आत्मविश्वासले भरिएकी चेली – Janata Live
  • Friday, February 3, 2023

आत्मविश्वासले भरिएकी चेली

  • जनता लाइभ
  • पुष ०७, २०७५

आत्मविश्वासले भरिएकी चेली

विश्व प्रसिद्ध लेखक स्वेट मार्डेनले आफ्नो पुस्तक ‘आत्मविश्वाशको शक्ति’मा लेखेका थिए, ‘आत्मविश्वाशीहरूले कहिल्यै हार्दैनन् ।’ त्यसअघि नै नेपोलियन बोनापार्टले भनेका थिए, ‘असम्भव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्रै हुन्छ, मेरो शब्दकोशमा त छैन ।’ हो, मनमा जोश, जाँगर र सकारात्मक चिन्तन भएकाहरू जीवनमा कहिल्यै हार्दैनन् ।

यस्तै मनमा जोश र उत्तिकै आत्मविश्वास बोकेकी एउटी शेर्पा चेली हरेक समस्यालाई अवसर देख्छिन् र भन्छिन्, ‘हिम्मत नहारी अगाडि बढ्नुपर्दछ, इतिहास जित्नेहरूको हो र जित्नेहरूको मात्रै लेखिन्छ ।’ उनको नयनको चमक र मुहारको हाँसो देख्दा लाग्थ्यो साँच्चै शेर्पाको कोखमा जन्मिएकी यी चेली हार्न जान्दिनन्, उनी जित्नकै लागि जन्मिएकी हुन् । यही आत्मविश्वासले त दिएको छ उनको पोल्टामा अवसर र जिम्मेवारीहरू र उनमा विश्वास छ आफैंप्रति ।

दर्जनौंको सङ्ख्यामा रहेका पुरुषहरूको समन्वय गर्नु आफैंमा चानचुने कुरा होइन । तर, जुन विश्वास शेर्पा युथ क्लबले उनीप्रति लिएको छ, त्यसलाई निराशामा बदल्ने पक्षमा उनी छैनन् ।

संसारको सबैभन्दा ठूलो खजाना नै यही हो स्वयंप्रतिको विश्वास । शेर्पा युथ क्लबले यही माघ २० गतेदेखि आयोजना गर्न लागेको फुटबल प्रतियोगितामा टिम म्यानेजरको जिम्मेवारी पाएकी छन् ङवाङ डोल्मा शेर्पाले । उनी आफूले पाएको जिम्मेवारीलाई राम्रैसँग निभाउने कोसिसमा छिन् र पछि क्लबको तर्फबाट अरू पनि थप जिम्मेवारी पाउने आशामा । प्रतियोगिता कपन ह्यान्डबल ग्राउन्डमा आयोजना हुन लागेको छ । ङवाङलाई राम्रैसँग थाहा छ, जित्नेलाई चाहिन्छ, आत्मविश्वास । त्यसैले त आत्मविश्वासको किस्सा सुनाइनन् मात्रै, बारम्बार दोहोराइन् आत्मविश्वासको महत्व ।

देश डिप्रेसनमा छ, युवाहरू डिप्रेसनमा छन् । स्वदेशमा आफ्नो भविष्य नदेखेर दैनिक रूपमा बाह्र सयभन्दा बढी नेपालीहरू नेपाली एयरपोर्टबाट विदेशी भूमिमा श्रम सीप र रगत बेच्न भासिँदै छन् । ङवाङ भने राज्यले उपेक्षा गरेको खेल, त्यसमा पनि फुटबललाई आफ्नो भविष्य बनाएर जीवनको रथ दौडाइरहेछिन् । उनलाई लाग्छ, ‘म सायद खेल्नकै लागि जन्मिएकी हुँ ।’

‘जीवन नै संघर्ष हो,’ यी खेलाडीले अर्को दार्शनिक उक्ति ओकलिन् । हिमगाथाको कार्यालयमा प्रकट भएकी यिनले आफूले भोगेको जीवनबारे मुख खोलिन्, ‘जीवन एउटा खेल र संघर्षको मैदान रहेछ ।

यो मैदानबाट हारेर भाग्यो कि सकियो खेल ।’ टुर्नामेन्टको कडा ट्रेनिङमा रहेकी उनी समय र परिस्थितिले फुटबलप्रति आफू आकर्षित भएको बताउँछिन् । खासमा शेर्पा युथ क्लबको स्थापनाकालदेखि नै द्वितीय उपाध्यक्षको रूपमा सक्रिय रहेर एकातिर पढाइ, अर्काेतिर फुटबल सँगसँगै जीवनको गाडी गुडिरहेछ । तर एउटै डुंगामा दुईवटा खुट्टा राखेर नदीमा शयर गर्दा अप्ठ्यारो हुँदैन ? उनले परिवार र क्लबका सदस्यहरूको साथ र सहयोगले यात्रा सहज भएको सुनाइन् ।

महिला र पुरुष भन्ने जात छुट्टै हुन्छ भन्ने लाग्दैन ङवाङलाई । किनकि पासाङ ल्हामु महिला भएर पनि त सगरमाथाको शिर चुमिन् । महिला भएर के भयो र ? पारिजातको शिरीषको फूल विदेशी विश्वविद्यालयमा अध्यापन भइरहेको छ । मुख्य कुरा त अवसरको हो । अवसर पाए महिलाहरूले पनि देश हाँक्न सक्छन् । मुस्ताङ कार राजनीतिको उबडखाबड सडकमा गतिलो गरी गुड्न नसकिरहेको समयमा बेला लिङ्गीय विभेदमा अल्झन नहुने उनले सन्देश दिइन् ।

महिलाहरूले पनि पुरुषको नेतृत्व गर्न सक्छन् भनेर उदाहरण देखाउनु छ उनलाई । स्वीकार गर्छिन्, यो काम फलामको च्युरा चपाउनभन्दा सहजचाहिँ छैन । चुनौतीहरू छन् । म्यानेजर पद मात्रै पाउनु ठूलो कुरा नभएको उनी बताउँछिन् । १५, १६ जनाको सङ्ख्यामा रहेका पुरुषहरूको नेतृत्व गर्नु आफैंमा चानचुने कुरा पनि होइन । जुन विश्वास शेर्पा युथ क्लबले उनीप्रति लिएको छ, त्यसलाई निराशामा बदल्ने पक्षमा उनी छैनन् ।

सोलुखुम्बुमा जन्मेर प्रारभ्भिक शिक्षा त्यहीं हासिल गरी रिङगु गाउँबाट सात कक्षासम्म अध्ययन गरेपछि ङवाङ सदरमुकाम सल्लेरी झरिन् । दस कक्षा त्यहाँबाट उत्तीर्ण गरेपछि मनभरि सपना बोकेर उनी राजधानीको खाल्डोमा प्रवेश गरेकी थिइन् । क्याम्पियन कलेजबाट प्लस टु गरेपछि न्याथम कलेजमा टुरिजम अध्ययन पूरा गरेकी उनको आफ्नै मोहचाहिँ टेवुलटेनिसमा पनि छ । त्यसैले त इन्टर एलायन्स टेबुलटेनिस प्रतियोगितामा झन्डै ४२ हजारको पुरस्कार हात पारिन् ।

कलेजमा आयोजना भएको टेबुलटेनिसको उपाधिचाहिँ उनको हातबाट अरूले खोस्न सकेन । सधैं प्रथम हुन्थिन् । खेल खेलेरै नेपालमा बाँच्न सक्ने अवस्था छैन । खेलेर पैसा कमाउ“छु भन्ने अवस्था छैन । तर पनि ठूलो कुरा निरन्तरता हो । हरेसै खानुपर्ने अवस्था पनि छैन । आशावादी आँखाले दुनिया हेरे उज्यालो देखिन्छ । अहिले नभएर के भो त भोलि अवश्य खेलेरै नेपालमा बाँच्न सक्ने दिन आउनेमा ङवाङको आशा जिउँदो छ ।

खेलको अलावा महिला सशक्तिकरणको पक्षमा समेत काम गर्दै आएको शेर्पा युथ क्लबले खेलकुदमा महिलाहरू पछि परेको ठहर गर्दै फस्ट महिला बास्टकेटबल टुर्नामेन्टको समेत आयोजना गर्दैछ । शेर्पा समुदायभित्रै खेलकुद खेल्ने महिलाको कमी नभएको उनको ठहर छ ।

जीवन नियममा होइन संयोगमा चल्छ । सायद यही संयोगले होला, बाल्यकालमा यहाँसम्म आउँछु भन्ने सोचेकी पनि थिइनन् उनले । सबैभन्दा ठूलो भनेको दुनियामा समय हो । र समयसँगै मान्छेले आफ्नो पदचाप निर्धारण गर्दछ । यही समयको चाप पछ्याउँदा पछ्याउँदै उनी यो मोडसम्म आइपुगेकी छन् ।

साढे दुई दशक वसन्त पार गरेकी उनले पुनः दोहो¥याइन्, आत्मविश्वासको महत्व । आफूले पाएको जिम्मेवारी पूरा गरी संस्थाकै तर्फबाट केही गरेर देखाउने उनको सपना छ । नयाँ पुस्ताकी यी तन्नेरीले देखेको रंगविहीन सपना कति पूरा होला, उनको आत्मविश्वास र समयकै जिम्मामा ।

Loading...
Loading...
Loading...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

काठमाडौं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा...

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको...