कलिला मस्तिष्कमा त्रासदीका विम्ब – Janata Live
  • Saturday, February 4, 2023

कलिला मस्तिष्कमा त्रासदीका विम्ब

  • जनता लाइभ
  • पुष २८, २०७५

कलिला मस्तिष्कमा त्रासदीका विम्ब

अनुशासन व्यवस्थापन कि सजाय ?
जब तपाईं कुनै गेटभित्र प्रवेश गर्नुहुन्छ, लगभग सबैको हातहातमा वाकीटकी सेट देख्नुहुन्छ । उनीहरू त्यसैबाट सूचना पनि आदानप्रदान गरिरहेका छन् । आफू कहाँ प्रवेश गरेको अनुभूति गर्नुहुन्छ ? अवश्य पनि कुनै सैन्य शिविर या त्यस्तै कुनै सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र ।

तर होइन । यो दृश्य राजधानीको ललितपुर सातदोबाटोस्थित युनाइटेड स्कुलको हो । खास गरेर बालबालिका अध्ययन गर्ने विद्यालय क्षेत्रभित्र यस किसिमको संयन्त्र कति आवश्यक छ ? विद्यालय क्षेत्रभित्र यस किसिमको अनुमति दिनु ठीक छ कि छैन ? सरोकारवाला निकाय कत्तिको जानकार छन् ? यस्ता प्रश्नमाथि जिम्मेवार निकायमै बहस हुनु जरुरी देखिएको छ ।

अनुशासनका निम्ति निजी विद्यालयहरूले डिआई, डिसीजस्ता संरचना वा अंग नै निर्माण गरेका हुन्छन् । उनीहरूको खास काम विद्यार्थीहरू डिआईसँग डराऊन् र खास किसिमको अनुशासनमा बसून् भन्ने नै हो । पछिल्लो समयमा निजी विद्यालयप्रति अभिभावकको पूर्ण विश्वास देखिन्छ । यसका धेरै पाटा होलान् । त्यसमध्ये विद्यालयहरूले पालना गरिरहेको अनुशासन कायम गर्ने पद्धति हो । तर, अभिभावकले आफ्ना बालबालिका कस्तो मनोविज्ञानमा हुर्किरहेका छन् भन्ने विषयमा खासै वास्ता गरेको पाइएको छैन ।

भानुभक्त मेमोरियल स्कुलका प्रिन्सिपल बमबहादुर मोक्तान भन्छन्, ‘धेरै अनुसन्धानबाट प्राप्त निष्कर्षहरूले यो बताएका छन् कि विद्यालयमा विद्यार्थी रमाएर जाने स्थिति पैदा भए मात्र उनीहरूले राम्ररी सिक्न सक्छन् । नत्र ठीक विपरीत असर पर्न जान्छ ।’

विज्ञहरूको मत छ, ‘यदि विद्यालयमा बालबालिकाहरूको मनोविज्ञानमा डर पैदा गर्ने कुनै किसिमको सामान्य पनि गतिविधि मात्रै भयो भने पनि उनीहरूको सिकाइमा आधा कमी आउँछ ।’ कतै कतै यसलाई ‘डिसिप्लेन इन्चार्ज’ पनि भनिन्छ । कसैले ‘डिसिप्लिन काउन्सिलर’ भन्छन्, कसैले डिसिप्लिन इन्चार्ज ।

उनीहरू खासमा शिक्षक होइनन् । उनीहरूको विशेष जिम्मेवारी भनेकै विद्यार्थीहरूलाई पाइला–पाइलामा डर पैदा गरिराख्ने हो ।

अविनाश खड्गी युनाइटेड स्कुलमा कक्ष ६ मा पढ्छन् । उनी १२ वर्षका भए । उनी भन्छन्, ‘हाम्रो स्कुलमा सरहरूले खासै पिट्नुहुन्न, कराउनुहुन्छ । बदमासी गरेको खण्डमा दुईगुणा होमवर्क गराउनुहुन्छ । अनि फेरि बदमासी गरियो भने १० पटक ‘पुस अप’ गराउनुहुन्छ । अति गरियो भने कहिलेकाहीँ हातले पिट्नुहुन्छ तर त्यति साह्रो भने हैन ।’

