रिक्साले तानेको आधा शताब्दी – Janata Live
  • Sunday, February 5, 2023

रिक्साले तानेको आधा शताब्दी

  • जनता लाइभ
  • पुष २१, २०७५

रिक्साले तानेको आधा शताब्दी

वसन्तपुरको माझमा रिक्सासहित ‘प्यासेन्जर’ पर्खिरहेका छन्, मंगल तामाङ । १५ ओटा रिक्सा लाम लाएर उभिएका छन् । तिनै रिक्सामध्येको आफ्नो रिक्सामा बसे मंगल । र, फागुनको धमिलो दिनमा टहलिएका पर्यटकतिर हेरे ।

एक पर्यटक उनको रिक्साछेउ आए । ठमेल जान चाहिरहेको बताउछन् पर्यटक । उनले स्पष्ट अंग्रेजी बोल्न सकेनन् । तर, ‘टुटाफुटा’ अंग्रेजीले पर्यटकलाई बार्गेनिङ्ग गरिछाडे उनले । ‘ओके डिन्छ’ को टोनमा पर्यटकले स्वीका¥यो । ती पर्यटकलाई रिक्सामा बसालेर उनी ठमेलतिर लागे । आधा घण्टामा रित्तो रिक्सा लिएर पुनः फर्किए । पहिलाकै ठाउँमा रिक्सा उभ्याएर रिक्सामाथि आराम गर्न बसे ।

निधारको पसिना काँधको तौलियाले पुछ्दै मंगल उसैगरी हेर्छन्– ऐतिहासिक वसन्तपुर । जसलाई २०७२ बैशाख १२ को विनाशकारी भूकम्पले जीर्ण पारिदियो । त्यस्तै, जीर्ण बनाइदियो उनलाई साहुको रिक्साले । ६५ वर्षीय मंगल तामाङ अहिले पनि ठमेल, वसन्तपुर, न्युरोड, इन्द्रचोक र असनका साँघुरा गल्लीहरूमा रिक्सा छिचोलिरहन्छन् ।

रिक्साको चेन लगाउँदै उनी भन्छन्, ‘हामीलाई पहिले ड्राइभर भन्थे ।’ तिनै रिक्सा ड्राइभर अहिले ‘रिक्सावाला’ भएका छन् । पुराना रिक्सावाला । ७२ सालको भूकम्पमा दुइटा रिक्सा च्यापिए ।

रिक्सावालाले भागेर ज्यान जोगाए । त्यही ज्यान जोगाउनेमा एकजना मंगल पनि थिए । त्यही बेला लागेको चोटको खत देखाउँदै भन्छन्, ‘घुँडामा बढी बल प-यो भने दुख्छ ।’

अहिले मानिसहरू रिक्सा चढ्दा आफ्नो व्यक्तित्व होचिने हो कि भन्ने सोच्छन्, यो उनको अनुमान हो । हुन पनि पछिल्लो समय रिक्सालाई तपसिलको सवारी साधन मानी खिसी गर्ने प्रवृत्ति बढेको छ । पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्षकालाई वृद्धभत्ता दिने घोषणा ग¥यो । उनले त्यसको वास्तै गरेनन् । उनी भन्छन्, ‘हातगोडा चलुन्जेल रिक्सा चलाएरै खान्छु ।’

उनले रिक्सा चलाउन थालेको ५० वर्ष भयो । १५ वर्षको उमेरमा काठमाडौं आएका थिए उनी । पहिलोपटक रिक्सा चलाउने काम पाए राजधानीमा । उनी सम्झँदै भन्छन्, ‘२०१७ सालतिर हो म आएको, त्यतिखेर पञ्चायती शासन थियो सायद ।’

देश पञ्चायतको निरकुंशताबाट गुज्रिरहेको थियो । राजनैतिक दलका नेता–कार्यकर्ताहरू भागाभाग गर्थे । हतारिएकालाई उनी रिक्सामा बसालेर गन्तव्यसम्म पु¥याउथे । बाटोमा कहिलेकाहीँ मुडभेड हुन्थ्यो । अनि उनलाई आफ्नो ज्यानको भन्दा साहुको रिक्साको पीर हुन्थ्यो । त्यही पीरले उनी रिक्सालाई सकुशल साँझ घर पु¥याउँथे । ती दिन सम्झँदै उनी भन्छन्, ‘पञ्चेले दिएको डरले कैयौं दिन रिक्सा नि चलाइएन ।’

रिक्साको मोह उनमा अझै घटेको छैन । यस्तो लाग्छ, रिक्सामा लागेको खिया र उनको गालामा परेको चाउरी उस्तैउस्तै हुन् ।

मंगलका दुइटा दाँत झरिसके । कपाल खुइलिए । तालु छोप्न क्याप लगाउँछन् । फ्यात्त परेको भुँडी भए पनि बडो हलुकासँग रिक्सा चलाउँछन् । पाइडलको घुमाइसँगै रिक्साको गद्दीभन्दा माथि उनको हिप दायाँबायाँ खुब हल्लिन्छ । पाइडल मार्न छोडेर उनी गद्दीमा बस्छन् । थकानलाई सासमा बिस्तारै छोड्छन् । पुनः उस्तैगरी रिक्सा हुइँकाउछन् ।

रिक्सा चलाएरै अहिलेसम्म उनले जहान पालेकै छन् । पञ्चायती दिनहरूमा तन्नेरी मंगल रिक्सा कुदाउँदै वसन्तपुरदेखि ठमेल, ठमेलदेखि न्युरोड पुग्थे । राजेश खन्नामय कपाल लर्काएर रिक्सामा प्यासेन्जर लिई किशोरकुमारको गीत ‘गाता रहे मेरा दिल…’ गुनगुनाउँथे ।

‘२०१७-०१८ सालतिर मान्छेहरू रिक्सा देखेर बाटो छोड्थे, अहिले टेर्दैनन्,’ उनी खितखिताए । हाँसो फु-यो उनमा । वसन्तपुरतिर देखाए उनले । तन्नेरी आँखाले देखेको त्यो बेलाको राजधानी फेरियो अब । रिक्सा फेरियो । उनी फेरिए । तर, फेरिएन उनको दिनचर्या । रिक्सालाई आउने–जानेहरूबाट सजिलै उम्कन्छन् । पहिले करले चलाएको रिक्सा अहिले रहरले चलाएको जस्तो भयो उनका लागि । भन्छन्, ‘रिक्सा चलाउनु पनि कला हो ।’

दुलहीझैं सिँगारिएको रिक्साको घण्टी बजाउँदै इन्द्रचोकको भीड छिचोल्नुको आनन्द उनले मुस्कुराएरै देखाए । त्यही आनन्दमा उनले रिक्सासँगै आफ्नो उमेरका पचास वसन्त ताने । रिक्साको अघि बाँधेको पलाष्टिक फूल सुम्सुम्याउँदै उनी भन्छन्, ‘यही फुलझैं मुर्र्झाएँ ।’

पाकिस्तानमा ‘जुल्फीकर अलि भुट्टो’को हत्यापछि नेपालमा विद्यार्थी आन्दोलन चर्कियो । त्यही आन्दोलनताका मंगलले थुप्रै विद्यार्थी नेताहरू बोकेर रिक्सा कुदाए । ‘सुधारिएको पञ्चायत कि बहुदलीय व्यवस्था’ भन्ने विषयमा ३६ सालको जनमत संग्रहमा यही आन्दोलनको नतिजापछि ‘खरो पञ्चायत’ले निर्णय गर्न बाध्य भएको थियो । तर, मंगल यी कुराहरूप्रति बेखबर रहेर रिक्सा चलाइरहे । रिक्साले पनि आन्दोलनकारीलाई ठूलो सहयोग पु¥याएको बताउछन् उनी । आफ्नो रिक्साको कुदाइ र नेपालको राजनीतिको कुदाइ एकै ठान्छन् । आफूले राजनीति नगरे पनि राजनीतिको प्रभाव भने उनी र उनको रिक्साले भोगेको पाउँछन् ।

क्रमशः बुहदलीय व्यवस्था ल्याउन २०४६-०४७ को आन्दोलन भयो । दशवर्षे जनयुद्ध चल्यो । ०६२/६३ को आन्दोलनमा पनि उनले थुप्रै आन्दोलनकारी बोकेर हिडे । धेरैपटक नेपाल बन्द यो ।

नेपाल बन्द हुँदा भने धेरै रिक्सावालाहरूको कमाइ हुन्थ्यो । त्यस्ता दिनहरू देशमा फेरि नआओस् भन्ने चाहन्छन् उनी । बन्दको बेला रिक्साबाट मनग्ये कमाउथे । र, रासन पसललाई मनग्य दिएर महिना दिनसम्मका लागि रासन जुराउँथे । उनी भन्छन्, ‘नेपाल बन्दले रिक्सावालाहरूले काम पाउथे तर धेरै प्यासेन्जरले कष्ट भने भोग्थे ।’

राणा शासनको अन्त्यपछि नेपालमा घटेका सबै राजनीतिक घटनाक्रमहरू उनले देखे । तर, उनले रिक्साको पाइडल घुमाउन छोडेका छैनन् । उनको जिन्दगी त्यही पाइडलझैं एकै ठाउँ घुमिरह्यो । रिक्साको ‘सेन्टर धुरा’झैं राजनीति पनि एकै ठाउँ रुमल्लिरह्यो । धेरै परिवर्तन भएर पनि उनीजस्ता मजदूरको जीवनमा खासै परिवर्तन नआएको उनी आज महसुस गर्छन् ।

नेपाल बन्द हुँदा कमाएको पैसाले उनलाई कहिल्यै सन्तुष्टि दिएन । बन्दमा रिक्सा चढ्नेहरूले आफ्नो हतारको कथा सुनाउथे । हतारको कथा पीडाको हुन्थ्यो । अरूको पीडा आफ्नै जस्तो ठानिदिन्थे मंगल । बन्दकर्ताहरूबाट जोगिएर प्यासेन्जरलाई गन्तव्यमा पु¥याउनुपथ्र्यो । त्यसकिसिमको जोखिम पनि उनले धेरैपटक खेपे ।

कोहीकोही प्यासेन्जरले घरदुवार सोधिदिँदा मंगल धेरैपटक खुसी भएका छन् । खुलेर बोल्ने प्यासेन्जरहरूप्रति उनी कृतज्ञता व्यक्त पनि गर्थे । कोहीकोही प्यासेन्जरले मान्छे नै नठानेर ठाडो बोल्थे । अथवा हेपाहा प्रवृत्ति देखाएर होच्याउथे । उनी आफूलाई भाग्यमानी ठान्दै भन्छन्, ‘थरीथरी प्यासेन्जर चिन्न पाइन्थ्यो, तर याद कसैको रहेन ।’

बिनाभाडा अपाङ्गहरूलाई गन्तव्यमा पु-याइदिएका पनि छन् । त्यो सहयोगले उनलाई बाँच्न सधैं ऊर्जा दियो । रिक्साका पाइडलमा दम लगाउन सधैं उक्साइरह्यो ।

‘यो लोकशनमा खुब रिक्सा हुइँकिन्थ्यो,’ हातले इन्द्रचोकतिर देखाउँदै भने उनले । राजधानीका लागि मुख्य बजार नै वसन्तपुर, ठमेल, न्युरोड थियो । त्यसैमा त्यतिखेर ट्याक्सी कम चल्थ्यो । डलर साँट्न, फोनग्राफ गर्न, चिट्ठी पु¥याउन । किनमेल गर्न । उनले देखाएकै शहर थियो । उनी सम्झँदै भन्छन्, ‘रिक्सा चलाउने प्रतिस्पर्धा नै हुन्थ्यो ।’

२०१७ सालमा एकजनाको भाडा ‘सुकामोहर’ थियो । ‘सुकामोहर’ भाडा लिएर रिक्सा चलाउन थालेका मंगल सम्झँदै भन्छन्, ‘हुनमान ढोकादेखि— असनको १० मोहर, सिंह दरबारको २० मोहर, ठमेलको १५ मोहर, लाजिम्पाटको २५ मोहर थियो । अहिले क्रमशः १२०, १५०, २०० रुपैयाँ लिइन्छ ।

२०१७-०१८ सालतिर नयाँ रिक्सा किन्न ४ सयदेखि ७ सयसम्म लाग्थ्यो । सोही मोडलको रिक्सा किन्नुप¥यो भने अहिले एक लाखै पर्छ । हाल ठमेल, वसन्तपुर, इन्द्रचोक वरिपरि १५२ रिक्सा चल्दै आएका छन् । पहिले ४ सय रिक्सा यही लोकेशनमा चल्थे । रिक्सावालाहरू पनि बिस्तारै पलायन हुँदै गइरहेका छन् । मंगल डराउँदै अपेक्षा व्यक्त गर्छन्, ‘असनको आकर्षण नै रिक्सा हो, यो कहिले नहराओस् ।’

साहुका ५० ओटा रिक्सा छन् । एक रिक्सा मंगल चलाउँछन् । उनको निजी रिक्सा छैन । उनी भाडाकै रिक्सा चलाउँदै आइरहेका छन् । दिनको १ सय रुपैयाँ अनिवार्य साहुलाई बुझाउनुपर्छ । मंगल भन्छन्, ‘कमाए पनि नकमाए पनि साहुलाई एक सय तिर्नैपर्छ ।’ कहिले एकै दिनमा १२ सयसम्म आम्दानी गर्छन् । कहिलेकाहीँ भने सुको पनि कमाइ नुहुँदो रहेछ ।

रिक्साले नयाँ रिक्सा किन्न सक्ने कहिले बनाएन उनलाई । साहुको रिक्साले उनलाई जीवन धान्न मात्रै सघायो । उनी अलिकति निराश भएर भन्छन्, ‘आफ्नै रिक्सा चलाउने दिन कहिल्यै आएन ।’

२०१७ सालदेखि डेरा गर्दै आइरहेका छन् । तीन सय मासिक भाडा तिरेर वसन्तपुरतिर बस्दै आएका मंगल अहिले मासिक ५ हजार कोठाभाडा तिर्छन् । सबै खर्च साहुकै रिक्साले जुराइदिएको छ । दिनभरि रिक्सा चलाएर उनी बेलुका कोठामा फर्किंदा जहानले खाना बनाएर पर्खिरहेकी हुन्छिन् । अनि दिनभरिको थकानलाई एक प्याक मादक पदार्थले सिनित्त पार्छन् ।

‘पपुलेशन भेइकल’ टुरिस्टहरूका लागि रिक्सा उत्तम साधन हो । यसले प्रदूषण गर्दैन । ब्याट्री या मोटरवाला रिक्सा भइदिएको भए हुन्थ्यो भन्ने आशा गरेका छन् रिक्सावालाहरूले । तराईतिर जापनिज रिक्सा गुडिरहेको बेला टुरिज्म एरियामा पनि त्यस किसिमको सवारी साधन आइदिए हुन्थ्यो भन्छन् मंगल । तर, आफ्नो गरिबीको कारण भोलिका दिन यही रिक्सा पनि छुट्छ कि भन्ने शंकाले त्रसित हुँदै उनी थप्छन्, ‘रिक्सावालाहरू मारमा परेका छन् भेइकल फ्री जोनले ।’

पछिल्लो समय फिल्म छायांकनका लागि रिक्साहरू बढी प्रयोग गर्दै आइरहेका छन् । ठमेल, हनुमानढोका, इन्द्रचोकका दशौं रिक्साहरू फिल्मकर्मीले छायांकनमा प्रयोग गर्दै आइरहेका छन् । त्यस किसिमको मागले रिक्साचालक मंगल निक्कै खुसी व्यक्त गर्छन् । तर सधैं रिक्सा चढ्न रूचाउने पर्यटकहरू भने भड्किन्छन् कि भन्ने डर उनमा छ ।

पहिले नेपालीहरू पनि रिक्सा चढ्न खुब रमाइलो मान्थे । अहिले रिक्सा चढ्दा आफ्नो व्यक्तित्व होचिने हो कि भन्ने सोच्छन्, यो उनको अनुमान हो । हुन पनि पछिल्लो समय रिक्सालाई तपसिलको सवारी साधन मानी ‘खिसी’ गर्ने प्रवृत्ति बढेको छ । पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्षकालाई वृद्धभत्ता दिने घोषणा ग¥यो । उनले त्यसको वास्तै गरेनन् । उनी भन्छन्, ‘हातगोडा चलुन्जेल रिक्सा चलाएरै खान्छु ।’

शहर फेरिँदै गयो । शहरका कलात्मक भवनहरू कंक्रिटमय भए । ती साना काठेढोकाहरू सटरमा रूपान्तर भइगए । पातलो भीड बाक्लियो । क्रमशः ट्याक्सीहरू बढे । किनमेलको कारोबार फष्टायो । तर, रिक्सा चालकको जिन्दगी, रिक्साभन्दा माथि उक्लिएन । उनी गम्भीर भएर भन्छन्, ‘रिक्साको पैयाँझैं खिइसकेछ जिन्दगी त ।’

रिक्साभन्दा परको जिन्दगी कहिल्यै सोचेनन् उनले । उनको आँखाअघि पञ्चायत ढल्यो, बहुदल आयो, दशवर्षे माओवादी जनयुद्ध सकियो, राजा हटे र गणतन्त्र पनि आयो । शासक रिक्साको टायरझैं फेरिए । सिंहदरबार गाउँगाउँ पनि पुग्यो भनिन्छ । तर, उनको ‘रिक्सा’ र ‘रिक्साकर्म’ फेरिएन । रिक्सा चालकहरूको भीडमा उभिएका तन्नेरी रिक्सा चालकहरू जिस्क्याउँदै भन्छन्, ‘के खाएथ्यौ दाइ, अझै रिक्सा चलाएर थाक्दैनौं ?’ उनी मुसुक्क हाँसेर जवाफ दिन्छन्, ‘पहाडको पानी भाइ !’

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...