्थें । नेपालको धर्ती मेरो जन्मभूमि हो अनि कर्मभूमि पनि । यही भूमिमा परिश्रम गरेर सिर्जनाको मोती उब्जाउन चाहन्थें म । त्यही अभियानमा केही साथीहरूको सहयोग लिएर जुटिरहेको छु । म पूर्ण रूपमा अर्गानिक खेती गरेर नेपालमा बढ्दै गएको कृषिमा रसायन प्रयोगकोे मात्रा न्यून गर्दै लैजाने योजनामा छु । त्यसैअनुरूप काठमाडौं उपत्यकाभन्दा केही पर, साँखुमा एक सय ७५ रोपनी जग्गा खरिद गरेर अर्गानिक फार्म हाउस सञ्चालनको काम अघि बढाएको छु । गाई फार्म सुरु भएको छ । तरकारी तथा फलफूलका बिरुवा लगाउन थालेका छौं । सा“खुको फार्ममा तरकारी, फलफूल खेती, गाई तथा बाख्रँपालन गर्ने योजना छ ।

अर्गानिक उब्जनी स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर ती उब्जनी खरिद गर्न केही महँगो पर्छ । तुलनात्मक रूपमा महँगो ठानेर ग्राहकले खरिद नगर्ने हुँदा अर्गानिक खेती गर्ने किसानहरू बिस्तारै निराश हुने अवस्थामा पनि छन् । त्यसैले किसानहरूको प्रोत्साहनको लागि नेपालमा उत्पादित अर्गानिक उब्जनी किसानबाट सिधै खरिद गर्नको लागि बृहत् स्तरको अर्गानिक सपिङ सेन्टर सञ्चालनको तयारीमा पनि रहेका छौं । यो मेरो व्यवसाय मात्रै होइन, नेपालीहरूलाई स्वस्थ राख्ने एउटा पहलको सुरुआत पनि हो ।

अहिले म नेपाल शेर्पा संघको अध्यक्ष छु । मेरो सामाजिक जीवनप्रतिको रुचिको सम्बन्ध हो यो । करिब साढे तीन वर्षयता मैले अध्यक्षको कार्यभार सम्हालिरहेको छु । देश गम्भीर मोडमा छ । राजनीतिक अस्थिरता चुलीमा छ । अर्कोतिर, विभिन्न समुदायका व्यक्तिहरूको आवाज बुलन्द पनि हुँदैछ । संक्रमणकालमा रहेको वर्तमान परिस्थितिमा हामीले पनि देशको नयाँ संविधानमा शेर्पा स्वायत्त प्रदेशको आवाज बुलन्द बनाइरहेका छौं । अर्कोतर्फ शेर्पा समाजमार्फत शेर्पाको राजनीतिक अधिकारको साथै सामाजिक, सांस्कृतिक अधिकार पनि स्थापित गराउनको लागि क्रियाशील रहेको छु । शेर्पा समाजकै पहलमा गरिएको दबाबका कारण ग्याल्बो लोसारलाई सरकारले राष्ट्रिय पर्वको मान्यता दियो ।

तर, अझै पनि शेर्पा समुदाय राज्यबाट धेरै कुरामा ठगिएका छौं । पछिल्लो जनगणनामा नै हाम्रो तथ्याङ्क घटाएर निकालिएको छ । करिब ५ लाखको हाराहारीमा रहेको शेर्पा जातिको संख्यालाई अहिलेको जनगणनाले मात्रै एक लाख १२ हजार नौ सय ४६ जनामा समेटिदिएको छ । हामीले यसको विरुद्ध पनि आवाज उठाइरहेका छौं ।

अर्कोतर्फ शेर्पा जातिको संस्कृति जोगाउन पनि संघमार्फत क्रियाशील भएर लागिरहेको छु । शेर्पा जातिको सांस्कृतिक पहिचान जोगाउनका लागि युवा शेर्पाहरूमाझ छलफल चलाउने, विभिन्न कार्यक्रमहरू पनि सञ्चालन भइरहेको छ । शेर्पा संघ कुनै राजनीतिक समूह होइन । यहाँ जुनसुकै, राजनीतिक आस्था वा विचार बोकेका शेर्पाले पनि स्थान पाउँछन् । विशुद्ध शेर्पा जातिको हितका निम्ति सक्रिय भएर मैले यतिबेला काम गरिरहेको छु । अब, करिब छ महिनापछि मेरो कार्यकाल पनि समाप्त हुँदैछ । यो अवधिमा मैले गरेको कामको मूल्याङ्कन त बाहिर बसेर हेर्नले अझ प्रभावकारी रूपमा गनृ सक्छन् ।

शेर्पा संघको अध्यक्ष भएर काम गर्न पाउनु मेरो ठूलो समाजसेवा गर्ने शौभाग्य हो । मैले सक्ने सम्पूर्ण ताकत लगाएर काम गरिरहेको छु । हुन त समाजसेवा गरुन्जेलको लागि मात्रै हो । आज मसँग केही छ, म सकेको काम गर्छु । बाहिर निस्किँदा यो समाजका हरेक व्यक्तिले सम्मानको भाव प्रकट गर्छन् । तर, भोलि मेरो त्यो समाथ्र्य नहुँदा मेरा विचारसँग सहमत हुने व्यक्तिको पनि अभाव होला । मैले समाजसेवा गरेबापत केही पाउँछु भन्ने आशा पनि राखेको छैन । आफ्नो अवस्थाले भ्याएसम्म समाजको लागि समर्पित हुँदा पाउने आत्मसन्तुष्टिले नै मलाई खुसीसाथ जिउन प्रेरित गरिरहेको छु । सामाजिक प्राणी भएर समाजकै हितमा काम गरेपछि पाइएको आत्मसन्तुष्टि नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो । यसलाई मापन गर्ने कुनै मानक नै हुँदैन ।

पेमा छिरी शेर्पा
पूर्वाअध्यक्ष, नेपाल शेर्पा संघ

-प्रकाशितः २०६९ फागुन १४ सोमबार

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...