महाख्यान ! तिम्रो अन्त्य स्वीकार्य छैन – Janata Live
  • Sunday, August 14, 2022

महाख्यान ! तिम्रो अन्त्य स्वीकार्य छैन

  • डा. लक्ष्मणप्रसाद गौतम
  • पुष ०७, २०७५

महाख्यान ! तिम्रो अन्त्य स्वीकार्य छैन

तिमी बसेको भूगोल, बिहान उठ्नेबित्तिकै तिमीले टेक्ने धर्ती, रीति, तिमीले सपनादेखि खाट र यहाँ म बसेको भूगोल, बिहान उठ्नेबित्तिकै मैले टेक्ने धर्ती अनि, मैले दिनभरिको लखतरान शरीरलाई बिसाउने खाट कहाँ एउटै थिए र ? राजनीतिक भूगोलले तिमी पारि थियौ; म वारि । तिम्रो भाषामा तिमी वारि थियौ म पारि । हो, तिमी र म भिन्नाभिन्नै भूगोल नागरिकता ओढेर आफ्नो परिचय पत्र तेस्याइरहेका थियौं । तिमी महान् उचाइको सगरमाथा थियौ, म थिएँ तिम्रा लागि एउटा लिलिपुट; तर तिमी मेरो आस्थाको धरोहर ! तिमीभित्रको सगरमाथाअगाडि नाम्चे बजार भएर उभिएको मैले तिम्रो त्यो विराटताको आंकलन कति नै पो गर्न सक्छु र ? साँच्चै हो प्रिय महाआख्यान ! भूगोलको सीमाभन्दा पर तिमी नै त हौ । नौ दशक बुढ्याएको तिम्रो शरीर न अब कहिल्यै नेपाली मनले पाउने छ, न त्यो दार्जिलिङको विजन कुटीमा तिम्रो भौतिक अस्तित्व देखिने छ ।

नेपाली साहित्यमा दर्शन, विचार र चिन्तनको मौलिक आफ्नोपन नदेखिएका सन्दर्भमा मस्तिष्कले पढिने र ग्रहण गरिने नयाँ चिन्तन र दर्शनको अवरण तिमीबाटै त भएको हो । अझ नेपाली समालोचनाको आफ्नो मानक निर्माण नभइसकेका सन्दर्भमा नवीन विचारको प्रक्षेपण नआइरहेका सन्दर्भमा र हाम्रो आफ्नै पूर्वीय दर्शनको महक हामीले थाहा नपाइरहेका सन्दर्भमा तिमीले दिएको लीलाबोध हाम्रै विराट् पूर्वीय दर्शनको चुरो कुरो थिएन र ? त्यसैमा पाएथ्यौं हामीले विचार र चिन्तनको आफ्नै नेपाली स्वाद । त्यो अविस्कार तिम्रो थियो । त्यसका उपभोक्ता हामी थियौं । साँच्चै वास्तविक उपभोक्ता हुन सक्यौं वा सकेनौं; तिमीभित्रका, तिमीले अविष्कार गरेका र तिमीले मूल्य निर्माण गरेका गहिराइभित्र डुबेर हामीले कति मोती टिप्न सक्यौं; कति सिपी झिक्न सक्यौं त्यो भविष्यले बताउला तर तिमी नेपाली समालोचनामा विचारका र दर्शनका महान् पथनिर्माता हौ ।

अरूले बनाएको बाटोमा हिँड्न सजिलो हुन्छ । अरूले बाँझो फोरेको धर्तीमा खेती लहलहाउन पनि त्यति गाह्रो हुँदैन तर आफैंले बाटो बनाएर हिँड्न; आफैंले बाँझो फोरेर खेती गर्न गाह्रो हुन्छ । हो, तिमीले त्यही गाह्रो काम ग¥यौ । नेपाली वाङ्मयमा, अझ भनौं नेपाली समालोचनामा तिमीले झाडी फाँड्यौ, गोरेटो खन्यौ, बाटो बनायौ र त्यही बाटोमा हिँड्यौ, हिँडिरह्यौ र एउटा विशाल अग्रभूमिको निर्माण ग¥यौ । तिमीले निर्माण गरेको यही अग्रभूमि त थियो नयाँ आविष्कार ! यही त थियो तिम्रो लीलालेखनको आविष्कार ! तिमीले देखेको संसार मात्र भ्रान्ति थिएन महाख्यान ! तिमीले पनि त हामीलाई भ्रान्तिमै राखेर निर्वाण प्राप्त ग¥यौ । आज अचानक अग्रभूमि निर्माणका तिम्रा पाइला रोकिएको दिन म स्तब्ध छु । तिम्रो यो निर्वाण साँच्चै स्वीकार्य छैन मलाई । तिमीले ‘परालको आगो’लाई ‘कठपुतली’ मा विनिर्माण गर्न सक्यौ, तिमीले आफ्नै निर्वाणलाई विनिर्माण गर्न सकेनौ । के यो पनि एउटा महान् भ्रान्ति थिएन र ? तिम्रो यो निर्वाण पनि एउटा भ्रान्तिमात्र भइदियोस् भन्ने चाहेको छु । कति आनन्द हुन्छ भ्रान्तिमा बाँच्न । त्यसैले त तिमीले ‘साहित्यलाई कहिल्यै नपत्याउनू, यो त एउटा खेल हो, यो सधैं भ्रामक हुन्छ’ भनेका थियौ । तिम्रो यो निर्वाण पनि भ्रान्ति भइदिओस्; खेल मात्र भइदिओस्; लीलामात्र भइदिओस् ।

जीवनका लम्बाइ र चौडाइ मात्र नापिरहने स्केलले मात्र तिमीलाई चित्त बुझेन । तेस्रो आयाममा तिमीले जीवनको गहिराइ नाप्ने स्केल खोज्यौ । घनत्वमा जीवनको गहिराइ नाप्ने स्केल पनि तिमी आफैंले खनेको बाटो थियो नि ! जीवनको गहिराइ नापेर मात्र तिमी सन्तुष्ट हुन सकेनौ; तिमीभित्रको बौद्धिक ज्वाराभाटा श्रीकृष्णको मुखभित्र देखिएको विराट ब्रह्माण्डजस्तै त थियो, अथवा यशोदाले पालेको भ्रमजस्तै ! अझ भनूँ प्रत्येक गोपिनीले आफैंसँग कृष्ण देखेको, पाएको भ्रमजस्तै ! तिमीले पहिल्याएको यही लीलाभ्रमभित्र लुकेको अर्थको गहिराइ नाप्ने स्केल हामी कतिजनासँग होला ? त्यसैले त तिमीले नेपाली साहित्यमा अविजेय इतिहास बनाएका छौ । योचाहिँ भ्रम होइन महाख्यान ! यो सत्य हो । पूर्वीय पाश्चात्य दर्शनलाई पचाएर तिमीले नयाँ विचारको प्रतिपादन गरेको पनि सत्य हो । तिमीले मौलिक नेपाली विचारको बिउ रोपेको पनि त्यत्तिकै सत्य हो । सर्वप्रथम निर्माणहरूलाई भत्काएर तिमीले विनिर्माणबाट नवनिर्माण गरेको पनि सत्य हो । यहाँ कुनै भ्रम छैन । मेरो मस्तिष्क तिम्रा लीलाभ्रमहरूमा रन्थनाएको छ र यही रनाहामा चिच्याएर भन्न मन लागेको छ, तिम्रो निर्वाण पनि एउटा भ्रममात्र भइदिओस्; मात्र भ्रम !

नेपाली आख्यान, समालोचना, विचार र दर्शन यी सबैसबैमा तिम्रो र हाम्रो फरक भूगोलले छेकेन । मन कहाँ छेकिँदोरहेछ र त्यसरी ! तिमी तनले हाम्रा लागि अनागरिक थियौं तर मनले तिमीभित्र हाम्रै स्पष्ट नागरिकता थियो । तनले भारतीय र मनले खाँटी नेपाली तिमीले त्यही भएर त पहिल्याएका थियौ ‘विपना कतिपय’ मा त्यहीँका नेपालीहरूका भित्री मर्म, कथाव्यथा र जीवनशैलीका भित्री यथार्थका सूक्ष्म गहिराइलाई । तिम्री जयमाया लिखापानी पुग्दा भोगेका भोगाइहरू तिनै यथार्थको प्रतिनिधि र प्रतिविम्ब होइन र ? यथार्थका धरातलमा विसंगत जीवनदृष्टि देख्ने ‘कथास्था’मा मानवीय आस्थामा आएको विचलन र संगतिहीनता देख्नु तिमीभित्र आविष्कृत सात्र्र र कामुका अवतार थिए भन्दा के म गलत हुन सकूँला । हो, त्यतिबेला कहीँ संगति थिएन; तिमीले त्यही भएर संगतिहीनता देख्यौ र रमिता छ भन्ने भ्रमहरूलाई चिर्दै प्रत्येक दिनको आज रमिता छैन भनेर संकेतमा उद्घोष ग¥यौ । प्रिय महाख्यान ! तिमीले भनेको यतिका वर्षपछि आज पनि रमिता छैन, रमाइलो छैन । न तिम्रो भूगोलमा, न मेरो भूगोलमा कहीँ पनि रमिता छैन । निर्वाण प्राप्त गरेको तिम्रो आत्माले, तिमो मनले रमिता र रमाइलोको के कस्तो अनुभूति गर्छ थाहा छैन तर मेरो तन र मनमा रमिता छैन । तिमीले त्यति बेला नै कसरी संकेत गरेका–आज रमिता छैन । तिम्रो यो सत्य आज पनि त्यस्तै छ । आज साँच्चै रमिता छैन । यही त तिम्रो दूरदर्शी विसंगत जीवनदृष्टि थियो ।

समयले जतिजति पाना पल्टाउँदै गयो; तिम्रो कलम जतिजति घोटिँदै गयो; त्यतित्यति गहिराइलाई च्याप्प समात्ने तिम्रो अद्भूत चेतना देखेर मलाई लोभ लाग्छ । परालको आगो निभाएर कठपुतलीको मनको निर्माण त थियो तिम्रो पहिलो विनिर्माण । सर्वप्रथम विनिर्माणको ढोका खोल्ने तिमी के सानो आविष्कारक हौ र ? साँच्चै तिम्रो यो महान् आविष्कारको मुक्त कण्ठले प्रशंसा गर्न मन लाग्छ मलाई । तिम्रो ‘खीर’ को स्वादमा सबैले मुख मिठ्याउन नसक्नु तिम्रो दोष होइन; खीर खान नसक्ने मुख र स्वादलाई अनुभूत गर्न नसक्ने आत्मा वा मन भएकाहरूले तिम्रो खीरमा रहेको मिठास कसरी थाहा पाउनु ? बल्याक आउटमा छोराका लागि काजुबदाम किन्न गएको बाबु नियति र सोचाइहरू के हामीभित्र छैनन् र ? महारूदनकी दिदीले पानी पोखिएर रूने र भाइले हात च्यापिएर रूने नाटकीय खेलमाहाम्रा महारूदनहरूलाई हेर्ने र ठम्याउने तिम्रो महान् दार्शनिक हेराइलाई दुईचार वाक्यमा कहाँ अटाउन सक्छु र म ! तिम्रा यस्ता अनगिन्ती कथाहरूभित्र पसेर तिमीलाई खोज्न थालेँ भने म पनि बाहिर निस्कनै नसक्ने गरी हराउन सक्छु; त्यसैले अब यहाँ तिम्रा कथाहरूसँग नखेल्न अनुमति देऊ मलाई । पर्याप्त शब्दहरू छैनन् मसँग ।

जुन शब्दब्रह्मलाई तिमीले छुन्छौ; तिम्रो स्पर्श पाएका शब्दहरूमा बौद्धिक जादूको चमत्कार त्यसरी किन आउँछ होला ? कसरी आउँछ होला ? सृजनामा होस् वा समालोचनामा; एउटा अचम्मको बौद्धिक तिर्खा मेटाउने शक्ति र जादू देख्छु तिम्रा शब्दहरूमा, वाक्यहरूमा, तिमीले दिन खोजेका विचारहरूमा, चिन्तनमा र दर्शनमा । तिम्रा समालोचना मलाई विचारहरूको प्रयोगशालाजस्तो लाग्छ ।

‘नेपाली भाषासाहित्य आन्दोलनका प्रलेखहरू’ मा देखिएको तिम्रो इतिहास चेतना ‘दार्जिलिङ नाटकको आधा शताब्दी’ मा पनि गहिरो र यथार्थपरक छ । ‘टिपेका टिप्पणीहरू’ केवल टिपेका टिप्पणीहरू मात्र थिएनन्; शोधखोजबाट निस्केका मिहिन तथ्यहरू रहेछन् भन्ने कुरा आज म बुझ्दैछु । ‘नेपाली उपन्यासका आधारहरू’ पहिल्याएर तिमीले दिएको निर्णायक कुरोको चुरो समाएर इतिहास लेखिँदै गरेको उत्तरवर्ती समयका लागि तिमी एउटा विशिष्ट उपजीव्य हौ भन्न हिचकिचाउनुपर्छ र ? कुनै सर्जक र उसका सिर्जनामाथिको गहन प्रवेश र अप्रकटित अर्थहरूको खोजी सबैबाट हुन सक्ने काम होइन । ‘सन्दर्भमा ईश्वरबल्लभका कविता’ भित्र प्रवेश गरेर अप्रकटित अर्थ खोज्ने तिम्रो सूक्ष्म सामथ्र्यलाई म कुनै विशेषण दिन सक्दिनँ ।

प्रिय महाख्यान ! ‘अर्थहरूको पछिल्तिर’ उभिँदा म हायलकायल भएको थिएँ । जब अलिअलि आफूलाई बानी पार्दै लगेँ तिम्रा अर्थहरूका पछिल्तिर र अघिल्तिर अलिअलि उभिएर अडिन सक्ने भएको छु । अनेक प्रश्न र खोजीहरूमा भागवत, प्रह्लाद, नरसिंह अवतार, साबात, टुना, कार्यवाद, संरचना, प्रारूपान्तर र तिनका उत्तरहरूबाट तिमीले नेपाली समालोचनामा निनिर्माणवादी समालोचनाको ढोका खोलेर अर्थहरूको अघिल्तिर होइन, पछिल्तिर हेर्नुपर्छ भन्ने तिम्रो आविष्कारक दृष्टिकोणले कृतिभित्रका अप्रकटित अर्थको गहिराइतिर जान प्रेरित गरेको होइन र ? तिम्रो यो ध्वनिको गहिराइ कति शक्तिशाली ! ‘लीलाप्रस्तावना’ भित्रका तिम्रा प्रस्तावनाहरूले पनि समालोचनाको एउटा मोड दिने सामथ्र्य राख्छन् । अनर्गल प्रचार र नाराविरूद्ध तिम्रो निर्भीक, स्पष्ट र खरो दृष्टिकोणलाई अरूले पचाऊन् नपचाऊन् म त्यतितिर जान्नँ ‘साहित्यको अपहरण माक्र्सवादिक प्रतिबद्धता हो’ भनेर खुलेर भन्ने तिमीभित्रको सत्यलाई म सलाम गर्छु । यहाँनेर तिम्रै शब्द सापटी लिएर भन्न मन लाग्यो–

‘प्रतिबद्धता साहित्यमा विभिन्नथरीका छन्; घुन्चक्र प्रचारले जित्न खोजिरहेको एक खालको भेटिन्छ… समयांकित (डेटेड) समस्या, मानवीय मूल्यहरू गहिरिएर लेख्दा नै मानवीय आधारिक भावहरू लेखिन्छन् ।’ वास्तवमा तिमीले सही त भनेका थियौ नि ! तिम्रो यो भनाइ गुदी नभएका तर घुन्चक्र प्रचार गरेर घुनलाई सुन बनाउन खोज्ने आजका कतिपय लेखक (?) हरूका लागि मीठो व्यंग्य थिएन र ? त्यो व्यंग्य आज अर्थात् अहिले झनै सान्दर्भिक छ ।

साँच्चै युगीन समस्या र मानवीय मूल्यलाई शाश्वतीकरण गरेर वा शाश्वत् मूल्य प्रदान गरेर लेख्न सकियो भने मात्र त्यो जीवन्त साहित्य हुन्छ भन्ने तिम्रो दृष्टिकोणको गहिराइ साँच्चै मननीय छ । तिमीले त ‘समपूरक’ भित्र अनेक दृष्टिकोण, विचार, चिन्तन र दर्शनहरूको अन्तर्घुलनबाट नवीन समीक्षकीय विचार दिएर गयौ तर त्यो त कुनै पूरक वा समपूरक नभएर स्वयम्मा पूर्ण पो रहेछ । समपूरक वा पूरकमा विकल्पहरू हुन्छन् क्यारे । त्यसमा त मैले निर्विकल्प विचारहरू पो पाएँ त ! तिम्रो बौद्धिकताको मापन गर्ने कुनै स्केल मसँग छैन । ‘वार्ताहरूमा इन्द्रबहादुर राई’ तिम्रा बौद्धिक विचारहरूको अर्को विशाल प्रयोगशाला रहेछ । तिमीलाई बुझ्न, तिम्रो अन्तर्यलाई छाम्न, तिमीभित्रको बौद्धिक विराटतालाई अलिकति भए पनि पर्गेल्न यो त एउटा कुञ्जी रहेछ; साँचो रहेछ । अहिले म त्यही साँचोले तिमीभित्रको अलिकति चिन्तन र बौद्धिकतालाई खोज्ने प्रयास गर्दैछु ।

उत्तरआधुनिकताले महाख्यानको अन्त्यको घोषणा गर्छ । तिमी त पूर्वीय सन्दर्भ र स्रोतलाई उत्तरआधुनिक चेतनाका कोणबाट समेत नयाँ आविष्कार गर्ने ‘थिंक ट्यांक’ हौ र तिमी स्वयम्मा महाख्यान हौ । तिम्रा कृतिहरूमा पाइने चिद्वैषम्य, विपर्यास, प्राक्सन्दर्भ, भाषिक चमत्कार, विवृतशैली, भाषिक वाग्वैदग्ध्य आदिआदि अनेक विशेषताहरू र विनिर्माणका अनेकौं साक्ष्यहरूका कारण तिमी स्वयम् महाख्यान बनेका छौ । उत्तरआधुनिकताले महाख्यानको अन्त्यको घोषणा गरे पनि तिमी मेरो महाख्यान हौ, हाम्रो महाख्यान हौ, नेपाली साहित्यका महाख्यान हौ तसर्थ प्रिय महाख्यान ! तिम्रो अन्त्य स्वीकार्य छैन मलाई ! प्रिय इन्द्रबहादुर राई ! प्रिय इन्बरा ! तिम्रो अन्त्य सह्य छैन मलाई ।

Loading...
Loading...
Loading...