सोनाम लोसार पर्व – Janata Live
  • Saturday, February 4, 2023

सोनाम लोसार पर्व

  • रामबहादुर तामाङ(मोक्तान)
  • पुष १९, २०७५

सोनाम लोसार पर्व

मानवको विकासक्रमसँगसँगै विभिन्न कालखण्ड वा समयमा विभिन्न देशमा विभिन्न नामकरण गरेर वर्ष (समय) गणना भएको पाइन्छ । वर्ष (समय) गणनाले इतिहास जान्न,वर्तमानको मूल्याङ्कन गर्न र भविष्यको कल्पना तथा गुरुयोजनालाई सफल बनाउन मद्दत मिल्दछ । नयाँ वर्ष अभिलेख राख्नाले तथा गणना गर्नाले मानवको प्राचीन सभ्यता , संस्कृति र जातीय पहिचान अध्ययन र अध्यापन गर्न गराउन सजिलो हुन्छ । हालसम्म संसारभर वर्ष गणना सूर्यको गति अनुसार सूर्यमानक र चन्द्रमाको गति अनुसार चन्द्रमानकका आधारमा गरिँदै आएको छ । अर्थात प्राचीन कालदेखि अहिलेसम्म सूर्यमास वा चन्द्रमास वर्ष गणक पात्रो प्रयोग भइरहेको छ ।

नेपाल यस्तो देश हो जहाँ धेरै जातजाति, भाषा, धर्म, सम्प्रदाय एकआपसमा मिलेर बसेका छन् । हरेक सम्प्रदायको मानिसहरू आफ्नै वर्ष गणना,चाडपर्व र संस्कारहरू मान्ने गर्दछन् । विश्वका हरेक देशमा नयाँ वर्षको थालनी वा उत्पत्ति विभिन्न कारणहरूबाट हुने गर्दछ । धर्म, धार्मिक नेता, शासक वा कुनै महŒवपूर्ण घटनाबाट नयाँ वर्ष सुरु भएको मानिन्छ । पश्चिम देशका मानिसहरूले भन्ने न्यु इयर र नेवारी भाषामा न्हू दया, जे भने पनि यी सबैको अर्थ ‘नयाँ वर्ष’ हो । सरल भाषामा भन्नु पर्दा नयाँ वर्ष भनेको समय मापन गर्ने एक प्रकारको एकाइ हो । समय मापन गर्ने सबैभन्दा सानो एकाइ पल र सबैभन्दा ठूलो एकाइ शताब्दी हो । एक वर्ष समाप्त भएर अर्काे वर्षको आगमन हुनु वा प्रारम्भ हुनु नै नयाँ वर्ष हो । सामान्यतया नयाँ वर्ष दुई रेखाबीचको समयावधि समाप्त भएपछि आउने समय हो । अथवा पहिलो रेखाबाट सुरु भएको समय दोस्रो रेखा पार गर्ने बित्तिकै आउने समय नै नयाँ वर्ष हो।
मानव विकासको क्रमसँगै मानिसले कुनै न कुनै पर्व अँगाल्दै आएको देखिन्छ । ज्योतिषविद्हरूले ब्रह्माण्डमा रहेका ग्रहहरूको कारण पृथ्वीमा भएका प्राणीहरूमाथि आइपर्ने राम्रा तथा नराम्रा असरहरूलाई सूक्ष्म गणितीय विधिद्वारा गणना गरी विभिन्न तिथिहरू तयार गरेका हुन्छन् । तिथि अनुसार देवी देवताहरूको पूजा गर्न योग्य दिन, शुभ कार्य गर्न योग्य दिन र शुभ समय विचार गरेर एउटा महत्वपूर्ण अवसरको छनौट गरिन्छ । त्यही दिनलाई समय, मौसम, भूगोल र धर्मअनुकूल बनाई कुनै एक पर्वका रूपमा नामकरण गरिन्छ । सबै चाडपर्वहरू तिथि अनुसार नै हुन्छन् भन्ने जरुरी छैन । स्थान, समय, धर्म, ऐतिहासिक परम्परा, ठूला ठूला घटना, राज्यका शासक, जाति विशेष, किंवदन्ती र पौराणिक कथा अनुसार पनि पर्वहरू मनाइन्छन् ।

नेपालमा प्रकृति परिवर्तनको कारणले सबै भन्दा लामो दिन असार महिना र सबैभन्दा छोटो दिन पुस महिना हो । पुस महिनाको मध्यबाट सूर्य दक्षिण दिशाबाट उत्तर दिशातिर सर्दछ र दिन लामो भई जमिनको तापक्रम बढ्दै जान्छ । यसपछि चिसोको कारण जमिनभित्र लुकेर बसेका प्राणीहरू बाहिर निस्कन्छन्, रूखबिरुवाहरूमा नयाँ पालुवा पलाउँछन् र जाडोबाट बच्न गर्मी ठाउँमा बसाइ सरेका चराहरू पनि आफ्नो पुरानो बसोबास क्षेत्रमा फर्कन्छन् । यसरी प्रकृति र सबै प्राणीले ठाउँ सारी गरेको देखेर मानिसहरूले पुरानो समय बदली भई नयाँ समयको आगमन भयो भन्ने महसुस गर्दछन् यसरी नयाँ वर्षको अवधारणा विकसित भएको हो ।

मानिस एक सामाजिक प्राणी भएकाले एक आपसमा घुलमिल हुन, विचार आदान प्रदान गर्न र भावनात्मक सम्बन्ध बढाउनका निम्ति भेला हुने स्थान र समयको आवश्यकता पर्दछ । सोही आवश्यकता पूर्ति गर्ने माध्यम नै चाड (पर्व) हो । अन्य सम्प्रदायको नयाँ वर्ष भए जस्तै बौद्ध सम्प्रदायको पनि आफ्नो इतिहाँस र पहिचान बोकेको एक महत्वपूर्ण नयाँ वर्ष पर्व छ, जसलाई तिब्बती भाषामा लोसार पर्व भनिन्छ । लोसार पनि तोला, सो नाम र ग्याल्पो विभिन्न नामले परिचित छन् । ‘लोसार’ तिब्बती शब्द हो । ‘लो’ को शाब्दिक अर्थ ‘वर्ष’ हो भने ‘सार’ को शाब्दिक अर्थ ‘नयाँ’ हो । यसैले उक्त शब्दको सिङ्गो अर्थ ‘नयाँ वर्ष’ हो । यो लोसार पर्व तिब्बत, चीन, हङ्कङ, ताइवान, भुटान, मलेसिया, भारत तथा विभिन्न मङ्गोल मूल भएका देशवासीहरूले मान्दै आएका हुन् र मान्दै छन् ।
माघ महिनाको शुक्ल पक्षको परेवा तिथि सोनाम लो सार पर्वको शुभ तिथि (दिन) हो । तिब्बती भाषामा ‘सोनाम’ शब्दको अर्थ कृषक हो । प्राचीन समयमा कृषकहरूले मान्ने पर्व (नयाँ वर्ष) भएकाले ‘सोनाम लोसार’ भनेको हुनुपर्दछ र आजसम्म त्यही निरन्तरता अघि बढिरहेको हो । चन्द्रमास पात्रो अनुसार तिब्बती पहिलो महिनाको नाम छ्युदावा लेखेको पाइन्छ । यसबाट यो पुष्टि हुन्छ कि प्राचीन समयमा सोनाम लोसार माघ महिनामा नै मानिन्थ्यो । तामाङ समाजका गान्वाहरूले पनि माघे सङ्क्रान्तिबाट लो फोवा (फोजी) भन्दछन् ।

यसलाई नेपालको हिमाली तथा उच्च हिमाली भूभागमा पनि पहिलेदेखि नै मानिंदै आएको हो । मध्यपहाडी र तराईको भूभागमा बसोबास गरिरहेका तामाङहरूले भने यस पर्वलाई २०४६ सालको देशमा भएको राजनैतिक परिवर्तनपछि मात्र मान्न सुरु गरेका छन् । तामाङ जाति सहित अन्य जातिले पनि माघी मान्ने चलन विद्यमान छ । माघे सङ्क्रान्तिको विकसित रूप नै आजको सोनाम लोसार हो भन्दा आपत्ति नहोला ।

सूर्यमास पात्रो अनुसार साउन महिनामा पनि नागपञ्चमीबाट (जाडो) हिउँद सुरु हुने र माघ महिनामा पर्ने श्रीपञ्चमीबाट गर्मी (वर्षा) सुरु हुन्छ । गर्मीको सुरुवातसँगै खेतीको काम गर्ने र बेंसीमा भएको गोठ लेकको चरनमा सार्नु अगावै कृषकहरूले मनाउने पर्व भएकाले सोनाम लोसार भएको हो । यही सोनाम लोसार नेपालको मध्य पहाडी र तराईमा रहेका तामाङहरूले जातीय पर्वको रूपमा मान्दै आएका छन् ।

Loading...
Loading...
Loading...