लोभको साँध – Janata Live
  • Friday, February 3, 2023

लोभको साँध

  • नेपाली लोक दन्त्य कथा
  • माघ १९, २०७५

लोभको साँध

एकादेशमा एउटा गाउँमा ९० वर्ष काटिसकेका दुई बूढाबूढी थिए । उनीहरू साह्रै गरीब थिए । एक दिन बूढालाई सेल खान मन लाग्यो र बूढीलाई भन्यो, ‘हेर बूढी ! मलाई साहै्र सेल खान मन लाग्यो । तँ गाउँमा गएर चामल मागेर लेरा । म बजारमा गएर तेल मागेर ल्याउँछु । अनि हामी सेल पकाएर खाउँला।’ यति भनी बूढीलाई उसले चामल माग्न पठायो र आफू तेल माग्न बजारतिर गयो ।

दुवैले अलि–अलि तेल र चामल मागेर ल्याए । सेल खान पाइने भयो भनेर बूढीले खुब खुशी हुँदै सेल पकाउन थाली । जम्मा पाँच वटा सेल पाकेछ ।

त्यसपछि बूढोले भन्यो, ‘हेर बूढी तैंले मलाई मान्नैपर्छ । तँ दुइटा सेल खा, मचाहिं तीन वटा खान्छु ।’
बुढीले भनी, ‘अहँ, हुँदैन, पकाउने म, त्यसो हुनाले म तीन वटा खान्छु, तिमी दुई वटा खाऊ ।’
बूढा, ‘हुँदैन, मैंले रहर गरेर पकाएको म तीन वटा खान्छु, तँ दुई वटा खा ।’

यस्तो गर्दागर्दै दुई बूढाबूढीको झगडा भयो । सेल दुवैले खान सकेनन् । सेल सेलाउँदै गयो । कसले कति खाने भन्ने कुरो नटुङ्गिएकोले बूढाले बूढी सँधै बिहान चाँडै उठ्ने भएकोले एउटा जुक्ति सोचेर बूढीलाई भन्यो, ‘हेर बुढी ! त्यसो भए म एउटा कुरा भन्छु सुन् । यो सेल सन्दुकमा राखेर हामी दुवैजना सुतौं । चाँडो उठ्नेले दुई वटा सेल खाने, ढिलो उठ्नेले तीन वटा खाने है त ? बूढीले पनि हुन्छ भनी । त्यसपछि सेल सन्दुकमा राखेर बूढाबुढी सुते ।

भोलिपल्ट बिहान दुबव बिउँझिन त बिउँझे तर उठूँ भने दुई वटा सेलको फेला पर्ने भएकोले पहिले ऊ उठ्ला र दुइटा सेल उसले खाला अनि म तीन वटा खान्छु भन्ने सोच्दासोच्दै तीन दिन तीन रात बितेपछि पनि दुईमध्ये कोही पनि उठेनन् ।

गाउँले छिमेकीहरूले बूढाबूढीको दैलो नखुलेकोले बूढाबूढी मरेछन् कि क्या हो भन्ने सोचेर दैलो खोली भित्र पसेर हेरे । दुवै बूढाबूढी मरेजस्तो भएर सुतिरहेका थिए । गाउँलेहरूले बूढाबूढी मरेछन् भन्ठानी दुवैलाई एकै टाँडमा बाँधी पाँच जना मलामी भई मसानमा प¥ुयाए । अनि चिता बनाई चितामाथि ती बूढाबूढीलाई सुताई छ्वालीको राँको बालेर पहिले बूढाको शिरमा राँको लगाए ।

बूढालाई राँकोले साह्रै पोल्यो । अनि ऊ ‘आत्थु बाबा ! म दुइटा खान्छु, तैं बूढी तीन वटा घिच् !’ भन्दै जुरुक्क उठ्यो । बूढो उठेको देखी बूढी पनि हाँस्दै, ‘म तीन वटा खान्छु,’ भन्दै जुरमुराउँदै उठी ।
पोल्न लागेका मुर्दाहरू यसरी दुई वटा खान्छु र ती वटा खान्छु भन्दै जुर्मुराउँदै उठेको देखेर अब हामी पाँचै जनालाई मसानमा मुर्दाले खाने भए भनी पाँचै जना मलामीहरूले त्यहाँबाट सुँइकुच्चा ठोके ।

Loading...
Loading...
Loading...

गौतम बुद्धका उत्कृस्ट प्रेरक भनाइ र उपदेशहरू

जिन्दगीमा मौका दिनेवालालाई धोका र धोका दिनेवालालाई मौका कहिले पनि नदिनु आफ्नो दुःख कसैलाई पनि नभन्नु किनकि सबैजना तपाइँसँग खुसी...

ज्याक माका सफलताका १० सुत्र

ज्याक मा अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान ‘ज्याक मा’ एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनले ‘वाण्डा ग्प’का रुवाङ्ग...