बेलायती सेनाको क्याम्पभित्र बौद्ध गुम्बा बनाए – Janata Live
  • Wednesday, February 8, 2023

बेलायती सेनाको क्याम्पभित्र बौद्ध गुम्बा बनाए

  • जनता लाइभ
  • मङि्सर २३, २०७५

बेलायती सेनाको क्याम्पभित्र बौद्ध गुम्बा बनाए

क्याप्टेन काजी शेर्पा,

भूतपूर्व गोर्खा ब्रिटिस सैनिक

सोलुखुम्बु–४ सल्लेरीमा जन्मिएका क्याप्टेन काजी शेर्पा, ५२ ले २४ वर्ष बेलायती सेनामा बिताए । यति लामो अवधिमा उनले थाहा पाए, बेलायतीहरूलाई साथ दिएका थुप्रै गोर्खालीहरू अन्यायमा परेका रहेछन् । आफ्नो सिंगो बैंस र पाखुरी बेलायतीहरूका लागि खर्चिएका गोर्खाली सैैनिकहरूमाथि गोराहरूको भेदभावपूर्ण व्यवहार उनलाई असह्य भयो ।

काजीले सन् २००२ मा बेलायती गोर्खाली सैनिकहरूका पक्षबाट मुद्दा लडे । गोराहरूले उनलाई रोक्न खोजे । आर्मीबाट रिटायर्ड हुनुपर्छ भन्ने धम्की दिंदै मुद्दा फिर्ता लिन दबाब दिए । तर उनले हार खाएनन् । बरु मुद्दा जित्न १० हजार पाउन्ड (१३ लाख) खर्चिए । अन्ततः सन् २००७ मा उनले लडेको मुद्दा जितेरै छाडे । बेलायतको मिनिस्टर अफ डिफेन्स अन्ततः गोर्खाली सैैनिकहरूमाथिको टर्म एन्ड कन्डिसन फेर्न बाध्य भयो । यसपछि गोर्खाली सैैनिकहरूले गोराहरूसरह सुविधाहरू पाउन थाले । सन् १९९७ देखि बेलायती सेनामा भर्ती हुने नेपालीहरू यतिबेला बेलायती नागरिकता, तलब, सुविधा, पेन्सन पाउन थालेका छन् । त्यसका पछाडि काजीकै मिहिनेत, अठोट र संघर्ष लुकेको छ ।

त्यसैको प्राप्तिका लागि उनले सन् २००३ मा हुँदाखाँदाको जागिरसमेत छाड्नुप-यो । ‘मैले गरेको संघर्षले धेरै फाइदा पुग्छ भने किन नगर्ने ?’ हालै काठमाडौंमा भएको एक भेटमा उनले भने, ‘नेपालीहरू कहिलेसम्म हेपिइरहने ?’ उनको अनुमानमा बेलायतमा १ लाख ५० हजार गोर्खाली सैैनिकहरू छन् । एक्लो ब्यक्तिको प्रयासले यति ठूलो संख्याले सुविधा पाउँदा उनलाई खुसी नलाग्ने कुरै भएन । नोकरीको माया मारेर नलागेको भए गोर्खाहरूले पुरानै नियति भोग्न बाध्य हुने थिए । ‘कि वार कि पार होस् भन्ने चाहें,’ काजी सुनाउँछन् ।

उमेरले ५२ वर्षको उकालो लागे पनि काजीमा शारीरिक, मानसिक थकान भेटिंदैन । उत्तिकै जोशिला देखिन्छन् । हाल बेलायतकै सुरक्षासँग सरोकार राख्ने एक संस्थामा उनी कार्यरत छन् । गोर्खाली सैैनिकहरूका पक्षमा मुद्दा लड्ने क्रममा जागिर छाडेपछि उनले पछि तीन ठाउँमा एप्लाई गरे । तीनवटै ठाउँबाट उनले जागिरको निम्तो पाए । अहिले काम गरिरहेको संस्थामा ४२ हजार आवेदकहरू थिए । तीमध्ये २६३ जना छानिए । जसमध्ये काजी पनि एक हुन् । ६ महिना तालिम लिएपछि उनी बेस्ट अफिसरका रूपमा सम्मानित बने ।

सन् २००७ मा उनले स्थापना गरेको द बुद्धिस्ट कम्युनिटी सेन्टरमा पनि उत्तिकै सक्रिय छन् ।बेलायतको सरेमा गुम्बा बनाउन, लामा गुरु राख्न पहल गर्ने उनै काजी हुन् । बेलायतका रक्षामन्त्रीलाई आग्रह गर्दा सुरुमा मन्त्रीले पत्याएका थिएनन् । पछि सर्वेक्षण गर्दै जाँदा बेलायती सेनामा थुप्रै बुद्धिस्टहरू पाइयो । अन्ततः गुम्बा बनाउने काजीको सपना पूरा भयो । अहिले ब्रिटिस आर्मी फोर्सको क्याम्पभित्र गुम्बा छ, जहाँ  एकजना लामा र एकजना हिन्दु पण्डित छन् ।

नेपाली झझल्को दिने गुम्बा यी गुरुहरूले प्रवचन दिने गर्छन् । बिहानै ८ बजेदेखी ड्युटीमा खट्ने साँझ ६ बजे मात्र फर्किन्छन् । काजी सोलुखुम्बुको जनजागृति मावि, सल्लेरीमा अध्ययनरत छँदा बेलायती सेनामा छनोट गर्न केही बेलायती र नेपालीहरू आएका थिए । उनलाई पनि लाहुरे हुने इच्छा थियो । ‘तिमी युवा छौ भर्ती हुन्छौ ?’ भनेर सोधे । उनलाई पनि पढाइमा भन्दा लाहुरे बन्नमा बढी रहर लाग्यो । टेस्ट परीक्षा मात्र दिएका उनको ९ कक्षामै पढ्दा याङ्डी शेर्पासँग विवाह भयो । यसैबीच एसएलसी दिन नपाउँदै उनी लाहुरे बन्ने दौडमा लागे । त्यो बेला धरानमा लाहुरे छनोटको सेन्टर थियो ।

सोलुखुम्बुबाट चार दिन लगाएर उदयपुरको कटारी पुगेपछि काजीले जीवनमा पहिलोचोटि गाडी देखे । बीचैमा ट्रक पल्टियो । धरान जाने तयारीमा हिंडेका उनी पहिलोचोटि नै दुर्घटनामा परे । धरान पुग्दा उनलाई नौलो लाग्यो । उनी आश्चर्यमा परे । सोलुको विकट गाउँमा हुर्केका उनी एकैचोटि धरानजस्तो सहरको झिलिमिली बिजुली, पक्की मोटरबाटो, ठूलो बजार, अग्ला भवनहरू देख्दा छक्क परे । सेनामा भर्ती हुन ४ हजारको भीड थियो । तीमध्ये ७ सयजना छानिए । काजीको मन खुसीले भरियो । उनी पनि अब बेलायती सेनाका लागि पक्का भए ।

काजी केहीपछि काठमाडौंबाट हङकङ उडे । ९ महिना हङकङ बस्दा उनले लडाइँका लागि चाहिने सबै कुरा सिके । यस तालिमले हातहतियार, नक्सा, लडाइँमा प्रयोग हुने भाषा तथा सञ्चारलगायत धेरै कुरा सिइकायो । यसपछि उनी राइफल म्यानका रूपमा ब्रुनाई हानिए । उनलाई हङकङभन्दा ब्रुनाई एकदम शान्त लाग्यो । ‘हङकङ चाहिं व्यस्त सहर हो ।’ उनले भने, ‘विकसित भए पनि गाउँजस्तो लाग्यो । त्यहाँ  रहँदा कसरी जंगलभित्र बाँच्न सकिन्छ भन्ने सिकियो ।’ ब्रुनाईमा एक हजार सेनाहरूको डफ्फा थियो । ६ महिने ब्रुनाईपछि फेरि पल्टन हङकङमै स¥यो । त्यहाँ  रहँदा उनलाई आमा, बुबा, परिवार र साथीभाइको यादले खुब सताउँथ्यो । ‘मनै कस्तो हुन्थ्यो ।’ उनले केही सम्झेजस्तो गरेर भने, ‘नेपालको घर, गाउँ, हिमाल खुब मिस गर्थें ।’

संयोगवश काजीले नेपाल खुब मिस गरेकै बेला नेपाल आउने मौका पाए । धरानको ब्रिटिस गोर्खा क्याम्पमा उनले सेवा गर्ने मौका पाए । र, पछि पोखराको ब्रिटिस गोर्खा क्याम्पमा बसेर उनले सेवा गरे । विदेश बस्दा नेपाल खुब मिस गरेका उनी स्वदेशमा बस्दा विछट्टै खुसी भए । आर्मीको जागिर त्यही पनि टुंगो थिएन । पुनः उनले बेलायत फर्किनुप-यो । त्यहाँ रहँदा जुनियर लिडरसिप ट्रेनिङ (जेएलसी) तालिम लिएका उनले त्यो पनि पास गरे । १ सय ११ जनामध्ये उनी दोस्रो स्थानमा आउन सफल भए । फलस्वरूप उनको सेक्सन कमान्डरमा प्रमोसन भयो । खाली बस्न नरुचाउने उनी निरन्तर केही सिक्न, बुझ्न चाहन्छन् । एउटा प्रमोसन हुनेबित्तिकै त्यही सफलतामा उनी रमाएर बसेनन् । लगत्तै सिनियर लिडरसिपको कोर्स गरे । त्यसमा पहिलो स्थान ल्याउन सफल बने । हङकङ उनले इन्स्ट्रक्टरका रूपमा पढाउने कामसमेत गरेका थिए ।

काजीले प्लाटुन कमान्डरको जिम्मेवारी पनि सम्हाले । नेपालका आर्मी अफिसरहरूलाई तीन महिनासम्म तालिम प्रदान गरेको अनुभव पनि उनीसँग छ । सेनाको जीवनमा जोखिम नआउने कुरै आउँदैन । उनले पनि संकट र जोखिमको सामना गरेका छन् । त्यसको उदाहरण हो, ब्रुनाईमा रहँदाको क्षण । सन् १९९९ को घटना हो । त्यही बेला पूर्वी टिमोर र इन्डोनेसियाबीच युद्ध चर्कियो । त्यो ठूलो समस्याको सामना गर्न र पुर्वी टिमोरस्थित अन्तर्राष्ट्रिय एयरपोर्ट र युएनलाई सुरक्षा दिन काजीसहित ५६ जनाको टोली त्यता खटियो । अन्तर्राष्ट्रिय एयरपोर्ट र युएन कम्पाउन्डको दूरी ३० मिनेट मात्र थियो । उनको टोलीले आफ्नो ड्युटी निभायो । सबै घरहरू ध्वस्त थिए । जताततै आगो लगाइएको दृश्य मात्र देखिन्थ्यो । एकपटक लस प्यालेस जाँदा त एम्बुसमा समेत परेछन् । त्यस घटनामा १० जना इन्डोनेसियनहरूले ज्यान गुमाए । चार महिनाको मिसन सफल भएपछि काजी बेलायत फर्किए ।

बेलायतको उत्कृष्ट कलेजमा गनिने रोयल मिलिटिरी एकेडेमी सेन्टरमा उनले पढ्ने मौका पाए । संसारका हरेक देशका सुरक्षा निकायका उच्च पदस्थ व्यक्तिहरू सेनापति बन्नुअघि यसै कलेजमा तालिम लिने गर्छन् । कसरी सेनाको अफिसर बन्नेबारेमा यस कलेजले तालिम प्रदान गर्ने गर्छ । सोलुखुम्बुको सल्लेरीस्थित जनजागृति माविमा एसएलसीसमेत दिने मौका नपाएका काजी यहाँ पढ्न पाउनु ठूलो भाग्य ठान्छन् । पहिले राम्रो पढ्न पाएको भए अर्काको देशमा यति संघर्ष गर्न पर्थेन कि जस्तो उनलाई लाग्छ । तैपनि जीवनप्रति कुनै गुनासो छैन । जीवनमा कुनै कुरा चिरस्थायी हुँदैनन् भन्ने उनलाई राम्रोसँग थाहा छ । कहिलेकाहीं त जीवन नाटकजस्तो पनि लाग्छ उनलाई ।

‘म एकदमै खुसी छु ।’ संसारका २२ वटा देश घुमेका काजी भन्छन् । ‘अझै मसँग उत्तिकै ऊर्जा छ ।’ हाल बेलायतको सरेमा आफ्नो परिवारको साथमा बसिरहेका उनी नियमित मेडिटेसन, योग गर्छन् ।

बिहानै ५ बजे ब्युँझेपछि उनी एक घन्टा मेडिटेसन गरेपछि चिया, खाजा खान्छन् । फुर्सदमा गल्फ, टेनिस, स्नुकर खेल्छन् । सुरक्षा, राजनीतिबारे चासो राख्ने उनी ठूलो नेताहरूका बायोग्राफी पढ्न चाख राख्छन् । नेल्सन मण्डेला र दलाई लामाका पुस्तकहरूले उनलाई बढी छोएका छन् । फिल्म हेर्नुभन्दा जंगली वन्यजन्तुबारेका डकुमेन्ट्री हेर्नमा पनि उनलाई बढी रुचि छ । १५ वर्ष हङकङ बसेका उनलाई घुम्नमा उनलाई ठूलो सोख छ । सी फुडहरू चाख्न उनलाई विशेष मनपर्छ । लगाउनमा भने त्यति ठूलो रहर छैन ।

अरूका लागि सहयोग गर्न बढी रुचाउने काजी सामाजिक सेवामा सधैं अग्रसर हुन्छन् । अरूका लागि केही गरेमा ढिलोचाँडो अवश्य केही पाइन्छ भन्ने उनको विश्वास छ । ‘तपाईंले थालेको काम सही नियतले सुरु गरेको हुनुपर्छ ।’ यति भनेर उनले वाक्य टुंग्याउँदा उनको मुहार उज्यालो देखियो । सायद त्यही सकारात्मक सोचले हो कि ?

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

देउवालाई ओलीको चुनौती : निर्वाचनमा ‘लाइभ डिबेट’ गर्न तयार छु

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’...

सन्दीपलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको...

राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...