नचम्किएका हिराहरु पोलिस गर्दैछु – Janata Live
  • Sunday, February 5, 2023

नचम्किएका हिराहरु पोलिस गर्दैछु

  • जनता लाइभ
  • फागुन ०४, २०७५

नचम्किएका हिराहरु पोलिस गर्दैछु

म हेलम्बुको एक गरिब ह्योल्मो परिवारमा जन्मिएँ । स्कुल जानु घरायसी कामबाट मुक्ति लिनुसरह थियो । दिउँसो स्कुल बिदा हुँदा खाजा खानु सट्टा दाउरा काट्न जान्थें । फर्किंदा एक हातमा किताब र टाउकोमा दाउराको भारी हुन्थ्यो । भैंसी चराउने, घाँस काट्ने त जीविकाको आधार नै थियो ।

त्यही हिमाली काखमा आँखा खोलें मैले । भर्खरै खुलेको थियो, यङ्रिमा स्कुल । अंग्रेजी माध्यममा पढाइ हुने गाउँकै पहिलो स्कुल । त्यही स्कुलको जन्मसँगै पढाइमा हुर्किएँ म पनि । बुबाआमा कमाउन काठमाडौं आउनुभएको थियो । भाइहरू हेर्दै हजुरआमासँग बस्थेँ म । त्यही दुःखभित्र जीवनका सर्टिफिकेट बटुल्दै गएँ । स्कुलको लाइब्रेरीमा भएको ‘डाक्टर नभएमा’ पुस्तक हेर्थें । एउटा पनि स्वास्थ्य केन्द्र नभएको त्यो गाउँका आमाबुबा, दाजुभाइ, दिदीबहिनीलाई उपचार गर्दै गाउँ डुल्थें, छुट्टीका बेला ।

विद्यालयको एक्टिभ छात्र थिएँ । त्यसैले स्कुलकै क्याप्टेन भएको थिएँ । कक्षाकोठाको सरसफाइ जाँचबुझ गर्नु, ढोकामा चाबी लगाए नलगाएको हेर्नु, खानेपानीको व्यवस्था गर्नु मेरो काम हुन्थ्यो । सायद त्यतिबेला अघोषित पियन थिएँ म । विद्यालयका विद्यार्थीहरूको नङ जाँच्नुपथ्र्यो मैले । आफू गोबर सोहोरेर आएको बेला अरूको पनि नङ जाँच्दिनथें । घरबाट लगेको चिउराको फाँको मुखमा हाल्नुअघि गोबरको गन्ध आउँथ्यो । त्यतिबेला सोच्थें, ‘म ठूलो भएपछि गोबर नगन्हाउने औषधिको विकास गर्छु ।’

तर, मलाई डाक्टर बन्नका लागि प्रेरित गरिरहन्थ्यो, गाउँमा हुने स्वास्थ्य समस्याले । डाक्टर नभएमा किताब हेरेर फस्ट एडको कामहरू गर्थें । सिकाइलाई व्यवहारमा उतार्नुपर्छ भन्ने कुरा सायद अञ्जानमै सिकिसकेको थिएँ मैले । मेरो परिवारले त मलाई जसोतसो पढाएका थिए । तर, सँगै पढेका केही साथीहरूले भने बीचबाट नै पढाइ छोडिसकेका थिए । १५ वर्षको थिएँ त्यतिबेला म । छोराछोरीलाई पढाउनुपर्छ भन्ने जान्नका लागि अभिभावकले पनि पढ्नुपर्छ भन्ने लागेर गाउँमा प्रौढकक्षा पनि चलाएँ । आफू पिल्सिएको गरिबीले मलाई सस्तो दरमा ऋण दिने संस्था खोल्नुपर्छ जस्तो लागिरहेको थियो । त्यतिबेला नै हामीले गाउँमै बचत गर्ने र ऋण दिने समूह पनि चलाएका थियौं । साहुबाट महँगो ब्याजदरमा ऋण लिनु नपरोस् भन्ने चाहना थियो मेरो ।

त्यही गाउँले जीवनको सुख दुःख नै मेरो जीवनको सबैभन्दा महत्वपूर्ण आधार हो । त्यही जीवनले मलाई जिउन सिकायो । गाउँले नै सिकायो, साँचो बोल्नका लागि । त्यहींबाट ज्ञान पाएँ । सुख दुःख गर्दै सन् १९९९ मा दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गरें ।

जीवन आफैंमा पुस्तक हो । जति गहिरोसँग आफ्नै जीवनलाई व्यक्तिले बुझ्न सक्छ, उसका अवसरका ढोका पनि खुल्दै जान्छ । मेरो जीवनको मध्यभाग काठमाडौंमा आयो । पहिलो पाठशाला मेरो गाउँ थियो । जहाँ मैले जीवनको आधार पाएँ । गाउँ छोडेर काठमाडौं पढ्न आउँदा मेरो जीवनको साह्रै नरमाइलो क्षण थियो । लाग्थ्यो जीवन सिकाउने स्वर्णिम संसार मबाट बिस्तारै ओझेल पर्दैछ । निकै रोएँ गाउँ छोड्दा । आखिर मेरो पढाइ बढाउने स्थल थिएन र काठमाडौं विकल्प रोज्नु थियो मैले । मेरो स्कुलमा आउने विदेशी स्वयंसेवकहरूबाट ए लेबलको पढाइबारे सुनेको थिएँ । तर, त्यसभित्र हुने खास सिकाइबारे ज्ञान थिएन मलाई । काठमाडौं बानेश्वरमा भएको सानो फर्निचरको भवनमा हामी बस्थ्यौं । बुबाआमालाई पढाइको ज्ञान थिएन । ए लेभल पढ्छु भनें । बुबा र दाइले सोध्नुभयो, ‘के पढ्ने त्यसमा ?’ आफूसँग जवाफ थिएन । ‘अब गएर बुझेपछि था’ हुन्छ भनें । गएर बुझें, अनि कृषि विकास बैंकबाट डेढ लाख रुपियाँ ऋण लिएर ए लेबल पढ्न थालें ।

प्रत्येक बालबालिकामा चम्किन सक्ने खुबी हुन्छ । आफूले काम गरिरहेका एक लाख ८० हजारभन्दा बढी बालबालिकालाई सम्झिन्छु । उनीहरूको क्षमता बुझ्ने प्रयास गर्छु । अनि, उनीहरूभित्र अंकुराउन बाँकी हिराका गुणको भविष्य सम्झिन्छु । अनि, तुलना गरिरहन्छु आफ्नो बाल्यकालसँग ।

ए लेबल पढ्न राजघराना परिवारका विद्यार्थी आउँथें । म थिएँ एक मजदुर शेर्पाको छोरो । आर्थिक तहमा निकै दूरी थियो मसँगै पढ्ने साथीहरूसँग । तर, मैले साथीत्वमा कहिल्यै आर्थिक दूरी पाइनँ । उनीहरू मेरो घर आउन हिचकिचाउँदैनथें । म उनीहरूकोमा गएर कम्प्युटर छुन पाउँदा निकै खुसी पनि हुन्थें । भावनाको सामीप्यतामा अर्थको भूमिका गौण बनिदिन्छ सायद ।

काठमाडौंमा ए लेबल पढे पनि मेरो चाहना स्वास्थ्यकर्मी बन्नुपर्छ भन्ने निरन्तर रहिरहन्थ्यो । स्कुल पढ्दा केही विदेशी स्वयंसेवकहरूसँग पनि काम गरेको थिएँ । उनीहरूसँगको सम्पर्क तथा काठमाडौंका साथीहरूसँग मिलेर कान्ति बाल अस्पतालमा जाने गर्न थालें । बिस्तारै अस्पतालभित्रैको सोसियल एक्सन भोलेन्टियरको सदस्य बनें । कान्ति अस्पताल आउने जाने क्रममा फेरि मैले नेपालको अर्को चित्र पाएँ । जहाँ गरिबीको चरम विन्दु झल्किन्यो । एक साता लगाएर आफ्ना बच्चा ल्याएका आमाबुबा अस्पताल आइपुग्दा रित्तो हुन्थे । उपचार गर्दा गर्दा खर्च सकिएर अस्पतालमै मरेको बच्चा जलाउने पैसासम्म हुँदैनथ्यो उनीहरूसँग । कतिले अस्पतालमै बच्चा छोडेर भाग्थे । उनीहरूको दर्दनाक यथार्थले पटक पटक रुवाउँथ्यो मलाई । कहिले त्यस्ता बच्चाको मलामी पनि बनें त कहिले खर्च जुटाएर पठाउन सहयोग गरें । उनीहरूको पीडा पटक पटक मभित्र बल्झिएको छ । अर्को कहालीलाग्दो जीवनको मर्म त्यतिबेला बुझ्ने मौका पाएँ मैले ।