पुस अप ! स्कुलमा यो कस्तो किसिमको सजाय हो । तैपनि विद्यार्थीहरू पनि डिसीको यस सजायसँग परिचित नै छन् । परिचित मात्र छैनन्, अभ्यस्त पनि छन् । हुन त विद्यार्थीहरूको चाप धेरै भएका स्कुलहरूमा अनुशासन कायम राख्नु चुनौतीपूर्ण नै हुन्छ । तर पनि हाम्रो शिक्षा क्षेत्रमा भइरहेका यस किसिमको अनुशासन व्यवस्थापनका निम्ति विभिन्न कार्य भई नै रहेका छन् ।

पछिल्लो समयमा निजी विद्यालयप्रति अभिभावकको पूर्ण विश्वास देखिन्छ । यसका धेरै पाटा होलान् । त्यसमध्ये विद्यालयहरूले पालना गरिरहेको अनुशासन कायम गर्ने पद्धति हो । तर, अभिभावकले आफ्ना बालबालिका कस्तो मनोविज्ञानमा हुर्किरहेका छन् भन्ने विषयमा खासै वास्ता गरेको पाइएको छैन ।

‘हामीले हरेक कुराको नियम बनाएका छौं । हप्तामा एक दिन कक्षा शिक्षकले त्यो चेक गर्नुहुन्छ । स्कुलमा भएका खराब गतिविधिहरूका लागि चाहिँ हामीकहाँ डिसिप्लेन काउन्सिलर हुनुहुन्छ,’ युनाइटेड स्कुलका प्रिन्सिपल कुलदीप न्यौपाने भन्छन्, ‘हाम्रोमा बच्चाहरूलाई ‘नो टच’ भन्ने छ । यदि उनीहरूले बदमासी गरेको खण्डमा हामी ‘डबल वर्क’को सजाय दिन्छौं । त्यसपछि पनि भएन भने ‘पुस अप’ गराउँछौं । त्यसपछि पनि भएन भने हामी परिवारलाई बोलाउँछौं ।’

गौशालाको व्यस्त चोकको एउटा कुनो छ । चोकबाट रातोपुल हुँदै जाने सवारीको आवाजको बिसौनी स्कुलको मूल ढोकामै छ । त्यही हल्लाको भुमरीभित्र छ मंगलादेवी माध्यामिक विद्यालय । धेरैलाई त्यहाँ विद्यालय रहेको कुराको खासै हेक्कासमेत हुँदैन । किनकि निजी विद्यालयको जस्तो गेट छैन । जग्गेझैं सिँगारिएको छैन । ठूलो बोर्डलगायत अन्य तामझाम छैन । पछिल्लो समय काण्ठमाडौंका सरकारी विद्यालय मौनझैं लाग्छन् । यसका पछाडि थुप्रै कारण छन् । निजीप्रतिको आकर्षणले सरकारी विद्यालयबाट बालसुलभ होहल्ला र उत्साह नै खोसेर लगेको अनुभूति हुन्छ ।

मंगलादेवी माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्छिन्– गौरता कटवाल, १३ । गौरीघाटमा दाजु–भाउजूकोमा बस्ने उनी घरेलु कामदार हुन् । उनको घर भने उदयपुर आमावासी हो । उनी सुनाउँछिन्, ‘कहिलेकाहीँ स्कुलमा पढाइ हुन्न । तर धेरैजसो भने हुन्छ । ढिलो आउँदा र बदमासी गर्दा सर तथा मिसले कराउनुहुन्छ । कहिलेकाहीँ थोरै पिट्नुहुन्छ । मायाले पिटेजस्तो लाग्छ मलाई त ।’

पछिल्ला वर्षहरूमा काठमाडौंका सरकारी विद्यालय घरेलु कामदार र आयस्रोत कम हुने अभिभावकका छोराछोरी मात्र पढ्ने विद्यालयमा परिणत भएका छन् । मंगलादेवी माविका प्रधानाध्यापक कृष्णराज कट्टेल भन्छन्, ‘हाम्रो विद्यालयमा ८० देखि ९० प्रतिशत विद्यार्थी घरेलु कामदार छन् ।’ जम्मा २६५ जना विद्यार्थी रहेको विद्यालयमा लगभगजसो विद्यार्थी तिनै हुन् । ‘एक त त्यति विद्यार्थी छन्, त्यसमाथि कडाइ गरियो भने त्यो संख्या पनि घट्न जान्छ,’ उनी भन्छन् ।
हुन त आजभोलि सरकारी विद्यालय सजाय नै नदिइने विद्यालय भनेर चिनिन्छन् । भौतिकरूपले कारबाही गर्नुभन्दा विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप, योगा, परामर्शलगायत तरिका अपनाएर उनीहरूलाई सही ठाउँमा ल्याउन सकिन्छ ।

प्रशान्त श्रेष्ठ मंगलादेवी माध्यामिक विद्यालयका कक्षा ८ का विद्यार्थी हुन् । उनी भन्छन्, ‘हाम्रो विद्यालय अलि फ्री छ । कहिलेकाहीँ हल्लाले गर्दा क्लास नै अवरुद्ध हुन्छ तर पनि सरहरूले कराउनु मात्र हुन्छ । कहिलेकाहीँ मात्र पिट्नुहुन्छ धेरै गरे । पिट्दा पनि त्यति सारो भने पिट्नुहुन्न ।’ सरकारी विद्यालयले पछिल्लो समय काठमाडौंमा यस्तै स्थिति भोग्नुपरिरहेको छ । अनुशासनका गतिविधि उनीहरूको लगभग एकै तरिकाले चलिरहेको स्पष्ट हुन्छ ।

सरकारी विद्यालयले अनुशासनको दायरा तोकेको पाइँदैन । निजी विद्यालयले भने चरण नै तोकेको पाइन्छ । यस्तै चरण राजधानीको पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलमा भेटिन्छ । निकै नै व्यस्त विद्यालयमध्ये राजधानीको एउटा विद्यालय हो यो । प्रिन्सिपल बमबहादुर मोक्तान भन्छन्, ‘हाम्रोमा डिसिप्लिन कमिटी नै छ । हामी तीन तहमा अनुशासनलाई व्यवस्थापन गर्छौं ।’ यसै विद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने विनायक ढोडारी भन्छन्, ‘डिआई अनुप सर हुनुहुन्छ । अति भएपछि मात्र चार्ज गर्नुहुन्छ । सुरुमा त सम्झाउनुहुन्छ त्यसपछि मात्र चार्ज गर्नुहुन्छ ।’ तीन तहअन्तर्गत सुरुमा सम्झाउने । त्यसपछि पनि भएन भने १÷२ दिनलाई सस्पेन्ड गर्छौं । त्यस पनि भएन भने हामी अभिभावक बोलाउँछौं ।’ उनी आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘पहिला–पहिला लठ्ठी हान्ने चलन थियो । म पनि हान्थेँ । आजकाल समय फेरिइसक्यो ।’

अनुशासन आवश्यक छ । समाज व्यवस्थापनका निम्ति पनि । तर त्यसो भनेर बालबालिकाहरूको सिकाइमा असर गर्ने गरेर अनुशासनका नाममा त्रास पैदा गर्नु भने हुँदैन । मोक्तान भन्छन्, ‘धेरै अनुसन्धानबाट प्राप्त निष्कर्षहरूले यो बताएका छन् कि विद्यालयमा विद्यार्थी रमाएर जाने स्थिति पैदा भए मात्र उनीहरूले राम्ररी सिक्न सक्छन् । नत्र भए ठीक विपरीत असर पर्न जान्छ ।’

भानुभक्त मेमोरियल स्कुलका उत्सव न्यौपाने कक्षा १० मा अध्ययन गर्छन् । उनी भन्छन्, ‘सरहरूले हामीलाई बाटो देखाउनुहुन्छ । कहिलेकाहीँ बदमासी गरे अलिअलि पिट्नु पनि हुन्छ ।’
प्रिन्सिपल मोक्तान भन्छन्, ‘हामी आजकाल मनोवैज्ञानिक रूपान्तरणको प्रयास गर्छौं, कुनै भौतिक गतिविधि गर्दैनौं ।’

कुरा बाझिन्छन्, व्यवस्थापन र विद्यार्थीबीचमा । विद्यार्थीलाई सजाय पनि ठीकै हो भन्ने अनुभूत गराउन सफल भएका छन् । तर पनि त्यसले दीर्घकालीन रूपमा सामाजिक र मनोवैज्ञानिक असर भने पारिरहेको हुन्छ नै । त्यस सम्बन्धमा सरोकारवालाहरूले नै हेक्का राखेको भने पाइँदैन ।

कुट्न नपाउने भए रिस नउठ्ने औषधि दिनुस् !
बालापन निश्छल हुन्छ । निर्दोष हुन्छ । लाग्छ, उमेर फर्काउन पाए मानिसले बालापन नै फर्काउन चाहन्छ । आफ्नो बाल्यकाल सम्झिँदा जो कोहीलाई पनि रमाइलो लाग्छ नै । आफूले गरेका उपद्रो सुनाउनलायक कथा लाग्छन् । अभिभावकलाई दुःख दिएका घटना रोमाञ्चक लाग्छन् । स्कूलमा भएका उट्पट्याङ कर्म त्यतिबेलाको पुरुषार्थ लाग्छन् ।

तिनै काम आफ्नै छोराछोरीले गरे भनेचाहिँ असह्य हुन्छ । अमान्य हुन्छ । अस्वाभाविक बन्छ । गर्नै नहुने कर्म बन्नपुग्छ । शिक्षक वा अभिभावक जे भएर हेर्दा पनि हामीमध्ये अधिकांशलाई बालबालिकाले गरेका कामहरू कत्ति पनि मन पर्दैनन् । हामी हाम्रै दृष्टि, क्षमता र सोचका आधारमा बालबालिकाको मूल्याङ्कन गर्छौं । हामी बराबर उनीहरू कसरी हुनु ? हामी जस्तो सोच्छौँ र जस्तो गर्न सक्छौँ त्यस्तै उनीहरू हुन पर्ने किन ? स्वयम्लाई यस्ता प्रश्न नगरी हामी उनीहरूको कर्मलाई गलत घोषणा गर्छौं । सजायका भागीदार मान्छौँ र तयार भइहाल्छौँ सजाय दिन ।

हामी शासित भएर हुर्केका छौँ । ठूलाबाट । बलियाबाट । अग्रजबाट । शासन गर्र्नु शक्तिशाली हुनु हो भन्ने छाप मनमा परेको हुन्छ । शक्ति प्रदर्शन गर्नु शानदार कुरा लागेको हुन्छ । त्यसका लागि सानै उमेरबाट आफूभन्दा साना र कमजोरमाथि प्रभुत्व जमाउन सिक्छौँ । आफूले भनेका कुरा नै अन्तिम सत्य हो भन्ने बनाउन लागिपर्छौं । आफ्ना कुरा नमाने दण्ड दिने अभ्यास गर्न थाल्छौँ । यसरी हामी सजाय दिने संस्कार निर्माण गर्छौं ।

अहिले सहजकर्ताका रुपमा केही स्कुलमा काम गर्दैगर्दा पनि सुन्छु, दण्ड नदिए बालबालिकाले टेर्दैनन् । भनेको मान्दैनन् । अनुशासित हुँदैनन् । मनलाग्दी गर्छन् । छाडा हुन्छन् । काम गर्दैनन् । यस्तै आरोप बालबालिकामाथि लाग्ने गर्छ ।

हृदयले आत्मसात नगरेसम्म जीवनमा लागू नहुने रहेछ । कुनै किताब पढेर जानेको भरमा सीप नसिकिने रहेछ । बालबालिकालाई दण्ड होइन माया र हौसला दिनुपर्छ भन्ने कुरा पढेर, छलफल गरेर, देखेर जाने पनि पालना गर्न कठिन भएको सत्य अहिले सम्झिरहेछु । एकवर्ष अवधिको शिक्षक तालिमबाट दीक्षित भएपछि मैले स्कूलको प्रिन्सिपलका रूपमा काम गरेँ । त्यसबखत सजाय दिनुको विकल्पबारे कुरा गर्दा ‘अब केटाकेटीले हेपे’ भनेर प्रतिक्रिया सुन्नुपरेको थियो । जब कि मलाई भने विद्यार्थी मित्रवत लाग्थे । उनीहरूले आदर गरेकै अनुभूति म गर्थें । तर कुनै समय भने आत्मग्लानि हुने कर्म पनि गरियो । क्षमाप्रार्थी हुनुपर्ने गरी व्यवहार पनि गरियो । स्कुलमा सिक्न आएका बालबालिकालाई कडा बोलेर, छेडखान गरेर, घुरेर हेरेर, औँला ठड्याएर, पाइपको लौरा देखाएर, हत्केला रनन्न हुने गरी गालामा पड्काएर, ढाडमा आवाज आउनेगरी बजाएर मै हुँ यहाँको राजा तिमीले मैले जे भन्यो त्यो मान्नुपर्छ भनेजसो व्यवहार गरियो । पदीय जिम्मवारीका कारण यसो गर्नुपर्ने दबाब आउँथ्यो । शिक्षक समूह, अभिभावक र प्रशासनिक सहकर्मीबाट । अनि मलाई कहिले त रुनु न हास्नु लाग्थ्यो । ‘फिलोसफी’लाई एकातिर लात मारेर जागिर खानुको पीडाबोध हुन्थ्यो कहिले त ।
अहिले सहजकर्ताका रुपमा केही स्कुलमा काम गर्दैगर्दा पनि सुन्छु, दण्ड नदिए बालबालिकाले टेर्दैनन् । भनेको मान्दैनन् । अनुशासित हुँदैनन् । मनलाग्दी गर्छन् । छाडा हुन्छन् । काम गर्दैनन् । यस्तै आरोप बालबालिकामाथि लाग्ने गर्छ ।

ठूलाले जे भन्यो, त्यो मान्नैपर्ने भन्ने हुन्छ र ? बालबालिकाले टेर्नुपर्ने हो कि जिम्मेवार बन्नुपर्ने हो ? अनुशासित हुनु भनेको लाटोसुधो हुनु हो कि ? फूर्तिसाथ प्रश्न सोध्नु र आफूलाई चित्त नबुझेको कुरा प्रष्टसँग भन्नु अनुशासित नहुनु हो ? आफ्नो रुचि लागेको काम गर्नु मनलाग्दी हुनु हो ? कुनै काम गर्न नसकेको खण्डमा आपराधिक हुने हो ? नजान्नु र नसक्नु दण्डनीय हुनु हो ? यी प्रश्नहरूमाथि घोत्लिनु जरूरी छ । अनि बोध हुनेछ हामी कसरी बालबालिकालाई बाँधिरहेका छौँ ।

हरेक साल बालदिवस मनाइन्छ । बालबालिकाका पक्षमा नारा बन्छन् । कार्यक्रम गरिन्छन् । प्रतिबद्धताहरू गरिन्छन् । बाल दिवसका दिनमा गरेको वाचा भने एकै सातामा स्वाहा हुन्छन् । बालबालिकालाई शारीरिक वा मानसिक कुनै पनि किसिमका दण्ड सजाय नदिने वाचा गरेका अनुहारले मलाई नै भनेको सम्झिन्छु, ‘कुट्न नपाउने भए हामीलाई रिस नउठ्ने औषधि दिनुस् वा ती कामै नगर्ने केटाकेटीलाई काम गर्ने बनाइदिनुस् ।’ अनि आफ्नो विगत सम्झिन्छु ।

शिक्षकको भेषमा काम गर्दा ‘रामधुलाई’ पनि गरियो । कलिला मनको । जोसिला ज्यानको । यथार्थमा जसरी सिकेको त्यसरी नै काम गरेको हो । धुलाई गरे मन सफा बन्ला र मेहनतले कर्म गर्लान् भन्ने भ्रममा बाँचेको हाम्रो मनोविज्ञानलाई कठै भन्नुपर्ला । कुटेका कारण सुध्रेको एउटा पनि मानिस छैन र हुँदैन पनि । अन्तरचेतनाको ज्योति बलेको खण्डमा अरु केही जरुरत पर्दैन । त्यसका लागि सजायले कत्ति पनि भूमिका निर्वाह गर्दैन । आज म र शिक्षा क्षेत्रका मेरा केही सहकर्मी साथीहरू आफूबाट भएका कमजोरी उपर आत्मसमीक्षा गर्दै बालमैत्री वातावरण र बालमैत्री व्यवहारका पक्षमा वकालत गरेर पाप कट्टी गर्दैछौँ । कुनै पनि किसिमले बालबालिकालाई चोट पुग्ने काममा सहभागी नहुने बरू उनीहरूको पक्षमा बोलेर, केही काम गरेर लागिपर्ने वाचा गरेका छौँ । क्षमायाचना गरेर लेखिरहेका छौँ ।

बालबालिकाले सिक्ने क्रममा गरेका गल्तिलाई हामी दोष मानिदिन्छौँ । त्यो उनीहरूको दोष नभएर सिक्ने प्रक्रियाको एउटा आवश्यक भूल हो । भूल गर्दै र प्रयत्न गर्दै बालबालिकाले ज्ञान निर्माण गर्छन् । सीप सिक्छन् । अब्बल बन्ने मार्गमा आत्मविश्वास निर्माण गर्छन् । यो कुरा बुझ्न भने हामीलाई समय लागिरहेछ । सजाय दिएका कारण कोही ज्ञानी हुने भए, दण्ड दिएका कारण कोही सिपालु बन्ने भए, यातना दिएपछि कसैको प्रगति हुने भए संसारमा यातनागृहको पुजा हुन्थ्यो । ध्यानमार्ग र ज्ञानमार्गको खोजीमा किन मानिस भौतारिन पथ्र्यो । आजसम्म दण्डले सुधार भएको कुनै उदाहरण छ ? सजाय दिएर प्रगति भएको कुनै घटना छ ? पक्कै छैन । त्यसो त सजाय कसलाई दिइन्छ ? अपराधीलाई । अनि बालबालिकाले के अपराध गरेका हुन्छन् ? अपराधीलाई पनि सजाय नदिइ काउन्सिलिङ् गर्नेबारे सोचिन्छ भने बालबालिकाका अबोध कर्म कसरी दण्डनीय सोच्न सकिन्छ ? जिज्ञासाले भरिएर गरेका क्रियाहरूलाई उदाहरण दिएर दण्ड दिनु अर्को अक्षम्य अपराध हो ।

बरू ठूलाको अनुसरण हुने सत्य ख्याल गर्ने हो भने हजुरबालाई भीरबाट खसाल्ने बेलामा छोराले बाबुलाई ‘त्यो डोकोचाहिं नफाल्नुस्, पछि तपाइलाई फाल्नका लागि चाहिन्छ नि !’ भनेको कथामा जस्तो हुन्छ, यो सजाय दिने परिपाटी । ठूलाले सानालाई दबाउने एउटा उपक्रम हो यो । ठूलाले गरेको व्यवहार अरूमा प्रयोग गर्ने सन्दर्भमा कुटपिटमा हुर्केकाले सानालाई त्यस्तै व्यवहार गर्न सक्छ । यस्तो खतरनाक प्रवृत्ति विकास भइरहेको कुरा त गम्भीर हो नि ! यो पंक्तिकारले पनि कुटपिटको व्यवहार भोगेको थियो ।

गाउँमा भर्खरभर्खर टीभी ल्याइएको थियो । टीभी हेर्न भनेर कुनै घरमा गएको थिएँ । टीभी नहेर्नू, घर जानू भन्ने आदेश नमान्दा स्थानीय काकाले गाला रन्काएको अहिले पनि याद आउँछ । बाटोमा हिंड्दै गर्दा किन आँखा तरिस् भनेर गाउँले दाजुले ‘किक’ दिएको पनि अस्ति मात्र जस्तो लाग्छ । स्कुल पढ्दाताका शिक्षकले दिमागै हल्लिने गरी गर्दनमा हानेको पनि हिजैजस्तो लागिराछ । कक्षा १ पढ्दादेखि नै साथीभाइसँग हिंस्रक भएर कुस्ती खेलेको पनि धेरै समय अघिजस्तो लाग्दैन । अहिले सम्झिन्छु, म त्यस्तो किन भएछु !

सजाय शारीरिक मात्र हुँदैन । मनमा पुग्ने चोट झन् विषालु हुन्छ । भावनामा ठेस पुग्नु अझ धेरै दुख्ने घाउ हुनु हो । हामी गर्दैछौँ हिंसा । गर्दैछौँ आक्रमण । खासमा दण्ड सजाय दिने भनेको त कुनै अपराधका दोषीलाई कानुनी वा सामाजिक रुपमा कारवाही गर्नु हो । तर सनकमा गरिने कुटपिटबाट पीडित भएका छन्, बालबालिका । स्कुलमा, घरमा, समाजमा । हामी जानकारबाट पनि यस्तो भइरहेको हुन्छ । अवचेतन रुपमा । जानाजान पनि । अनावश्यक विषयमा प्रश्न सोधेर होस् वा जथाभावी रुपमा जिस्काएर हामी बालबालिकामाथि हिंसा गरिरहेका हुन्छौँ । डर देखाएर, धम्क्याएर, तर्साएर, बेइज्जती गराएर, अरू सामुन्ने गाली गरेर उनीहरूलाई पीडा दिइरहेका हुन्छौँ । हामीलाई त्यही व्यवहार अरुले गरे चाहिं अप्रिय लाग्छ । बालबालिकाको मनोबलमा कत्ति गिरावट आउँछ, हाम्रै कारण, कहिल्यै विचार गर्दैनौँ हामी । अनि हामी कल्पना गर्छौं, सुन्दर र सभ्य समाजको । समृद्ध राष्ट्रको । यो बालबालिकामाथिको ठट्टा हो ।

दण्डसँग डर आउँछ । भय उत्पन्न हुन्छ । आत्मसम्मानमा ठेस पुग्छ । निको न नहुने गरी घाउ लाग्छ मनमा । बालबालिकाको प्रशंसा सबैका सामु गर्न सके उनीहरूको आत्मबल वृद्धि हुन्छ । केही बानी बारे टिप्पणी गर्नु परे एक्लै राखेर गर्न सके सुरक्षित हुन्छ । हामीले प्रयोग गर्ने भाषाशैली र शब्द चयनले पनि उनीहरूको जीवनमा अर्थ राख्छ भने हामीलाई चित्त नबुझेका खण्डमा आक्रामक भइहाल्छौँ । यसको दूरगामी असर कस्तो होला ? अनुमान गर्न सकौँला ?

आफ्ना अग्रजको नाम ‘हिटलर’ राख्न कुनै बालकको रहर हुँदैन । यस्तै अरू के–के जाति नामले हामीलाई सम्झिएको सुन्न हामीलाई पनि पक्कै मन छैन । बालबालिकाको हृदयमा सुन्दर नामले कुँदिनु भनेको ईश्वरको हृदयमा वास पाउनु हो । अब आफै निर्णय गर्नुस्, तपाइँ आफ्नो नाम कस्तो होस् भन्ने चाहनुहुन्छ !

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...