बाँकी छ विचारको यात्रापथ – Janata Live
  • Friday, February 3, 2023

बाँकी छ विचारको यात्रापथ

  • कृष्ण धराबासी
  • पुष ०७, २०७५

बाँकी छ विचारको  यात्रापथ

मेरो जन्ममिति बालासन नदीको पुलमा गएर हेर्नू । आफ्नो जन्ममितिका बारेमा उहाँले कतै लेख्नुभएको छ । पछि एकपल्ट हामीले सोध्दा पनि जन्ममितिको बारेमा स्पष्ट भन्नुभएको थिएन । यो कुरा त्यस्तो खासै विशेष कुरा त होइन तर हरेक कुरालाई विशेष प्रकारको बनाएर भन्ने उहाँको आफ्नै प्रकारको शैली थियो । कुनै कुरालाई हेर्ने उहाँको दृष्टि नै असामान्य लाग्थ्यो मलाई । हामी जुनै कुरालाई पनि जति सजिलो पाराले बुझेको ठान्थ्यौं, आइबी सरको नजरमा त्यो त्यति सजिलो हुँदै थियो । सामान्य कुरामा पनि असामान्य तत्वहरू भेट्थे उहाँका आँखाले ।

एकपल्ट एउटा अन्तर्वार्तामा उत्तरआधुनिकताबारे कुरा गर्दै गर्दा कुनै नामको के अर्थ हुन्छ भन्ने सिलसिलामा भन्नुभएको छ, ‘हाम्रो गाउँ घरतिर कसैलाई बोलाउनुप¥यो भने उसको नाम वा अन्तरे नै भन्नुपर्ने भए पनि अन्तरे नभनेर काइँलाको भाइ क्या त भनिरहेका हुन्छन् । उसको आफ्नै नाम होला तर काइँलाको भाइ त खै के पो नाम भयो र । यो सुन्दा हामी प्रश्नकर्ताहरू नै मज्जाले हाँसेका थियौं । उहाँ आफू भने उति नहाँस्ने । मैले उहाँसँगको यति लामो संगतमा एकदम नै रमाएर मज्जाले हाँसेको कहिल्यै देखिनँ । बरु बैरागी काइँला दाइ धेरैपल्ट मन खोलेर हाँस्ने गर्नुहुन्छ ।

मलाई लाग्छ उहाँलाई बौद्धिकताले धेरै नै जकडेको थियो । बुद्धि धेर भएपछि मानिस रुन पनि हाँस्न पनि सक्दैन होला भन्ने मलाई लाग्छ । सीताजीको निधनभएको छ महिनाजस्तो पछि उहाँ काठमाडौं आउनुभएको बेला हामीलाई भेट्न र घर पनि हेर्न भनी चण्डोलमै आउनुभएको थियो । उहाँले केटाकेटीहरूका बारेमा धेरै चासो राखेर कुरा गर्नुभयो । मेरो स्वास्थ्यका बारेमा पनि निकै रुची राख्नुभयो । तर दिवंगत सीताजीका बारेमा पटक्कै कुरा सोध्नु भएन । त्यसबेला मलाई मनमनै अचम्म लागेको थियो । जीवित हुँदा पहिलाबुहारीलाई कस्तो छ भनेर सोधिरहने मान्छेले आज कसरी केही नसोधेको होला । यो कुरा मलाई धेरै पछिसम्म पनि जिज्ञासा रहिरह्यो । पछि आफैंले विश्लेषण गर्ने प्रयत्न गर्दै बुझ्ने कोसिस गर्दा यस्तो लाग्यो कि उहाँले जीवनलाई भावुकता र गम्भीरताबाट बाहिर राख्ने गर्नु्भएको होला । जीवनमा गम्भीरता भन्ने नै केही हुँदैन, त्यो जे हुन्छ क्षणिक हुन्छ र बिस्तारै त्यसको प्रभाव पनि आफैं बिलाउँदै जान्छ भन्ने लीलाचेत उहाँमा व्यावहारिक रूपमै घुलिसकेको हुनुपर्छजस्तो बुझेें । अनि उहाँका अरू बेलाका कुराहरू पनि सम्झदै जाँदा उहाँलाई धेरै भावुक भएको अवस्थामा मैले कहिल्यै देखिनँ ।

