[कथा] र वास्तवमा… – Janata Live
  • Saturday, February 4, 2023

[कथा] र वास्तवमा…

  • रामचन्द्र नेपाल
  • पुष २८, २०७५

[कथा] र वास्तवमा…

‘सर, तपाईंले जान्नुभएन ।’ सुरेन्द्र सरलाई भुवनले भन्यो ।
सुरेन्द्र सर उसको गाडीमा चढेका थिए ।

आफ्नो बारेमा यस्तो टिप्पणी एक्कासि सुनेका सुरेन्द्रले मसिनो स्वरमा जवाफ दिए, ‘होला !’
उनी गाडी चलाइरहेको भुवनतिर हेरिरहेका थिए । भुवनले सुरेन्द्रको घरतिर जाने मोडमा गाडी घुमाएर अलिकता स्पिड बढायो । मंसिर अन्तिमको त्यो साँझ निकै चिसो भइसकेको थियो । अँध्यारो चिर्दै गाडी अगाडि बढ्यो । सुरेन्द्रको घरछेउ पुग्न लाग्दा भुवनले फेरि समीक्षा ग¥यो, ‘सर, तपाईंले लाउनुभएको पोहोरको खेती पनि काम लागेन…। त्यसमाथि खडेरी प¥यो ।

सुरेन्द्र सरले सुनिरहे । केही बोलेनन् । घरको आँगनमा गाडी रोक्दै भुवनले सल्लाह दियो, ‘छोड्दिनुस् सर, बुढेसकालमा यो दुःख !’ अनि उसले प्रतिक्रियाका लागि सुरेन्द्र सरको आँखामा हेरिरह्यो । केही नबोली ओर्लिएका सुरेन्द्र सरले चाम्रो गरी भने, ‘हुन त हो ।’

‘नमस्ते’ छोडिराखेर नयाँ ‘स्कारपियो’ हुइँक्याउँदै भुवन फर्कियो । गाडीपछाडिका राता दुईवटा बत्तीका आँखा परसम्म देखिए । सुरेन्द्र सर घरभित्र पसे । सँगै प्रश्न पनि पस्यो ।

साँझसम्म सुरेन्द्र खेतमा काम गर्दै थिए । गहुँमा पानी लगाउने खेतालो साइकलमा पाइप हालेर हिँडिसकेको थियो । बाटामा उनी मात्र जाडाले सिउसिउ गर्दै घर फर्किरहेका थिए । पैदल । गहुँमा पानी लगाउँदा उनको पुरानो पाइन्ट घुँडामाथिसम्म ल्याफ्फै भिजेको थियो । सर्टका बाहुला ओभाना थिएनन् । टोपीमा शीत परेको थियो । प्लाष्टिकका काला म्याजिक चप्पल हिँड्दा प्याट्ट प्याट्ट बज्थे । कहीँबाट आफैँ गाडी चलाउँदै आएको भुवनले यो अवस्था देखेर उनलाई आफ्ना गाडीमा चढाएको थियो । भुवनले उनलाई देख्नासाथ ‘हेर त यी बूढाको बिजोक !’ भनेको थिएन, सोचेको थियो ।

श्रीमतीले पिँडीमा आगो बालेकी थिइन् । उनले ज्यान सेकाए । लुगा फेरे । कतै शरीर दुखेजस्तो, भित्रभित्रै जाडाले कामेजस्तो भइरहेथ्यो । बहिर बाक्लो कुहिराले बिस्तारै खेतबारी छोप्दै ल्याएको थियो । जाडो थपिँदै थियो । खाना खाइसकुञ्जेलसम्म बाहिरी आवाजहरू, क्रमशः पातलिँदै गए । रात झन् सुनसान हुँदै गयो । कोठामा बसिरहँदा मौनताले हल्ला गरिरह्यो, ‘सर, तपाईंले जान्नुभएन ।’