सन् २००० मा ए लेबलको पढाइ सकियो । २००१ मा नर्वे र डेनमार्क जाने मौका मेरो स्वयंसेवी कामले नै दिलायो मलाई । दुई महिनापछि नेपाल फर्किएँ, फेरि सिंगापुर जाने मौका पाएँ । हार्वर्ड युनिभर्सिटीको एउटा कन्फ्रेन्समा ‘भिलेज हेल्थ वर्कर्स’ को बारेमा गरेको प्रस्तुतिका लागि मलाई अवार्ड पनि मिल्यो ।

त्यही वर्ष मेरो गाउँको मन्दिर जहाँ मैले घाँस दाउरा गरेर पढ्ने अवसर पाएँ, तत्कालीन भूमिगत नेकपा माओवादीले बम राखेर भत्काइदियो । गाउँमा एक वर्ष स्कुल नभए दस वर्षपछाडि धकेलिन्छ । मलाई त्यही महसुस भएर गाउँका विद्यार्थी ल्याएर काठमाडौंमा एसएलसी दिने व्यवस्था ग¥यौं । सन् २००९ मा मेरै पहलमा गाउँको विद्यालय पुनः सञ्चालन गरेका छौं ।

त्यसपछि, सन् २००२ मा हेलेना कोलेन भन्ने अमेरिकी साथीको पहलमा नर्थ अमेरिकन युनिभर्सिटीमा हेल्थ डेभलप्मेन्ट स्टडिजमा पढ्न जाने अवसर मिल्यो । उनीहरूले नै सहयोग जुटाएर मलाई पढ््ने अवसर मिलाएका थिए । स्नातक तह पढ्दै गर्दा उक्त युनिभर्सिटीमा नेपाली विद्यार्थी दुईजना मात्रै रहेछौं । धेरै क्लबहरू थिए त्यहाँ । तर मलाई आफैंले सहयोग गर्ने संस्था खोल्ने चाहना भयो । भोलेन्टरी एक्सन नाम दिएर क्लब खोले । अध्यक्ष थिएँ क्लबको । सुरुमा दसजना साथीहरू थियौ क्लबमा । पहिलो महिना २५ जना, वर्षमा ५ सय हुँदै विद्यार्थीको सहभागिता बढ्दै गयो । निःस्वार्थ सेवाभाव भएको मान्छेले चाहेमा जहाँ पनि उसको सेवाको आवश्यकता खड्किरहेको हुन्छ । मैले पनि त्यही सोचें । अमेरिकाका गरिब समुदायका व्यक्तिहरूलाई सहयोग गर्ने, असहाय, वृद्धका फूलबारी गोडिदिने कामबाट समेत ग¥यौं । त्यही बीचमा मैले भोलेन्टियर एक्सिलेन्सीलगायतका विभिन्न अवार्ड पाएँ । जसबाट युनिभर्सिटिको पनि चर्चा बढ्यो । मलाई माया बढ्यो । मेरो कामबाट प्रभावित भएर युनिभर्सिटीले छिरिङ लामा नर्थ अमेरिकन युनिभर्सिटी छात्रवृत्ति पनि व्यवस्था ग¥यो । हरेक वर्ष बीसजना विद्याथीले उक्त छात्रवृत्ति पाउँछन् ।

अन्ततः पूर्ण छात्रवृत्तिमा मैले पनि त्यही युनिभर्सिटीबाट नै टेलिमेडिसिनमा पीएचडी सकें । सन् २०११ म पीएचडी सकेर आफ्नै देश फर्किएको छु । अहिले च्यालरिज नेपाल संस्थाको नेपाल डाइरेक्टर भएर काम गरिरहेको छु । म बाल्यकाल छँदाका दुःखद अनुभूति अबका बालबालिकाले पाउनु हुँदैन । स्वास्थ्य शिक्षा ग्यारेन्टी हुनुपर्छ भनेर देशको विकट स्थानहरूमा विद्यालयलाई सहयोग गर्ने काम गरिरहेका छौं । धुलिखेल अस्पतालसँग मिलेर टेलिमेडिसिनको विकासमा पनि काम गरिरहेका छौं । हरेक बालबालिकाको जीवनको आधार बाल्यकाल हो, उसले बाल्यकालमा पाउने वातावरणले नै जीवनको आधार निर्माण गरिदिन्छ । हरेक बालबालिका नचम्किएका हिरा हुन् । उनीहरूले वातावरण पाएँ, असली हिरा बनेर चम्किन सक्छन् । अहिले म असली हिरालाई चम्काउने आधार निर्माणमा सघाउन लागिरहेको छु । -डा. छिरिङ लामा
कन्ट्री डाइरेक्टर, च्यालरिज नेपाल

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...