घरमा पनि यातना – Janata Live
  • Wednesday, February 8, 2023

घरमा पनि यातना

  • जनता लाइभ
  • मङि्सर २७, २०७५

घरमा पनि यातना

म भूतपूर्व स्कूल मास्टर । धेरै विद्यार्थीले पिटाइ खाएका थिए मेरो हातबाट । हिजोआज सोच्दा पनि त्यो कर्मले मलाई घरिघरि धिक्कार्छ । सायद, यही पिटाइ मेरो लागि पाठ बन्यो । ८ वर्षअघिको त्यो स्कुले यात्रामा मैले राम्रो वा नराम्रो जे गरे पनि केही क्षण रोमाञ्चक छन् । गत वर्षको होली हामीले ‘गुरुचेला कम्पनी’ मा मनाएका थियौँ । सुष्मा खड्का, चन्द्रकला आचार्य, पवन तिमिल्सिनालगायत बीए तेस्रो बर्षको विद्यार्थी पनि सँगै थिए । त्यो रमाइलो क्षणमा फोटो र भिडियो नखिच्ने त कुरै भएन । पवनले भिडियोबाट मेरो फोटो क्रप गरेछन् । फोटोमाथि उनले लेखेका थिए, ‘पट्याङ दिऊँ ?’ किन उनले त्यसो गरे थाहा भएन । तर, मेरो मनमा लाग्यो, ‘मैले स्कुल पढाउँदा निर्मम ढंगले पिटेको त थाहा पाएका थिएनन् ?’

शिक्षण कला हो
शिक्षण कला हो र शिक्षक कलाकार । यो हाम्रो जस्तो अस्पस्ट शिक्षा नीति भएको देशमा भन्ने कुरा मात्रै हो । भर्खरै मात्र एउटा गायन र नृत्यका साथमा दुईको गुणन गर्न सिकाइएको भिडियो सार्वजनिक भयो । भाइरल नै भयो भने पनि हुन्छ । हामीलाई अचम्म लाग्छ, यो भिडियो हेरेर । आहा कति राम्रो प्रविधि ? तर हामीलाई अचम्म लाग्दैन, किन यो प्रविधिले पढाउनु भनेर हाम्रा शिक्षाविद्हरूले पहिल्यै सोचेनन् ?

पढाउनुलाई हामीले कि संस्कृत गुरुकुलको अन्धानुकरण सोच्यौँ, कि भारतको बाटो हुँदै नेपाल भित्रिएको ‘बोर्डिङ’मा अंग्रेजी घोकाउनुलाई ‘टिचिङ’ ठान्यौँ । अहिले पनि हामी नेपाली पढाउने शिक्षकलाई ‘गुरु’ र अरू विषय पढाउने शिक्षकलाई ‘सर’ भन्छौँ । शिक्षणलाई कला त ‘थ्योरी’मा मात्रै कैद गरियो । व्यवहारमा भने कि जागिर भयो बाध्यताको कि राजनीतिक भागबण्डा । यसो गर्दा शिक्षण कला रहेन, शक्ति प्रदर्शनको आधार भयो । सामाजिक प्रतिष्ठा रहेन, सामाजिक सुरक्षाको आधार भयो ।

शिक्षक शासक होइन
हाम्रो पूर्वीय संस्कारमा गुरु पुुजनीय छ । पहिले साँच्चिकै पुजनीय नै हुन्थे पनि । तर अचेल शिक्षकले आफूलाई शासक ठान्छ र विद्यार्थीमाथि शासन जमाउन थाल्छ । त्यही शासक मनोवृत्तिका कारण शिक्षकले सजाय दिने गरेका छन् । विद्यार्थीले मैले भनेको मान्नैपर्छ भन्ने अहम् हुन्छ शिक्षकमा । शिक्षकको त्यही अहम्को शिकार भएका हुन्छन् कलिला बालबालिका । म आफैँ स्कुलमा शिक्षक भएको बेलामा यो देखे–देखाएको ‘एटिच्युड’का आधारमा भनेको हुँ । कतिसम्म भने म मेरै स्वभावका कारण पढाउन छोड्नैपर्ने बाध्यताको घेराबन्दीमा परेँ ।

मलाई थाहा छ, समस्या म आफैँमा छ । २०६५ सालतिरको कुरा हो । त्यतिखेर म कान्तिपुर इंग्लिस स्कुल चक्रपथमा नेपाली विषय पढाउँथेँ । मेरो शिक्षण पेशाको करिअरको पहिलो वर्ष थियो त्यो । भर्खरै एमए पास गरेको थिएँ । पास पनि गरिसकेको थिइनँ । थेसिस बाँकी नै थियो, बुबाले चिनेको मान्छेको सिफारिसमा पहिलोपटक जागिर खाएको थिएँ । आवश्यकता टड्कारो थियो । बुबा बिरामी हुनुहुन्थ्यो, भाइले अभिभावकत्व दिएको थियो हामीलाई ।

रिसको नेप्से
फगुनको अन्तिम हप्ता लागिसकेको थियो । अन्तिम परीक्षाको तयारी भइरहेको थियो । पहिलो घण्टी चलिरहेको थियो । कक्षा आठमा गणित पढाइरहेकी मिस स्टाफ रुममा छिरिन् र भन्न थालिन्, ‘म आज पढाउँदिनँ ।’ हामी तीनजान थियौँ सायद सटाफ रुममा । हरेराम ढुंगाना, प्रशान्त रजक र म । हामीले मिसलाई सोध्यौँ, ‘किन नपढाउने ?’ मिसले भनिन्, ‘योगेशले निहुँ खोज्छ ।’ भएको चाहिँ के रहेछ भने, योगेश गुरुङ नाम गरेको कक्षा आठको विद्यार्थी पछाडिको सिटमा गएर डेस्कमै बसिरहेको रहेछ । मिसले भनिछन्, ‘तल बस् ।’ ‘माइ मर्जी,’ उसले भनेछ ।

एउटा विद्यार्थीले नटेरेपछि कक्षाका सबै विद्यार्थी गलल्ल हाँस्न थाले । आफू निरीह भएको थाहा पाएपछि मिस कोठाबाट निस्किएकी रहिछन् ।
प्रशान्तले भने, ‘आज जिके मुक्का खाने भो एल्ले ।’

मेरो रिसको नेप्से अघिदेखि नै उकालो लाग्न थालेको थियो । प्रशान्तको यो कुराले मलाई अझ आक्रोशित बनायो । मैले मिसलाई कक्षा कोठामा जान पटकपटक आग्रह गरेँ । उनी कसै गरे पनि मानिनन् । त्यहाँ एउटा जाबो आठ कक्षामा पढ्ने विद्यार्थीले स्कुलको सारा अनुशासनको धज्जी उडाएको देखेँ मैले । ममा सहायक ‘डिआई’को भूत सवार भो । रिसले शरीर धामी कामेझैँ काम्न थाल्यो । हुण्डरीको शैलीमा म कक्षा आठभित्र छिरेँ ।

सबै विद्यार्थी जुरुक्क उठे र भने, ‘गुड मर्निङ सर ।’ मैले भनेँ, ‘ब्याड मर्निङ ।’

अरू समयमा भने म बस भनिहाल्थेँ यति बेलासम्ममा । आज भनिनँ । सबै विद्यार्थीले मेरो मुखमा हेरे तर योगेशले मलाई हेर्न सकेको थिएन । उसले बुझिसकेको थियो, आज मेरो राम्रैसँग व्यवस्था हुन्छ । मैले योगेशबाहेक अरूलाई बस्न भनेँ । उसलाई अगाडि बोलाएँ । आएन । म आफैँ उसको आसनमा गएँ । कानमा समातेर अगाडि ल्याएँ र सोधेँ, ‘के भनिस् अरे ?’

बोलेन । बोलेन मात्रै होइन मेरो आँखामा पनि हेरेन । डरायो या टेरेन त्यो उसैलाई सोध्नुपर्छ । (कुनै दिन भेटेँछु भने सोधौँला । त्यस दिनको लागि आम माफी पनि मागौँला ।) फेरि सोधेँ । बोलेन ।

गालामा एक चड्कन लगाएँ र भनेँ, ‘यो तेरो बाबुको स्कुल हो ? तेरो बाबुको मर्जी चल्छ ?’ त्यस दिन म कुनै ठूलै सजाय दिन्छु र हंगामा नै खडा गर्छु भन्ने सोचेर गएको थिइनँ । मलाई उसको मुखारविन्दबाट दुई शब्दको विन्दु झार्नु थियो, ‘सरी सर ।’ उसले ‘सरी’ भन्ने नामै लिएन । सरी भन्नु त परै जाओस्, एक शब्द पनि निस्केन उसको मुखबाट ।

आज आएर मलाई लाग्छ, उसले सरी भनेन र ठीक गर्याे । किनभने हरेक मानिस आफ्नै मर्जीको मालिक हुन्छ । म भए पनि त्यसै गर्थें । मनमौजी जीवन बिताउन सक्छु र आफ्नै खुट्टामा उभिन्छु भन्ने विद्यार्थीलाई पिटेकोमा सार्वजनिकरूपमा आज मैले ‘सरी’ मागेँ, यसै लेखोटमार्फत् । स्कुलका बच्चालाई पढाउनै छाडेँ । २०६६ चैत्रदेखि ‘ब्याचलरलाई मात्र पढाउँछु, आरआरमा ।

त्यसपछि मेरो हातबाट उसको नराम्ररी राम धुलाई भयो । उसका गाला र ओठ पटपटी फुटे । रगत बग्न थाल्यो । मेरो हात दुख्यो । देब्रे हातले चिउरा दिइसकेपछि दाहिने हातले चिउरा दिएँ । मैले कसै गरे शान्त हुने नाम लिइनँ । त्यसपछि तिनै गणित पढाउने मिस आइन् र भनिन्, ‘भयो सर ।’

मैले भोलिपल्ट उसको अनुहारमा हेरेँ । गालामा र ओठमा टेप टाँसेको थियो । गाला सुन्निएर ‘मिनी हनुमान’जस्तो देखिएको थियो । यति धेरै निर्मम ढंगले पिटे पनि ऊ रोएन । किन रोएन ? साथीले देख्छन् भन्ने डरले ? कि दुख्दै दुखेन उसलाई ? शरीर मात्रै होइन मैले उसलाई मनै दुख्ने गरी कुटेँछु । बाँकी एक महिना मैलै कान्तिपुर स्कुलमा पढाएँ । अहँ ! मसँग एकपटक पनि बोलेन ।

मेरो यो सजाय दिने कुनै योजना थिएन । योजनाबद्ध सजाय दिएको भए म आफूलाई नियन्त्रणमा राख्न सक्थेँ । सनकको भरमा पिटेको थिएँ, र त म अनियन्त्रित थिएँ । रिस थाम्न नसकेर पिटेको थिएँ ।

घेराबन्दीमा परियो

उही साल उही महिना ।
कान्तिपुरकै अर्को एकजना विद्यार्थीसँग पनि म जोडिन पुगेँ म बाँचुन्जेलकै लागि । उसका कसुर त्यस्ता ठूला हुँदैनथे । बस ! उसका कपालका फेसन भने थरीथरीका हुन्थे । कहिले जुरेली कट, कहिले जापानिज कट । कहिले हरियो दुबोजस्तो बनाउँथ्यो, कहिले खरबारीको सुकेको खरजस्तो । आज सम्झिँदा लाग्छ ‘टिन/किशोर’ उमेरमा प्रवेश गरेको तथा आफू हुनुको र खासगरी सुन्दर हुनुको अनुभूति थियो त्यो । तर, हाम्रो बोर्डिङ स्कुलको अनुशासन प्रणालीले त्यसरी कपाल पाल्नु र फेसनेबल हुनुलाई ‘शोभराज अपराध’ मान्ने मनोविज्ञान विकास गरेको छ । त्यही मनोविज्ञानको विकास भइरहेको रहेछ ममा पनि । म दिनैपिच्छे ‘एसेम्ब्ली’मा ऊ नजिक जान्थेँ । उसको कपाल सुम्सुम्याइदिन्थेँ । अनि अन्तिममा उसको कपालको ‘तेल र जेल’ जति मेरो हाततिर सारिसक्थेँ । अनि उसको कपाल कच्याककुचुक पारिदिन्थेँ । यसो गर्दा उसको कपालभन्दा पनि अनुहार बढी बिग्रिएको हुन्थ्यो ।

उसको नाम थियो, दावा शेर्पा । कक्षा आठमै पढ्थ्यो । त्यतैकतै चक्रपथनजिकै बस्थ्यो । म ठमेल सरस्वती क्याम्पसपछाडि बस्थेँ । अचम्म के भने स्कुल छुट्टी भएर स्कुलकै बसमा म ठमेल आइपुग्दा ऊ पनि ठमेल आइपुगिसकेको हुन्थ्यो । आधाउधी गाइँगुइँ र आधाउधी शंकाको सूचनामुताविक ऊ त्यहाँ ‘ड्रग्स’ खान आउँथ्यो । तर, मैले एकदिन पनि उसले ‘ड्रग्स’ खाएको भने देखिनँ ।

आज आएर मलाई लाग्छ, उसले सरी भनेन र ठीक ग-यो । किनभने हरेक मानिस आफ्नै मर्जीको मालिक हुन्छ । म भए पनि त्यसै गर्थें । मनमौजी जीवन बिताउन सक्छु र आफ्नै खुट्टामा उभिन्छु भन्ने विद्यार्थीलाई पिटेकोमा सार्वजनिकरूपमा आज मैले ‘सरी’ मागेँ, यसै लेखोटमार्फत् । स्कुलका बच्चालाई पढाउनै छाडेँ । २०६६ चैत्रदेखि ‘ब्याचलरलाई मात्र पढाउँछु, आरआरमा ।

परीक्षा सकिएको दिन म घर फर्किंदै थिएँ । परीक्षाको बेला भने म स्कुलको गाडीमा पर्खिन्नथेँ । गाडी ढिलो गथ्र्यो । म चक्रपथ चोकमा ननिस्की बीचैबाट अमेरिकन एम्बेसीको गेट मास्तिर आउँथेँ र लैनचौरसम्म आइपुग्ने जुनसुकै बस पक्डिन्थेँ । बीचमा एक ठाउँ भने एकदमै साँघुरो गल्लीबाट छिर्नुपथ्र्यो ।

गल्लीभित्र छिरिसकेको भने थिइनँ । म आइपुग्न लाग्दा आवाज आयो, ‘ठोक् ठोक् । साले ! त्यही हो ।’ दावा पर किराना पसलमा मुस्कुराइरहेको थियो । अरू चारजना मैले नचिनेका केटाहरू मेरो पछि लागिसकेका थिए । संयोगवश म त्यो हमलाबाट बचेँ । हाम्रै गाउँले र ओयामका पूर्व प्रधानपञ्च पदमबहादुर चौहान त्यहीँ नजिकै डेरा गरेर बस्थे । हल्लाखल्ला हुन थालेपछि बाहिर निस्किएका रहेछन् । म घेराबन्दीमा परेको देखेछन् । उनले भने, ‘के भो घनेन्द्र भाइ के भो ?’

उनले त्यति भनेपछि ती केटाहरू हच्किए । पछाडि सरे । उनले मलाई घरभित्र लगे । पहिले पानी पिलाए । अनि सोधे, ‘किन ती केटाले तिमीलाई घेरेका ?’

मलाई नै केही थाहा थिएन खासमा भएको चाहिँ के हो ? एउटा शंका भने टुसायो । के मैले उसको कपालमाथि गरेको अभद्र व्यवहारबाट आजित भएको दावाले नै त यो सबै गराएको होइन ?

उनैले मलाई स्कुलको गेटसम्म पु-याए । र फर्किए । मैले प्रिन्सिपल, म्याडमसँग कुरा राखेँ । दावा घरमा बस्दैन र आज भेटिँदैन भन्ने भयो ।

म्याडमले भन्नुभयो, ‘भोलि कुरा गरौँला ।’ मैले भनेँ, ‘म्याडम यो कुरालाई सामसुम पार्नुहोला । स्कुलको बदनामी हुन्छ । तर, दावालाई एक्लै पारेर भने सम्झाउनुहोला । मैले थाहा पाएँ भन्नेसम्म बुझोस् ।’

मैले यसपटक आवेगलाई नियन्त्रण गरेँ । रिसको भरमा गरेको कठोर कारबाहीबाट म केही दिनअगाडि मात्र काबू भइसकेको थिएँ । मेरो घुसघुसे सजाय ‘ओभरडोज’ भएकैले ऊ प्रतिकारमा उत्रिएको हो भन्ने थाहा पाएपछि भने मलाई ठूलो दिव्यज्ञान प्राप्त भएजस्तै भयो । बोलाउँदै थिए । त्यो सालको कपी चेक गरेपछि म कान्तिपुर स्कुल गइनँ । अर्को वर्ष एक साल पढाएँ । नारायण उपे्रतीको अनुरोधमा ‘पार्ट टाइम टिचर’को रूपमा बसुन्धरा पब्लिक स्कुलमा । (त्यस वर्षको मेरो शान्तिपूर्ण व्यवहारसँग म अहिले पनि छक्क पर्छु ।) हालको मोर्गन कलेजमा । त्यसै साल दर्ता भयो मोर्गन कलेज पनि । तर कलेज चलाउने बेलामा उनले बेचिदिए । त्यसपछि शिक्षण पेशा मेरो दानापानीको माध्यम रहेन । ‘प्यासन’मा सीमित रह्यो ।

घरमा पनि दिइन्छ यातना
होमवर्क दिइन्छ स्कुलमा । गर्नुपर्छ घरमा । मेरो बुझाइमा यो स्कुलको तनाव घरमा सारिदिएको हो । अलि छुद्र भाषामा शिक्षकले आफ्नो कमजोरी अभिभावकतिर ‘ट्रान्स्फरमेसन’ गरिदिएको भन्दा पनि हुन्छ । यो भन्न मैले दायाँबायाँ सोचिरहनु पर्दैन । अहिले पनि म कलेजमा अध्यापन गर्छु र घरमा म मेरो छोराको अभिभावक हुँ । मलाई कहिल्यै होमवर्क गर्नुपर्छ भन्ने लागेन र गरिनँ पनि । खासमा मैले स्कुलको तनाव घरमा बोकेर कहिल्यै ल्याइनँ ।

म सानो शारीरिक संरचना भएको मान्छे । अहिले शरीर ३३ प्रतिशत वृद्धि हुँदा त यस्तो पिलन्धरे छु, यो पढिसकेपछि अनुमान गर्न सक्नुहुन्छ म बाल्यकालमा कस्तो थिएँ । मलाई काका र फुपूले पछिसम्म पनि फित्ते/फिस्टे भनेको याद छ । तर आज मलाई फिस्टे भन्ने तिनै काका र फुपूका छोराछोरी मभन्दा होचापुड्का र पिलन्धरे छन्, पाप कराएको होला ।

म प्रायः स्कुलमा खेल्दिनथेँ । खेल्ने मन त कहाँ नहुनु र किशोरावस्थामा ? खेल्न सक्दिनथेँ । मेरो कक्षाका साथीहरू कम्तीमा पनि मभन्दा डेढ गुणा ठूला थिए । अरू केही सीप नलागेपछि म कक्षभित्रै बस्थेँ । दिएको होमवर्क पाकपुक पारिदिन्थेँ, एक घण्टामै । कुनै न कुनै सर नआएकै हुन्थे प्रायः ।

कसैको फिदिम जानुपथ्र्यो, कसैको गाईले गोरु खोज्थ्यो । कसैका श्रीमती माइत गएका हुन्थे ।  एउटा न एउटा ‘लिजर’ पिरियड हुन्थ्यो नै हुन्थ्यो । त्यो पिरियडमा भए पनि होमवर्क बुत्याइदिन्थेँ ।

यता घरमा भने आमाको शरीरमा मैले होमवर्क नगरेको रिसको धामी चढ्थ्यो । तल्ला घरको डिल्लुले पलेँटी मारेर होमवर्क गरेको र हाम्रै घरसम्म सुनिने गरी चिच्याइचिच्याई कण्ठ गरेको देखेपछि आमा मतिर फर्किनुहुन्थ्यो । लगभग सुम्ल्याउने अभिलाषसमेत बोकेर । दन्काई नै हाल्नुहुन्थ्यो ।

कहिलेकाहीँ दिक्क लाग्दोरैछ, सुम्ल्याउनु हुन्नथ्यो । घरमा पनि हप्ताको एक दुई दिन भने छुट्टी पाउँथेँ । नत्र भने नपढेको निहुँमा पिँडुलामा बाँसका सिर्कनाले स्पर्श गरी
नै रहन्थे ।

डिल्लु घोक्थ्यो । परीक्षासम्म पुग्दा बिर्सिसक्थ्यो । तर, म भने पढ्दा बुझेर पढ्थेँ । परीक्षामा बिर्सिन्नथेँ । कथम् कदाचित बिर्सिहाले पनि कथेर उत्तर बनाइदिन्थेँ । यसो गर्दा गणितमा बाहेक सबै विषयमा एक दुई नम्बर फुत्काइहालिन्थ्यो ।

नौ र दश कक्षामा बाहेक म हरेक साल प्रथम भएको छु । जताबाट घुमाएर भए पनि म प्रथम हुन्छु भने घरमा मैले किन कनिकुथी पढ्नुप-यो र भन्ने लाग्थ्यो । आमा यो कुरा बुझ्नुहुन्नथ्यो । या म बुझाउन सक्दिनथेँ । यसरी मैले आफैं पनि नपढेको नाममा घरमा सजाय पाएको छु ।

छोरालाई नांगेझार पारेर पिटेको छु
मैले आफैंले पनि घरमा होमवर्क नगरेकै कारणले छोरालाई नांगेझार पारेर पिटेको छु । ऊ युकेजीमा पढ्थ्यो, प्रज्ञाज्योति स्कुल ठमेलमा । केटाले पन्ध्र दिनसम्म होमवर्क गरेकै रहेनछ । बाबा बिरामी हुनुहुन्छ भन्दोरैछ । पछि एक दिन म आफैं गएको थिएँ स्कुलमा लिन । अनि पो थाहा पाएँ उसको कर्तुत । प्रायः म ६ बजेपछि पुग्ने भएकाले अर्को एकजना बज्यैलाई स्कुलबाट ल्याइदिन भन्थें । बिरामी पारिदिएछ म सद्धे मान्छेलाई पनि ।

त्यस दिन राति निदाउनै नसक्ने गरी पिटेँछु । आज पनि सम्झन चाहन्नँ । त्यस दिनदेखि आजसम्मै मैले छोरालाई पिटेको छैन । एकपटक छोरो दुई दिन हरायो पनि । तेस्रो दिन मात्रै भेटियो । स्कुलको झोला बोकेर पानीमा भिज्दै कहाँकहाँ गयो होला ? के भयो होला ? ‘हिप्नोटाइज’ भएको मान्छेझैं अर्कै मनोविज्ञान बोकेर भौतारिइरहेका अवस्थामा सिंहदरबारअगाडि भेटियो । अहिले पनि ऊ सम्झिन सक्तैन त्यो बेलाका कुरा । दिनभरि मैले सँगै राखें, खान्छु भनेको कुरा सबै खुवाएँ । हराएको छोरो मात्रै भेटेको थिइनँ, मेरो आफ्नो छुट्टिएर गएको मुटु भेटिएको थियो । बेलुका घरमा पुगेपछि आमाले भन्नुभयो, ‘पिट्न त पिटिनस् नि ?’

मैले मनमनै भने, ‘म पनि छोरालाई सानासाना कुरामा पिटेर एकलकाँटे बनाउन चाहन्नँ । अनाहकमा पाएको सजायको कारण म आफूमा विकास भएको मनोविज्ञान छोरालाई हस्तान्तरण गर्न चाहन्नँ । अंश त ऋण–धनको हुन्छ । कता दिनु एक्लोपनको अंश पनि ‘हेरिडिटी’को रूपमा ?’ तर, बाह्य प्रकटमा भने ङिच्च हाँसेर टारेँ । खासमा हराएको छोरो भेटिएको अपरिमित खुसीले म मात्तिएको थिएँ, लाटिएको थिएँ ।

