वैदेशिक रोजगारीका सकस – Janata Live
  • Sunday, February 5, 2023

वैदेशिक रोजगारीका सकस

  • लोकराज अवस्थी
  • पुष २१, २०७५

वैदेशिक रोजगारीका सकस

नेपालमा दसवर्ष पहिले कामका लागि विदेसिनेको संख्या वार्षिक करिब ५५ हजार थियो । तर, यो तथ्यांक अहिले वार्षिक ३ लाखभन्दा बढी भएको छ । यद्यपि अनाधिकारिक बाटो प्रयोग गरेर जानेहरूको संख्या समेत जोड्दा वैदेशिक रोजगारीमा जानेहरूको संख्या प्रतिवर्ष करिब ६ लाख रहेको अनुमान गरिएको छ । अहिले नेपाल सरकारले कामका लागि भनेर एकसय १० राष्ट्रमा अनुमित दिएको छ । नेपालमा एक हजार म्यानपावरमा ६० हजार मानिसले काम गरिहेका छन् । कामका लागि जाने प्रमुख गन्तव्य खाडी मुलुकहरू र मलेसिया हुन् जहाँ निर्माण, उत्पादन क्षेत्र र घरेलु काम जस्ता न्यून सीप भएका क्षेत्रका काममा जाने गरिन्छ ।

आर्थिक वर्ष २०६७-०६८ मा वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या, तीनलाख ५४ हजार सातसय १६ रहेको छ । २०७१-७२ मा पाँचलाख १२ हजार आठसय ८७ जना पुगेका थिए । २०७३ सम्म श्रमस्वीकृति लिनेको संंख्या ४५ लाख ८३ हजार ६ सय ४३ पुगेको छ । अरू देशबाट जानेको संख्या पनि ठूलो छ । वैदेशिक रोजगारीमा जाने कामदारमध्ये ७५ प्रतिशत अदक्ष, २३ प्रतिशत अर्धदक्ष तथा २ प्रतिशत मात्रै दक्ष जनशिक्त छन् ।

वर्तमान विश्वको जनसंख्या अवस्था तथा विभिन्न सर्वेक्षण तथा विश्व जनसंख्यालाई आधार मान्ने हो भने प्रत्येक ३५ जनामध्ये १ जना आफू जन्मको देशभन्दा अलग देशमा काम वा अन्य कारणले बसोबास गर्दछन् । जसमा आप्रवासी श्रमिक तथा तिनका परिवारका सदस्य नै बढी हुने गर्दछन् । कामका लागि विदेशिने तथा अर्काको देशमा गएर काम गर्नेमा गरिब, द्वन्द्वग्रस्त तथा रोजगारीको ग्यारेन्टि नभएको देशका मानिसहरू बढी हुने गर्छन ।

नेपालमा पनि राजनीतिक परिवर्तनपछि कामका लागि विदेश जानेको संख्या कम छैन् । स्वदेशमा रोजगारीको अभाव, द्वन्द्व र समाजिक असुरक्षाका कारण युवा विदेशिने क्रम बढेको हो । खासगरी मध्यम तथा निम्नस्तरका कम पढेलेखेका युवाका लागि खाडी मुलुक, मलेशिया तथा अन्य देशहरू रोजगारीका गन्तव्य बन्दै गएका छन् । गरिबी र बेरोजगारीबाट मुक्ति पाउन एवं आफू र आफ्नो परिवारको समुन्नत जीवन सुनिश्चित गर्ने आशाका साथ लाखौँ नेपालीहरू वैदेशिक रोजगारीमा जाने गर्छन ।

सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नुभन्दा कामको लागि नयाँ नयाँ गन्तब्य मुलुक छान्दै हिंडेको छ । सरकारका लागि स्वदेशमा कामका अवसर सिर्जना गर्नुभन्दा नयाँ मुलुक छान्न सजिलो भएको छ ।

बैदेशिक रोजगारीबाट देशले पाएको मुख्य फाइदामध्ये एक विप्रेषण (रेमिट्यान्स) नै हो । नेपालको कूल आर्थिक बजारको लगभग २५ प्रतिशत विदेशमा गएका नेपालीले पठाएको रेमिट्यान्सले धानेको छ । गत आर्थिक बर्ष मात्रै नेपालमा झण्डै दुई खर्ब बहत्तर अर्ब रुपैयाँ रेमिट्यान्सको रूपमा भित्रिएको छ । वैदेशिक रोजगारीमा जानेहरूले नेपालको अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् । रेमिट्यान्सले नेपालको अर्थतन्त्रका लागि अत्यावश्यक छ । धेरै नेपाली परिवारका लागि दैनिक आवश्यकताहरू पूरा गर्न वा भविष्यको जोहो गर्न, जीवन धान्ने काम गरेको छ ।

प्रत्येक वर्ष नेपाली श्रमबजारमा लगभग ४ लाख युवाहरू प्रवेश गर्दछन् । जसमध्ये १० प्रतिशतले मात्र नेपाली बजारमा काम पाउँछन् । नेपाली श्रमबजारमा प्रवेश गरेकामध्ये लगभग तीनलाख नेपाली आप्रवासी कामदारको रूपमा विदेशमा जाने गरेका छन् । नेपाल सरकारको तथ्यांकलाई मात्र आधार मान्ने हो भने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र प्रत्येक दिन १५ सय नेपाली युवा रोजगारीका लागि विभिन्न मुलुक जाने गरेको देखिन्छ ।

एम्नेस्टी इन्टरनेसनलको अनुसन्धानलाई आधार मान्ने हो भने धेरैवटा वैदेशिक रोजगार कम्पनी र एजेन्टहरूले वैदेशिक रोजगारीमा जाने नेपालीलाई उनीहरूको करारनामा (सम्झौतापत्र)का मूलभूत विषय जस्तैः तलबदर, कामको प्रकार, काम गर्नुपर्ने समय, ओभरटाइम वा विदाको सुविधा आदिका बारेमा यथार्थभन्दा फरक कुरा बताउने गरेको पाइएको छ । धेरै अवस्थाहरूमा श्रमिकहरू गन्तव्य मुलुकमा नआइपुग्दासम्म आफूलाई झुठो बताइएको कुरा थाहा पाउँदैनन् । किनभने सामान्यतया उनीहरूको सम्झौता विदेशी भाषामा हुनेगर्छ । केही अवस्थामा दुई प्रकारका सम्झौतापत्रहरू दिइएका हुन्छन् ।

आफूलाई वाचा गरिएको र सम्झौतापत्रमा लेखिएको बीचको फरक नेपालमै रहँदा श्रमिकहरूको जानकारीमा आए पनि आफ्नो निर्णय बदल्न उनीहरूलाई निकै ढिला भइसकेको हुन्छ । किनभने उनीहरूले आफ्नो करारनामा, राहदानी, भिसा र हवाई टिकट प्रायः प्रस्थान गर्नु केही दिन अघिमात्र वा एअयरपोर्टमा पुगेपछि मात्र प्राप्त गर्छन् । योभन्दा पनि महत्वपूर्ण कुरा त उनीहरूले उच्च व्यादर (सरदर ३६ प्रतिशत) मा ऋण लिइसकेका हुन्छन् । यो अवस्थामा कामलाई नै अस्वीकार गर्न उनीहरू सक्दैनन् ।

विदेशमा काम गर्ने कामदारले भोगीरहको मुख्य ज्वलन्त सम्स्या स्वास्थ्य हो । अंगभंग हुने, अपांग हुने, दम तथा क्षयरोग जस्ता खतरनाक रोग नेपालीका लागि समान्य हुन पुगेका छन् । सम्बन्धित कामको जानकारी नहुनुले दुर्घटनामा पर्नु र खानपिनको कमीले रोगको सिकार बन्दै आएका छन् । धुम्रपान तथा मध्यपानको सेवानले पनि स्वास्थ्यमा असर पार्ने गरेको छ । दिनभरीको कडा परिश्रम गरेर बेलुकी सस्तो मदिरा सेवनले स्वास्थ्य कमजोर बन्न पुगेको छ । उद्योगमा काम गर्ने कामदारलाई प्रदुषण र कृषी तथा बाहिर काम गर्ने कामदारलाई गर्मी तथा चिसोले असर पार्दै स्वास्थ्य कमजोर हुदै जान्छ । दिनभरीको टन्टलापुर घाम तथा जिउ नै कठ्याङग्रिने जाडोको कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । कतिले त स्वास्थ्यमा देखापरेका समस्यालाई लुकाएर पैशाका लागि जबरजस्ती काम गर्दै आएका छन् । आफ्नो स्वास्थ्यभन्दा पनि पैशालाई बढी महत्व दिएका कारणले धेरै जिन्दगी बरबाद भएको छ । पैशा कमाएर ल्याए पनि स्वास्थ्य भने बिदेशमै छोडेर आउँछन् । सयौं नेपाली स्वास्थ्यलाई धनसँग सौदाबाजी गर्न बाध्य छन् । जुन नेपालको लागि दुर्भाग्यपूर्ण हो ।

साउदी अरब, कतार, दुबई तथा मलेशिया लगायतका देशमा जाने कामदरको संख्या अन्यत्रभन्दा बढ्दो छ । कम लागत र सहज रूपमा जान सकिने भएकाले निम्न आय भएका नेपाली कामदारको लागि यी मुलुक गन्तब्य बनेका छन् । नेपाल सरकारको आँकडालाई आधार मान्य हो भने यहाँ अर्धदक्ष तथा कमदक्षता भएका कामदारको बाहुल्यता छ । अधिकांश कामदार जोखियुक्त काममा जाने गरेका छन् । बढी परिश्रम कम आय भए पनि सहजताका कारण यी क्षेत्रमा जाने कामदारको कमी छैन् । यो नेपाली कामदारका लागि बाध्यता हो । यस क्षेत्रमा सीप भएका कामदारले राम्रै कमाई गरे पनि सीप नभएका कामदारले आफ्नो खर्च उठाउन पनि धौ धौ परिेरहेको छ । कतिपय कामदार गैरकानुनी काम गरेर जेल जीवन बिताइरहेका छन् । यसरी नेपाली कामदार दुखपूर्ण जिन्दगी बिताउन बाध्य छन् ।

दलालबाट ठगिनु, भनेअनुसारको काम तथा पारीश्रमिक नपाउनु पनि नेपाली कामदारका लागि मुख्य चुनौति बनेका छन् । घरेलु हिंसा तथा यौन शोषण नेपाली महिला कामदारका लागि बाधक बन्ने गरेका छन् । सहज रूपमा जान सकिने खाडी मुलुक नेपाली महिला कामदारका लागि त्यति सहज भने छैन । घरबाट निस्कँदादेखि काम गरेर घर फर्किन्जेलसम्मको यात्रामा पलपल ठगिने, लुटिने तथा दुःख पाउनु उनीहरूको नियति बन्न पुगेको छ ।

सरकारको उचित वैदेशिक नीति तथा भएको नीतिको कार्यान्वयनको अभावमा सयौं नेपाली स्वदेशमै ठगिन बाध्य छन् । वैदेशिक रोजगार कम्पनीको लापरवाहीले फर्किएका कामदारले उचित क्षतिपूर्ति पाउन सकेका छैनन् । पाए पनि लामो तथा झन्जटिलो प्रक्रियाले कामदारलाई गारो बनाएको छ । बिरामी भएर फर्किएकाले उपचार गर्न पाएका छैनन् । झुठो विवरण दिएर विदेश पठाउने दलाल तथा मेन पावर कम्पनीलाई कारबाहीको दायरामा ल्याउन सकिएको छैन । पैशा तथा शक्तिको भरमा दलाल तथा मेनपावर कम्पनीहरूले सहजै उन्मुक्ती पाउने गरेका छन् ।

सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नुभन्दा कामको लागि नयाँ नयाँ गन्तब्य मुलुक छान्दै हिंडेको छ । सरकारका लागि स्वदेशमा कामका अवसर सिर्जना गर्नुभन्दा नयाँ मुलुक छान्न सजिलो भएको छ । आर्थिक दृष्टिकोणले यो सही होला । देशको अर्थतन्त्रलाई सकरात्मक प्रभाव पार्नसक्ला । तर कामका लागि बाहिर पलायन हुनु राष्ट्रका लागि भने पक्कै दुःखदायी कुरा हो । यसलाई तुरुन्त रोक्नसक्ने अवस्था सरकारसँग छैन् । तर वैदेशिक रोजगारलाई व्यवस्थित तथा मर्यादित गर्न भने सकिन्छ । विदेशिने क्रमसँगै यो क्षेत्रमा विकृतिहरू बढदै गएका छन् । कामदार ठगिने नयाँ नयाँ तरिकाहरू देखापर्न थालेका छन् । सचेतना अभावका कारण कामदार आफै र नीति नियमको कर्यान्वयनको अभावमा सरकार चुक्दै आएका छन् । जसले उनीहरूलाई काममा समस्या पार्दै आएको छ ।

नेपाली कामदारको सङ्ख्यामा आएको द्रुततर वृद्धिलाई दृष्टिगत गर्दा उनीहरूका अधिकारको सुरक्षा गर्न अझ बढी काम गर्न आवश्यक छ । नेपालको अर्थतन्त्रमा आप्रवासीले उल्लेखनीय आर्थिक योगदान दिँदै आएका छन् । वैदेशिक रोजगार ऐन २०६४ मा उल्लेख गरिएका कानुनलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्छ । यसले वैदेशिक रोजगारलाई व्यवस्थित तथा मर्यादित बनाउनमा सहयोग प¥याउँछ । न्याय र क्षतिपूर्ति प्राप्त गर्न प्रयास गर्ने पीडितले सरकारी संयन्त्रसम्म उनीहरूको पहुँच पु¥याउन नयाँ संरचना तथा निकायको व्यवस्था गर्नुपर्छ । गाउँ गाउँसम्म सूचना केन्द्र स्थापना गरी तथा स्थानीय निकायसँगको साझेदारीमा वैदेशिक रोजगारीको बारेमा जानकारी दिनुपर्छ ।

जिल्ला प्रशासनलाई थप अधिकार प्रत्यायोजन गरी वैदेशिक रोजगारीको बारेमा पर्ने उजुरी तथा गाह्रो अप्ठ्यारोलाई जिल्ला तहमै समाधान गर्नसके पीडित पक्षले सजिलै राहत पाउनसक्छ । यो नै सबभन्दा प्रभावकारी कदम हुनसक्छ । स्वदेशमा रोजगारी सिर्जनासँगै वैदेशिक रोजगारीलाई व्यवस्थित पार्नसके राष्ट्रले चाडै आर्थिक उन्नति गर्नसक्छ ।

lok20005@gmail.com

प्रकाशितः २०७४ फागुन ७

Loading...
Loading...
Loading...