आफ्नो भाग्य आफ्नै थाप्लो – Janata Live
  • Saturday, February 4, 2023

आफ्नो भाग्य आफ्नै थाप्लो

  • छम गुरुङ
  • पुष ०७, २०७५

आफ्नो भाग्य आफ्नै थाप्लो

मैले लेख्नपर्ने ठ्याक्क के हो कहाँसम्म हो थाहा छैन, तर एउटा सम्झना छ । त्यो भनेको एक दशकअघिको असोज महिनामा पुग्नुपर्छ । त्यसबेला, भर्खर म एसएलसी उक्लेर बैनीसँग काठमाडौँ आएको, कलेजमा भर्ती भैसकेको बेला । अध्ययन त छँदै छ, काम पनि खोज्दा पाएसम्म समाउनै पर्यो । कलेज दसैँ मुखमा ताल्चा लागेको, म पनि कतै निस्कने र काम थुत्ने हतारमा हुन्छु । ठुल्बाको दिदीदाइको डेरामा मिसिएको छु । दाइ ट्रेकिङ गर्ने, त्यै भएर सोधाइमा केही काम मिल्ने हो कि भन्छु । भोलि नै छ, तर बोक्न त दुइटा बेडिङ पर्छ, सक्ने हो हैन, यो किसिमको दाइको प्रश्नले एकछिन अलमलिन्छु पनि । यतिखेर उपत्यकाभरि आँखा पाक्ने महामारी फैलिरहेको हुन्छ, हुन त मेरो आँखा पनि दुख्ला–दुख्ला अवस्थामा हुन्छ । तैपनि सोचेर ‘हुन्छ, जान्छु’ भन्दिन्छु । त्यसपछि एउटा खालि बोरा खोज्छु, नाम्लो बनाउँछु । साँझै चाहिने सामान बन्दोबस्त गरी झोलामा प्याक गरी राख्छु । बिहानै चार बजे ब्युँझिन्छु, दाइसित ट्रेकिङ अफिस (एडभेन्चर सिक्स थाउजेन्ड) मा पुग्छु । अब म जीवनमा पैलो यात्राको खुड्किलामा पोर्टर भैजानेमा दर्ता हुन्छु ।तेह्रजना गेस्ट र हामी नेपाली नौजना । टि–हाउस प्याकेजमा ट्रेकिङ यात्रा बस चढी अघि बढ्छ, काठमाडौदेखि थोरङ–तातर्फ  ।

पैलो दिन हामी साँझ अबेर भुलभुलेमा बास बस्छौँ । थकित हुन्छौँ । मलाई भोलि के हुने कसो गर्ने नानाथरि थाहा हुँदैन, यत्ति मात्र थाहा हुन्छ, भारी बोकेर हिमाल पार गरी जानु छ । राती निद्राको चाप बढ्दैन । बिहानै उठेर मस्र्याङ्दीमाथिको झुलुंगे पुलमा जान्छु । नदी त मभन्दा छिटो नसुतेरै दौडिरहेछ, म त अलिकति भए पनि सुतेर उठेकै हुँ लाग्छ, उँभैउँभो हिँड्नु छ । बे्रकफास्ट लगत्तै भारी कस्छु, दुइटा बेडिङ, ४० किलो जत्ति हुनुपर्छ । भारीमाथि आफ्नो झोला–पोको पनि बाँध्छु । सातजना पोर्टरलाई एकुन्टा ओढ्ने प्लास्टिक, जुत्ता–मोजा पनि बाँडिन्छ । सुरुमा बोक्दा भारी त रुयीको जस्तो, सुइँसुइँ अगाडि बढ्छु, तर एक चौतारो दुरी छिचोलेपछि थाहा भो, यो त ढुंगा–फलामको हुँदै गैरहेछ त ! म सक्दो सबभन्दा अगाडि हिँड्छु, आफूभन्दा अगाडि कोही हुँदा बाटो लम्बिरहेजस्तो लाग्छ । भुलभुलेबाट ङादी हुँदै बाहुन डाँडा हुँदै दोस्रो दिनको हाम्रो बास जगतमा हुन्छ । साँझ बासमा पुग्दा मेरा खुट्टा र ढाँडले अलि छिट्टै सुत्न खोज्छन् । खाना खाने ठाउँ पुग्छु । त्यहाँ कुइरे र ग्रुपलिडरको खाना अब्बल । गाइड र सेर्पाहरूको खाना दोयम् । हामी पोर्टरहरूको खाना र बास चैँ सिम वा चाहार दर्जाको पाउँछु । सुत्नुअघि परिचय लेनदेन सँगै एकछिन नाचगान हुन्छ । रेसम फिरिरि… केहीबेर चलिरहन्छ । सुत्नपट्टि लाग्छौँ । मैलो, गन्हाउने र अँध्यारो सिकसिक लाग्दो ओछ्यान । कतिजना आए, सुते र कतिजना सुते, उठे होलान् ? राती नै मलाई उठाइदिन्छ, जुम्राले । तीन्टा जुम्राको दुइटा बूढीऔँलाको नङबीचमा हत्या गर्दिन्छु ।

तेस्रो दिनको हाम्रो यात्रा साँझ धारापानीमा रोकिन्छ । धेरै सम्झना छैन, खुट्टाको सम्झनाबाहेक । अब त खुट्टा पृथ्वीमा बस्न मन नलाग्ने पो हुन पुग्छ । मसँग खुट्टा दुइटा त हो, दुइटै सप्रेको लौकाजस्तो आकारमा पाउँछु । गेस्टले मालिस गर्दा, चिसो पानीमा डुबाइँदा पनि खुट्टा राम्ररी उभिन असमर्थ भैदिन्छ, हैरान ! कम्मर र गर्दनले पनि सकिँदैन भन्न थालेपछि यात्रा ओह्रालै तय गर्नेमा पुग्छु । तर यसरी हुँदैन, जाँदाजाँदा बानी पर्दै जान्छ भन्दै साथीभाइले सम्झाएपछि उँभै पाइला बढाउँछु । रातभरि खुट्टा तनावमा, ज्यान पनि उस्तै मुढा । तैपनि बिहानै उठ्दा खुट्टाले मेरो ज्यान पनि बोक्न नसकेको पाउँछु । भारी बोक्ने त कल्पना मात्र । जसोतसो यताउति टहलिन खोज्छु, अलिअलि साहस बढाउँछु । ब्रेकफास्ट उही ड्युटीमा, बेडिङ बाँध्ने बोक्ने हिँड्ने । पाइला सार्दा यस्तो लाग्छ, बाटो त सर्प हैन, तर बाटो टेक्दा पनि एउटा डरमर्दो सर्पलाई टेक्न खोज्दैछु जस्तो महसुस हुन्छ । लन्च खाएर हिँड्दै जाँदा बाटोमा गेस्टसँग भेट हुन्छ । पानी दिन्छ एकजनाले । उसले मुखभित्र बोतलको पुरै मुख निलेर पिएको देखेर पिउन गाह्रो लाग्छ, तैपनि पिइदिन्छु । मिठाइ पनि दिन्छ । त्यो खान्छु र प्लास्टिक खोल त्यहीँ फालेको, उसले टिपेर आफ्नो झोलाको सानो खल्तीमा राख्छ । मलाई प्रकृति भनेको एक टुक्रा प्लास्टिकले पनि खजमजिन्छ भन्छ, ऊ । मेरो भारी चामेसम्म पुग्न दिउँसो हाम्रो गु्रप लिडर र शेर्पा भाइले पनि दुई तीन खेप बोकिदिन्छन् । चामेमा हाम्रो बास साङ्ग्रिला होटलमा हुन्छ । मेरो खुट्टाले भारी बोक्न अलि सहज हुँदै गएको स्थिति बन्छ । खानापछि मादल र गीतमा एकछिन रमझम चल्छ । होटलको मालिकसँग कुरा गर्दै जाँदा एउटा कुरा खुल्छ । उसले चिन्दो रैछ, यही बाटोमा सोह्र वर्षदेखि लगातार ओहोरदोहोर भारी बोक्ने र ज्यामी बनेको मेरो बालाई । होटलको चर्पी मेरो बा एक्लैले बनाइदिएको पनि थाहा पाउँछु, जहाँ म केहीबेर अघि गई आएको हुन्छु ।

मनाङको याक होटलमा एक दिन विश्राम लिन्छौं । घाममा जिउ मात्र पखाल्न सक्छु, टाउकोमा पानी हाल्ने हिम्मत पुग्दैन । हावा पनि चलेकै छ । मेरो खुट्टा–ज्यान करिबकरिब सञ्चै हुन्छ । हामी घुम्न मस्र्याङ्दीपारि गङ्गापूर्ण तातर्फ एउटा झुलुंगे पुल तरेर जान्छौं । साँझ खानापछि नाचगान चल्छ । कोही भने रात किनेर ओछ्यानमा जोरपिङ खेल्न जान्छन् !

चामेबाट दाहिनेतिर छुट्ने बाटो नार–फु ट्रेक जाने बाटो हो । हामी चैँ बाटो हाँगा नपारी पिसाङतिर लाग्छौँ । अघि बढ्दै जाँदा हामी ब्राथाङ गाउँ हुँदै अलि उँभो लागेपछि झुलेसल्ला र ठिङ्ग्रेसल्लाको बन आउँछ । पिसाङको दक्षिणीपूर्वी पौङ्दा डाँडामा एउटा यस्तो अनौठो खालको कालो चुनढुंगाको नांगो चेप्टो चट्टान उभिएको देखिन्छ, जसलाई तमुहरू स्वर्ग जाने ढोकाको रूपमा मान्छन् । ठाउँ उही र एकै भए पनि छरिएर रहेका तमु जातिले यसलाई फरक–फरक नामले चिन्छन् । कतै क्वोप्लेकोँ, कतै ओप्लेकोँ, कतै मृत आत्माले गोठालेसँग आगो माग्ने ठाउँ, बच्चा–आमा मर्दा आफ्नो दुध निचोर्ने ठाउँको रुपमा चिन्छन् । गोरखाको उत्तरी भेगमा ख्यो–कू (नौ ढोका) भनी चिन्दछन् । यसभित्रको नौ ढोकामा एकेक कुकुर रहेकोले स्वर्ग जाँदा ती कुकुरलाई सुनको सिक्रीले बाँध्न लगाइन्छ । मामालीले बन्दान–कू (मृतकको प्रतीकमा नौ फन्का बेरिने ऊनी धागो) छिनालेपछि बल्ल स्वर्ग जाने यो ढोका खोल्न सकिन्छ भन्ने लोकश्रुति पाइन्छ ।हिँड्दै हामी हुम्डेमा पुगेर आराम गर्छौँ । यो ठाउँ ठुलो व्यवस्थित हिमाली मैदान हो । यो मैदान खन्न मेरो हजुरबा पनि आएको भन्नुहुन्छ । यहाँ विमान अवतरण भइरहन्छ । यहाँबाट हामी उँभो घ्यारु र ब्रागा गाउँ हुँदै अघि बढ्छौँ । जति अगाडि बढ्दै उक्लिँदै जान्छौँ उति हिमाल नजिकिँदै आउँछन् । आएको बाटोतिर फर्केर हेर्दा पनि हिमाल पछाडि छोड्दै गएको पाउँछौँ । हिमालभन्दा हामी पो अग्लो हुँदै गएको पाउँछौँ ।

माथि एउटा ठुलो गाउँ देखापर्छ । लुङ्दर फर्पmराइरहेका अग्ला घर–होटल भएको मनाङ । यो गाउँ ३५०५ मिटर उचाइमा बसेको छ । यहाँबाट हिमाल अन्नपूर्ण दोस्रो, गङ्गापूर्ण, अन्नपूर्ण तेस्रो र अन्नपूर्ण चौँथो सामुन्ने देखिन्छ । अन्नपूर्ण प्रथम भने पछाडि लुकेको देखिन्छ । गाउँवरिपरि नांगा बारीपाखामा घोडा, खच्चर, याक, झोपाहरू चर्दै गरेका देखिन्छन् । मनाङको याक होटलमा हाम्रो एक दिन विश्राम लिन्छौँ । घाममा जिउ मात्र पखाल्न सक्छु, टाउकोमा पानी हाल्ने हिम्मत पुग्दैन । हावा पनि चलेकै छ । मेरो खुट्टा–ज्यान करिब–करिब सन्चै हुन्छ । हामी घुम्न मस्र्याङ्दी पारि गङ्गापूर्ण तालतर्पm एउटा झुलुंगे पुल तरेर जान्छौँ । साँझ खानापछि नाचगान चल्छ । कोही भने रात किनेर ओछ्यानमा जोरपिङ खेल्न जान्छन् ! हामीभित्र एकजना काका थपिन्छ, युकमेन (ट्रेकिङ लुगा सामान) जिम्मा लिने, मनाङदेखि मुक्तिनाथसम्म आउनेजाने । रमाइलो सकेपछि हामी पोर्टरहरू ओछ्यान बोकेर होटलपारि टहरामा जान्छौँ, अर्को गु्रपका पोर्टरहरू पनि हाम्रो ओछ्यानमा आउँछन् । रातभरि तास खेल्छौँ, चौँरीको मासु भन्दै झोपाको मासु दन्काउँछौँ । होटलमा भने बिजुली, हामी सुत्ने टहरामा हुँदैन, मैनबत्ती एक मुठो र एउटा टुकी पनि लगेर सल्काउँछौँ । तास खेलमा नारिन्छौँ, चार वटा खालमा सामेल । कोही जित्ने कोही हार्ने तर जित्नेले खानपानमा खर्च मिलाउने सर्तनामा । पोर्टरहरू मध्येरातमा हाँस्ने थाल्छन् । यसो हेर्छु, एकजना अलि पाको दाइ हेर्दै सबै हाँसिरहेको पाउँछु, यही पाको दाइसित म नछुट्टिकन यात्रा गर्दै लम्किँदै आएको हुन्छु । उही दाइको नाकमा कालो मोसो लिपिएको, तर हेर्दै जाँदा एकजनाको मात्र हैन, सबैको नाकमा उही मैनबत्ती र टुकीको ध्वाँसोको बांगोटिंगो छाप !

हामी मनाङबाट उँभो लाग्छौँ । लेक लाग्न सुरु पनि हुन सक्छ । यसो हुनाले खल्तीमा लसुन बोक्छु । टाँकी बस्ती कटेपछि मलाई अलि गाह्रो–गाह्रो महसुस हुँदै आउँछ । अनुभवीहरूको निर्देशनअनुसार सकेसम्म भारी नबिसाइकन सरासर एकै लयमा हिँड्छु । जति–जति उचाइ बढ्दै जान्छ, हिँड्ने पाइलाको गति पनि घट्दै र सतर्क हुँदै जान्छ । उचाइ बढेअनुसार हिँडाइको समय पनि कम–कम पार्दै लगिन्छ । याक खर्क हुँदै हामी अघि बढ्दै जान्छौँ । दुई दिनमा हामी थोरङ फेदीमा पुग्छौँ । चार–पाँचओटा मात्र होतलको बस्ती, यहाँ ज्यादै कठिनले बस्छौँ । खाना त ठिकै नै भन्नुपर्छ, तर सुत्ने ठाउँ नपुगेर पो अप्ठेरो खासमा । होटल बाहिर पिँढीमा जकेट–प्लास्टिक ओछ्याएर, पाल ओढेर साथीभाइ खापाखाप तीन घन्टा जति सुतेर बिहानै दुई बजे उठिहाल्छौँ । प्याक–लन्च सबैले बोक्छौँ । तीन नबज्दै फेदीबाट थोरङ–ला पास गर्न लहरै टर्च बाल्दै बिस्तारै उँभो लाग्छौँ । युकमेनवाला काकाचैँ बीचमा हिँड्नुपर्ने, किनभने ग्येमोब्याक (अक्सिजनको झोला) जिम्मा लिने उनी । जो जुन बेला जे पनि हुन सक्ने र तलमाथि पनि हुन सक्ने सम्भावनाले ठाउँ लिएकै हुन्छ । अक्सिजन अपर्झट आवश्यक पर्न सक्छ । प्रत्येक खैरेखैरिनीको साथमा एकजना नेपाली, उनीहरूको सुरक्षा पैलो कर्तव्य । हिँड्न नसक्ने भएमा बोक्ने र बिमारी भैहाले पनि बोक्ने शेर्पा र सरदारको जिम्मा । हामी जति अघि बढ्दै जान्छौं उति हिउँको तह बढ्दै जान्छ । सक्दो उज्यालो नहुँदै यो भन्ज्याङ पास गर्नुपर्ने हुन्छ, नत्र हिउँले र हावाले दुर्घटना निम्त्याउन सक्छ ।

मेरो त पैलो ट्रेक हो । सुरुदेखि नै खुब सचेत हुँदै अघि बढ्दै हुन्छु । टाउको भने अलि भारी हुन, दुख्न र वाकवाकी आउला जस्तो हुन खोज्छ । एक पोटी लसुन चपाउँछु । भारीले गर्दा जिउ पसिनाले भिजाउन छोड्दैन । पसिना पनि बरफ बन्न थाल्छ । बाक्लो ज्याकेट खोल्न मन लाग्छ, तर बाहिरी ठन्डीले मारिहाल्छ ! भारी सकेसम्म बिसाउनै हुँदैन, बिसाइहाले पनि बीस–तीस सेकेन्ड जति बिसाउने हो । बोतलको तातो पानी बरफमा बदलिन्छ । टाउकोमा तीन–चार खण्डमा नाम्लो फेर्दै बोकी नै सकेको छु, घाँटी पनि दुखेकै छ, अब टाउकोको कुन भागमा नाम्लो अड्काउने ? जसरी हुन्छ चाँडै थोरङ–ला पास गर्नैमा ध्यान ! भारीसँगै दुई खेप त कडा बरफको बाटोमा चिप्लिगएको । उठ्नै पर्छ, हिँड्नै पर्छ, बसेर रोकेर फर्की जानु त सोच्नै सकिँदैन । कि त मर्नै पर्छ ! हरेक पाइलामा एकेक मृत्यु टेक्दै जानैपर्छ ।म सकीनसकी हिवैँहिउँको संसार छिचोल्दै जान्छु । बिस्तारै उज्यालो पोखिँदै आउँछ । माथि हेर्दा त त्यहीँ नजिकैजस्तो देखापर्छ, तर लगभग आठ बजेतिर बल्ल थोरङ–ला भन्ज्याङ टेक्छु । थोरङ–ला (५४१६ मि.) मा सबै भेला भएर एकसाथ फोटोमा कैद हुन्छौँ । यतिखेर कसैले संसारमा केही हुन्न भने नि केही त हुन्छ लागेर आउँछ । कसैले संसारमा केही छैन भने पनि केही त छ है लागेर आउँछ ।

भन्ज्याङबाट हामी ओरालैओरालो बग्छौँ । तल फेदीमा पुगेपछि लन्च–प्याक खोल्दै बाँड्दै खान्छौँ । साँझ मुक्तिनाथमा बास हुन्छ । भोलिपल्ट बाह्र नबज्दै जोमसोम पुग्न पर्ने हुन्छ, नत्र हाबाको प्रहार भेटिहाल्छ । साँझको बास मार्फामा । यहाँ स्याउ र स्याउको ब्रान्डी फालाफाल । मार्फाबाट कालो पानी वा लेतेमा बास । यहाँबाट लास्ट मान्ने भनेको तातोपानीमा । अन्तिम सहभोज र टिप्स वितरण यहीँ हुन्छ र ट्रेकिङ करिब सकिन्छ । भोलिपल्ट चौधौँ दिनमा बस चढेर पोखरामा बास र आ–आफ्नो बासस्थानतर्फ लाग्छौँ । यो अन्नपूर्ण राउन्ड ट्रेक अहिले भने आठ दिन बेसी लम्बिँदैन होला ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...