वालुङ्ग जातिको संक्षिप्त इतिहास र वर्तमान अवस्था – Janata Live
  • Wednesday, February 8, 2023

वालुङ्ग जातिको संक्षिप्त इतिहास र वर्तमान अवस्था

  • मिङमा डण्डु शेर्पा
  • पुष १२, २०७५

वालुङ्ग जातिको संक्षिप्त इतिहास र वर्तमान अवस्था

नेपालको सुदूरपूर्वमा अवस्थित हिमाली जिल्ला ताप्लेजुङको उत्तरी भेगमा पर्ने ओलाङचुङगोेला, याङ्मा, घुन्सा, लेलेप, लुङथुङ, याम्फुदिन लगायतका ठाउँहरुमा आदिमकालदेखि वसोबास गर्दै आएका वालुङ्ग जातिहरु विभिन्न व्यापार तथा व्यवसायको शिलशिलामा देश र विदेशमा छरिएर रहे पनि पृथक परम्परा, संस्कृति, सभ्यता तथा ऐतिहासिक पृष्ठभूमिको आधारमा नेपाल सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मार्फत ५९ आदिवासी जनजाति अन्तर्गत सूचिकृत गरेको छ ।

नेपालको सुदूरपूर्व ताप्लेजुङ्ग जिल्लाको उत्तरी भेगमा पर्ने विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजंघाको सेरोफोरोमा रहेको ओलाङचुङगोला, लेलेप र याम्फुदिन गाविसहरुमा आदिम कालदेखि वसोबास गर्दै आएका वालुङ्ग जाति यहाँका रैथाने आदिवासी जनजाति हुन् ।

वालुङ्गहरुको आफ्नो शारिरीक वनावट, आकृति र धर्म, भाषा, साहित्य, लिपि, संस्कार, संस्कृति, रहनसहन, बानीब्यहोरा, खानपिन, पोशाक, गरगहना, लोकगीत, लोकनृत्य र चाडपर्व लगायतका सबै कुराहरु तिब्बतियनहरुसँग मिल्ने भएको हुनाले वालुङ्गहरुको उत्पत्ति र आगमन तिब्बतबाटै भएको पाईन्छ । वालुङ्गहरु यस ठाउँमा कहिले आएका हुन् त्यो कुरा यकिन साथ भन्न सकिने कुनै ठोस आधार प्रमाणहरु अहिले सम्म प्राप्त भएको छैन । तिब्बतको प्राचिन इतिहास अनुसार प्राचीनकालमा तिब्बत एक व्यापार, व्यवसायको केन्द्र थियो र यहाँबाट मध्यपूर्वका देशहरु पाकिस्तान, अफगानिस्तान, इराक, इरान, इजिप्ट आदिसम्म व्यापारिक कारोबार हुने गर्दथ्यो । यी मुलूकहरुमा विभिन्न किसिमको व्यापार, व्यवसायको काम तिब्बतीहरुबाट हुने गर्दथ्यो र उनीहरु व्यापार, व्यवसायको सिलसिलामा मध्यपूर्वका मुलूकहरुमा पुग्ने गर्दथे । सम्भवतः तिब्बतले व्यापार, व्यावसायको क्षेत्रमा व्यापक प्रगति गरेकै अवस्थामा हुन सक्छ कि केही तिब्बतीहरु आफ्नो मुलूकको दक्षिणतर्फको विशाल क्षेत्रमा व्यापार, व्यावसाय गर्ने उद्देश्यले दक्षिणतर्फ लाग्दा यसका निम्ति एक उपयुक्त व्यापारिक नाका हुने ठहर गरि हाल वालुङ्गहरुको वसोबास रहेको क्षेत्रमा आएर एक व्यापारिक नाका बनाएर बसे र यस ठाउँलाई नै पूर्वी नेपाल सहित सिक्किम, भुटान र भारतका विभिन्न ठाउँहरुका निम्ति दैनिक उपभोग्य मालसामान आयात तथा निर्यातको मूख्य नाका नै बनाएका थिए । यस ठाउँमा मानिसहरुको वसोबास हुन थालेको करिव १३ सय वर्षभन्दा बढी भएको इतिहास पाईन्छ ।

वालुङ्ग जातिहरुको वसोबास रहेको क्षेत्र (पाँचगाउँ) हाम्रो हो भनि सिक्किमले दाबि गरेबाट खिचलो भएको थियो । सुगौली सन्धिको धारा ६ अनुसार यस वादविवादमा ब्रिटिस सरकार मध्यस्त भई परम्परा र भौगोलिक दृष्टिले समेत बुझबुझारथको काम हुँदा सात थरका सात घर पहिले तिब्बतबाट आएर टिपताला भञ्ज्याङ पार गरि देउमाया भन्दा माथि उकान भन्ने गाउँबसाई वालुङ्गहरु बसेका थिए । त्यसबेला ओलाङचुङ लगायत चैनपूर अमलभित्रको भएकोले चैनपूरका अमाली सुब्बा पट्टालिई तिब्बततर्फबाट अरु रैति तसल्ला गरि ओलाङचुङ, याङमा, खम्बाछेन, लुङथुङ र लेलेप समेत पाँचगाउँ बसाई आवत गुल्जार भएपछि वालुङ्गहरुको बसाई उकानबाट हालको वालुङ्गहरुको वसोबास रहेको क्षेत्रमा सरेको थियो । उकानमा वालुङ्गहरुको पहिलेको घर घडेरीहरुको भग्नावशेष अझै छँदै छन् भनि त्यहाँका रैतिले चैनपूरबाट पाएका पट्टा कागजपत्र समेत पेस गरेका थिए ।

सिक्किमसँग त्यस्तो कुनै प्रमाणहरु नभएको कारण भौगोलिक दृष्टिबाट पनि सिक्किमदेखि विलकुलै अलग रहेको देखिन आएकोले उपरोक्त पाँच गाउँ नेपालकै कायम रहँदै आएको पाइन्छ । जुन बेला पृथ्वीनारायण शाहले वि.सं. १८०० को प्रारम्भमा नेपाल अधिराज्यको राष्ट्रिय एकिकरणको अभियान प्रारम्भ गरि आफ्नो जीवनकालको आखिरतिर आफ्नो अभियान पल्लो किराँत लिम्बुवानसम्म पु¥याएका थिए । त्यस बेला हाम्रो मुलूकको दक्षिणमा अवस्थित सम्पूर्ण भारत वर्ष माथि कब्जा जमाएर रहेको अंग्रेज कम्पनी सरकारले पनि आफ्नो अभियान उत्तरतर्फ बढाइ तिब्बतसम्म पुग्ने लक्ष्य जो लिएको थियो, त्यसबाट पनि यो स्पष्ट हुन्छ कि त्यस बेला सम्म पनि तिब्बत एक व्यापार र व्यावसायको निम्ति फलदायि मुलूक थियो । पृथ्वीनारायण शाहले आफ्नो पूर्वतर्फको विजय अभियानलाई बेरोकतोक चाँडो–चाँडो अघि बढाउनुको मूख्य उद्देश्य अंग्रेजहरुलाई त्यतातिर घाटीहरु भएर तिब्बतसम्म पुग्न्न नदिनु नै थियो । पृथ्वीनारायण शाहबाट पूर्वी नेपालको विजय अभियानमा प्राप्त सफलता सम्बन्धी इतिहासमा पल्लो किराँत लिम्बुवानका च्याङथापु र सिङगलिलासम्म नेपाली सेना पुगेको र लिम्बुहरुलाई शान्तिपूर्ण ढङ्गले आफ्नो राज्यमा समेटेको कुरा उल्लेखित छ । तर वालुङ्गक्षेत्र र त्यहाँका वासिन्दाहरुको विषयमा कुनै कुरा उल्लेख भएको छैन ।

सन् १८९४ को सिक्किम गजेटरले यो ठाउँ पृथ्वीनारायण शाहको पल्लो किराँत एकिकरण अघि सिक्किम अधिनस्थ रहेको उल्लेख गरिएको छ र यसरी सिक्किम अधिनस्थ नै भएको भए त्यस बेला यहाँ वालुङ्गहरुका पूर्खाहरुको वसोबास हुन स्वाभाविक छ । वि.सं १८९८ मा तत्कालिन राजा राजेन्द्र वीर विक्रम शाहबाट वालुङ्गक्षेत्रका सोना भोटियालाई त्यस क्षेत्रको गोवाङ्गी लालमोहर प्रदान गरे पश्चात यहाँ वालुङ्गहरुको वसोबास रहेको अधिकारिक इतिहास शुरु हुन्छ र त्यसपछि वि.सं. १९०५ मा त्यहाँ पुग्ने प्रथम पश्चिमा अन्वेषक जोसेफ डृयाल्टन हुकरले यहाँ वसोबास गर्ने यस जातिका मानिसहरुको आद्योपान्त वर्णन गरेर वालुङ्गहरु यस ठाउँका आदिवासी नै हुन् भनि प्रमाणित गरि दिएका थिए । भूमि सुधार ऐन २०२१ लागु भएपछि त्यस क्षेत्रमा शासन–प्रशासन गर्दै आएको गोवाङ्गी प्रथाको पनि अन्त्य भएको थियो ।

वालुङ्ग जातिको वर्तमान अवस्था
नेपालको सुदूरपूर्वमा अवस्थित हिमाली जिल्ला ताप्लेजुङको उत्तरी भेगमा पर्ने ओलाङचुङगोेला, याङ्मा, घुन्सा, लेलेप, लुङथुङ, याम्फुदिन लगायतका ठाउँहरुमा आदिमकालदेखि वसोबास गर्दै आएका वालुङ्ग जातिहरु विभिन्न व्यापार तथा व्यवसायको शिलशिलामा देश र विदेशमा छरिएर रहे पनि पृथक परम्परा, संस्कृति, सभ्यता तथा ऐतिहासिक पृष्ठभूमिको आधारमा नेपाल सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मार्फत ५९ आदिवासी जनजाति अन्तर्गत सूचिकृत गरेको छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार वालुङ्ग जातिको जनसंख्या १,२४९ रहेको र ती मध्ये १,१६९ जनाले मातृभाषा बोल्ने उल्लेख गरिएको छ । जातीय पहिचानको जगेर्नामा भएका केही प्रयासहरुको कारण प्राप्त तथ्याङ्क अझ यकिन छैन तथापी सुधार हुँदै जाने अपेक्षा गरिएको छ । बौद्धमार्गी वालुङ्ग जातिको परम्परा, सँस्कृति र भाषा आआफनै प्रयासबाट जगेर्ना भइरहेको तथ्य सबैका सामु जग जाहेर छ ।

भूमण्डली करण र बढ्दो आधुनिकिरणको देखा सिखिको प्रभावको कारण अल्पसंख्यक समुदायलाई पर्ने असर दर्दनाक छ । सामाजिक मुद्दाहरु अन्ततोगन्वा राजनीतिक नै भएकाले संविधान निर्माणको क्रममा जातीय पहिचानको जगेर्ना गर्न एक महत्वपूर्ण अवसरलाई गम्भिर रुपमा लिई सबै पक्षलाई घच्घच्याउनु पर्ने अवस्था छ । वालुङ्ग जातिको मौलिकता एवं गर्विलो इतिहासलाई कायम गर्न संस्थागत रुपमा निरन्तरता दिन जरुरी छ । नेपाल र नेपाली राष्ट्रियतामा वालुङ्ग जातिको राष्ट्रिय पहिचान झल्कने वातावरण सिर्जना गर्नु पर्ने आजको विद्यमान आवश्यकतालाई मध्य नजर गर्दै वालुङ्ग जातिको उत्थान गर्न वि.सं. २०५७ सालमा वालुङ्ग उत्थान समाजको जन्म भएको थियो । राज्यमा अल्पसंख्यक वालुङ्ग जातिको उत्थान, राज्यमा समान प्रतिष्ठा, पहुँच र अधिकार स्थापित गर्न नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध हुँदै आधिकारिक संस्थाको हैसियतले अधिकारमुखी आन्दोलन र प्रयासहरुमा हातेमालो गर्दै आइरहेको छ ।

नेपाल सरकार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषदमा संस्थागत प्रतिनिधित्व गर्दै आदिवासी जनजातिहरुको हकहितका निम्ति नीतिगत निर्णयहरुमा सरिक हुँदै आइरहेको छ । २०६२-६३ को जनआन्दोलनमा सहभागिता, धर्म निरपेक्षताको कार्यान्वयन, आइएलओ महासन्धी १६९ को कार्ययोजना पारित गरी लागू गर्नका लागि भएका आन्दोलन र संघर्षहरुमा ऐक्यवद्धता जनाउँदै आउनुको अतिरिक्त समय समयमा हुने जातीय उत्पीडनको विरुद्धका कार्यक्रमहरु सहभागि हुँदै आएको छ ।

वालुङ्ग जातिको मार्गचित्रगत प्राथमिकताहरू
मुलूकको राजनीतिक जड नै जातीय समस्या हो । सदियौं कालदेखि राज्यबाट पछाडि पारिएका जाति तथा समुदायहरुलाई इमान्दारिताका साथ समावेश नगरेसम्म मुलुकको दीगो विकास सम्भव छैन । मुलुकलाई तोरीवारी नबनाई सयौं थुँगाहरु फुलेको ढकमक्क फुलबारीको रुपमा स्थापित नगरेसम्म सबै जाती तथा समुदायहरुले मुलुकमा अपनत्व महसुस गर्ने अवस्था सिर्जना हुन सक्दैन । यस्तो विद्यमान सन्दर्भमा अल्पसंख्यक वालुङ्ग जातिले विगतमा अभ्यास गर्दै आएको गोबाँगी क्षेत्रलाई लिम्बुवान राज्य अन्तर्गत स्वायत्त क्षेत्र बनाईनु पर्दछ । व्यक्तिगत रुपमा समुदायका केही व्यक्तित्वहरुले प्राप्त गर्नुभएको राष्ट्रिय पहिचानबाट वालुङ्ग जाति गौरवाम्भित छ तर, समग्र जातिको सामाजिक, आर्थिक, राजनीतिक उपस्थिति न्यून नै छ । यसको परिपूर्तिका निम्ति संस्थागत प्रयासहरुलाई अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता छ । वालुङ्ग जाति पहिचान सहितको संघीयताका निम्ति प्रतिवद्ध रहनेछ । ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान संघीय राज्य अन्तर्गत गोबाँगी स्वायत्त क्षेत्र हुनुपर्ने कुरामा प्रतिवद्ध रहनेछ । यसको निम्ति लविङ र गर्नुपर्ने दायित्वहरु निर्वाह गर्नेछ । आदिवासी अधिकार सम्वन्धि संयुक्त राष्ट्र संघीय घोषणापत्र, आइएलओ महासंघी १६९ को कार्यान्वयनमा दवाव सिर्जना गर्ने वा संघर्ष गर्न सरिक हुनेछ । विभिन्न आन्दोनलहरुद्वारा प्राप्त महत्वपूर्ण उपलब्धीहरु गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशी करणको कार्यान्वयनमा ऐक्यबद्धता र क्रियाशिल रहनेछ ।

वालुङ्ग जातिको पहिचानसंग गौरवाम्भित हुने भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण सम्वद्र्धनमा प्रतिवद्ध रहनेछ । जातीय पहिचानको जगेर्नाका लागि संस्थागत प्रयासहरु निरन्तर रहनेछन् । राजनीतिक क्षेत्रबाट गर्नुपर्ने प्रयासहरुमा ऐक्यवद्धता, सहभागितालाई प्राथमिकता दिइनेछ ।

(लेखक वालुङ्ग उत्थान समाज केन्द्रीय समितिका महासचिव तथा नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका सदस्य हुन्)

Loading...
Loading...
Loading...