लोसार : कुन समयमा ठीक ? – Janata Live
  • Wednesday, February 8, 2023

लोसार : कुन समयमा ठीक ?

  • खेन्पो ङवाङ वोशेर
  • माघ ०४, २०७५

लोसार : कुन समयमा ठीक ?

अज्ञानतावश आफ्ना सन्तानको भविष्य बिगार्नु हुन्न् । किनभने बच्चा जवान भएपछि विवाह गर्दा, घर बनाउँदा, व्यापार तथा देश विदेशको यात्रा गर्दा ‘चि’ (ज्योतिषशास्त्रको) आधारमा गर्नुपर्ने हुन्छ । त्यसबेला गलत तिथि मितिको आधारमा ‘चि’ हेराउँदा गलत सन्देश गई बच्चाले दुःख पाउँछ ।

यसअघिको शासन व्यवस्थामा एक देश, एक भेष र एक धर्मको कारणले धर्म संस्कृतिदेखि विमुख भएका नेपालका आदिवासी जनजातिहरू भेषभूषाविहीन सुन्दरीजस्तै भएका छन् । अतिशयोक्ति नहोस् त्यसलाई पहिचान गरी सिङ्गार पटार गरी सजाउने क्रममा तिम्रो राम्रो र मेरो राम्रोको द्वन्द्वात्मक प्रतिस्पर्धा चलेको आभास हुन्छ । आदिवासी जनजाति समुदायमा उदाहरणार्थ ल्होसारलाई लिन सकिन्छ ।

‘लो’ भनेको वर्ष(साल र ‘सार’ भनेको नयाँ हो भन्ने कुरा सर्वविदितै होला । आर्थत् वर्तमान साल समाप्त भई आउन लागेको नयाँ सालको स्वागत गर्ने कार्यक्रम हो, लोसार । केको आधारमा यो कुरा गर्ने आँट गरेको हो भन्दा खगोलशास्त्रको आधारमा । कसरी ? खगोलशास्त्रअनुसार सूर्य ६ महिना उत्तर दिशातिर लाग्दै ६ महिना दक्षिण दिशातिर झरेर पृथ्विलाई एकचक्र लगाएपछि एक वर्ष पूरा हुन्छ । ज्योतिषशास्त्रको भाषामा यसलाई उत्तरायण र दक्षिणायन भनिन्छ । यसरी सूर्यको र अमन पूरा भएको वर्षगाँठमा लोसार मनाइन्छ । खगोलशास्त्रअनुसार यस सालको नयाँ वर्ष गत महिनाको पुस ७ गते तदनुसार डिसेम्बरमा ङिमालोकुक (सूर्य उत्तर फर्किने) दिन भनी उल्लेख गरेको पाइन्छ । पहिलो तोला लोसार ज्योतिषशास्त्रको नजिक बसेर मनाइएको हो भन्न सकिन्छ । दोस्रो सोनाम लोसार हो । यसको लगन गत पुस २८ मा परेको थियो । त्यस तिथिमा सोनाम लोसारहरूले कार्यक्रम गर्नुपथ्र्यो ।

सूर्य उत्तर फर्केको लोसार लागेको करिब २ महिनापछि ग्याल्बो लोसारको पालो आउन लागेको छ । त्यसको स्वागतका लागि यस परम्पराका अनुयायीहरू अहिले कम्मर कसेर लागिपरेका छन् । आश्चर्यजनक कुरा के छ भने खगोलशास्त्रमा तोला लोसार उपल्लो जातिले मनाइने चाड सोनाम लोसार कृषकले मान्ने चाड र ग्याल्लो लोसार ठूलाबडाले मनाइने चाड भनी उल्लेख गरेको कहीं पनि पाइँदैन । तैपनि ल्होसार अनुयायीहरूले आ–आफ्ना अनुकूलता हेरेर न्वारान गरेको आभास हुन्छ ।

लोसार लागेर २ महिना बितिसक्दा पनि हाम्रो समुदायको विचारमा लोसार कार्यक्रम नहुन्जेलसम्म नयाँ वर्ष लोसार लागेको मान्नु हुन्न । गत पुस ७ पछि जन्मेका बच्चाहरू स्वतः फाग्लो (सुंगुर नयाँ वर्ष) मा प्रवेश गरिसके, तर अभिभावकको विचारमा बच्चा त फाग्लोमा जन्मेको सम्झिन्छ । अर्थात् उसको विचारमा अझै फाग्लोे गएको छैन भन्न सकिन्छ । यहाँ मैले के भन्न खोजेका के भने पलपल समयको आफ्नै महत्व हुन्छ । त्यसैले खाने, बियर पिएर रमाइलो गर्ने कुरा ठूलो होइन । त्यो त जुन बेला गरे पनि हुन्छ । अज्ञानतावश आफ्ना सन्तानको भविष्य बिगार्नु हुन्न । किनभने बच्चा जवान भएपछि विवाह गर्दा घर बनाउँदा व्यापार तथा देश विदेशको यात्रा गर्दा ‘चि’ (ज्योतिषशास्त्रको) आधारमा गर्नुपर्ने हुन्छ । त्यस बेला गलत तिथि मितिको आधारमा ‘चि’ हेराउँदा गलत सन्देश गई बच्चाले दुःख पाउँछ । त्यस्तो नहोस् यो कुरा सबैले आत्मसात् गरुन् भन्ने मेरो आशय हो ।

यस्तो स्थिति हुनुमा को दोषी भनी परीक्षण गर्दा प्रथममा हाम्रो समुदाय नै दोष देखिन्छ । कारण हाम्रो समाजले मञ्जुश्री भाषित खगोलशास्त्रअनुसार विभिन्न जीवजन्तुलाई प्रतिनिधित्व गराई १२ वटा वर्ष भएको र त्यसमध्येको जेठो च्यिलो (मुसा वर्ष) हो । एक वर्षमा १२ महिना हुन्छ त्यसमध्येको जेठो ताग्दावा (बाघ महिना) हो । पुस महिनामा सूर्यको गति उत्तरतिर प्रवेश गर्दा बाघ महिना (ताग्दावा) लाग्न सुरु हुन्छ । तत्सम्बन्धी ज्ञातासँग सोधपुछ गरी त्यस विषयमा ज्ञान आर्जन नगर्दा समय पहिचान हुन नसकी उपयुक्त समयमा लोसार मान्न नसकेको देखिन्छ ।

अन्ततः हाम्रो समुदायमा मनाइरहेको लोसार कार्यक्रमहरू लोसारको शुभ घडीमा गरेको पर्वोत्सव नभए पनि लोसारको शुभ उपलक्ष्यमा हर्ष बढाइँ गर्न गरेको कार्यक्रम हो भन्न सकिन्छ । माथि बताएझैं सूर्यले पृथ्वीमण्डललाई एक चक्र लगाई पुनः उत्तरको नयाँ यानाको शुभ आरम्भ गरेको जस्तै हामीले पनि ३६५ दिनको उकाली ओराली ठूलो लोसारको तिथिमिति यथावत् मान्ने गर्नु हो । नयाँ जिन्दगीको नवीकरण गरेको हुन्छ । हामी मानिसहरू मात्र नभई चरा चुरुङ्गीहरू पनि नाच्दै गाउँदै गुड बनाउन थाल्छन् । जमिनको कीरा फट्याङ्ग्रा र नाग नागिनीहरू एक ठाउँबाट अर्को ठाउँमा सर्छन् । रूख बिरुवाहरूले काँचुली फेर्न सुरु गर्छन । यसरी भौगोलिक जीवजन्तु सबै परिवर्तन भइरहेको हुन्छ ।

यस अवसरमा विगतको वर्षमा राम्रो नराम्रो जे भए पनि अब आउने वर्ष सौहाद्र्रमय वातावरणमा बितोस् । दुःख बिमारी नहोस् । सुस्वास्थ्य र निरोगी होस् । सबैतिर सुख शान्ति फैलियोस् भनी शुभकामना गरी जान लागेको वर्षको बिदाइ र आउन लागेको नयाँ वर्षको स्वागत गर्ने गरिन्छ । शुभकामना आदानप्रदान गर्दै जति सक्दो मिठो र पोसिलो खानपानको व्यवस्था गर्ने, राम्रो लुगा र गहनापातले सिङ्गारपटार गरी बेहुला र बेहुली जसरी सजिएर ४/५ दिनसम्म दिन–रात गएको थाहा नै नपाउने गरी मनोरञ्जन गर्ने तथा विभिन्न कार्यक्रम आयोजना गरी रमाइलो गर्ने गरिन्छ । लोसारमा मासका साथै विभिन्न पञ्चरङ्गी–विरङ्गी बौद्ध झन्डाहरू आकाश नै ढाक्ने गरी फरफराउँदै गोन्पाको आँगनमा पंक्तिबद्ध लोसारकर्मीहरू हातहातमा सातुको पिठो लिएर ‘किकि सोसो ल्हागेल्लो’ र देवताको जय मारको पराजयको नारा लगाउँदै शुभसंकेतस्वरूप आकाशतिर पिठो छरेर हर्षोल्लास मनाउने गरिन्छ । त्यसपछि भेला भएका किशोर किशोरी र बूढाबूढी सबै आफ्नै पाराको नाचगान र स्याब्रुको नाचमा झुम्मिँदै अर्को सालको ल्होसार नआउन्जेलसम्म लोसारको झझल्को नमेट्नेगरी बेसरी रमाइलो गर्ने गर्दछन् ।

Loading...
Loading...
Loading...