जीवन : दिनलाई होइन, लिनलाई हो – Janata Live
  • Friday, February 3, 2023

जीवन : दिनलाई होइन, लिनलाई हो

  • जनता लाइभ
  • पुष १८, २०७५

जीवन : दिनलाई होइन, लिनलाई हो

भनिन्छ नि, एक थुकी सुकी, हजार थुकी नदी । आफू मात्रै खाउँ, आफू मात्रै लाउँ, मोजमस्ती आफू मात्रै गरौं भन्ने भावमा सहर बाँचिरहँदा भिन्न भाव बोकेर ह्योल्मो युवा महिलाहरू संगठित भएका छन् । समाज सेवा त्यसमा पनि महिलाहरू ? प्रश्न तेर्साउने हजार निस्किए । तर यी कर्मठ हातहरू र एक भएका दर्जनौं मनहरूले कहिल्यै हारेन दुनियाका तिखा वचनसँग ।

हार्नु तर पनि हार नखानुचाहिँ वास्तवमा असली जीवन हो भन्ने मूल मन्त्रलाई शिरमा बोकेर हजारका प्रश्नसूचक नजरलाई उनीहरूले अन्ततः हजार शब्दहरूभन्दा एउटै कार्य बलियो हुन्छ भन्ने भनाइलाई प्रमाणित गरिदिए । शिक्षा, स्वास्थ्य र चेतना र समाज सेवाको क्षेत्रमा अथक संघर्ष गरिरहेछन् उनीहरू । गरे नेपालमै के हुँदैन ? आशावादी छन् यी महिलाहरू जो नेपाल स्विजरल्यान्डजस्तै बन्न सक्ने प्रवल सम्भावना देख्छन् । प्राकृतिक, सांस्कृतिक, भौगोलिक हरेक पाटोबाट हामी सवल र सक्षम छौं ।

ह्योल्मो जातिको अस्तित्व (संस्कृति, परम्परा, लिपि, भेषभूषा तथा भाषाको संरक्षण र प्रवद्र्धन) जोगाउनका लागि उनीहरूले पाएका ठक्कर हन्डर र चोट बेहिसाब छन् । लोहारले सुनलाई त के गाल्थ्यो, संघर्ष र कष्टले उनीहरूलाई त्यति गालेको छ ।

सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, काठमाडौंलगायतका जिल्लामा फैलिएका ह्योल्मोवासी । सरकारले जनगणनामा झेली गरेर १० हजार ७ सय ५२ मात्रै निकाले पनि झन्डै एक लाख ह्योल्मो जातिको जनसङ्ख्या भएको दाबी गर्छन् उनीहरू । त्यसको आधा अर्थात् झन्डै आधा लाख ह्योल्मो जातिको महिला जनसङ्ख्या । तेह्रजना बोर्ड मेम्बर झन्डै आठ सय यसका सदस्य । र, योसँग ह्योल्मो जातिको हक हित र अधिकारका लागि संघर्षरत ह्योल्मो महिला संघ ।

ह्योल्मो महिला संघको इतिहास उति लामो छैन । तर छोटो समयमा पनि यसको लोकप्रियता भने आरोह, अवरोह र चुनौतीको सामना गर्दै शिखर चुम्ने बाटोमा छ । फ्ल्यास ब्याकमा ०६२ सालको फागुन १३ गते सम्झना आउँछ । अर्थात् झन्डै सात वर्षअगाडि । ह्योल्मो समाज सेवा संघको दोस्रो केन्द्रीय कमिटीको बैठकमा सोही संघकी महिला उपसमिति संयोजक श्रीमती पेमा दोङ्बा ह्योल्मोको संयोजकत्वमा नेपाल ह्योल्मो महिला संघ तदर्थ कार्यसमितिको निर्माण गर्ने निर्णय भयो । सोही निर्णयबमोजिम नौ सदस्यीय तदर्थ समिति बन्यो । काठमाडौंको एक रेस्टुराँमा गफिँदै संस्थाकी महासचिव किन्जो ओमु ह्योल्मोले बताइन् ।