पच्चीस वर्षे जवानीमै शिक्षक भएर स्कुल पसेका उनलाई साठीवटा वर्षले स्कुलबाट निकालिदिएको थियो । चानचुन पैँतीस वर्षमा उनले थुप्रै बन्डल चक घोटे । निकैवटा साइकल थोत्र्याए । विद्यार्थी र अभिभावकका नमस्ते सितन हालेर खुशी खेलाइरहे । त्यो रोमाञ्चक खुसीभित्र आएका कैयौँ अवसर चिप्लिए । चुनौतीका जंघार बाँकी रहे । ती जोखिमसँग उनलाई त्यति वास्ता थिएन ।

सुरेन्द्र सर हिँडिरहे । उनी साथीहरूसित भन्थे, ‘हिँडिरहियो, बिसौनी र घुम्ती हेरिएन । तर, कहीँ पुगिएन । कालो कपाल कोर्दाकोर्दै सेतो भयो । ऐना हेर्दै रहेँ, अनुहार चाउरी परेको पत्तै भएन ।’
अनि खिस्स हाँस्थे ।

उनले अवकाश पाएको चार वर्ष भइसकेको थियो । समाजसेवामा रूचि राख्ने उनी उन्नत व्यावसायिक खेती गर्ने भएकाले प्रायः बारीमै भेटिन्थे ।

‘असल शिक्षक बन्ने उपाय छन्, वास्तविक शिक्षक बन्न गाह्रो छ ।’ उनी भन्थे ।
उनले आफ्ना तमाम वर्षहरूमा दायाँ वायाँ नगरी एउटा आदर्शको मेरूदण्डवरिपरि जीवनका यावत् कार्य–व्यापार अड्याइरहे ।

विदाको एक दिनको कुरा हो । सुरेन्द्र सर बारीमा खनिरहेका थिए । बिहानको समय थियो । चिया पसलमा दूध पु¥याएर फर्केका तीर्थराज बारीमै आए । गफ गरे ।

उनी बोलिरहन रूचाउँथे । ‘गह्रो सम्याउन लाग्नुभयो सर ?’ नमस्ते गरेपछि आलीमा बस्दै तीर्थराजले सोधे ।

‘अँ । ट्रयाक्टर घुम्ने छेउमा कहीं होचो कहीं अग्लो हुँदो रहेछ । त्यसैलाई खनेर मिलाऊँ भनेर ।’ तीर्थराजतिर हेरेका सुरेन्द सर्रले कोदालो बिसाएर प्रस्टयाए, ‘छेउकुना भेट्दैन !’

‘सरले आफैँ दुःख गर्नुभयो । ….. मान्छे लाउँदा हुँदैनथ्यो ?’ तीर्थराजले बोल्ने मेसो बनाए । ‘हुन त हुन्थ्यो, तर,’ पसिना पुछ्दै उनले भनाइ राखे, ‘आफूले पनि केही त गर्नुप¥यो नि !’ कुराको सिलसिला अघि बढ्दै गयो । काम गर्ने र नगर्नेका कुरा पनि चले ।

सुरेन्द्रले भने, ‘हेर्नाेस् दाइ, पढे—लेखेकाले हलो कोदालो गरेको राम्रो । नढाँटी बोलेको र काम गरेको राम्रो ।’

एउटा चुरोट सकिउञ्जेल तीर्थराज गफिए । सुरेन्द्र सरका कुरा सुने । आफूले केही भने र बाटो लागे ।
मेलो तुरिएको थिएन । बाटाका छेउमा थियो उनको बारी । बाटो हिँड्ने अधिकांशले कोदालो खनिरहेका, काम गरिरहेका सुरेन्द्र सरलाई देखेर पनि नबोली हिँड्थे । अर्का ठाउँ पुगेर गफको विषय बनाउँथे ।

‘फलानालाई कति नपुगेको हो ? त्यत्रो पढेलेखेको मास्टर, हलीजस्तो !’ यस्ता कुराले चिया बिक्थे । समय कट्थ्यो । हाँसो ठट्टा हुन्थ्यो । तर, सबै त्यस्तै थिएनन् ।

हरिशरणचाहिँ भन्थे, ‘सुरेन्द्र सर परिश्रमी छन् । त्यस्तै हुनुपर्छ ।’
अरू केहीले आफ्ना छोरा–छोरीलाई काम लगाउन उदाहरण पनि दिन्थे उनको । अर्काे दिन सुरेन्द्र सर बाँकी रहेको छेउकुना खन्दै थिए । केहीबेरपछि कोदालो बोकेर तीर्थराज काम सघाउन आए ।
उनले सरासर केही कोदाला खनेपछि प्रस्ताव राखे, ‘सर, म किसानी मान्छे । म यो खनिदिन्छु । हजुर बस्नोस् म काम सकाइदिन्छु ।’

सुरेन्द्र सर आफ्नो शिष्टता देखाउँदै थिए, ‘पर्दैन दाइ, मै सकिहाल्छु ।’ तर, तीर्थराजले खनिरहे । खन्ने मेलो आधाबढी सकिएपछि तीर्थराजले विनीत भावमा अनुरोध गरे, ‘सर, मेरो छोरो पटक्कै पढ्दैन । पढ्ने मन गर्दैन । ऊ त्यति जान्ने पनि भएन । यो खन्ने जोत्ने काम त म गरिहाल्छु, छोरालाई पास गराइदिनुप¥यो । हजुरकै छोरो भतिजो हो ।’

उनले हात जोडेरै भनेका थिए ।
अप्ठ्यारामा परेका सुरेन्द्रले नखन्न, नभन्न अनुरोध गरिरहे । तीर्थराजले सघाउन छोडेनन् । मन मिलेको बेला सघाउने ती दुईको मन फाट्यो एक दिन । तीतो–पीरो भयो । आवतजावत, बस–उठ बन्द भयो । दुवैले निकै हण्डर खाए । यी सबै कुरा सुरेन्द्र सर शिक्षक रहँदा नै भएका थिए ।

एक दिन उनी कामले सदरमुकाम पुगेर साँझ फर्किए । घरमा श्रीमतीले घिउ र मह पस्किन् । निकै मीठो थियो । सुरेन्द्र सरले सोध्दा श्रीमतीले सुनाइन्, ‘सम्झनाकी मम्मीले खाट्टी मह र घिउ पठाइदिएकी रहिछिन् । सारै राम्रो छ ।’

‘के अरू कुरा पनि भनिन् ?’ आशंका व्यक्त गरे सुरेन्द्र सरले । ‘परीक्षामा सम्झनालाई विचार गरिदिनुप¥यो भन्थिन् ।’ श्रीमतीले सुनाइन् । सुरेन्द्र सर निकैबेरसम्म भरंग भए । बानीअनुसार एक छिनको मौनतापछि उनले भने, ‘नराख्नुपथ्र्यो नि !’ श्रीमती केही बोलिनन् । शायद उनी पनि अप्ठ्यारोमा परेकी थिइन् ।

खाना खाइसकेपछि सुरेन्द्र सर मनमनै गिजोलिए, ‘म के भनौँ यस्ता कुरालाई ? गाउँलेको सद्भाव भनौँ कि मेरो निष्ठामाथिको अतिक्रमण ? यी सशर्त वस्तु कोसेली हुन् कि घुस ?’

देख्दा स–साना तर चिन्ता धेरै उब्जाउने यस्ता कुरा सुरेन्द्र सरको जीवनमा अनेकपटक आएका थिए । उनले धेरै पहिलेको एउटा घटना सम्झे– जसमा दश कक्षाकी छात्राले टेस्ट परीक्षाको उत्तर पुस्तिकामै ‘अति प्यारे अनुरोध’ लेखेकी थिइन् । त्यहाँ सपना पनि सँगै टाँसिएको थियो । तर सुरेन्द्र सर हच्कन्थे त्यस्ता कुराबाट ।

कोसेलीमाथिको कुरा चल्दा श्रीमतीलाई अलि होशियार हुन सम्झाए सुरेन्द्र सरले ।
श्रीमती कड्किइन्, ‘तपाईंजस्तै मास्टर त हुन् नि अरू नि ! पास गरिदिने ठेक्कामा टयुसन पढाउँछन् । पास हुन्छन् । चलेकै छ । अझ बढी हाइ हाइ ! छ समाजमा । कति रक्सीले मातेर गनाउँदै पढाउन जान्छन्, भएकै छ । बाटैमा ढलेका हुन्छन्, खोइ त ! झन् उनीहरू नै राम्रा, उनकै इज्जत ।’