स्कुलमा पनि सजाय पाएको थिएँ
म आफैंले पनि कठोर सजाय पाएको छु । म दुई कक्षासम्म बुबाकै स्कुलमा पढेँ । तीन कक्षा पढ्न अर्को स्कुल जानुप-यो । सिद्धेश्वरी प्राथमिक विद्यालयमा पढेको मान्छे गुप्तेश्वर माध्यमिक विद्यालय ओयाम जानुप¥यो । स्कुल परिवर्तन गर्नुपर्दाको पहिलो सजाय पाएँ मैले । सायद मैले पाएका सजायमध्ये बिर्सिनै नसक्ने सजाय ।

एकजना सर थिए, देवीचन्द्र श्रेष्ठ । उनलाई मैले देब्रे हातले लेखेको मन पर्दैनथ्यो । जसरी भए पनि दाहिने हातले लेखाउन चाहन्थे देवी सर । सायद उनी गणित र सामाजिक पढाउँथे । मैले कति गर्दा पनि नमानेपछि उनले मेरा कलिला दुई औँलाका बीचमा पेन्सिल राखे र रगड्न थाले । यति रगडे कि, तुरुक्कै पिसाब चुहियो । त्यो मुद्दा मैले घरसम्म पुर्याएँ । मेरो आरोप थियो, देवी सरले उनले आफ्नो छोरालाई प्रथम बनाउन मलाई देब्रे हातले लेख्न नदिन खोजेका हुन् ।

सातदिन जति त मलाई देब्रे हातले लेख्नै दिएनन् । पछि बुबाले त्यो कुरा लिएर ओयाम स्कुलमा कुरा उठाउनुभयो । बुबाले कुरा उठाएपछि भने मैले देब्रे हातले नै लेख्न पाउने भएँ । खै को हो कुन्नि आज याद छैन, एकजना राजाको निजी सचिव नै देब्रे हातले लेख्ने मान्छे छन् भन्ने कुरा भयो । म फुरुंग भएँ, राजाको निजी सचिवले पनि मैलेजस्तै देब्रे हातले लेख्छन् ।

हुन त मलाई नै फाइदा भयो । पछि आठ कक्षाको परीक्षाकै मुखमा मेरो देब्रे हातको कुहिनामा चोट लाग्यो । एक महिना काम्रो बाँध्नुपर्ने भयो । त्यस बेला ढुक्क भएँ, देवी सरले मेरो भात खान मात्रै काम लाग्ने दाहिने हात उद्याएर लाग्ने छुराजस्तै बनाइदिएका रहेछन् । पछि परीक्षाको एक हप्ताअघि मात्रै भए पनि काम्रो खोलियो । काम्रो नखोलिएकै भए पनि म ढुक्क थिएँ, दाहिने हातले लेखेरै भए पनि पाससम्म त हुन सक्छु । यहाँनिर आएर भने सजाय पनि प्रभावकारी देखियो । पछि नौ कक्षामा थर्पू पढ्दा पनि मैले अनाहकमा सरको कुटाइ खाएको छु । पढ्न नजानेको, होमवर्क नगरेकोजस्ता शैक्षणिक गतिविधिमा भने एकपटक पनि सजाय पाउनु परेन । नारायण कोइराला, टेकबहादुर काम्बाङ, मलगायतको साथी समूह थियो । एक दिन नारायणले मुक्तिनाथ सिवाकोटीको कलम मेरो झोलामा लुकाइदिएछ । धुइँपत्ताल खोज्दा पनि भेटिएन ।

पछि नारायण आफैंले मेरो झोलाबाट झिक्यो । मैले लामो जिकिर गरे पनि बच्ने उपाय बाँकी रहेन । पुष्प पोख्रेल सरले अफिसमा बोलाए । (पुष्प पोख्रेल आजभोलि वीरेन्द्र सैनिक स्कुल भक्तपुरमा पढाउँछन् । नातामा काका पर्छन् । तर, साइनो साथीको जस्तो छ ।) तीनवटा भाटा फुटाए । पालैपालो मर्मत गरे तीनैजनालाई । भोलिपल्ट टेकबहादुर र मैले नारायणलाई पनि बाटामा भक्कुमार बजायौँ । हामीले एकपल्ट कुटाइ खायौँ, कारणीले दुईपल्ट । अहिले सम्झिँदा पनि नारायणलाई बिनाबित्थामा कुटिएछ भनेर थकथकी लागिरहन्छ ।

Loading...
Loading...
Loading...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

काठमाडौं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा...

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको...