लोसार कसरी, केको आधारमा मनाउने – Janata Live
  • Saturday, February 4, 2023

लोसार कसरी, केको आधारमा मनाउने

  • बौद्ध दर्शनाचार्य कमल तामाङ
  • पुष २३, २०७५

लोसार कसरी, केको आधारमा मनाउने

अभिप्राय हृदयको आशय प्रयोजन हेतुको निमित्त धन सम्पत्ति र पञ्च काम गुण इत्यादि शब्दहरूलाई एउटै भनाइबाट परिचित गराउने संस्कृत शब्दको अर्थ पूर्व स्व प्रत्यय योग हुन गइ विसर्ग सन्धिद्वारा व्युत्पत्ति हुन गएको स्वार्थ शब्दले जाने श्री नजाने इतिश्री भनेझै प्रत्येक मानस मस्तिष्कमा आँधी तुफान तुल्य भएर इतिश्रीको मार्गतर्फ धकेली रहेको परमार्थको प्रवेशद्वार स्पर्श गरिसकेका चिन्तन मग्न पुदगलहरू समक्ष प्रस्तुतिको विषय नभए तापनि रहरले भनौ या करले रोएर भनौ या हाँसेर जनाउन भनौ या मनाउन आफ्नो दाहिने देब्रे अगाडि र पछाडि परेका यस्तै यस्तै बाध्यताहरूसँग हातेमालो गर्दै पुन ल्होछार र ल्होछर संवत्को बारेमा केही स्पष्ट पार्न प्रयोजनीय लागेको छ ।

हामी सम्पूर्ण तामाङ समुदायले ल्होछार मान्न थाल्यौं, यस वाक्यको स्मरण मात्रले पनि हामी आत्मविभोर हुन्छौ । वेचैन मन चैनयुक्त हुन्छ, हर्षको सीमा रहँदैन । यति हुँदा(हुँदै पनि एउटा झिनो अमेलले चैनयुक्त मन वेचैनमा परिणत हुन्छ, शायद यस्तै क्रमलाई तथागत बुद्धले परिवर्तित दुःखको रूपमा परिभाषित गर्नु भएको होला । यही झिनो अमेलको कारण हामी दुःखित प्राय छौ । न केवल दुःखित परन्तु अनेकतामा टुक्रिन पनि पछि परिरहेका छैनौ । गहिरिएर विचरण गर्ने हो भने आजको सभ्य समाजले यस्तो हुन सुहाउँदैन कि जस्तो हामीलाई लागेको छ, अन्यथा हाम्रो जीवन खोलाको बगरमा अस्त व्यस्त भइ सडेको मुढा जस्तो या सुकेको धारा जस्तो त नहोला । त्यसैले हाम्रो समाजमा विद्यमान शिक्षित विचारक र बुद्धिजीवी महानुभावहरूले आ(आफ्नो ध्यान उपर्युक्त बुँदाहरूतर्फ केन्द्रित गराउन अत्यावश्यक भएको छ । जब कि खोलाको बगरमा सडेको मुढाको के विश्वास र त्यसको अस्तित्व कति बेला भेल आएर कहाँ ‍पु¥याउँछ । त्यस्तै पानी बेगरको धारा के धाराहरू अनि एकता बेगरको समूह के समूहहरू त्यसै कारण हामी तामाङहरू एक भएर जुटौ एउटै वास्तविक पथको पथिक बनौ ।

अन्त अभिप्राय
यस लेखको मूल उद्देश्य रहेको छ सबै एक भएर धर्मको मार्गमा आबद्ध हुनु । वास्तविकतालाई पछ्याउनु । चाड पर्वलाई चाड पर्वकै रूपमा स्वीकार गर्न । हामी सबैको जीवन प्रवाहसँग सम्बद्ध पात्रोमा उल्लेखित संवत्लाई स्वीकार गर्न। कही पनि उल्लेख नभएको प्रमाण विहीन संवत्को परिकल्पना नगर्न । सङ्क्षिप्तमा भन्ने हो भने प्रज्ञावान हुनु अर्थात जुन विषय वस्तु र पदार्थ जस्तो छ त्यस्तै रूप गुण र आकारमा ज्ञान गर्न। पुनश्च हामी समग्र तामाङहरू आफूलाई बौद्ध धर्मावलम्बी भन्न रुचाउँछौ, गौरव गर्छौ र यिनै गौरवलाई बचाई राख्ने काम गर्छौ । एकै वाक्यमा भन्ने हो भने प्रामाणिक तथ्यहरूलाई सहर्ष स्वीकार गरेर एकताको बन्धनमा बाँधिइ रहनु ईत्यादि । एवं रितले हामी सम्पूर्ण तामाङ बन्धुहरू हृदयसँगको समागमीय बहूवेणी बनेर बाँच्न सिकौ, सकौ र बाँच्न सिकाऔ भन्ने आग्रह समेत गर्दछौं ।

