अँध्यारोमा पनि फुल्छ जीवन – Janata Live
  • Saturday, February 4, 2023

अँध्यारोमा पनि फुल्छ जीवन

  • जनता लाइभ
  • मङि्सर २९, २०७५

अँध्यारोमा पनि फुल्छ जीवन

‘लाइफ इज अल अबाउट बिजनेस । हामीले आफ्नो क्षमतालाई बेच्छौंं । सीप बेच्छौं। आइडिया बेच्छौं । यदि हामीले बेचेनौँ भने हामी बाँच्न सक्दैनौँ । मैले आफ्नो क्षमता बेचिराछु । प्रतिभा बेचिराछु । आफ्नो आइडिया बेचिराछु । यदि मेरो इमोसन बिक्री भएर कसैको जीवन परिवर्तन हुनसक्छ भने त्यो व्यापार होइन । त्यो लगानी हो । त्यो मेरो लागि इन्भेस्टमेन्ट हो ।’

मानिसले कसरी सम्हाल्छ होला आफू जब हिँडिरहेको बाटोबाट ठीक विपरीततिर मोडिन्छ जिन्दगी । जिन्दगी नामक जटिल संयोजनलाई मान्छे कसरी परिभाषित गर्छ होला, जब मृत्युको ठीक नजिक पुगेर फर्कन्छ । जब दुःखका र आँसुका अनेक आयामहरूसँग परिचित बन्छ मान्छे तब मात्र उसले खास जिन्दगी बाँच्न सक्छ । आँसु र दुःखको हिलोमाथि उभिएर कमल भएर फुल्नको लागि हिम्मत चाहिन्छ । सृष्टि केसीसँग भएजस्तो हिम्मत !

उनी अँध्यारोको भेलमाथि जीवनको डुंगालाई किनारा लगाइरहेकी छन् । अँध्यारोको मिठाइ पसलमा बसेर मुस्कानको जेरी बाँडिरहेकी छन् । अँध्याँरोको फाँटहरूमा सपनाको खेती गरिरहेकी छन् ।

जिन्दगी नामक जटिल शब्दलाई मान्छेले कसरी परिभाषित गर्छ होला जब मृत्युको नजिक पुगेर फर्कन्छ मान्छे । आँसु र दुःखको हिलोमाथि उभिएर कमल भएर फुल्नको लागि हिम्मत चाहिन्छ । सृष्टि केसीसँग भएजस्तो हिम्मत !

उज्यालोमा बितेको बालापन 
बालापलमा एक किसिमको उत्सुकतासहित बाँच्ने गर्छ हरेक मान्छे । उनी पनि त्यसबाट कसरी अछुत रहन सक्थिन् र ! हरेक नयाँ कुरा जान्ने जिज्ञासा हुन्थ्यो । घरकी कान्छी छोरी । दुईजना दाजुहरूको ‘लाडप्यार’बाट हुर्किएकी । एकदमै चुलबुले थिइन् । पढाइमा भन्दा बढी अतिरिक्त क्रियाकलापमा रूचि राख्ने गर्थिन् । नाच्ने, गाउने, नाटक गर्ने, बोल्ने कुरामा सानै उमेरदेखि अब्बल थिइन् । ‘न्यायको लागि चैँ सानै उमेरदेखि नै बोल्थेँ,’ उनी थप्छिन्, ‘यहीकारण सानैदेखि सरहरूले ‘योचाहिँ वकिल बन्छे’ भन्थे ।  त्यसपछि लाग्थ्यो– मैले वकिल बन्नुपर्छ ।’

सबै मान्छेको सबै सपना कहाँ पूरा हुन्छ र ! अधुरा सपना बोकेर नै मान्छे बाँच्छ र मर्छ । उनको वकिल बन्ने सपना पनि सपनामै सीमित भइदियो । जब उनले यो दुनियाँको उज्यालोलाई महसुस मात्र गर्नुप¥यो । देख्न सकिनन् ।

सानातिना कुराले मान्छेलाई प्रभावित गरिरहन्छ । मान्छेलाई हिर्काउने भनेकै सानातिना कुराहरूले त हो नि ! एकदिन सरले एउटा लेसन पढाए । सहयोग भन्ने कुरा पनि अवसर हो । जोकोहीले चाहँदैमा सहयोग गर्न सक्दैन भन्ने कुरा । र यसपछि उनले प्रतिज्ञा गरिन्, ‘मैले जिन्दगीमा सहयोग गर्ने अवसर आयो भने म कहिल्यै पछि पर्दिनँ ।’

बाल्यकालमा एउटा बच्चाले पाउनुपर्ने केही कुराबाट पनि वञ्चित भइनन् उनी । एकदम चकचक गर्थिन् । अरूले सक्छ भने म पनि गर्न सक्छु भन्ने लाग्थ्यो उनलाई । र त्यो कुरा अहिले पनि उत्तिकै ऊर्जाको साथ उनको मनभित्र छ र गरिरहेकी छन् ।

जब उज्यालो उनीबाट टाढियो 
उनले बिस्तारै देख्न छाडिन् । यो दुनियाँको उज्यालोले उनीसँग सम्बन्धविच्छेद गर्यो । त्यतिबेला उनको मनमा एक किसिमको संशयले बास गरेको थियो । ८ कक्षामा पढ्थिन् । उनलाई थाहा थिएन– डाक्टरको सानो लापरवाहीका कारण उनी आँखा देख्न छाड्दैछिन् । तर उनको स्वभाव पूर्णरूपमा परिवर्तन भएको थियो । एकदमै बोल्ने मान्छे बोल्न छाडेकी थिइन् । आत्मबलमा थोरै असर ग¥यो । आकाश–पाताल नै भएको भएको थियो । तर उनी एकदमै आशावादी थिइन् कि उनी देख्न सक्छिन् । आँखै देख्न छाड्छु भन्ने मनमा एकरत्ति पनि थिएन । जतिसुकै सानो किन नहोस्, जब मान्छेसँग आशा भन्नेकुरा जीवित रहन्छ तबसम्म बाँच्ने अभिलाषा रहिरहन्छ ।

त्यतिबेला आँखा देख्न बिस्तारै छाडे पनि उनको दिमागले स्वीकार्दै स्वीकारेन कि उनले आँखा देख्न छाड्दैछिन् । त्यही दिमाग र आँखाको द्वन्द्वमा केही समय गुजारिन् । समाजका जुन किसिमको कुरा चलिरहेको थियो, त्यसले झनै उनमा कन्फ्युजन सृजना गरिरहेको थियो । तर उनलाई जसरी क्लियर पनि हुनु थियो कि के उनीसँग उज्यालोले डिभोर्स नै गरेको हो त ? उनी मेडिकल्ली क्लियर हुन चाहन्थी । इण्डिया गएपछि उनले डाक्टरलाई भनिन्, ‘म एकदम मेन्टल्ली प्रिपेयर्ड भएर आएकी छु, जे हुन्छ मलाई भन्नुस । मैले देख्ने सम्भावना छ या छैन । मलाई जसरी पनि जान्नु छ ।’ यसपछि डक्टरले भने, ‘जे गयो गयो, अब फर्केर आउँदैन ।’

हरेक मान्छेको आफ्नो बाटो क्लियर भयो भने यात्रा गर्न सहज हुन्छ । चाहे जतिसुकै उकालो हिँड्न नै किन नपरोस् । समय सधैँ मान्छेको विरुद्धमा हुन्छ । तर समय अनुकूल बन्ने प्रयात्न गरिरहनुपर्छ हामीले । यसपछि उनले प्रतिज्ञा गरिन्– अब नदेख्ने जीवन बाँच्न सुरू गर्छु । देख्नको लागि बाँच्न छाडिदिन्छु ।’ नत्र खाली उनी देख्छु कि भनेर कहिले यहाँ, कहिले त्यहाँ हिँडिरहिन् । यसपछि आफैंलाई सम्झाउँदै गइन् । मान्छेले जब आफूलाई सम्झउन सक्छ त्योभन्दा ठूलोकुरा यो दुनियाँमा सायद, अरू केही हुँदैन होला  मान्छेका लागि । हुन त त्यो उनको लागि सजिलो त थिएन तर उनले आफूलाई र आफ्नो चेतनालाई मज्जाले सम्हालिन् । र डिप फ्रस्टेसनमा जानबाट बचिन् ।

एकाएक देख्दै आएको आफ्नो दुनियाँ, देख्दै आएको आफ्नो अनुहार सदाको लागि अँध्यारोमा बिलिन हुँदामा मान्छे निराश त भइहाल्छ नि ! तर उनले आफूलाई सम्हालिन् । उनले आफूलाई सम्हाल्नुमा समाजमा लागिरहेको आगोभन्दा पनि आफैँभित्र सल्किरहेको आगोको कारण थियो । त्यो कुराले अझ निरन्तर जानुपर्छ-बढ्नुपर्छ भन्ने साहस दियो । रोएर भए पनि अगाडि बढिन् । दुखेर भए पनि अगाडि बढिन् । बढिरहिन् । एक कदम नै भए पनि चालिरहिन् । उनी भन्छिन्, ‘एक कदमपछि अर्को कदम राख्न चैँ छाडिनँ । जुनसुकै अवस्थामा पनि सक्दिनँ भन्ने लाग्दामा पनि अन्यौलतामा नै भए पनि कदम बढाइरहेँ ।’

केही सम्भावना त होला नि भनेर पनि बढाइन् । मरे नि मर्छु भनेर पनि बढाइन् । बाँचे नि बाँच्छु भनेर पनि बढाइन् । बस्, बढाइरहिन् । बढाइरहेकी छन् । बढाइरहनेछिन् । जीवनको एउटा अर्को नियम हो– दौडन नसके हिँड्नु, हिँड्न नसके घस्रनु र घस्रन नसके चलमलाइरहनु । तर हार कहिल्यै नखानु । उनी यस्तो बाटोमा हिँडिरहेकी छन् जसले उनलाई आफ्नो सपनाको अन्तिम विन्दुतिर डो¥याइरहेछ ।

र उनको आमाको आँसुले पनि बढायो उनलाई । यो कारणले कि उनी दृष्टिविहीन हुँदामा सबैभन्दा बढी उनको आमा रोइन् । उनलाई लाग्यो कि आमाको आँखाको डिलबाट खसेको आँसुलाई मुस्कानमा परिणत गर्नुछ जसरी पनि । आफन्तहरू नरोउन् भनेर उनले आँसु थामिन् र थाम्दा थाम्दै आँसु थाम्ने बानी प¥यो उनलाई । भन्छिन्, ‘आँसु थाम्दाथाम्दै त्यसमा शक्ति आयो, ऊर्जा आयो ।’

मान्छेमा हिम्मत चाहिन्छ । यदि हिम्मत भयो भने मान्छेले हारेको बेलामा पनि खुसीको बाढी उराल्न सक्छ । यो कारणले कि मैले हारेकै कारण कसैको ओँठमा मुस्कान देखिएको छ । कसैको बाआमा खुसी भएका छन् । उनीसँग अपांगता छ तर त्योभन्दा पहिले उनी यो राज्यको नागरिक हुन् । कसैकी
छोरी हुन् । कसैको बैनी हुन् । अगाडि बढदै गर्दा उनको सामुन्ने अपांगता बहाना बनेर कहिल्यै पनि आएन । यही कारणले सृष्टि केसी सृष्टि केसी भएकी हुन् । मान्छेमा विद्रोही चेत पनि हुन जरुरी छ । त्यो चेत भएन भने मान्छे सधैँ दमित, शोषित भएर बाँच्ने गर्छ । अरूले अवरोध गर्छ भनेर बोल्न र विरोध गर्न कहिल्यै पछाडिनन् ।

सपनाको खेती 
सपना नै देखेको छैन भने लक्ष्य कसरी प्राप्त हुन्छ र ! मान्छेमा एउटा सपना हुन्छ । जुन कुराले मान्छेलाई जिउनको लागि साहस दिन्छ र मान्छे हुनुको सार्थकता पुष्टि गर्छ । उनी दार्शनिक तवरले भन्छिन्, ‘मरेपछि पनि सदाको लागि बाँच्नको लागि सपना जरुरत छ । किनकि सपनासँग फिङ्गर प्रिन्ट हुन्छ जुन छोड्यो भने मात्र मान्छेलाई मरेपछि पनि दुनियाँले सम्झन्छन् ।’ हुन पनि हो, हजारौँमा होलसेलमा जन्मिएर होलसेलमा नै मुर्नु त के मजा र ! आफ्नो निश्चित पहिचान बनाउनुपर्छ । जिन्दगीमा केही गर्नु छ भने सपना र लक्ष्य हुन जरुरी छ । त्योअनुसार अगाडि बढ्न जरुरत छ ।  सपना नै भएन भने त मान्छे लास हुन्छ, मुर्दा हुन्छ ।

उनलाई जीवनप्रति एकरत्ति पनि गुनासो छैन । उनी जसरी बाँचिरहेकी छन्, आफ्नो इच्छाले बाँचिरहेकी छन् । उनको कथा कसैको प्रेरणाको स्रोत बनिरहेछ । हिजो उनले भोगेको दिन कसैको लागि बाँच्ने ऊर्जा बन्छ भने त्योभन्दा ठूलो खुसी अरू के हुन सक्छ र एउटा मान्छेको लागि ! उनी भन्छिन्, ‘मेरो जीवनलाई कसैले भ्यालु दिएर हेरिरहनु भएको छ भने त्यसबाट मलाई थप ऊर्जा मिल्छ ।’ उनले अरूलाई मोटिभेसन दिइरहँदा आफू स्वयं मोटिभेट भइरहेकी हुन्छिन् । ‘आफ्नो कथाहरू रिफ्लेक्सन गरिन्छ,’ उनी थप्छिन्, ‘र त्यो रिल्फेक्सनबाट शक्ति आउँछ आफूलाई ।’

यो दुनियाँ बडो जटिल छ । सधैं मकुण्डो लगाएर हिँड्छ यो दुनियाँ । सधैं षड्यान्त्र रचेर समय कटाउँछ यो दुनियाँ । दृष्टि गुमाएर यो दुनियाँसँग अन्जान हुनुभन्दा पनि दुनियाँलाई देख्न र बुझ्न चाहिँ उनले देख्न छाडेपछि थालिन् । किनभने देख्दाखेरीको एउटा भ्रमको संसार थियो । ‘आफूमा भएको क्षमतालाई देखाएन भने एउटा सानो अपागंताले पनि मान्छेलाई सीमित गराउँदो रहेछ,’ उनी थप प्रष्ट पार्छिन्, ‘अपागंता तपाईंलाई कहाँ थाहा हुन्न कतिखेर र कहिले हुन्छ भनेर ।’ मानिसले कति सजिलै अरूको जीवनको व्याख्या गर्ने गर्छन् तर त्योभन्दा पहिले आफ्नो जिन्दगीको व्याख्या गर्नुपर्छ भन्ने लाग्यो उनलाई । मान्छेहरूले उनलाई पढ्न सक्दैन भनेर भन्थे । धेरै कलेजहरूले रिजेक्ट पनि गरे । तर डिल्लीबजार कन्या बहुमुखी कलेजबाट प्लसटुमा नेपाल टप गरिन् । यो जीवनको सबैभन्दा ठूलो खुसी थियो उनको । हुन पनि हो, जब मान्छेहरूले आफ्नो कमजोरीहरूलाई औंल्याइरहेका हुन्छन् र त्यही कमजोरीलाई शक्तिमा बदलेर देखाइन्छ, त्योभन्दा ज्यादा खुसी अरू के हुन्छ र ! आफ्नो कमजोरीमाथिको ठूलो विजय थियो त्यो उनको । नेपाल टप गरेर राष्ट्रपतिबाट मेडल हात पारिन् ।

त्योभन्दा ज्यादा उनको खुसीहरू सानासाना कुरामा अल्झिएको हुन्छ । भन्छिन्, ‘बाटोमा हिँड्दा ‘ए तपाईं त सृष्टि होइन ?’ भनेर भन्छन् । मलाई त्यो कुराले ज्यादा खुसी दिन्छ ।’ हिजोको दिनमा अनिश्चितताको पहाड अक्लिने हिम्मत नबटुलेकी भए सायद उनले यो माया पाउने थिइन । ती प्रेमहरूले उनलाई ऊर्जा दिन्छ, जसले खुसीको बत्ती बाल्छ सधैं ।

उनीसँग ब्लाइण्ड रक्स भन्ने ग्रुप छ । त्यो ग्रुप उनको सपना पनि हो । उनलाई लाग्छ मान्छेलाई प्रतेक कदमले धकेल्छ । अघि बढेपछि एक पाइला सर्दै जान्छ । उनको जीवनमा अनेक किसिमको समस्या आयो । जस्तैः अब यसले के गर्छ । कसरी जागिर खान्छ । त्यो किसिमको सोच विद्यमान थियो । त्यो कुरा जब उनलाई थाहा भो उनले पनि केही गरेर देखाउनुपर्छ भन्ने लाग्यो र जन्मियो –ब्लाइण्ड रक्स ! र यो उनको जीवनको सपना हो । त्यसमा दृष्टिविहीन साथीहरूको सहयोग पनि एकदमै मिल्यो । दृष्टिविहीनहरू पनि अरू सवल मान्छेले जसरी नाच्न, गाउन सक्छन् भनेर सुरु गरे उनीहरूले र गरेर पनि देखाइदिए । ‘लेट्स रक द वल्र्ड’ कार्यक्रम लिएर विदेशतिर पनि धेरै ठाउँमा पुगे । यो सृष्टि केसी र उनका साथीहरूको तर्फबाट गतिलो जवाफ हो अपांगता भएकाहरूले केही गर्न सक्दैनन् भन्नेहरूका लागि ।

मुस्कुराउनका लागि आँसु
‘आँसु भनेको चैं आफूभित्र भएको इमोसनलाई बगाएर हाँस्ने अर्को मौका हो । जब रोइन्छ, तब मन पखालिन्छ । त्यसपछि हाँस्न सकिन्छ । किनभने रुन पनि जरुरत छ । म धेरै पटक रोएको छु । तर रुनुको अर्थ त्यो मेरो कमजोरी होइन । मैले मभित्रको कमजोरी पखालेको हो । किनभने म फेरि नयाँ म बनेर निक्लनुु छ,’ उनी भन्छिन् । आँसुबाट ती सबैकुरा बगाएर ऊर्जा निकालेर बाँच्न चाहन्छिन् उनी ।  बट्टामा सामान राख्ने खाली ठाउँ छैन भने त कसरी राख्ने । भित्र पीडैपीडाले भरिएको छ । तर ती कुरालाई निष्काशन नगरे मान्छेले कसरी पोजिटिभ भाइब कसरी राख्न सक्छ र ! पोजिटिभ भाइब निष्काशन गर्ने त्यो पदार्थ हो आँसु !

आँखा नदेख्दाभन्दा पनि आँखा नदेखेको कारणले मान्छेहरूबाट जुन किसिमको कमेन्ट आउँथ्यो त्यो कारणले धेरैपटक भाँचिइन् उनी । जब उनको आमालाई पनि त्यो गल्तीको भागिदार बनाइन्थ्यो ।

प्रेम जो हिलोमा पनि फुल्छ
प्रेमबिनाको यो दुनियाँको कल्पनै नगरौं । मैले अघिल्लो फिचरमा पनि भनेको थिएँ –प्रेमबिना यो संसार कस्तो हुन्थ्यो होला ! सायद, यो दुनियाँ कुनै निर्जन टापुजस्तोे हुन्थ्यो होला । मान्छेहरू त्यही टापुका पत्थरजस्ता हुन्थे होलान् । प्रेम हरकोहीको जीवनमा चाहिन्छ । विशेष गरेर अपागंता भएकाहरूलाई आउने ठूलो प्रश्न भनेकोे प्रेम र विवाह हो । यसबारे अपांगता भएकाहरूले खुलेर बोल्नुपर्छ भन्ने लाग्छ उनलाई । ‘हामीलाई घरको लागि योग्य बुहारी सोचिन्न,’ उनी लामो सास तानेर आत्मविश्वासका साथ भन्छिन्, ‘तर प्रेम त अपांग हुँदैन नि ! मन त अपांग हुँदैन नि ! प्रतेक पल हाम्रो इमोसनलाई पनि हाम्रो अपागंतासँग जोडिन्छ । यो समस्या चैं नोपालमा मात्र नभएर विश्वभरी नै छ ।’

प्रेममा पर्नुभएको छ कि छैन भन्ने जिज्ञसामा उनले भनिन्, ‘प्रेममा परिएन भने त बायोलोजिकल डिसअर्डर भइगयो नि ! (लामो हाँसोको फोहरा छुट्यो उनको अनुहारबाट र बोलिन्) मेरो हर्मनमा समस्या छ भन्ने भइहाल्छ नि !’ एउटा टाइममा सबैको क्रस, आकर्षण, लभ हुन्छ । कोही मान्छे साथ होस् भन्ने त लाग्छ तर त्यसमा कहिल्यै पनि एउटा मात्र अप्सन हुनुहुन्न भन्ने लाग्छ उनलाई । भन्छिन्, ‘हामी इमोसनल्ली इन्डिपेन्डेन्ट हुनुपर्छ । किनभने हामीलाई कसैको साथ त चाहिन्छ तर कसैको पनि साथ र इमोसनको नोकर हुनुहुँदैन ।’ उसले सपोर्ट नगर्न बित्तिकै आफू टुक्रिनु पर्ने किसिमले कसैको पनि नजिक हुनुहुन्न भन्ने लाग्छ उनलाई । भन्छिन्, ‘उसको साथले थप ऊर्जा त मिलोस् तर अप्सन हुनुपर्छ ।’

उनी प्रेमको कुरा आएपछि विगततिर फर्किइन् । उनको एकजनासँग प्रेम भएको थियो । तर पछि उनको आमाले विष खान्छु भनिन् । उनको परिवारले मानेनन् । छोरीले दुःख पाउँछे भनेर । हो यही कुरो ठूलो समस्या लाग्छ उनलाई । ‘त्योसँग बिहे गरिस् भने हामी मरे पनि भयो’ जस्ता  कुराहरू प्रतिकृयास्वरूप आए ।

मान्छेमा एउटा सपना हुन्छ । जुन कुराले मान्छेलाई जिउनको लागि साहस दिन्छ र मान्छे हुनुको सार्थकता पुष्टि गर्छ । उनी दार्शनिक तवरले भन्छिन्, ‘मरेपछि पनि सदाको लागि बाँच्नको लागि सपना जरुरत छ । किनकि सपनासँग फिङ्गर प्रिन्ट हुन्छ जुन छोड्यो भने मात्र मान्छेलाई मरेपछि पनि दुनियाँले सम्झन्छन् ।’

रहरको शेष–पथ …
उनी अपांगता भएकाहरूको तर्फबाट एम्बासेडर बन्न चाहन्छिन् । ‘तर त्यो पोस्ट अहिलेसम्म छैन,’ लामो हाँसो हाँसिसकेपछि बोल्छिन्, ‘मे बि हामी आफैं क्रियट गर्न सक्छौँ ।’  यो कारणले कि उनलाई आफूले सिकेको कुरा सिकाउँदै र सिक्दै अनि एक ठाउँबाट अर्को ठाउँमा कनेक्ट गर्दै हिँड्न मन छ । अझै राम्रोसँग गर्न मन छ । संसारका अपांगता भएकाहरूले निराश भएर बाँच्नु नपरोस् र अरूको आशमा बस्न नपरोस् भन्ने चाहन्छिन् उनी । ब्लाइण्ड रक्सको जुन मिसन छ, भिजन छ । त्योअनुसर नै बढ्ने योजनामा छिन् सृष्टि । जुन उनको जीवनको प्यासन हो । सपना हो । लक्ष्य हो । उनलाई कनेक्टिङ पइन्ट बन्न मन छ ।

जीवन भनेको के हेला ? ‘सायद, जीवनलाई मान्छेले जसरी व्याख्या गर्छ त्यही हो जीवन । जीवन भनेको आफ्नो लागि, आफ्नो खुसीको लागि  बाँच्नु हो,’ उनी थप्छिन्, ‘आफू त कमसेकम सन्तुष्ट हुनुप¥यो नि !’ उनलाई लाग्छ कि हामी हरपल बहाना गरेर बाँचिरहेका हुन्छौँ । तर जति नै गरे पनि कसैले हाम्रो लागि जिइदिने होइन । जीन्दगीसँग गुनासो गरेर के काम ? जिन्दगीमा केही ग¥यौँ भने पनि आफ्नै कारण र केही गरेनौँ भने पनि आाफ्नै कारण हो भन्ने लाग्छ उनलाई । ‘त्यही भएर इट्स अबाउट च्वइस । जीवनलाई कस्तो बनाउने र के बनाउने भन्ने कुरा हाम्रो हातमा छ,’ उनी भन्छिन्,  । त्यही भएर आफ्नो जीवनको लागि आफैले पर्फेक्ट पभिाषा बनाउनुपर्छ र त्यो परिभाषाअनुसार आफ्नो जीवनलाई चलाउनुपर्छ भन्ने मान्यता राख्छिन् उनी  ।

मान्छेले सधैं अरूको इमोसन बेचिरहेका हुन्छन् । म पनि तपाईंको इमोसन बेचिरहेको छु । यसमा तपाईंको धारणा के भन्ने मेरो जिज्ञासामा उनले भनिन्– ‘लाइफ इज अल अबाउट बिजनेस । हामीले आफ्नो क्षमतालाई बेच्छौंं । सीप बेच्छौं । आइडिया बेच्छौं । यदि हामीले बेचेनौँ भने हामी बाँच्न सक्दैनौँ । मैले आफ्नो क्षमता बेचिराछु । प्रतिभा बेचिराछु । आफ्नो आइडिया बेचिराछु । यदि मेरो इमोसन बिक्री भएर कसैको जीवन परिवर्तन हुनसक्छ भने त्यो व्यापार होइन । त्यो लगानी हो । त्यो मेरो लागि इन्भेस्टमेन्ट हो ।’

सुखमा पनि र दुःखमा पनि काम लाग्ने एउटा कुरा हो यो ‘पल पनि बितेर जान्छ’ । गुनासोकै चाङ त सफलताको शिखरमा पुगेका मान्छेसँग पनि हुन्छ । उनी सृष्टि भएर बाँच्न चाहन्छिन् । तर खाली नामको अगाडि अपागंता किन झुण्डाइन्छ ? उनी भन्छिन्, दृष्टिविहीन मेरो परिचय होइन, अवस्था हो ।’ तर मान्छेहरूले दृष्टिविहीनहरूले हाँसे पनि दृष्टिविहीन भएकोले हाँस्यो, रुँदामा पनि, र खाँदामा पनि त्यही कारण हाँस्यो भन्छन् । ‘जे गरे पनि ब्लाइण्डनेससँग किन अट्याच गराइन्छ ?,’ उनी दुःखी हुँदै बोल्छिन्, ‘हरेक कुरामा दृष्टिविहीन आउँछ, यसमा मेरो गुनासो छ ।’

फिल्म ‘ब्लाइण्ड रक्स’ 
उनको जीवनमा आधरित रहेर ब्लाइण्ड रक्स फिल्म पनि बन्दैछ । मिलन चाम्सले निर्देशन गरेको उक्त चलचित्रमा बेनिसा हमालले उनको भूमिका निर्वाह गर्दैछिन् । १८ मिनेटको उनको मोटिभेसनल भिडियो युट्युबबाट निकेश लिम्बुले हेरेपछि एकदमै प्रभावित भएछन् । १८ मिनेटको भिडियोले आफ्नोे जीवनमा यति धेरै परिवर्तन गर्न सक्छ भने झनै यसमाथि चलचित्र बन्यो भने कतिले हेर्छन होलान् ! कतिको जीवनमा परिवर्तन हुन्छ होला ! भन्ने लागेछ निकेश लिम्बुलाई ।

र उनीसम्म त्यो कुरा आइपुग्यो । उनले स्वीकार पनि गरिन् । किन भने छोटो उमेरमै उनको कथा डिजर्भिङ सोचिएर चलचित्र बन्छ र देश विदेशमा पुग्छ भने हुन्छ भने किन बनाउन नदिने त भन्ने लाग्यो उनलाई र यही फागुन १८ गतेबाट देशैभर रिलिज हुँदैछ । उक्त चलचित्रमा बेनिसा हमालले उनको भूमिका निर्वाह गरेकी छन् । उनी उक्त चलचित्रबाट निकै आशावादी छिन् । भन्छिन्, ‘चलचित्रले मेरो कथालाई न्याय गरेको छ ।’

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...