बौद्ध मन्दिर टड्कारो देखिने स्थानको अलिकति शान्ति चिर्दै संस्थाकी अध्यक्ष निमा याङछेन ह्योल्मोले मुख खोलिन्, ‘संस्थाको निवर्तमान अध्यक्ष पेमा दोङ्बा ह्योल्मो निजी कामको सिलसिलामा बिदेसिनुभयो । निवर्तमान उपाध्यक्षले अध्यक्षकै पदचाप पछ्याउनुभयो । भर्खरै जन्मिएका संस्था अध्यक्ष पनि छैनन् उपाध्यक्ष पनि छैनन् । करिब एक वर्ष त यसैगरी बित्यो । त्यही बीचमा योल्मो र योल्मोपाबीच सुरु भएको क्रियाकलापले हामीलाई पनि अघात पु¥यायो ।’ ०६४ भदौ २५ गतेदेखि अध्यक्षको जिम्मेवारी सम्हालिरहेकी उनैले सुनाइन् आफ्नो कार्यकाल एक वर्ष बाँकी रहेको ।
पहिलो गासमै ढुंगा भनेजस्तो भयो । जब संस्था दर्ताको प्रक्रियामा थियो, शाब्दिक विवादको कारण संस्थाको दर्ता चार वर्षसम्म हुन सकेन । विवाद थियो ह्योल्मो र योल्मो कुन शब्द आधिकारिक भन्ने विषयमा । मुद्दा सर्वाच्च अदालतसम्म पुगेको थियो । ह्योल्मो महिला संघले आदिवासी जनजातिको सूचीमा योल्मोलाई नभई ह्योल्मोलाई राखेकाले सोही शब्दलाई पकडिरहेको थियो ।

अन्ततः १५ वैशाख ०६७ मा सर्वोच्चले ह्योल्मो शब्दलाई आधिकारिक मान्यता दियो । त्यो जित ह्योल्मो महिला संघको पनि एउटा जित थियो । सर्वोच्चको त्यही आदेशपछि मात्रै जिल्ला प्रशासन कार्यालयले ह्योल्मो उल्लेख गरिएको संघ संस्था पूर्ववत् दर्ता हुन पाउने व्यहोरा जनाएपछि सोही वर्षको भदौ ७ गते संस्था दर्ता भयो २०३४ को दफा ( ४) बमोजिम । ठीक दस दिनपश्चात् यही संस्थाले समाज कल्याण परिषद्मा समेत दर्ता हुने मौका पायो ।

तर आदिवासीहरूकै लागि लडिरहेको भनिएको आदिवासी महिला महासंघमा दर्ताका लागि पटक पटक प्रयास गर्दा पनि दर्ता हुन नसकेकामा यी दुवै चेलीहरूले दुःख पोखे । सामाजिक, सांस्कृतिक रूपमा अन्य जातिभन्दा अगाडि भए तापनि राजनीतिक रूपमा पछौडा थियो ह्योल्मो जाति । अन्य जातिले राज्यबाट पाउने अधिकार पाउँछन् भने हामी ह्योल्मो जातिले चाहिँ किन नपाउने भन्ने मुख्य उद्देश्य बोकेर हाम्रो जातको उत्थानको लागि संघको स्थापना गर्नुपरेको एकै स्वरमा उनीहरूले बताए ।

‘हामी ह्योल्मो महिला संघ हौं तर हामी ह्योल्मो जातिका महिलाहरूको लागि मात्रै होइन पुरुषहरूका लागि पनि हौं । पुरुषहरू हाम्रा प्रतिस्पर्धी होइनन् सहयात्री हुन । महिला अधिकार चाहिन्छ भनेर झन्डा वोकेर हिँड्न भन्दा हामी काम गर्न रुचाउँछौं । हामी पुरुष भावनाको सदैव कदर गर्छौं ।

महिला सचेतना होस् चाहे निःशुल्क योगाको कक्षा होस् । चाहे सचेतना जोगाउने मामला होस् वा ह्योल्मो जातिबाट एसएलसी पास भएका विद्यार्थीको सम्मान गर्ने कार्यक्रम होस्, ०६३ सालदेखि हालसम्म निरन्तर गरिरहेको छ । यसका अलावा ह्योल्मो जातिबाट अग्रणी स्थानमा रहेका महिलाहरूलाई समाजमा पहिचान दिलाउन तथा तिनका संघर्षबारे जानकारी गराउनसमेत सक्रिय रह्यो । ह्योल्मो समुदायबाटै घरबार बिग्रिएका मान्छेहरू आउने गर्दछन्, गुहार्छन् तिनका घरबार मिलाइदिएको उदाहरण पनि ह्योल्मो महिला संघसँग रहेको छ । करिब तीन जोडीको बिग्रिनै लागेको घरबार ह्योल्मो महिला संघले मिलाइसकेको छ । ‘फुट्न लागेको घर जोडिदिन सकेकोमा एकदम आत्मसन्तृष्टि लाग्छ,’ उनीहरू भन्छन् ।

बौद्धमार्गी भएको नाताले बौद्ध धर्म संरक्षण समन्वय सरोकार समितिले गरेको हरेक कार्यक्रममा आर्थिकदेखि सामाजिक सरसहयोगसमेत संघले पु¥याएको छ । चाहे नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको कार्यक्रम होस्, विश्व आदिवासी दिवसका दिन झाँकीदेखि सांस्कृतिक कार्यक्रम र खानपान महोत्सवसम्म जताततै अग्रिणी भूमिका निर्वाह गरिरहेको छ नेपाल ह्योल्मो महिला संघले । के गर्नुभयो त ठोस काम ? हाम्रो सोधनीपछि एकै स्वरमा नारी आवाज गुन्जियो
‘संस्था जन्माउनु मात्रै ठूलो होइन यसलाई जीवित राख्नु ठूलो कुरा हो नि । नेपाल ह्योल्मो महिला संघलाई मर्न दिएनौं, जसरी तसरी यस्लाई जीवित राख्यौं ।’

अहिले एउटा चर्चा छ, ह्योल्मो समुदायमा ह्योल्मो महिला संघ नबवर एक । आफ्नै संस्थाभित्र आफ्नै संस्था नम्बर एक भएको सुन्दा यिनीहरू कस्तो महसुस गर्दा हुन् ? दुवैको मुहारमा चमक र हाँसो देखियो । ‘हामी एकदम प्राउड फिल गर्छौं,’ उनीहरू भन्छन् । सबैभन्दा ठूलो कुरा कसैलाई जीवनदान दिनु हो । पासाङ लामा ह्योल्मो, जसको दुईवटै मृगौला ड्यामेज भएको थियो । उनकै आमाले आफ्नो एउटा मृगौला दिइन्, त्यो पनि फेल भयो । पासाङ त बाँच्न चाहन्थे तर बचाउने कसरी ? प्रश्न चिह्न खडा थियो । पासाङलाई बचाउने अठोट लियो नेपाल ह्योल्मो महिला संघले । सम्पूर्ण ह्योल्मो संघ संस्थाहरूलाई निमन्त्रणा गरेर कल्याण कोष खडा गर्ने प्रस्ताव राख्दा उत्साहित नभई हतोत्साहित पार्नेहरू निस्किए । कुरा काट्नेहरूका लागि यो गतिलै मसला थियो । जाबो छोरी वच्चाहरू (भोमाथार्के) हरूले मान्छे बचाउने रे भनेर ह्योल्मोभित्रका मान्छेहरू हाँसेर गए, हाँसोमै उडाइदिए । केही पुरुषहरूले यसरी डोमिनेट गर्दा उनीहरूको मन कुँडियो । ‘तिनै पुरुषहरूसँग सहयोग आशा गरेका थियौं, तिनीहरूले नै हावामा उडाइदिए । तैपनि हाम्रो मन हारेन । उहँँहरूसँग नकरात्मक होइन सकारात्मक सोच लिएर हामीले निरन्तर काम गर्दै गयौं । बदला लिने होइन बदलेर देखाइदिने अठोट लियौं । उनीहरू भन्छन् ।

नभन्दै देशभित्र दुई लाख र देशबाहिर (यूएसए, यूके) बाट गरी एघार लाख चौसट्ठी हजार उठाएर एक सय एक औं महिला दिवसको दिन पारेर पासाङलाई सो रकम हस्तान्तरण गरे । त्यस प्रकारले पासाङलाई बचाए । हिजो कुरा काट्नेहरूको मुखमा बुझो लाग्यो । आज उनीहरू नै ह्योल्मो महिला संघको खुलेरै तारिफ गर्दछन् ।