व्याख्या
लोछर के को आधारमा कसरी मनाउने भन्ने विषयमा होडबाजी गर्दा गर्दै हाम्रो समाजले आज कम्तीमा दुई दशक बिताइसकेको सबैलाई जानकारी भएकै विषय हो । यसरी लोछार केको आधारमा कसरी मनाउने भन्ने विषयमा परिपक्व हुनको निमित्त म्याडम क्युरीले रेडियम पत्ता लगाउन आविष्कार गर्ने भन्दा कठिन परिरहेको पनि सर्वविदितै छ । यस प्रसङ्गको एक मात्र कमजोरीपन हामीमा के यकिन हुन गएको छ भने बौद्ध धर्म जस्तो अलब्ध विपुल सम्पत्तिको हकदार बनिसकेका हामी सम्पूर्ण तामाङहरु आफूलाई बौद्ध भन्न रुचाउँछौ र अति गर्व पनि गर्दछौ । बौद्धमा पनि बोधिसत्वयानका अनुयायी बोद्यिसत्वयानमा पनि बुद्ध शिक्षाका प्रत्येक बिन्दु(बिन्दुहरूलाई अभ्यासमा उतार्ने महायान बौद्ध धर्मका अनुयायी हामी सोही मार्ग, महायान बौद्धधर्मको नीति र शिक्षा अनुरूप चल्नु पर्दछ भन्ने हामी समग्र तामाङहरूको मान्यता हो । अनि यही मान्यतालाई नबुझ्नु यस प्रसङ्गको कमजोरीपन हो ।
वर्तमानमा खेद र अचम्मको विषय के छ भने हामी आफूलाई बौद्ध हुँ भनेर दावी गर्छौ तर बौद्ध धर्म महायान बौद्ध धर्मको नीति शिक्षा र खास गरेर ज्योतिष शास्त्र स्वीकार गर्न तयार छैनौ भने हामी बौद्ध हौ कि अबौद्ध ? के हामीलाई बौद्ध भन्न मिल्छ ? यस प्रसङ्गलाई उदाहरणको रूपमा स्पष्ट पार्दा कसैले यो पेलसाङको छोरा दोर्जेले रिञ्छेन नाम भएको व्यक्तिलाई तपाईं त मेरो आपा जस्तै हुनुहुन्छ नि । स्वभाव र बोली त झन् ठ्याक्कै मिल्ने तपाईंलाई त आपा नै भन्न मन लाग्छ भन्दा रिञ्छेन मख्ख परेको जस्तो मात्र हो । किनभने वास्तवमा दोर्जेको आपा रिञ्छेन होइन पेलसाङ हो । रिञ्छेन त आपा जस्तो मात्र हो । तात्पर्य के हो भने यदि हामीले आफूलाई बौद्ध जनाउँदै सम्बन्धित बौद्ध धर्मको नीति शिक्षा र आजको विषय अनुसार भन्ने हो भने ज्योतिष शास्त्र अपनाउँदैनौ भने दोर्जेले तपाईं त मेरो आपा जस्तै हुनुहुन्छ भन्दा मख्ख पर्ने रिञ्छेन जस्तो मात्र हो । यसरी हामीले आफूलाई बौद्ध भन्नु केवल हाम्रो अज्ञानता हो । त्यसैले हामीलाई बौद्ध भन्न हामीले होइन धर्मले स्वीकार गर्दैन ।

दोस्रो प्रसङ्गमा हामीले अपनाएको बौद्ध धर्मको आधारमा ल्होछारको चर्चा गरौं छर्लङ्ग बुझ्न पर्दा ल्होछार सबै बौद्धले मान्ने नयाँ वर्ष होइन । भन्न खोजेको के हो भने बौद्ध धर्ममा अनेक सम्प्रदायहरू विद्यमान छन् । अनेक सम्प्रदायहरू मध्ये महायान र हिनयान मुख्य हुन । ल्होछारलाई सिङ्गो बौद्धधर्मसँग तुलना गर्दा मात्र महायान बौद्ध धर्मका अनुयायीहरूले यसलाई मान्ने गर्दछ न कि भारतीय महायान, बर्मी महायान सिंहाली, जापानी र कोरियन महायानीहरूले । हिनयान तर्फ भन्ने हो भने जुनसुकै राष्ट्रका सबै हिनयानीहरू जस्तै सर्वास्तीवाद थेरवाद, महासांघिक सूत्रयान, पारमितायान इत्यादि ल्होछारसँग परिचित हुँदैनन् । माथि उल्लेख भए अनुसार ल्होछार मान्ने बौद्धहरूलाई चिन्नु पर्दा महायानी बौद्धहरू भनेर चिन्नु पर्दछ । ल्होछार हामी सम्पूर्ण तामाङहरू बीच तुलना गर्ने हो भने हाम्रो देश लगायत अन्य राष्ट्रमा पनि निवास गरिरहेका सबै तामाङ बन्धुहरूको मन, वचन र कर्ममा नै ल्होछार शब्दले बोध हुने नयाँ वर्ष मनाउने भन्ने उमङ्ग र जोशले स्थान लिइ सकेको छ र जसरी भए पनि मनाइ नै रहेका छन् । यति हुँदाहुँदै पनि सम्बन्धित विषयमा कतिपय मित्रहरूको यो हो र त्यो हो, यो हाम्रो र त्यो उसको विषयक निरन्तर छलफल प्रति दया लाग्नु स्वाभाविक भएको छ । यस्तो नहोस् भन्ने हामी ठान्छौ किनभने आफू समान कै हाम्रा मित्रहरू अन्योलमा परि रहेको अरूले देखे हामीलाई के भन्लान ? त्यसैले हामी समयमा नै निम्न प्रकारका प्रश्नोत्तरी माध्यमद्वारा वास्तविकता तर्फ लागौं ।

प्रः ल्होछार मान्ने तामाङहरू कुन धर्मका अनुयायी हुन्छन् ?
उः महायान बौद्ध धर्मको ।
प्रः हामी तामाङहरू महायानी बौद्ध हौं भने आफ्नो धर्म अनुरूपको नीति शिक्षा र ज्योतिष शास्त्र स्वीकार गर्नु पर्छ कि पर्दैन ?
उः पर्छ ।
प्रः महायानी बौद्ध हामी तामाङहरूको रीति, विधि, चाड पर्व लगायत ल्होछार समेतमा एकरूपता हुनु पर्छ कि पर्दैन ?
उः पर्छ ।
प्रः केको आधारमा आधारित हुँदा ल्होछारमा एकरूपता आउँछ ?
उः महायानी बौद्ध धर्म अनुरूपको ज्योतिष शास्त्रको आधारमा । इत्यादि ।

