दुपट्टा – Janata Live
  • Friday, February 3, 2023

दुपट्टा

  • अनुवादः इस्माली
  • पुष ०७, २०७५

दुपट्टा

म अत्तालिँदै कुद्दै घरबाट निस्केँ, आमाका लागि औषधि लिन । हतारमा न गोडामा चप्पल थियो न शिरमा दुपट्टा (घुम्टी वा पछ्यौराझैँ शिर ढाक्नका लागि मुसलमान महिलाहरूले प्रयोग गर्ने वस्त्र) । मनमा एउटै कुरो मात्र थियो, खोकीले ग्रस्त आमाको दुर्दशा । अघि त खोक्दाखोक्दै आमाको प्राणै जालाजस्तो भएको थियो । त्यसैले म अत्तालिँदै निस्केँ । अत्यास र हतारमा चप्पलमा गोडा घुसार्ने होस पनि रहेन, शिरमा दुपट्टा हाल्न पनि भ्याइनँछु । भाइबहिनीहरू आमाका वरिपरि चिन्तातुर र निन्याउरो मुद्रामा बसेका थिए । सहायताका लागि गुहार्ने ठाउँ पनि कतै थिएन । हामी यति गरीब थियौँ कि डाक्टर– वैद्य घरमा बोलाउन सक्ने सामथ्र्य थिएन ।

म अत्तालिँदै औषधि घरको झ्यालमा उभिएँ । औषधि घरको कम्पाउण्डरले उपेक्षापूर्ण दृष्टि मतिर फ्याँक्यो । मेरो एकोहोरो अनुनयविनयको उत्तरमा उसले मलाई उल्टो आँखा तर्यो र झर्किंदै ‘शिर ढाक्न’ र ‘लाइनबाट आउन’ भन्यो । लाइन निकै लामो थियो तर पनि ऊ खुरुखुरु औषधि दिनुको साटो के्रतासंगै अनावश्यक गलफत्ती गरिरहन्थ्यो । हत्तपत्त दुपट्टा तानेर मैले शिर ढाक्न खोजेँ । दुपट्टा चिप्लेर घरिघरि झरिरहन्थ्यो । सबैजना मलाई हेर्न थाले । म नाङ्गो खुट्टा दौडेकी थिएँ, त्यसैले उबडखाबड भुइँका चोसाचासीले घोचेर पाइताला पनि नराम्ररी चस्किरहेको थियो । तर, ती सबको वास्ता मलाई थिएन । मलाई त मात्र आमाको पीर थियो ।

लाइनमा मेरो पालो आउँदै आएन भने पनि हुन्छ । मान्छेहरू पालो मिचेर अघि गइरहे । लाइनबाट म झ्यालमा पुग्दा औषधालय बन्द हुने बेला भइसकेको थियो र म औषधिबिना नै घर फर्कें । आमा बितिसकेकी रहिछन्् । आमाको मृत शरीरलाई अँगालो मारेर भाइबहिनीहरू कोकोहोलो मच्चाइरहेका थिए । घरमा प्रहरीहरू आइपुगेपछि मैले तिनीहरूसँग, ‘हामी हिजै बेलुकीदेखि भोकै छौँ’ भनेँ । तर, तिनीहरूले सहयोग गर्नुको साटो मलाई गिरफ्तार गरेर यहाँ ल्याए, मैले मेरी आमालाई मारेँ भन्ने आरोपमा । मेरो के बिराम थियो ? टाउको नढाकिनु मेरो बिराम हो ? मेरो पेट लुगाले ढाकिएको भए तापनि रित्तै थियो । मेरा भाइबहिना भोकभोकै थिए । डरले थर्कमान भएर बहिनीहरूले हत्तपत्त शिर ढाकेका थिए । तर, तिनको शरीर र आत्मा भोक र तिर्खाले नाङ्गै थियो । यिनीहरूको पूरापूर बिराम छ । मैले न्याय पाउनैपर्छ । घरमा आमाको मृत शरीर त्यसै लडिरहेको छ– बिना कात्रो .. सद्गत् गर्नका लागि पनि मलाई यिनीहरूले छोड्नुपर्ने हो… ।’

आफ्ना कुराहरू ऊ अझ भन्न चाहिरहेकी थिई तर चुप लागी । उसले एकपटक फेरि न्यायका लागि अपिल गरी र त्यसपछि चुपचाप उभिइरही । ‘सुन्् ए लड्की, न्यायको उच्चारण नगर् । त्यो डरलाग्दो शब्द हो । त्यो त सुन्नासाथै हाम्रो सातो जान्छ । तैँले त सजाय पाउँछेस् नै । हाम्रो शासनमा न्याय खोज्ने जोसुकैले पनि सजाय पाउँछ भन्ने कुरो तँलाई थाहा छैन ?’ऊ डरले थरर्र कामी र दुवै हातले आफ्नो शिरको दुपट्टा अँचेटी मानौँ त्यो दुपट्टाले शिरबाट चिप्लिदिन्छु भनी फेरि पनि उसलाई घुक्र्याइरहेको होओस् । ‘अर्को अभियुक्तलाई भित्र पठाए ।’

तिनीहरूले एकजना बूढालाई भित्र ल्याए । उसको आङमा कोर्राका नीलडामहरू थिए । दुखाइले उसको स्वर आद्र्र थियो र ऊ दुवै हात जोडेर थर्थरी काम्दै दयायाचना गर्दै थियो । ‘यसको अपराध के हो ?’ न्यायमूर्तिले सोधे ।‘यो बूढो बिरामी थियो र अस्पतालमा यसले नर्ससँग औषधि माग्यो । नर्सलाई यसउपर दया जागेर उसले यसलाई औषधि दिइछ ।’ ‘खै, त्यो नर्स ? कहाँ मुन्टी ?’ न्यायमुर्ति अकस्मात् गर्जे । गर्जनाले सबैको सातो उडेजस्तो भयो ।‘ऊ यहीँ छे ।’ ‘लेऊ त्यसलाई । उसलाई भित्र ल्याए उनीहरूले । ‘दिलासा दिनुको साटो त्यसलाई तैँले औषधि दिएकी होस्् ? भन् …।’ ‘होइन, मैले औषधि दिइनँ । उसले मेरो हातबाट औषधि थुत्यो । मलाई थाहा छ, बिरामीलाई दिलासा दिनु, औषधि दिनु अपराध हो, बिरामी पर्नु त झन दुःखद अपराध हो । अस्पतालहरू त बिदा मनाउनका लागि बनाइएका आरामगृहहरू हुन्,’ परिचारिकाले भनी ।

‘के भनिस्– त्यो बूढोले हातबाट औषधि थुत्यो ?’ न्यायमूर्तिले खित्का छाड्दै वक्रोक्तिमा बोले, ‘त्यसो भए त्यसको सजाय केही कम हुन सक्ला । तर, बूढा बाजे भन त के भएर बिरामी पर्यौ ?’‘प्रभु ! के भनौँ ! म त बूढो मान्छे, बिरामी हुन त अभिशप्त नै छु । त्यो त मेरो खप्परमै छ नि, त्यही त मेरो अपराध हो ।’लडकीले दुपट्टा तानेर फेरि आफ्नो शिर छोपी । विचित्रको अदालतको सुनवाइ– प्रक्रिया देखेर ऊ उदेक मानिरहेकी थिई । अदालतले त अपराधीलाई दण्ड दिन्छ र निर्दोषलाई न्याय दिन्छ भन्ने सुनेकी थिई । तर, यहाँ त न्यायको अपेक्षा गर्नु नै अपराध पो भएको थियो ।

दयाद्र्र भएर उसले बूढातिर हेरी । ऊ डरले थर्थर कामिरहेको थियो । उभिन पनि गाह्रो भइरहेको थियो उसलाई । देख्दादेख्दै, उभिन नसकेर होला ऊ थचक्कै बस्यो । तर, दुवैतिरबाट समाउनेहरूले उसलाई फेरि जुरुक्कै उचालेर उभ्याए । न्याय पाउनका लागि ऊ बिलौना गर्दै थियो । तर, अकस्मात् उठेको खैलाबैलामा उसको बिलौना अनर्गल भइदियो । त्यहाँका अधिकारीहरूले एकजना जवान युवकलाई इजलासभित्र तान्दै ल्याए ।

समपर्णमा हात उठाएको त्यो युवक भन्दै थियो, ‘म निर्दोष छु, मैले मेरी जहानलाई माया गरेकै छुइनँ । किन मलाई यहाँ ल्याउनुभएको हो ? मलाई छाडिदिनुस्, जान दिनुस् मलाई,’ ऊ वेदनाको तलाउमा डुबेको झैँ देखिन्थ्यो । उसले बडो यत्नपूर्वक आफ्नो आँखामा आँसु आउन दिएको थिएन । ‘शान्त !‘ न्यायमूर्ति गर्जे । फलतः चकमन्न शान्ति व्याप्त भयो । ‘भन त, के गर्यो यसले ?’‘श्रीमान् यसका गालामा आसँुका डोब अहिले पनि देख्न सकिन्छ ।  नजर गरिबक्स्योस् त प्रभु ।’

‘यी त खुसीका आँसु हुन्,’ हाँस्न खोज्ने असफल प्रयास गर्दै युवकले भन्यो । हाम्रो देशमा माया गर्नु पाप हो । अनि आफ्नी जहानलाई र आफन्तहरूलाई माया गर्नु झन ठूलो पाप हो भन्ने कुरा तँलाई थाहा छैन ? तैँले त मृत्युदण्ड पाउँछस् ।’‘दया होस्, सरकार । हजुरका अधिकारीहरूको ठम्याइ त्रुटिपूर्ण छ । म त जहान मरेकोमा औधी खुसी छु,’ उसले फेरि पनि अधरमा हाँसो ल्याउने प्रयास गर्यो । तर, आँखाबाट आँसुको मूल फुटिदियो । लडकी पनि रुन थाली । ‘सरकार, उसलाई क्षमा गरिदिनूस्; सुँक्कसुँक्क गर्दै लडकीले अनुरोध गरी, ‘माया गर्नु अपराध होइन,’ उसको दुःखले विदीर्ण भएकी लड्कीले आफ्नो दुपट्टाको कुरा बिर्सी ।

उसको टाउकोबाट सलल्ल चिप्लेर दुपट्टा खसिसकेको रहेछ । कुद्दै ऊ न्यायमुर्तिको खुट्टामा छाँद हालेर सुँक्कसुँक्क गर्दै भन्न थाली, ‘सरकार, हामी निर्दोष छौँ । यी बूढा बाजे, यो युवक र म हामी सबै निर्दोष छौँ । हामीले कसैलाई केही चोरेका छैनौँ, ढाँटछल गरेका छैनौँ । किन हामीलाई दण्ड दिइँदै छ ? प्रभु, हामी भोका छौँ, हाम्रो पेटमा मुसा कुदिरहेछ ।’ ‘गइहाल, तिमीहरूले आफ्नो अपराध कबुल गरिसकेका छौ ।’ ‘श्रीमान्, त्यसको टाउकोमा दुपट्टा छैन ।’ अँ, त्यो त सङ्गीन अपराध हो ।’

डरले सातो गयो लडकीको, ऊ अत्तालिँदै पछि सरी । यो अत्यासमा उसले दुपट्टाको कुरा बिर्सी । उसलाई लैजाओ र फाँसीमा झुण्ड्याइदेओ । उसलाई काटेर टुक्राटुक्रा पारिदेओ । नाङ्गो शिर हाम्रा लागिसमेत शरमको कुरा हो ।’ आतङ्क बर्साउँदा भयावह अनुहारका ती अधिकारीहरू ऊतिर लम्के । ऊ निराशा र अत्यासमा बर्बराई, ‘मलाई माफ गरिदिनूस् । म कहिल्यै शिर नाङ्गो भए नि छाडिदिनूस् । मेरा भाइबहिनीहरू’ उसको स्वर भासियो । त्रासद अनुहारहरू ऊतिर लस्कँदै थिए । व्याकुल नजरले उसले चारैतिर हेरी । तर, मुक्तिको कुनै उपाय नदेखेपछि हत्तपत्त उसले आफ्नो कम्मरबाट लामो स्कर्ट तानेर माथि फर्काई र त्यसैले टाउको छोपी ।

(पाकिस्तानी कथाकार फरिदा हाफिजले लेखेको हो)

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

गौतम बुद्धका उत्कृस्ट प्रेरक भनाइ र उपदेशहरू

जिन्दगीमा मौका दिनेवालालाई धोका र धोका दिनेवालालाई मौका कहिले पनि नदिनु आफ्नो दुःख कसैलाई पनि नभन्नु किनकि सबैजना तपाइँसँग खुसी...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

ज्याक माका सफलताका १० सुत्र

ज्याक मा अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान ‘ज्याक मा’ एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनले ‘वाण्डा ग्प’का रुवाङ्ग...