सुरेन्द्र सरले सुनिरहे । उनी फलाक्दै रहिन्, नपढाउने, एस. एल. सी. मा आफैँ गार्ड बसेर चोराउने अनि नेताका झोला बाकेर हिँड्ने । रवाफ उनैको छ । …. तपाई हुटिट्याऊँ, थाप्नोस् एक्लै सगर ।’
बात्ती कातिरहेकी श्रीमती चुप लागिन् । यतिञ्जेल नबोलेका उनले सुनाए, ‘यो मेरो मान्यता, … के यस्ता कुरामा पाइला राखेर म भत्किऊँ ?’

‘तपाईको मान्यता फलेर लटरम्म भयो । त्यै टिपेर खाउँला नि अब !’ उनले फेरि कटाक्ष बासिन् । सुरेन्द्र सर नबोलीकन अर्काे दिनको पाठयोजना हेर्नतिर लागे । चित्त नबुझे पनि उनी सधैँझैँ चूप लागिन् । पाठ्योजना सकेर सुतेका उनलाई निद्रा लागेको थिएन । उनले पुराना कुरा सम्झे, तिनताका बढी विद्यार्थी पास नभए विद्यालय र शिक्षकलाई कार्वाहीस्वरूप अनुदान रोक्का गरिन्थ्यो । तलब, ग्रेड घटाउनेसम्मको परिपत्र सरकारले गरेको थियो । सरकार र शिक्षक दुवै चाहन्थे पास । अनि, परीक्षामा चिट चोरिरहेको नहेर्ने शिक्षक र शिक्षक नदेख्ने धेरै विद्यार्थी पास हुँदै जाँदा पिरिन्थे सुरेन्द्र सर ।

सबै काम गर्ने, सघाउने उनले एक दिनको घटना पनि सम्झे । आइतबारको दिन थियो । उनी कक्षा कोठामा थिए । अरू कक्षाका विद्यार्थीहरू चौरमा छरपस्ट थिए । कक्षाबाट स्टाफ कोठामा आइपुग्दा सावित्री म्याडम मच्चीमच्ची सुनाइरहेकी !

झ्यालछेउबाटै सुने उनले । ।
‘सुन्नु भो ? गजब भयो नि हिजो !’

‘के भो म्याडम त्यस्तो ?’ सुनिरहेका अरू तीनवटी म्याडम र दुईजना शिक्षकले सोधे ।

‘पति हो तो सुरेन्द्र सर जैसा ।’ हाउभाउ साथ आँखीभौँ उचाल्दै सावित्री म्याडमले भनिन्, ‘हिजो दिउँसो म सुरेन्द्र सरको घर हुँदै साथीकोमा जाँदै थिएँ । सुरेन्द्र सर आफ्नी प्यारी म्याडमको पेटिकोट धोएर सुकाइदिँदै होइसिन्थ्यो ।’

अनि वाक्य पूरा गर्न नपाई मुख छोपेर हाँसेकी थिइन् सावित्री म्याडम । उनले सुरेन्द्र सरलाई देखेकी थिइनन् ।

‘हो र ?’ अरूले सोधेर एकैपटक हाँसेका थिए ।

हाँसोको त्यो लहर बाहिरसम्म पुगेको थियो । त्यत्ति नै बेला सुरेन्द्र सर भित्र पसेका थिए । स्वेटर बुनिरहेका रुपा र सरस्वती म्याडमले इशारा गरेका थिए । सुरेन्द्र सरले कुनै प्रतिक्रिया दिएका थिएनन् ।