तेईस वर्षको उमेरमा प्रेम विवाह गर्ने मान्छेमा भावुकता नहुनु, गम्भीरता नहुनु भन्ने कसरी हुन सक्छ ? तर जब उहाँ बौद्धिकताको यात्रामा निस्कनुभयो, उहाँभित्रको हार्दिक पक्ष पनि बिस्तारै बुद्धितिरै सर्दै गएछ होला । जतिबेला जहाँ भेटिदा पनि उहाँ केही न केही गम्भीर र बौद्धिक कुरा नै सुनाउनुहुन्थ्यो । हरेकपल्ट भेट्दा सधैं केही न केही नयाँ कुरा भनिरहनुहुन्थ्यो । कसरी त्यति धेरै ज्ञानको संकलन गर्न सक्नुहुन्छ होलाजस्तो लागिरहने । आफैंले केही नयाँ लिएर गयो त्यो त उहाँलाई पहिले नै थाहा भइसकेको हुने । आईबी सरलाई कहिल्यै पनि नयाँ कुरा सुनाएर सोचमग्न बनाउन पाइएन । जीवनको असीको दशकमा हिंडिरहेको बेला पनि उहाँ आधुनिकतमदेखि आधुनिकतम कुराहरूको जानकारी र तथ्यांक लिएर बस्नुभएको हुन्थ्यो । जति नै प्रवचन सुने पनि कुरा नदोहोरिने, ज्ञानको स्रोतको प्रमाणिकतामा शंका गर्नु नपर्ने । राजेन्द्र भण्डारी र बत्सगोपालसँग गर्नुभएको लामो अन्तर्वार्तामा लीलालेखनमाथिका अस्पष्टतालाई प्रस्ट गर्न दिनु भएका तर्क र उदाहरणहरूले नै त्यसलाई विस्तारित गर्न आश्चर्यजनक भूमिका खेलेको थियो ।

इन्द्रबहादुर राईको सारा जीवन गम्भीरतामै बितेको थियो । प्राध्यापन, शिक्षण र पूर्णकालीन लेखनका सबै चरण उहाँले बौद्धिकतापूर्ण बनाउनुभयो । उहाँले आफ्ना लेखनहरूमा लोग्नेस्वास्नीका कुरा गरे पनि त्यहाँ यौन र प्रेमका भन्दा सुन्दर गृहस्थी र व्यावहारका कुरामा केन्द्रित गर्नुभएको छ । समाजको सप्तरंगी चित्रण उहाँका कथाका विशेषताहरू थिए । सबैभन्दा युवाकालमा लेखिएका विपना कतिपयका कथाहरूमै सामाजिक जीवनको गम्भीरता छरपष्ट छ । मेरी दिदी, जार भएकै एउटा कथा, चपरासी, जयमाया आफू मात्र लिखापानी आइपुगी, छुट्याइयो, आदि कथाहरूमा हामी व्यक्तिगत कुण्ठा र निरासाभन्दा समाजका समस्या र सामाजिक मनेविज्ञानलाई प्रष्ट गरिएको भेट्छौं ।

जीवनमा गम्भीरता भन्ने नै केही हुँदैन, त्यो जे हुन्छ क्षणिक हुन्छ र बिस्तारै त्यसको प्रभाव पनि आफैं बिलाउँदै जान्छ भन्ने लीलाचेत उहाँमा व्यावहारिक रूपमै घुलिसकेको हुनुपर्छजस्तो बुझेँ ।

पात्रहरू धेरै रमाउँदैनन् । धेरै नाचगान पनि गर्दैनन् । साना साना कुराहरूमा पनि कारण र परिणामबारे घोत्लिन्छन् । सामान्य पात्रभित्र बुद्धि भरिएर टम्म भएको हुन्छ । उहाँका साहित्यिक कृतिहरू किन नव युवापुस्ताले जान्दैन ? किन साधारण पाठक पढ्न रुचाउँदैन ? सजिलो उत्तर उनीहरू बुझ्दैनन् भन्ने आउला । तर उनीहरू त्यहाँ के बुझ्दैनन् । बुझ्दैनन् भने किन बुझ्दैनन् भन्ने फेरि प्रश्न जन्मिन्छ । वास्तवमा उहाँका कृतिहरू सर्वबोध्य नहुनु कुराको गुजुल्टो परेर होइन ।

विषयको गहनताले ती नबुझिएका हुन् । त्यसो त उहाँले प्रयोग गर्र्ने भाषा पनि विशेष प्रकारकै हुन्छ । उहाँ भन्नुहुन्थ्यो, ‘हामीले कुनै विशेष कुरा भन्नको लागि भाषा पनि विशेष किसिमकै प्रयोग गर्नुपर्छ । भाषाको प्रयोग आफैंमा एक विशिष्ट कुरा हुँदै नै हो । यसो त गाह्रो परेका बेला देवकोटाले पनि आफैं शब्दहरूको निर्माण गरेका थिए भन्ने गरिन्छ तर राई त शब्द मात्र होइन वाक्यहरू नै नयाँ प्रकारले बनाउनुहुन्थ्यो ।

एकपल्ट हामीले एउटा वाक्यलाई लिएर खुब चर्चा गरेका थियौं ‘आँगनको घाममा लाटा’ कथामा प्रयोग भएको । त्यहाँ एउटा वाक्य छ, ‘लाटा हाँसेको भयो ।’ यो वाक्यलाई भाषा, व्याकरण, बोध परम्परामा राखेर हेर्दा कसरी बुझ्नु ? सिधै बुझिने भनेको त लाटा हाँस्यो भन्ने हुनुपर्ने हो । यहाँ त लाटा हाँसेको छैन, हाँसेको भएको पो छ । मान्छे कसरी हाँसेको हुन्छ ? त्यो त हाँस्छ नि होइन र । एकपल्ट धुलाबारीमा उहाँसँग यसै बारेमा हामीले सोधेका थियौं ।

उहाँले भन्नुभएको थियो, …..‘हो । त्यहाँ लाटा हाँसेको छैन । त्यो हाँसेको जस्तो भएको मात्र छ । हाँसेकै चाहिँ छैन । साँच्चै हाँस्नु र हाँसेको जस्तो हुनुमा ठूलो फरक छ नि । अब हेर्नुहोस् लाटा कतैबाट आँगनमा आइपुगेको छ । घर पट्टीलाई केही खान पाउने आशाको नजरले हेरिरहेको छ । त्यसले तलतिर देखाउँदै के के भनी बस्छ तर केही बुझिँदैन । ऊ त आफूले सक्दो बुझाउन खोजिरहेकै छ नि तर हामी बुझ्दैनौं । जब त्यसले केही खान पाउँछ अनि त्यसले आफ्नो खुसी प्रकट गर्न जस्तो अनुहार बनाउँछ त्यो हाँसेको जस्तो भएको मात्र हो, हाँसेकै चाहिँ होइन । हाँस्नुसँग त भित्रैदेखि कस्तो मन खुलेर आएको हुनुपर्छ नि तर त्यसरी उसको मन त अझै खुलेको छैन । त्यो लाटा त त्यहाँ कुनै भित्तामा टाँसेको हाँसिरहेको कुनै हिरोको तस्वीर जस्तो मात्र भयो । पोष्टरको तस्वीर हेर्दा हाँसेको हुन्छ तर के त्यो हिरो जहिले पनि त्यसरी नै हाँसिरहेको होला ? अहिले पनि त्यो त्यसरी नै हाँसिरहेकै होला त । पक्कै छैन होला । त्यसो भए जसरी त्यो तस्वीरको हिरो हाँसेको भएको छ त्यस्तै हाँसेको त हो त्यस लाटाले पनि ।

चित्रकलाको भाषा प्रयोग गर्नुपर्छ भनिएको थियो तेस्रो आयामिक आन्दोलनमा । लीलामा आइपुग्दा पनि उहाँले त्यो चित्रात्मक भाषाको प्रयोगलाई भने सँगसँगै बोकेर ल्याउनुभएको थियो । उहाँको पछिल्लो सबैभन्दा क्लिष्ठ कथाझ्याल त झन् पुरै शब्दै शब्दको चित्र हो । त्यो कथाको विषय बुझ्नलाई कठिन मात्र होइन, त्यहाँ प्रयोग भएका शब्द र वाक्य रचनाले नै दुर्बोध्य छ । त्यो दुर्बाेध्य त छ तर कोसिस गरे नबुझिने छैन । अब प्रश्न उठ्छ, कोसिस गरी गरी पढिदिन र बुझिदिन के खाचो छ ? कसलाई त्यस्तो फुर्सद पनि छ र । तर त्यही नबुझिएकोलाई नै धेरैले बुझेका पनि छन् । इन्द्रबहादुर राई साहित्यमा बुद्धिलाई बहिस्कार गर्नुपर्छ भनिरहने एक बुद्धिवादी लेखक हुनुहुन्थ्यो । बुद्धिले निर्देशन गरेभन्दा भिन्दै हुन्छ जीवनको खेल भन्दै त्यसलाई बुझाउन गरिएका प्रयोगहरू बुद्धिमय नै भएका थिए । उहाँको सबै समय बौद्धिक सत्संगमा बितेको छ । उहाँलाई जबजब हामी भेट्न पुग्थ्यौं, त्यहाँ हामीभन्दा पहिले नै कोही पुगिरहेको हुन्थ्यो र त्यो मानिससँग उहाँ साहित्यका, विज्ञानका, अध्यात्मका वा राजनीतिका बारेमै केही बोलिरहनुभएको भेटिन्थ्यो ।

उहाँले आफ्नो जीवनलाई भरपुर प्रयोग गर्नुभएको छ । विचार र व्यवहार दुबैमा उहाँ लीलाबोधी हुनुहुन्थ्यो । नेपाली भाषी भारतीय हरेक आन्दोलनमा उहाँले खेलेको सक्रिय भूमिकाको बारेमा त बेग्लै चर्चा गर्नुपर्छ । भुटानी शरणार्थीको पक्षमा उहाँले ठाउँठाउँमा आफैं पुगेर मञ्चहरूबाट भाषण गर्नुभएको छ । मलाई लाग्छ उहाँको जीवनी एक असाधारण प्रतिभाको जीवनी हो । अब उहाँ सशरीर हुनुहुन्न । अब उहाँबारे अनुसन्धान गर्न चाहनेहरूका लागि बाटो खुल्ला भएको छ । मलाई लाग्छ जसले त्यो बाटो समात्ला त्यो दिन त्यो अनुसन्धाता ठाउँठाउँमा उभिएर आश्चर्य मान्दै आकाशतिर हेर्ला ।

समकालमा कुनै कुराको पनि उति महत्व हुँदैन । जीवन बाँच्ने प्रतिस्पर्धामा सँगसँगै दौडिरहेका बेलामा आफू उभिएर अर्काको गतिको चाल कसले हेरिरहला र । तर जब समय र स्थानबाट टाडा पुगिन्छ अनि हरेक कुराको अर्थ अस्तिको भन्दा फरक लाग्न थाल्छ र बढी यथार्थिक पनि हुन्छ । अब इन्द्रबहादुर राई एक यस्तो अकरिलो पहरो हुनुभएको छ जसलाई बिस्तारै छिनो र झम्पलहरूले उधिनिँदै लगिने छ ।

उहाँको निधनको बौद्धिक शोक बोकिरहेको मनले आज धेरै कुरा लेख्न असजिलो भइरहेको छ । विगत अट्ठाईस वर्षदेखि उहाँले प्रतिपादन गरेको लेखन विधिलाई अँगाल्दै यहाँसम्म आइपुगेको छु । यस यात्रामा सँगसँगै हिँडिरहनुभएका सबै साथीहरूसँग अनुरोध पनि गर्दछु अब हामीमाथि झन् धेरै जिम्मेदारी थपिएको छ । नेपाली भाषाको साहित्यमा विगत चालीस वर्षदेखि निरन्तर सिर्जना, समालोचना र चिन्तनमा घुलन हुँदै आएको लीलालेखन एउटा देउरालीमा पुगिसकेको छ । त्यो शिल्पलाई अझ परिष्कृत र व्यवहारिक बनाउँदै लैजान सके साहित्यकै सम्मान हुने छ । उहँको शरीरसँग जोडिएका अवगुणहरू शरीरसँगै गए । अब रहेको छ विचारको यात्रा ।

Loading...
Loading...
Loading...

गौतम बुद्धका उत्कृस्ट प्रेरक भनाइ र उपदेशहरू

जिन्दगीमा मौका दिनेवालालाई धोका र धोका दिनेवालालाई मौका कहिले पनि नदिनु आफ्नो दुःख कसैलाई पनि नभन्नु किनकि सबैजना तपाइँसँग खुसी...

ज्याक माका सफलताका १० सुत्र

ज्याक मा अनलाइन रिटेल कम्पनी अलिबाबाका चेयरम्यान ‘ज्याक मा’ एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनले ‘वाण्डा ग्प’का रुवाङ्ग...