यस लेखमा खुल्न आएको शीर्षक ल्होछार के को आधारमा कसरी मान्नेलाई वर्तमानको तँछाड र मछाड या खोइ(खोइ दाइ म अघि जाउँ भन्ने लौरे वातावरण तर्फ केन्द्रित हुँदै विचरण गर्दा प्रश्न जिज्ञासा र पूर्णता यी त्रिविध रूपमा पाउँछौ । प्रश्न उसको निमित्त हुनेछ जसले ल्होछार शब्दको अगाडि कुन शब्द जोडेको छ अथवा कुन ल्होछार । ल्होछार कुन हुन्छ जो वर्षमा एउटै हुन्छ । ल्होछारमा कुन शब्द जोड्नु कुन एक या कुन दुइ भन्नु बराबर हो जबकि सङ्ख्यामा एउटै एक र एउटै दुई मात्र हुन्छ न कि तीन चार वटा । यसरी अन्योलमा परिरहेको मित्र गणको निमित्त प्रश्न हुन्छ भने अन्जान बन्धुहरूको निमित्त जिज्ञासा । यसै गरी वास्तविकतासँग परिचित भइसकेका तामाङ भाइहरूको निमित्त पूर्णता । जेसुकै होस् प्रश्नको उत्तर दिनु छ जिज्ञासा छर्लङ्ग पार्नुछ अनि अधुरोपनलाई पूर्णतातर्फ लानुछ । ल्होछार शब्दको अगाडि जोडिन गएको कुन शब्द ल्होछारप्रेमी हामी सबैको मस्तिष्कमा प्रेतको रूपमा सवार भएर हामीलाई बौलाहा हात्ती तुल्य मुर्ख बनाई रहेको छ ।

फलस्वरूप हामी गल्ली-गल्ली कराएर हिंड्छौ मच्चिइ-मच्चिइ भाषण छाँटछौ, अनि अरूको कुरा काट्न र खुट्टा तान्न व्यस्त रहन्छौ, अनि भन्छौ म एकदमै बिजी छु इत्यादि । अज्ञानताले ओगटेको भोगटेको बोक्रा जस्तो दिमागले थाहा पाउन सकिरहेको छैन कि हामी एउटै कुन शब्दको अधीनमा रहेर रत्न समान हाम्रो वर्तमान मनुष्य जीवन अत्योत्तम कर्म भूमि नै तहस नहस गरिरहेका छौ भनेर । खोला तर्ने पाँच जना लाटोहरूको कथा जस्तो भैं रहेको छ, जस्तै पाँचजना लाटोहरू खोला तर्छन् अनि खोला पारि पुगेपछि पाँचैजनाले त‍¥यो कि तरेनौ भनेर एकजना लाटोले साथी गन्छ तर आफूलाई गन्दैन आफूलाई नगनेपछि जम्मा चारजना मात्र पुगेको हुँदा एउटालाई खोलाले बगाएछ भनी खोलाको तीरमा पाँचैजना बसी रोएछन् । त्यही बेला एकजना सज्जन त्यहाँ पुगी उनीहरूलाई रोएको कारण सोध्छन् त्यसपछि सज्जन मुसुमुसु हाँस्दै गनेर पाँचजना पु¥याउँछन् । त्यसपछि लाटोहरू खुशी हुँदै र आफ्नो अज्ञानतालाई धिक्कार्दै आफ्नो बाटो लाग्छन् । आउनुहोस् हामी सबै तामाङहरूले ल्होछार एकरूपताको बन्धनमा जुटेर मनाउने गरौं, अनि लाटोहरू खुशी भएर आ(आफ्नो बाटो लागे जस्तो आ(आफ्नो कर्म भूमि सम्हाल्दै रत्न समान मनुष्य जीवन त्यसै खेर नफालौ । यसो हुनको निमित्त ल्होछार अगाडि जोडिन गएको कुन शब्द झिकी दिऊ ।

जसरी गन्तीको १ (एक) एउटै हुन्छ त्यसैले कुन एक भन्ने प्रश्नै उठ्दैन । देशमा एउटै प्रधानमन्त्री हुन्छ कुन प्रधानमन्त्री भन्ने प्रश्न उठ्दैन । कसैले प्रश्न उठायो भने कुन १ (एक) र कुन प्रधानमन्त्री भनिदिने त त्यस्तै वर्षमा एउटै मात्र ल्होछार नयाँ वर्ष हुन्छ कुन भन्ने प्रश्नै उठ्दैन । ल्होछार नयाँ वर्षको निमित्त पात्रोको आधारमा ज्योतिषशास्त्रले जुन दिन निर्णय गरिदिएको छ त्यसको अलावा अर्को दिन निर्णय गर्ने आधार नै छैन । महाशय हो ज्योतिष शास्त्र शुद्ध विज्ञान हो । प्रत्येक व्यक्ति(व्यक्तिको जीवन प्रवाह हो । त्यसैले यो उसको जीवन अनि यो स्वतन्त्र शास्त्र हो भनेर जान्नु पर्दछ । ल्होछार नयाँ वर्ष कहिले त । ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार पुरानो वर्ष सकिएको भोलिपल्ट नेपाली ज्योतिषविद्हरूले भिन्तुनाको नयाँ वर्षको पहिलो महिनाको पहिलो गते तिथि तोकी दिएर, भारतीय ज्योतिषविद्हरूले विक्रम संवत्को नयाँ वर्षको पहिलो महिनाको पहिलो मिति तोकी दिएर, अनि पश्चिमी मुलुकको ज्योतिषविद्हज्ञले इस्वी संवत्को नयाँ वर्षको पहिलो महिनाको पहिलो तारिख तोकिदिएर नयाँ वर्ष निर्धारित गरेका छन् । अर्थात भिन्तुनाको प्रत्येक वर्षको बाह्रौ महिनाको अन्तिम तिथिको भोलिपल्ट न्हुँ दयाँ भनेर । विक्रम संवत्को प्रत्येक वर्षको बाह्रौ महिनाको भोलिपल्ट वैशाख १ गते भनेर । इस्वी संवत्को प्रत्येक वर्षको बार्ह्रौ महिनाको अन्तिम तारिखको भोलिपल्ट जनवरी फस्ट भनेर । यसरी सुरु हुने नयाँ वर्ष मध्ये जनवरी फस्टलाई विश्वले नै स्विकारेका छन् भने भिन्तुना र विक्रम संवत्लाई पनि आ-आफ्नो स्थानमा सबैले स्वीकार गरिरहेका छन् न कि तानातान ।

अब पालो आयो अर्को नयाँ वर्ष जसलाई हामी लोसार या लोछार भनेर पुकार्छौ अनि जो हाम्रो हो । यस सम्बन्धमा सार र छारको अर्थ एउटै भए पनि कुन एक र कुन प्रधानमन्त्री भनेको जस्तो कुन मान्ने भन्ने विषयलाई लिएर हाम्रो निरर्थक द्वन्द्व नचलिरहेको पनि होइन । जसरी नेपाल संवत् भिन्तुना, भारतीय विक्रम संवत, पश्चिमी इस्वी संवतले प्रत्येक वर्ष नयाँ वर्ष जन्माउँछ त्यसरी नै ज्योतिष शास्त्रको आधारमा लोछारले पनि प्रत्येक वर्ष अर्को नयाँ वर्ष लोछार जन्माइरहेको छ र जन्माइनै रहनेछ । ज्योतिष शास्त्र अनुरूपको त्यहि लोछार संवतलाई नै स्वीकार गरेर एकै मतको पथिक बनौ भन्ने हाम्रो मान्यता हो । यसरी लोछार खुट्याउन कठिन भैरहेका हाम्रा समाजका कतिपय मित्रगण र संघ(संस्थाहरूको हितको निमित्त लोछार पनि हाम्रो धर्मको ज्योतिष शास्त्रले बताइ दिएको छ यसरी उपर्युक्त अन्य नयाँ वर्षको जन्म भएझै लोछार पनि प्रत्येक वर्षको बाह्र्रौ महिना घ्याल धाको अन्तिम तिथि या औसीको भोलिपल्ट लोसार नयाँ वर्षको पहिलो महिना धावा धाङपो छ्यु धा आरम्भ हुन्छ र यसैलाई हामीले लोछार मान्नु पर्दछ । लोछार के को आधारमा भन्ने जिज्ञासाको पूर्णता तर्फ लाग्नुपर्दा हाम्रो धर्मको ज्योतिषविदहरूले प्रचारमा ल्याएको वर्तमानमा उपलब्ध पात्रोको आधारमा मान्नु पर्दछ । लोछार सम्बन्धको होडबाजी शङ्का र आशङ्का निभाइ दिने महायान बौद्ध धर्म अन्तर्गतका पात्रोहरू यसप्रकार छन् ।

मन्जुश्री खुनु पात्रो लामा सोनाम ।
मन्जुश्री पात्रो मेन चि खाङ धर्मशाला
मन्जुश्री भित्ते पात्रो मेन चिखाङ धर्मशाला
मन्जुश्री भित्ते पात्रो फेन्दे ढाछाङ बालाजु ।
मन्जुश्री पात्रो सोरिग लोबलिङ हिमवत प्रदेश तिब्बत मन्जुश्री पात्रो हिमवत पर्वत तिब्बत ।
मन्जुश्री पात्रो पेपुङ सुङरब ङयामसोखाङ काङडा ।

तामाङ क्यालेण्डर नामक मन्जुश्री गोजी पात्रो
उपर्युक्त पात्रोहरू सहित प्रचार प्रसार योग्य खुशीको खबर के छ भने अजितमान तामाङले सम्पादन गर्नुभएको तामाङ क्यालेण्डर नामक मन्जुश्री गोजी पात्रो २१३१ बाँदर वर्ग विक्रमी २०६१ मा ज्योतिष शास्त्र अनुरूपको सही नयाँ वर्ष जनाउनु भएको छ । पहिलो महिना धावा धाङपो छ्यु धा वैशाख १ गते भनेको जस्तो हाम्रो नयाँ वर्षको पहिलो महिना हो । गत साल बाँदर वर्षमा उहाँहरूले उहाँकै गोजी पात्रो अनुसार चलिरहेको भेडा वर्ष २१३० विक्रमी २०६१ को वर्षको बार्हौ महिनाको पहिलो तिथिलाई वर्ष फि‍¥यो भन्दै मान्नु भए पनि ज्योतिष शास्त्रको कदर गर्दै हामीले मानेको सही लोछार २१३१ बाँदर वर्ग २०६१ को फागुन ९ गते शनिबारको दिनलाई नै लोछार भनी नयाँ वर्षको पहिलो महिनाको पहिलो तिथि जनाई दिनु भएको स्वागत योग्य सन्देश रहेको छ । यी सम्पूर्ण पात्रोहरू आज भन्दा ४६४२ वर्ष पूर्व अथवा २६३७ इशा पूर्वमा चीनका ज्योतिषी ह्वाङ ति द्वारा निर्मित ज्योतिष शास्त्र अथवा चन्द्र पात्रो सँग आधारित छन् जो विश्वकै सबैभन्दा पुरानो ज्योतिष शास्त्र हो । २८४० संवत अङ्कित गरिएको कुनै पनि पात्रो आजसम्म देखा परेको छैन जब कि उपर्युक्त पात्रोहरूमा २१३२ अङ्कित छ भने भएको संवत् स्वीकार गर्ने कि हुँदै नभएको संवत् स्वीकार गर्ने भन्ने विषयमा हामी सबैको एकमत हुन अत्यावश्यक हुन गएको छ ।

यस प्रसङ्गमा हामी सम्पूर्ण लोछार प्रेमी मित्रहरूको ध्यान केमा केन्द्रित गराउन चाहन्छौं भने हाम्रा कतिपय संघ(संस्थाहरू र संघ(संस्थाका अधिकारी महोदयहरूले बताउनु भएको मञ्जुश्री या चन्द्र पात्रो नै उपर्युक्त पात्रोहरू हुन् । उपर्युक्त पात्रोहरूको अतिरिक्त कुनै अरू वैकल्पिक पात्रोले तामाङहरूलाई उपर्युक्त पात्रोहरूमा निर्धारित तिथिको एक महिना अगावै लोछार (नयाँ वर्ष)हो भनेर भन्छ । जबकि अजितमान तामाङले समेत उपर्युक्त पात्रोहरूकै अनुरूप आइसक्नुभएको छ भने उहाँकै तामाङ क्यालेण्डर नामक गोजी पात्रो (२१३१ बाँदर वर्ष) द्वारा स्पष्ट हुन आएको छ । यिनै सत्य तथ्यहरू धारण गर्दै अब उप्रान्त कुनै पनि तामाङ मित्रहरू संघ(संस्थाका पदाधिकारीहरू द्विविधामा नपरिकन उल्लिखित पात्रोहरूको आधारमा नै लोछार स्वीकार गर्दै अकारण हुन गएको अनेकतालाई एकताको सूत्रमा बाँध्नको निमित्त सहयोग गर्न‘ नै हुनेछ भन्ने हामीले आशा राखेका छौं ।

पुनः यस विषयमा अझ राम्ररी बुझ्नुपर्दा-अर्कोतर्फ हामीले के पनि पाएका ‘लोछार एक परिचयको एक पङ्क्ति ल्हो, खाम, दशा ग्रह र लगन हेर्ने तामाङ पात्रो खोई ? सोनाम लोछार मान्दा ग्याल्बो लोछारको बाह्रौं महिनामा सोनाम लोछारको पहिलो महिना हुन्छ जसले गर्दा ‘लो, खाम गडबड भई विग्रह पर्ला कि ? यस पङ्क्तिलाई खण्डन गर्दै ने‌‌ता‌घे संघले बुझेर हो या नबुझेर हो सजिलै भनिदिएको छ कि यस भनाइको पहिलो जवाफ हाम्रो नजिकै विद्यमान भारतीय र चिनियाँ पात्रो देखाइ दिए पुग्छ अनि तामाङ पात्रोको सम्भावना, भनेर । उहाँहरूले खण्डन गर्दै भारतीय र चिनियाँ पात्रोलाई आधार बनाएर जुन उत्तर दिनुभयो त्यो सही उत्तर हो । यस उत्तरमा हामीले के पनि पायौं भने ‘अनि तामाङ पात्रोको सम्भावनाु भन्दै भारतीय चिनियाँ पात्रो नै तामाङ पात्रो हो भन्ने ठोकुवा गर्न‘भएको त झन् सत प्रतिशत नै ठिक हो किनभने हामीले पनि लेखेको, भनेको, सवैलाई आग्रह गरेको, दिन, दशा, ग्रह,लगन इत्यादि हेरेको र यो दिन लोछार पर्छ है भनेको पनि माथि उल्लिखित भारतीय चिनियाँ पात्रो नै हुन् । हामीलाई लाग्छ नेताघे संघलाई भारतीय चिनियाँ पात्रोको नाम चाहिँ थाहा भएको र तर त्यस भित्र के छ भन्ने बारेमा चाहिँ थाहा नभएको र खण्डन गर्ने असफल प्रयास गरेको इत्यादि । आउनुहोस् बुझ्नुहोस् ‘घ्यागारु भनेको भारत वर्ष हो । ‘घ्यागारुको असली रूप ‘घ्याकारु हो । ‘घ्याु भनेको ‘घ्याछेन्पो अर्थात् हामीले बुझ्ने भाषामा भन्ने हो भने विशाल, ‘कार भनेको ‘कारपो या सेतो त्यसैले ‘घ्याकारु भनेको सेतो वस्त्र धारण गर्ने नागरिकहरूद्वारा भरिएको विशाल देश भनेको हो ।

ध्याकारलाई किन घ्याकार भनिन्छ त, भने सुम च्युपा अर्थात त्रिशद नामक व्याकरण अनुसार घ्यापछि कार जोड्न गलत साबित हुने भएकोले कार को स्थानमा गार प्रयुत्त गरी घ्याकार भनिएको हो । माथि उल्लिखित भए अनुसार यसको असली रूप हो घ्याकार (भारत वर्ष) । छोटकरीमा हामी कार मात्र भन्ने गर्दछौ त्यसैले भारतीय ज्योतिषिलाई कारचि भन्ने गर्दछौ । शाब्दिक अर्थ पछ्याउने हो भने कारचि को अर्थ हुनेछ सेतो ज्योतिषि । सेतो ज्योतिषि भन्नाले भारतीय ज्योतिषि भनेर बुझ्नु पर्छ ।

चिनियाँ ज्योतिषिलाई नाग्चि भनेर भन्दछ । भारत वर्षलाई घ्याकार भनेको जस्तो चीनलाई तिब्बतीयनहरूले घ्यानाग भन्दछन् । घ्या भनेको घ्या छेन्पो अर्थात विशाल क्षेत्रफल भएको नाग् भनेको कालो अथवा मन र व्यवहार असल नभएको यस अर्थमा घ्यानागको नाग बाट नागचि अथवा चिनियँँ ज्योतिष स्पष्ट हुन्छ । यहाँसम्म हामीले के बुझ्यौ भने कारचि र नाग्चि नै भारतीय र चिनियाँ ज्योतिष हुन् । भारतीय र चिनियाँ ज्योतिषको एक मुस्ट र संयुक्त रूप नै माथि उल्लिखित मञ्जुश्री पात्रोहरू हुन् जुन पात्रोहरू महायान बौद्ध धर्मका हामी सबै अनुयायीहरू प्रयोग गर्दछौ र त्यसै पात्रोलाई नै नेताघे संघले पनि प्रमाणको निमित्त हाम्रो अगाडि सारी दिएका छन् । अब हामी सबैको पात्रो एउटै भएको छ र तिनै पात्रोहरूले निर्धारण गरेको दिनलाई नै लोछार मान्न हा्म्रो बुद्धिमानी हुनेछ न कि ताना तान ।

तामाङ र तामाङ समाजको मात्र नाम लिएर प्रस्तुत गरिएको यो लेख तामाङ र तामाङ समाजको निमित्त मात्र होइन भनेर बुझिदिनु हुनको लागि हामी हार्दिक अनुरोध गर्दछौ । एउटै नामलाई मात्र केन्द्रबिन्दु बनाएर लेखिएको यो लेखले संसारमा विद्यमान महायान बौद्ध धर्मका हामी सबै अनुयायीहरू शेर्पा, तिब्बतियन, तामाङ, गुरुङ, मगर, थकाली, डोल्पाली, सिक्किमिज, खुनु, लद्दाखि, लगायत यस धर्म अपनाइसकेकालाई समेत समेटेको छ । यसरी स्विकारी दिनुभयो भने हामी जीवन पर्यन्त कृतज्ञ रहनेछौ । लोछार केको आधारमा मान्ने भन्ने विषयलाई यही पूर्ण विराम दिंदै हामी सम्पूर्ण महायान बौद्ध धर्मका अनुयायीहरू अब कसरी मान्ने विषयको पक्षतर्फ प्रवेश गरौ ।

ल्होछारको तयारी
ल्होछार मनाउनु भन्दा केही दिन अगावै आ–आफ्नो पूजा कोठा, भान्सा घर, सुत्ने कोठा लगायत सम्पूर्ण घर र घर वरिपरि सफा गरी ल्होछार मनाउन योग्य बनाउनु पर्छ । आर्थिक अवस्थाले साथ दिएको खण्डमा आफ्नो घर र घर परिसरमा रङ्ग लगाई नयाँ रूप दिन सके अझ उत्तम हुनेछ । यसरी घर सिङार्ने काम लोछार भन्दा अगाडि नै सकाउनु पर्छ । ल्होछारको अघिल्लो साँझ अथवा औंसीको साँझ घुथुग खानु पर्छ । घु भनेको नौ र थुग भनेको थुग्पा हो । अर्थात् नौ प्रकारका विभिन्न खाद्यान्न मिलाएर बनाएको थुग्पालाई घुथुग भन्दछ । ती नौ प्रकारका विभिन्न खाद्यान्न यस प्रकार छन् स स्या, चामल, मटर (केराउ) या दाल, फिङ (भटमासबाट तयार पारिएको सेवइ जस्तो देखिने खाद्य पदार्थ), मुला, दालचिनी, छुर्पी, हरियो साग र गोलो रिल्बु आदि । यसरी घुथुग तयार गरेपछि आफ्नो भाग्य र स्वभाव सङ्केत गर्ने विभिन्न वस्तुहरू आँटा मुछेर बनाइएको मसिनो डल्लोभित्र राख्नु पर्छ । अनि त्यसपछि आगोमा सेकाएर पाकेपछि घुथुगमा मिलाएर सबैलाई एक(एक वटा डल्लो पर्ने गरि घुथुग बाँडनु पर्छ । आँटाको डल्लो भित्र राखिने विभिन्न वस्तुहरूले आगामी वर्षको लागि अलग(अलग लक्षणको सङ्केत दिने विश्वास छ जो यस प्रकार छन् :

कागजको टुक्रा, काठको टुक्रा, कोइला, नुन, बोसो, भेंडाको ऊन, खुर्सानी, पेलाको टुक्रा, इत्यादि राख्नु पर्छ । यसको अतिरिक्त मुछेको आँटाको तारा (जुन पानी सिंगडा जस्तो हुन्छ) ठूलो भूँडी भएको मान्छे, द्विमुखे, घेन डुसि (चौकोस), सूर्य, चन्द्र पुस्तकको ठेली इत्यादि साङ्केतिक रूपमा बनाएर आगोमा सेकाएर पाक्ने पारी घुथुगमा मिसाउनु पर्छ । आभोली कागजमा लेखेर आँटाको डल्लोभित्र राख्ने चलन चलेको छ ।

लक्षण
कागज पायो भने गुणवान हुने ।
नुन पायो भने प्रसिद्ध हुने ।
बोसो पायो भने धन सम्पत्ति बढ्ने ।
खुर्सानी पायो भने छोरा भए छुच्चा अनि छोरी भए छुच्ची हुने ।
पेलाको टुक्रा पायो भने काममा ठग्ने ।
तारा पायो भने वर्षभरि नै सुख शान्ति हुने
भूँडी ठूलो भएको मान्छे पायो भने धेरै खान पाउने या खन्चुवा हुने
दुईमुखे पायो भने कुरौटे या चम्चागिरी हुने ।
धेन डुसि (चौकोस) पायो भने आयु लामो हुने
सूर्य पायो भने उसको परिवारमा आनन्द हुने
चुन पायो भने उसले र उसको बुहारीले बच्चा पाए छोरी पाउने
पुस्तकको ठेली पायो भने धर्म व्यापार र खेतिपाती उत्तम हुने ।

भाग लगाइएको घुथुग आ-आफ्नो अगाडि आइ सकेपछि कसको भागमा के परेको छ रु अर्थात् कसले के पायो भन्ने कौतुहलले एक प्रकारको रमाइलो वातावरणको सिर्जना गराउँछ । कागज पाउनेलाई यो गुणवान् र बुद्धिमान् हुने रहेछ राम्रो पढ्नु, बिहान चाँडै उठ्नु, कुम्भकर्ण जस्तो धेरै नसुत्नु भनेर हँस्यौली गरिन्छ । एवम् रीतले कसैलाई धनी, कसैलाई मुखाले हुनेरहेछ भन्दै लक्षण अनुसार आफ्नो बुद्धिले भ्याएसम्म हँसाउने काम गरिन्छ र हाँस्दै हँसाउँदै खुशी मुुख पारेर घुथुग खाएपछि लुइ फ्याँक्नु पर्छ जो घुथुग खान अगाडि नै बनाएर राखिएको हुन्छ । यसरी तयार गरेको लुइ (आफ्नो शरीरको प्रतीक) फ्याँक्ने क्रममा एक एक वटा छाङबु (मुछेको आँटामा चम्पाको डल्लो अलिकति लाम्चो पारेर आफ्नो पाँचै औलाको छाप (चक्र लागाइने) मा लगाएर फ्याँक्नुपर्छ । फ्याँकिने लुइले कष्ट, सङ्कट, आपद्विपद् र विघ्न बाधाहरू लगेर जाने विश्वास भएकोले यो फ्याँकिन्छ । विशेष गरेर पुस्तक पाउनेले व्यापार र खेतीपाती अनि धर्म समेत उत्तम पार्नको निमित्त धर्म ग्रन्थ पाठ गराउनु पर्छ । यी लक्ष्यहरूको अवधि एक वर्षको (अर्को लोछार पर्यन्त) हुनेछ । अरूले आ-आफ्नो लक्षण अनुसार तेर छ्योए अथवा कसैले मन्साउने, कसैले बसुन्धरा (नाम थोएसे) को पूजा गर्ने, कसैले आयुको पूजा गर्ने इत्यादि गर्नु पर्छ ।

विशेष गरेर लोछारमा झलक्क हेर्दा घोडाको कान जस्तो देखिने एक प्रकारको खाने वस्तु बनाउनु पर्छ जसलाई खाबसे भनिन्छ । खाबसे मैदाको बनाउनु पर्छ । खाबसे बनाउँदा एक तर्फ कराइमा खाने तेल तताउनु पर्दछ र मैदा मुछेर अन्दाजी एक पाउको डल्लो बनाइ गोलो बनाएर बेल्नु पर्छ । बेल्दा रोटीको बेलाइ भन्दा केही मोटो राख्नु पर्छ । बेलीसके पछि गोलो रोटी बन्छ । गोलो रोटी बनेपछि रोटीको दुई छेउ जोड्नु पर्छ र रोटीको जोडाइलाई तलतिर पारेर जोडाइ पछि उताको दुवै छेउमा दुवै हातको चार औलाको सहाराले बिस्तारै तन्काउनु पर्छ र उम्लिरहेको खानेतेलमा छोडिदिनु पर्छ । केहीबेर ओर्काइ फर्काइ पकाएपछि खाबसे तयार हुन्छ । यसरी भएको खाबसे लोछार मनाइने निश्चित स्थानमा एउटा ठूलो चौकोस (टेबल)मा हार लगाएर सजाउनु पर्छ । यो हार लगाउँदा राखिएको खाबसे दुख बिर्सिएर सुख र आनन्द निम्त्याइने उपायको प्रतीक हो । यो हार लगाउँदा खेरि लगाएको हारको गन्ति तल देखि माथि तर एक हार, दुई हार भनेर गने झैं धे-किप-धुग भनेर गन्नु पर्छ अर्थात् एक हारलाई फेरि धे भनेर हारको गन्ती गर्नु पर्छ धे को अर्थ धेवा अथवा सुख हो । किप को अर्थ किपो अर्थात् आनन्द हो । धुग को अर्थ धुग्ङेल अथवा दुख हो । यस क्रम अनुसार खाबसे हार लगाउँदा तीन हार, नौ हार, बाह्र हार, पन्ध्र हार पारेर लगाउनु हुँदैन । यसरी हार लगाउँदा खेरि धे(किप(धुग को गणना क्रम अनुसार धुग अथवा दुख शिरमा पर्न जान्छ र जीवन प्राय दुस्खमय हुन्छ भन्ने विश्वास छ र हार लगाउँदा धे-किप-धुग-धे (चार हार) को गणनामा सुख शिरमा पर्ने गरि या धे-किप-धुग-धे-किप (पाँच हार) को गणना आनन्द शिरमा पर्ने गरी लगाउनु पर्छ । सुख या आनन्द शिरमा पार्नको लागि दुई हार, चार हार, पाँच हार, सात हार, आठ हार, दश हार, एघार हार, तेह्र हार, चौध हार, सोह्र हार, सत्र हार, उन्नाइस हार र बीस हार पारी लगाउनु पर्छ ।

खाबसे हार लगाइएको (अगाडि) दाहिने तर्फ कारसुम ङार सुम (तीन प्रकारको सेतो पदार्थ (१. दूध २. दही ३. घ्यू) (तीन प्रकारको मीठो पदार्थ (१. चिनी २. मिश्री ३. सक्खर) चम्पा (गहुँ भुटेर पिसेको पिठो) मा फिटेर टाशी छिमर बनाउनु पर्छ । तयार गरिएको टाशी छिमर कायो अथवा प्याला या कचौरामा या काठको सानो बाकस जस्तो बनाएर राख्नु पर्छ । त्यस माथि घिउमा विभिन्न प्रकारको धुलो रङ्ग फिटेर बनाइएको रङ्गीन घिउद्वारा एउटा च्याप्टो र लाम्चो काठमा अष्ट मङ्गलको चिह्न बनाएर राखिन्छ जो मङ्गलको प्रतीक हो । अष्ट मङ्गलका चिह्नहरू क्रमश रत्न छत्र (रत्नको छाता), सूवर्ण मत्स्य (सुनको माछा), कुम्भ (सुनको कलश), कमलको फूल, शङ्ख, श्री वत्स, ध्वजा र धर्म चक्र आदि हुन । टाशी छिमरको देब्रेतर्फ रङ्गीन घिउद्वारा नै बनाइएको एउटा झ्याम्म परेको रूखको फेदमा हात्ती, हात्ती माथि बाँदर, बाँदर माथि खरायो र खरायो माथि चराको आकृति बनाएर राखिन्छ जो मित्रताको प्रतीक हो । यी दुईवटै प्रतीकमा गहुँको बाला राख्नु पर्छ । मित्रताको प्रतीकको छेउमै धुइच्ची (अमृत) बनाएर राख्नु पर्छ जो आरोग्यको प्रतीक हो । उपलब्ध भए दुवैतर्फ उम्रिएको बाली (विशेष गरेर गहुँको) राख्नु पर्छ । यसरी राख्नको निमित्त महिना दिन अगावै फूल रोप्ने गमलामा गहुँ छर्नु पर्छ जो लोसारमा उम्रिएर हरियो देखिन्छ । लोसारको ठिक एक महिना अगाडि जुन दिन गहुँ छरिन्छ त्यसैलाई सोनाम लोसार भनिन्छ, यो लोसार नामले पुकारिने लोसार प्रेमी सबैको पर्व हो यसलाई पर्व चाडको रूपमा सबैले मनाउनु पर्छ । जसको एक महिना पछि संवत् फिर्दछ । सङ्क्षिप्तमा यो सोनाम पर्व लोसारको तयारी सुरु गरिने दिनको रूपमा जान्नु पर्दछ अर्थात हिन्दूको जमरे औंसी र यो एउटै अर्थ बोकेका चाडहरू हुन् न कि नयाँ वर्ष । उम्रिएको बाली चढाउनुको अर्थ आफ्नो इष्टदेवलाई खुशी पार्नु र उत्तम बाली नाली पाउनु हो । यसको अतिरिक्त खाबसे सजाइएको चौकोसको अनुकूल स्थानमा विभिन्न बीज, घिउ, लगाएर घोलिएको (भोटे) चिया, चिनीको चिया, फलफूल र उत्तम मिठाइहरू पनि सजाउनु पर्छ । देब्रेतर्फ भेंडाको टाउको माथि नोर्बु (मणि) बनाएर राख्नु पर्छ । यी कार्यहरू अर्थात् –आफ्नो घर र घर आगन वरिपरि सफा गरी कृत्रिम सजावट दिने ।

लुइ फ्याँक्ने ।
खाबसे बनाएर हार लगाई सजाउने ।
टाशी छिमर बनाएर राख्ने ।
माथि उल्लिखित सम्पूर्ण कार्यहरू लोसारको अघिल्लो साँझ अर्थात औँसीको बेलुकी नै सम्पन्न गर्नु पर्छ ।

यहाँ भेंडाको टाउको राख्नुपर्ने दुईवटा कारणहरू छन्
प्रथमः हिमवत् प्रदेश तिब्बतमा ल्हुग ल्हो (भेडा बर्ष) मे खाम देखि लोसार मनाउन थालिएकोले भेंडाको टाउको राख्ने प्रथा चलेको हो ।

दोस्रोः प्राचीन कालमा हिमवत प्रदेश तिब्बतमा लोसार मनाउँदा बढी काटमार भइ हिसाले उग्र रूप लिएको हुँदा सातौ दलाइ लामाले हामी बौद्ध हौ र बौद्ध भएको कारणले हामीले काटमार गर्न सुहाउँदैन भनी हिस्रक कार्य (काटमार) गर्न रोक्नुभयो । अर्को वर्ष हिंसारहित भई लोसार मनाउँदा सुङमा (रक्षक) क्रोधित भई धेरै जन धनको क्षति भएकोले सुङमा (रक्षक) को निमित्त भेडाको टाउको बनाएर चढाउनु भनी आज्ञा हुँदा घिउ या चाम्पाको टाउको बनाएर चढाउने प्रथा चलेको हो ।

लोसार मनाउने विधि
लोसार मनाउनको निमित्त औसी कै बेलुका सबै सर्जाम तयार गरेर ठीक्क पार्नु पर्छ । अब लोसारको दिन के के गर्ने र खाने भन्ने विषय प्रस्तुत गर्दछौ ।

लोसारको दिन करिब साढे चार बजै नै उठेर पाँच बजे सम्ममा हात मुख धोइ सक्नु पर्छ । हात मुख धोइ सकेपछि आ आफ्नो ल्हा खाङ (पूजा कोठा) मा गएर विधिवत् पूजा गर्नु पर्छ । यदि घर परिवारमा लामा भए अथवा अरू नै कोही लामा ल्याउन सकेको खण्डमा अष्ठ मङ्गल (टाशी ग्येपा) पाठ गरेपछि भगवान् बुद्ध, गुरु रिन्पोछे, भट्टारिका आर्यतारा इत्यादिको स्तुति गर्नु पर्छ । परिवारमा लामा नभए र अन्यत्रबाट पनि लामा नजुटेको खण्डमा आफैले सधै जस्तो पूजा गर्ने र नयाँ कपडा लगाएर प्रत्येकले ल्हा खाङ (देवता स्थान)मा ढोग गर्ने र खादा चढाउने । खादा चढाइसकेपछि क्रमशः खाबसे, टाशी छिमर कोनछ्योग सुम (त्रिरत्न)लाई अर्पण गर्ने (चढाउने) । यसरी चढाउँदाखेरि ऊभो तर्फ छर्किनु पर्छ । त्यसपछि, टाशी देलेग् फुनसुग छ्योग्पर स्यो (मङ्गल स्वस्ति भई उपसम्पन्न हुन सकोस्) भन्ने कामना व्यक्त गर्दै अलिकति टाशी छिमर खानु पर्छ र छिमर पश्चात छुइच्ची ग्रहण गर्नु पर्छ । अन्तमा सजाएर राखिएको विभिन्न मिठाइहरू मध्येबाट कुनै ग्रहण गरेपछि अन्य खानामा सर्वप्रथम ढोमा देसिल र खाबसे खानुपर्छ । लोसारको पहिलो दिन आ आफ्नो लामा गुरुहरूको दर्शन गर्न जानु पर्छ त्यसैले पहिलो दिनलाई लामा लोसार भनिन्छ । लामा दर्शन गरेर फर्किएपछि आ आफ्नो संस्कृति परिचायक नाचगान इत्यादि सुरु गरे हुन्छ ।

यस क्रममा शेर्पा, तिब्बतियन, तामाङ, गुरुङ, मगर, थकाली, डोल्पाली, सिक्किमिज, खुनु, लद्दाखी आदिको आ आफ्नो सांस्कृतिक गान र नृत्य भए अनुसार हामी तामाङहरूले पनि आफ्नो धर्म संस्कृति अनुरूपको गीत र नाच गरे उत्तम हुन्छ ।यसरी लामा दर्शन गरेपछि डम्फु र गीतको माध्यमद्वारा धर्म र संस्कृतिको अनुकरण गर्दै लोसारको पहिलो दिन बिताउनु पर्छ । लोसारको दोस्रो दिन भादेन छैन भने र नक्षत्र पनि राम्रो भएको खण्डमा धारसीङ (झन्डा) उठाउनु पर्छ र आ-आफ्नो देशको शासन व्यवस्था अनुसार राजा भए राजा, राष्ट्रपति भए राष्ट्रपति अध्यक्ष भए अध्यक्ष र आफ्नै गाउँको ठूलाबडालाई मान्न जाने प्रथा रहेकोले दोस्रो दिनलाई घ्यालबो लोसर भनिन्छ । तेस्रो दिन देखि आ आफ्नो मान्यजन कहँँ जाने, शुभकामना आदान प्रदान गर्ने, आएका पाहुनाहरूलाई सहर्ष सेवा सत्कार गर्नु पर्छ । चौथो दिनमा गाउँ घर मिलेर या सम्भव भए एकै घरले ल्होमा र सेङ्गे नाच देखाउन सके झन् अनि उत्तम हुनेछ । तेस्रो दिन देखीको लोसारलाई साब सोल ढोल तोन (अतिथिआतिथ्यको खुसीयाली) भनिन्छ । लोसारको अन्तिम दिन गुरु रिन्पोछेको पवित्र तिथि दशमी (दशौ दिन) हो । सो दिन घरमा गुरु रिन्पोछेको पूजा गर्नु पर्छ र सजाएर राखेको खाबसे सहित सम्पूर्ण सामानहरू उठाउनु पर्छ ।

प्रकाशितः २०७१ माघ

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...