स्कुलका कक्षाहरू सेक्सन भइकन पनि विद्यार्थीले खचाखच भरिएका हुन्थे । नजिकैको निमाविबाट आएर कक्षा ८ मा भर्ना भएको भुवन सधैँ पछाडिको बेञ्चमा बस्थ्यो । पढाइमारुचि थिएन । या रुचि जगाउन सकेको थिएन । होमवर्क गर्दैनथ्यो । कक्षामा सोधेको प्रश्नको उत्तर नआउँदा गजधम्म उभिइरहथ्यो । फलतः कक्षा १० सम्म कृपांकमै पुगेको थियो ।

एक दिन सुरेन्द्र सरले भनेका थिए, ‘जति सिकाए पनि तिमीले जानेनौ बाबु ! पछि कसरी गरिखाउला ?’ कक्षामा उभ्याइएको भुवन चुपचाप थियो । उसका आँखाका नानी नाचिरहेका देखिन्थे । यसअघि यस्तो तीन–चारपटक भएको थियो ।

त्यस घटनाको केही दिनपछि टेस्ट भयो । भुवन पास भएन । त्यसपछि ऊ कहिल्यै स्कुल आएन । उसले स्कुल छोड्यो ।

एक दिन कतैबाट चुहेर कुरो आयो, ऊ आर्मीमा भर्ती हुन गएको थियो रे । सबै जाँच पास हुँदै गएको ऊ लिखितमा फालिएपछि भारततिर हानिएको थियो रे । त्यसपछि कुनै सूचना आएको थिएन । ऊ कहाँ के गथ्र्यो कसैलाई थाहा भएन ।

सुरेन्द्र सर पढाउँदै रहे । साइकल चलाइरहे । पाठ्यपुस्तक फेरिए, पढाइरहे । विद्यार्थी फेरिए, पढाइरहे । उनी नफेरिएरै स्कुल गइरहे । एक दुईपटक उनकी श्रीमती सिकिस्त बिरामी भइन्, औषधि गरे । अप्रेसन गराए । यसैबीच धेरै कुरामा परिवर्तन भयो । भाषण फेरियो, भाषणकर्ता फेरिए ।

फेरिएकै सुने । जन्ती, मलामी गए । तलब बढ्यो, थापे । ऋण लिए तिरे । यी सबै हुँदा पनि उनले चाहेजस्तो न अरू भए । न आफू अरू जस्तो बने । न कुनै ठूलो स्यावासी, न कुनै तिरस्कार । त्यो निरन्तरतामा उनले पाएका दुई कुरा थिए । एउटा अनुभव, अर्काे बाहिर निस्कँदा ‘सर नमस्कार’ । उनलाई लाग्थ्यो, यी गहुँगा वस्तु हुन् ।

छोराछोरी हुर्केका थिए । विवाह गरिदिएपछि, छोरा खोजी खान अन्तै लागे । घरमा रहेका ढुक्कुर जोडी बूढाबूढी सकेको काममा लागी पर्थे । खेतबारीमा जान्थे । काम गर्थे । बुढेसकालमा । त्यसैले देख्नेहरू दुःख बेसाएको भनेर टिप्पणी गर्थे ।

एकदिन बजारमा एकजना युवाले उनलाई नमस्कार ग¥यो । उनले फर्केर हेरे । नियालेर हेरेपछि भने, ‘ए, तिमी त बाहिर थियौ कि क्यार ! मोटाएछौ, झण्डै नचिनेको ।’

युवकले खिस्स हाँसेर भन्यो, ‘हो, सर ।’ आफू हतारमा रहेको संकेत गर्दै त्यो युवक कहीँ हिँड्यो, उनी पनि घर फर्किए ।

उनले चिनेका थिए । ऊ भुवन थियो । उसले त चिनेरै नमस्ते गरेको थियो । घरमा आएर उनले बजारमा भुवन भेटिएको कुरा श्रीमतीलाई सुनाए ।

त्यसको हप्ता दिनपछि सुरेन्द्र सरको घरमा एउटा राम्रो रंगीन निम्ता कार्ड आयो । भुवनले पठाएको थियो । कार्डमा आफ्नो व्यवसाय उद्घाटनको उपलक्ष्यमा निम्ता गरेको थियो ।

तोकिएको दिन निम्ता मान्न सुरेन्द्र सर पनि गए । त्यो समारोहमा त्यो क्षेत्रका प्रभावशाली नेता, प्रशासन, उद्योग व्यवसाय तथा शैक्षिक प्रतिष्ठानका व्यक्तित्वहरू रंगीन बिल्लासहित अतिथि भएर बसेका थिए ।
ठूलो उपस्थितिलाई लड्डु मिठाई बाँडियो । उनी त्यो भव्य उद्घाटन समारोह देखेर दंगदास भए । ठूलो हार्डवेयर पसल र अर्काेतर्फ कुनै कम्पनीको कार, जीपको सोरुम एकैचोटि उद्घाटन भएको थियो । उनलाई पनि एउटा माला लगाइदिएको थियो भुवनले । सम्मान स्वरूप ।

बधाईको लहर चल्यो, युवा उद्यमी भुवनलाई । त्यो पंक्तिमा उनी नमिसिने कुरै थिएन । खुसी भएरै फर्किए उनी घर । तर प्रश्न जागिरह्यो, ‘कसरी ग¥यो यति धेरै आर्थिक प्रगति ? मात्र दशरबाह्र वर्ष त भएका थिए उसले स्कुल छोडेको ?’ सुरेन्द्र सर सोच्दै घर आए । उत्तर घर आएन ।

आज भुवन बजारको एउटा चलतापुर्जा मान्छे । उद्योग व्यापारबाट प्रशस्त कमाएको छ । गाडी घोडा छन् ऊसँग । शहरमा घर–घरेडी छन् । प्रशासन, प्रहरीमा पहुँच छ । उता पार्टीको पनि प्रभावशाली पदमा पुगिसकेको छ । नेताहरु घरै आउँछन् भेट्न । मान्छेको बाक्लो आउजाउ छ । स्थानीय क्याम्पस र माविको सञ्चालक समिति अध्यक्ष पनि भइसकेको छ ऊ । अबको मेयर भन्नेसमेत हल्ला चलिसकेको छ ।

साँझ भुवनको गाडीबाट ओर्लेका सुरेन्द्र सर आङ सेकाएर खाना खाइसकेपछि पढ्ने तरखरमा थिए । श्रीमती सिरियल हेर्नमा व्यस्त थिइन् ।

उनलाई वारम्बार दुईवटा वाक्यांशले घोचिरहेका थिए । पहिलो, उनले धेरै वर्षअघि गरेको टिप्पणी, ‘तिमीले कहिल्यै जानेनौ ! कसरी गरीखाउला ?’ दोस्रो, भुवनबाट प्राप्त जवाफ, ‘तपाईंले जान्नुभएन सर !’
उनी मन्थन गर्दै थिए, ‘हो वास्तवमा, मैले जानिनँ । तर के जानिनँ ? शिक्षक बन्न ? या भुवनलाई त्यसो भन्न ? सम्पत्ति कमाउन ? या यो उमेरमा खेतमा काम गर्न ? कि के हो ? उनी अझ प्रश्न गर्दै थिए । कि जान्ने र नजान्नेको परिभाषा दिन ? या, यो भन्दा अझ फराकिलो कुनै अर्थमा ? उमेर ढल्दै जाँदा नजानेका कुरा झन् धेरै हुँदा रहेछन् ।

उनले सोचे । रात निकै छिप्पिसकेको थियो । उनी सुतेका थिए, निदाएका थिएनन् । उनको मनमा बलियो गरी एउटा प्रश्न उब्जियो, ‘असल र जान्ने बन्न मभित्र अब कति ‘स्पेश’ बाँकी होला ?’

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

गौतम बुद्धका उत्कृस्ट प्रेरक भनाइ र उपदेशहरू

जिन्दगीमा मौका दिनेवालालाई धोका र धोका दिनेवालालाई मौका कहिले पनि नदिनु आफ्नो दुःख कसैलाई पनि नभन्नु किनकि सबैजना तपाइँसँग खुसी...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

ज्याक माका सफलताका १० सुत्र

ज्याक मा अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान ‘ज्याक मा’ एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनले ‘वाण्डा ग्प’का रुवाङ्ग...