यो समाज पैसा कमायो भने खादा लगाउन आउँछ तर दुःख पाएकोलाई फुटेको आँखाले पनि हेर्दैन । ‘हामी ह्योल्मो महिला संघ हौं तर हामी ह्योल्मो जातिका महिलाहरूका लागि मात्रै होइन पुरुषहरूका लागि पनि हौं । पुरुषहरू हाम्रा प्रतिस्पर्धी होइनन् सहयात्री हुन् । महिला अधिकार चाहिन्छ भनेर झन्डा बोकेर हिँड्नभन्दा हामी काम गर्न रुचाउँछौं । हामी पुरुष भावनाको सदैव कदर गर्छौं,’ महासचिव किन्जोले सुनाइन् । सयौं महिला दिवसको दिन ह्योल्मो महिला संघकी गायिका डोल्मालाई प्रमुख अतिथि बनाएर उनको संघर्षको कुरा सुनाउँदा कार्यक्रममा सहभागीहरूका आँखा रसायो । ह्योल्मो समुदायका सफल व्यक्तिहरूका लागि प्लेटफर्मसमेत बन्दै आएको छ । ह्योल्मो समुदायबाट पहिलोपटक विद्यावारिधि गरेका डा.छिरिङ लामा ह्योल्मोको सम्मानमा संयुक्त आयोजक कमिटीभित्र रहेर उल्लेख्य योगदान पु¥याएको छ । महिला संघ तरबार बोकेर होइन सियो बोकेर हिँड्नु भन्ने कुरालाई मुख्य सिद्धान्त बनाएर हिँडिरहेको छ ।

सांस्कृतिक र परम्परागत हिसाबले हेर्दा ह्योल्मो जातको महिला निकै अगडि छन् । तर अति रुढिवादी । यो धारणालाई हतपत्त परिवर्तन गर्ने निकै असहज छ । तर संघर्षरत छन् ह्योल्मो महिला संघका यी महिला । तीस र चालीसबीचको उमेर । बारम्बार आफ्ना बाबुआमाले भनेको सम्झन्छन्, ‘हेर फलानाको छोरी यसरी इजरायल गई, यति पैसा कमाइ, यसो गरी, उसो गरी । फलानोको छोरीले यस्तो जागिर खाई, तर हाम्रो छोरी समाज सेवामा लागेर के पाउने हुन् ?’ परिवारले सम्झाउने गर्छन्, तर उनीहरू निराश छैनन् । कोही काखे नानी खेलाउँदै, कोही घर परिवार र व्यवहार मिलाउँदै, कोही कलेज पढ्दै, कोही श्रीमान्लाई खुसी पारेर समाज सेवामा नै तल्लीन छन् ।

भन्छन् पैसाबाट भौतिक सन्तुष्टि त मिल्ला तर आत्मिक सन्तृष्टि मिल्दैन । आत्मिक सन्तृष्टिका लागि समाज सेवाको बाटो रोजेको बताउने यी महिलाहरूको भनाइ छ, ‘सायद हामी समाज सेवा गर्नका लागि नै जन्मिएका हौं । आखिर विश्वकै धनाढ्य भनिएका बिल क्लिन्टन पनि त अन्ततः समाज सेवाको मार्गमै आइपुगे ।’ मान्छेहरू भन्छन्, समाजसेवा सिकेर पनि होइन देखेर पनि होइन त्यो भित्रैबाट आउनुपर्दछ । यी महिलाहरू आफ्नो रगतमै समाज सेवा मात्र भएको बताउँछन् । उनीहरूलाई कसैले समाज सेवा गर्ने सिकाएको होइन । आमावुवा तथा आफन्तले यो सिकाउँदै सिकाएनन् । जन्म लिएपछि पृथ्वीका लागि बोझ होइन अरूको लागि केही गरिदिएर आफ्नो जीवन सार्थक होस् भन्ने सोच बोक्ने उनीहरूको जीवनप्रतिको आफ्नै परिभाषा छ । जीवन आफ्नो लागि होइन, लिनका लागि होइन दिनका लागि हो । यही सोच र यही भावनाले समाज सेवाको मार्गमा जीवनको रथ हाँकिरहेका यी चेलीहरूको सिर्जनशील र सहयोगी हातहरूलाई हाम्रो तर्फबाट सदा साधुवाद ।-२०६९ फागुन ७ सोमबार हिमगाथा साप्ताहिकमा प्रकाशित

Loading...
Loading...
Loading...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

काठमाडौं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा...

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको...