लोसार के हो ? – Janata Live
  • Wednesday, February 8, 2023

लोसार के हो ?

  • माघ १५, २०७५

लोसार के हो ?

‘लो’ वा ‘ल्हो’ को शाब्दिक अर्थले एक चक्र भन्ने बुझाउँछ । यसको अर्थ हो, पृथ्वीले सूर्यलाई एक फन्को मा¥यो । चन्द्र पात्रोअनुसार माघ महिनाको शुक्ल पक्षका दिन पृथ्वीले सूर्यलाई एक फन्को मार्छ । यसका लागि पृथ्वीलाई ३ सय ६५ दिन लाग्छ ।

चिनियाँ सभ्यताबाट प्रभावित समुदायभित्र यस दिनलाई ‘लो’, ‘ल्हो’ अर्थात् ‘चक्र पूरा गर्नु’ भनिन्छ । पृथ्वीले पूरा गरेको पुरानो चक्रको बिदाइ र नयाँ चक्रको स्वागत नै कालान्तरमा ‘लोसार’, ‘ल्होछार’ पर्वको रूपमा स्थापित भयो । त्यसैले यसको सम्बन्ध नयाँ वर्षको स्वागत र पुरानो वर्षको बिदाइसँग छ । संस्कृतिविद् अजितमान तामाङ भन्छन्, ‘लोसार पर्व नयाँ वर्षको स्वागत र पुरानो वर्षको बिदाइसँग सम्बन्धित छ, तर यसलाई पर्वको रूपमा मात्रै बुझिनुहुन्न । यसको आफ्नै अर्थ छ, किनकि यो अंकगणितीय विज्ञानसँग नभई तत्व खगोलीय विज्ञानसँग सम्बन्धित छ ।’

यो पर्व मञ्जुश्री र कालचक्र ज्योतिषशास्त्रमा आधारित छ । यसअनुसार प्रत्येक वर्ष लोसार (नयाँ वर्ष) को गणना र नामकरण १२ वटा जनावरहरूको नाम, ५ वटा धातु र २ लिङ्गको आधारमा हुन्छ । ती १२ वटा जनावर मुसा–चिवा, गोरु–लाङ, बाघ–तक, ह्ये–खरायो, मेघ–डुक, सर्प–डुल, घोडा–ता, भेडा–लुक, बाँदर–टे, चरा–च्या, कुकुर–खी र बँदेल–फक हुन् । पाँच धातुमा माटो–स, आगो–मे, काग–सिङ, फलाम–च्या र पानी–छयु पर्छन् । त्यस्तै दुई लिङ्गमा पुरुष–फो र महिला–मो हुन् । जसअनुसार अहिले २१४० छु–मो डुल्लो ल्होसार मान्न लागिएको छ ।

वर्ग, धातु र लिङ्गको आधामा यस वर्षलाई सर्प, जल र महिलाको रूपमा चिनिन्छ । महासचिव शेर्पा भन्छन्, ‘१२ जनावर, ५ धातु र २ लिङ्गको सहायताले ल्होसार (नयाँ वर्ष) लाई एक सय २० वर्षसम्म गणना गर्न सकिन्छ ।’ नेपालमा विशेषगरी हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा, लामा, भोटे, ह्योल्मो, तामाङ र गुरुङले यसलाई पर्वको रूपमा मान्ने गर्छन् । यसबाहेक जापान, चीन, हङकङ, ताइवान, कोरिया, थाइल्यान्ड, भुटानलगायतका मुलुकमा पनि यसलाई धुमधामका साथ मान्ने गरिन्छ । नेपालमा अहिलेसम्म तोला ल्होछार, सोनाम लोसार र ग्याल्पो लोसार गरी तीन प्रकारको लोसार मनाइन्छ । तीनैवटा लोसारका धार्मिक तथा सांस्कृतिक पक्ष एउटै रहे पनि मनाउने मिति भने फरक–फरक छन् ।

गुरुङ समुदायले मनाउने तोला ल्होछार पुस महिनामा पर्छ । सोनाम लोसार माघे संक्रान्तिको बेला पर्छ भने ग्याल्पो लोसार फागुनको सुरुवातमा पर्छ । युवा बुद्धिजीवी सरोजमोहन लामाका अनुसार व्यावहारिक र वैज्ञानिक तरिकाले बुझ्दा ल्होछार अर्थात् नयाँ वर्ष एउटा उत्सव वा चाड हो, जसको कुनै प्रकार वा थरी हुँदैन । उनी भन्छन्, ‘उत्सवको अगाडि केही अर्थ दिने शब्द झुन्ड्याएर वर्गीकरण गरिएको छ, सरसर्ती हेर्दा ल्होछार मान्ने समुदायलाई फुटाऊ र शासन गर भन्ने शाषकको स्वार्थबाट प्रेरित भएजस्तो देखिन्छ । यसो गरिनु ठीक होइन । यसलाई परिमार्जन गरिनुपर्छ ।’

जातिपिच्छेको लोसार

नेपालमा विशेषगरी शेर्पा, लामा, भोटे, ह्योल्मो, तामाङ र गुरुङ समुदायले लोसार पर्व मनाउँछन् । पर्वको धार्मिक तथा सांस्कृतिक पक्ष करिब–करिब एउटैजस्तो देखिए पनि मान्ने तिथि भने फरक छ । विशेषगरी नेपालमा तीनवटा लोसार मान्ने चलन छ । जसलाई सोनाम ल्होछार, ग्याल्पो लोसार र तमु–तोला ल्होछार भनिन्छ ।

तमुर–तोला ल्होछार : मञ्जुश्री ज्योतिषशास्त्रको पात्रोअनुसार तोला ल्होछार प्रत्येक वर्षको एघारौं महिना अर्थात् पुस महिनामा पर्छ । प्राकृतिक रूपमा सूर्य उत्तर दिशा फर्कने, रूख बिरुवाको नयाँ पालुवा फेरिने मात्र नभई यही दिनबाट नै रात छोटो र दिन लामो हुनेलगायतका परिवर्तन देखिने भएकाले यसैलाई नयाँ वर्षको रूपमा मान्ने चलन छ । यो ल्होछार विशेषगरी गुरुङ तथा पश्चिम नेपालको हुम्ला र जुम्लाका केही समुदायले मान्छन् । नेपालका गुरुङ समुदायले यो पर्व २०४९ सालपछि मात्रै सूर्य-सौर्य पात्रोको सौरमास पुस १५ गतेका दिनलाई तमु-तोला ल्होछार भनी मान्ने गरेका हुन् । युवा बुद्धिजीवी लामाका अनुसार यो पात्रो वि.सं. पात्रो अर्थात् भारतीय खगोल तथा ज्योतिषशास्त्रीय पात्रोमा आधारित छ ।

सोनाम लोसार : मञ्जुश्री खगोल शास्त्रीय पात्रोअनुसार सोनाम ल्होसार प्रत्येक वर्ष बाह्रौं महिनाको पहिलो दिनबाट सुरु हुन्छ । कालचक्र ज्योतिषशास्त्रमा माघे संक्रान्तिबाट नै खेतीपातीका नयाँ काम सुरु हुने भएकोले किसानहरू यसलाई नयाँ साल (लोसार) को रूपमा मनाउँछन् । त्यसैले यसलाई किसान लोसार पनि भनिन्छ । विशेषगरी यो लोसार तामाङ र ह्योल्मो समुदायले मनाउँछन् ।

यो माघ शुक्ल पक्षका दिन पर्छ । युवा बुद्धिजीवी सरोजमोहन लामाका अनुसार तामाङहरूमै पनि यस अगाडि कसैले सोनाम त कसैले ग्याल्पो भनी छुट्टाछुट्टै तिथिमितिमा लोसार मान्दै आएका थिए, तर यी विवादहरू अब कम हुँदै गएका छन् । उनी भन्छन्, ‘यो तामाङ समुदाय र लोसार मान्ने सबै समुदायका लागि खुसिको कुरा हो ।’

यसै दिन यो पर्व नेपाललगायत चीन, मंगोलिया, जापान, थाइल्यान्ड, कोरिया, बर्मा, थाइल्यान्ड, भियतनाम, मलेसिया, इन्डोनेसिया, सिंगापुर, फिलिपिन्स, भुटान, भारतको सिक्किम, दार्जिलिङ, गान्दोक, ताइवान, लाओसलगायतका अन्तर्राष्ट्रिय जगत्मा पनि मानिन्छ ।

ग्याल्पो लोसार : यो लोसार कुन ज्योतिषशास्त्रमा आधारित छ भन्ने यकिन छैन । यद्यपि हिमाली आदिवासीको पात्रो (धातु) अनुसार नयाँ वर्षको पहिलो दिनलाई लोसारको रूपमा मनाएको देखिन्छ । युवा बुद्धिजीवी लामाका अनुसार यो पर्व शेर्पा र तिब्बतियन समुदायले मञ्जुश्री पात्रोकै आधारमा मनाउँछन् । तिब्बतमा भने चन्द्र पात्रोअनुसार २१४६ औं तिथिमा फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुन्छ, उनीहरू यस दिनलाई उत्सवका रूपमा लिन्छन् । यसलाई ग्याल्पो लोसार भनिन्छ । उनका अनुसार कुनै बेला सोनाम र ग्याल्पो लोसार एकै तिथिमितिमा पनि पर्छन् । यसो हुनुको कारणबारे लामा भन्छन्, ‘तिब्बतमा प्रचलनमा रहेको चन्द्र पात्रोमा अधिकमास जोडिएको वर्ष सो पर्व एकै दिन वा तिथिमितिमा हुन्छ, भने नजोडिएको वर्ष हुँदैन ।

यस पर्वबारे थप जानकारी दिँदै उनी भन्छन्, ‘करिब १३ औं शताब्दीपछि मात्र तिब्बतमा ग्याल्पो लोसार भनी लोसार मान्न थालिएको थियो, त्यसभन्दा अगाडि ग्याल्पो नाम नजोडीकनै लोसार मानिन्थ्यो भन्ने भनाइ पनि सुन्नमा आएको छ । त्यस्तै करिब इस्वी सन् १२२३ तिर मंगोल राजा जेंगिज खाँले तिब्बतको सिउँ प्रान्तमा आक्रमण गरी विजय प्राप्त गरेँ । युद्धका कारण लोसार परेको तिथिमितिमा मनाउन नपाएका जनतालाई मनाउ भनी राजाले आदेश दिए । जनता खुसी भएर सम्मानस्वरूप त्यही दिनलाई ग्याल्पो (तिब्बती भाषामा राजलाई ग्याल्पो भनिन्छ) लोसार भनी राजको नाम जोडी ग्याल्पो शब्द प्रचलनमा आएको हो ।’

Loading...
Loading...
Loading...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

काठमाडौं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा...

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको...