पहराको ओठमा कलाको मुस्कान – Janata Live
  • Sunday, February 5, 2023

पहराको ओठमा कलाको मुस्कान

  • जनता लाइभ
  • मङि्सर १८, २०७५

पहराको ओठमा कलाको मुस्कान

संंसारमा सुन्दर चिज कति होलान् ? सुरुमा त थुप्रै छन् जस्तो लागिहाल्छ । गनेर पु-याउने हो भने पक्कै हामीलाई औंला नै कम पर्छन् । जस्तैः आकाश, धर्ती, फूल, चन्द्रमा, रुख, गाउँ । अनि ! अनि के के ? त्यसपछि हाम्रो मस्तिष्कलाई सुन्दर चिज खोज्न गाह्रो भइ नै हाल्छ । त्यसपछि लियोनार्दो दा भिन्चीको शब्दलाई सापटी लिएर भन्नैपर्ने हुन्छ, कला, कला, अनन्त कला ।

संसारलाई सुन्दर बनाइराख्नका लागि र सुन्दर चिजहरूको सुचि थपिरहनका लागि कलाकार आफ्नो कला प्रस्तुत गर्छन् । कविहरू कविता लेख्छन्, गायकहरू गीत गाउँछन्, मूत्र्तिकारहरू मूत्र्ति बनाउँछन् आदि आदि । यसरी नै ती महान हस्तीहरूले संसारलाई आदिम युगदेखि सिँगारिरहेका छन् । हो त्यसपछि थपिन्छन् हाम्रा मस्तिष्कको सुचीमा सुन्दर चिजहरूका फेहरिस्त । राम्रा राम्रा मूत्र्ति, सुन्दर सुन्दर भवन, सुन्दर चित्र, सुन्दर घर अनि त्यसपछि तयार हुन्छ मस्तिष्कमा निकै लामो फेहरिस्त सुन्दर चिजहरूको ।

सन् २०१७ सेप्टेम्बर । एकदमै कमैले ख्याल गरेको मिति । अर्थात् नेपाली अखबारहरूले कमै प्राथमिकता दिएका थिए त्यस दिनलाई । जतिखेर नेपाली माटोका खास केही बिरुवाहरू कतै लम्किरहेका थिए । केही होनाहार युवाहरू विशेष लक्ष्य बोकेर चढेका थिए चिलगाडी । हुन त दिनहुँजसो ओर्लन्छन् कम  र उक्लन्छन् ज्यादा । हाम्रा युवाहरू । काठमाडौैको पशुपति माष्तिरको फाँटबाट । त्यही फाँट जहाँ इतिहासमा युवाहरू बिहान गाई चराउन जान्थे र बेलुका फर्कन्थे रे ।

आजकाल त्यहाँ युवाहरू गाई चराउन जाँदैनन् । जान्छन् त अरू नै कामका लागि तर बेलुका फर्किंदैनन् । कोही कोही त निदाएर फर्कन्छन् अनन्तकालका लागि । सन् २०१७ को सेप्टेम्बरमा त्यही भिडबाट एक प्रतिभाशाली अनुहारले आफ्नो दलको नेतृत्व गर्दै संसार सुन्दर बनाउने उत्साहसहित काटे क्षितिज, बादलको बीचबाट ।

तामझाम थिएन त्यहाँ । किनकि उनी कसैलाई निहित विषयका लागि लडाउने मान्छे थिएनन् । उनी त थिए छिनो र मार्तोल चलाउँदै ढुंगामा प्राण भर्ने स्वप्नकर्मी । अर्थात् ललितकलाकर्मी मञ्जुल मितेरी । जो ढुंगासँग मितेरी गाँस्छन् र त्यस्ता थुप्रै पथ्थरमनाहरूलाई पगाल्छन् । पथ्थरमा मुस्कान भरिदिन्छन् र मुस्कुराउन बिर्सिएकाहरूलाई बुझाउँछन् मुस्कानको दर्शन । मञ्जुल बराइलीले उत्तरी मोरङको टाँडीमा आजभन्दा ३८ वर्षअगाडि टेकेका हुन् धर्ती पहिलोपटक । उनको जविनका सुरुवाती दिन आफैंमा निकै कष्टकर भएको बताउँछन् उनी ।

हुन पनि टाँडी मोरङ जिल्लाको उत्तरी गाउँमध्येको गाउँ हो । मोरङको अधिकांश भुभाग तराई भए पनि टाँडी भने अलग किसिमको भुभाग छ । अर्थात् अलि विकट र पहाडी भुभाग पर्दछ त्यो । त्यस्तो ठाउँमा जन्मिएका हुन् मितेरी । निकै अप्ठ्यारो भुगोल र २०३७ साल वरिपरिको नेपाल भन्नेबित्तिकै स्वभाविकरूपमा दुःख लगभग पर्याय नै भइहाल्छ । त्यसमा पनि नेपाली वर्णव्यवस्थाले बेस्सरी थिल्थिलो बनाएको समयमा बाँचेका उनी । र उनको पछाडि जोडिएको बराइली तत्कालीन समाजले अस्वभाविकरूपले हेर्ने परिचय थियो । अर्थात् समाजको सतहसम्म उक्लन पनि कष्टको पहाड उक्लेका हुन उनले ।

मानिसहरूको संस्कृतिले मान्छेको सौन्दर्यमूल्य निर्धारण गरि नै हाल्छ । मूत्र्तिकारहरूमा पनि त्यो समस्या आउने उनी बताउँछन् । ‘जस्तो कि इन्डियनहरूले बनाएको मूत्र्तिको अनुहारमा उनीहरूकै मान्छेहरूको जस्तो झल्को, चाइनिजहरूको मङ्गोल अनुहार, अफ्रिकनहरूको आफ्नै अनुहारको कहीँ न कहीँ बनि नै हाल्छ,’ उनी भन्छन् । चिनियाँहरूको सौन्दर्यमूल्यका आधारमा १३०० वर्षअगाडि लङमेन ग्रोटोज बनाइएको हो, जुन बुद्धको एकदमै आकर्षक मूत्र्तिहरूमध्येमा पर्छ । उनी भन्छन्, ‘यदि हामीले हाम्रो सौन्दर्यमूल्यका आधारमा बनायौं भने त्यो लङमेन ग्रोटोज हुँदैन । त्यसैले यो हाम्रा लागि गम्भीर जिम्मेवारी हो ।’ 

‘मैले १२ वर्षको उमेरदेखि ढुंगाका सानासाना मूत्र्ति बनाउन थालेको हुँ,’ उनी भन्छन् । उनले विद्यालयको पुस्तकमा पढ्नु पथ्र्यो अरनिको । निकै आकर्षित ग¥यो मञ्जुलको कलिलो मस्तिष्कलाई अरनिकोको जीवनीले । अरनिकोबाट प्रभावित भए उनी र सुरु गरे उनले पथ्थरमा जीवन खोज्न । १२ वर्ष अर्थात् मञ्जुलले कक्षा ६ मा पढ्दादेखि नै सुरु गरेका हुन् ढुंगाहरूमा अनुहार उतार्न । ‘त्यसपछि मलाई बुबाले सधैं प्रेरणा दिनुभयो,’ उनी भन्छन् । मूत्र्तिकलाको औपचारिक शिक्षा नै नलिएका उनी आफ्नो कलालाई निखार्नका निम्ति एसएलसीपछि काठमाडौं आए । करिब दुई वर्ष यहाँका मूत्र्तिकला केन्द्रहरूमा आफूलाई तिखार्न कार्यरत रहे । त्यसपछि फर्किए पूर्व, आफ्नै थातथलो । २० वर्षीय ठिटो थिए उनी । मूत्र्ति बनाउने र आफ्नो कलाकारिताको शोख पूर्वमै पुरा गर्ने सोच लिएर फर्किएका थिए । उनले वि. सं. २०५८ सालमा उर्लाबारीमा आफ्नो मूत्र्तिकला केन्द्र स्थापना गरे ।

एक हिसाबले त्यो समयमा पूर्वमा मूत्र्तिकला केन्द्र एउटा दुस्साहस थियो । ‘त्यतिखेर पूर्वमा मूत्र्तिको बजार नै थिएन । मान्छेहरू मूत्र्तिका लागि कि त काठमाडौं जान्थे, कि त भारत जान्थे ।’ उनी भन्छन् ।

अलि होचो कदका उनी कुरा गर्ने क्रममा निकै गम्भीर देखिन्छन् । उनको अनुहारमा गम्भिरताको ‘नेप्से’ उच्च विन्दुमा नै देखिन्छ । कुराकानीका क्रममा मुस्कुराउँछन् तर मुस्कुराहटमासमेत शालिन गाम्भीर्य मिसिन आइपुगिहाल्छ । निकै गम्भीर पुस्तकजस्तो बन्न पुग्छ उनको अनुहार । उनको सदाबहार अनुहार हो यो ।

‘५०० रुपैयाँ कोठाभाडा थियो त्यतिबेला । तर त्यो पैसा पनि तिर्न सकिँदैन थियो,’ उनी भन्छन् । आफ्नो मूत्र्तिकारिताको संघर्षका कथा सुनाउँदै उनी भावुक हुन्छन् । ‘टाँडीबाट बसमा ढुंगा लिएर आउँथ्यौं बोकेर कोठासम्म पु¥याउँथ्यौं । हाम्रो सुत्ने कोठा पनि त्यही थियो । दिनभरि मूत्र्ति बनाउने र बेलुका भएपछि बढारेर त्यहीँ सुत्थ्यौं ।’ त्यस समयमा आफ्नी जीवन संगिनीको अपार सहकार्यको उनी सम्मान गर्दछन् । ‘कोठाभाडा हुँदैनथ्यो, चामल हुँदैनथ्यो । थोरै चामलको खोलेभात बनाएर खान्थ्यौं र सुत्थ्यौं,’ उनी भन्छन् ।

उनीसँग एउटा लक्ष्य थियो । संकोचका कारणले आफ्नो लक्ष्य भने घोषणा गर्न सकेका थिएनन् । आफैं संकटमा थिए । उनी अहिले सुनाउँछन्, ‘म त्यस्तो संकटको अवस्थामा पनि किन विचलित हुन सकिँन भने मैले आफैंसँग एउटा संकल्प गरेको थिएँ । त्यो के भने १००० ओटा मुत्र्ति राष्ट्रलाई उपहार दिने ।’

एउटा २० वर्षीय कलाकारको त्यो अदम्य लक्ष्य साँच्चै गजबको संकल्प थियो । यदि त्यस्तो लक्ष्य नहुँदो हो त सायद यिनी पनि आम नेपाली युवाजस्तै बाँच्थे होला । उनको समयका अधिकांश युवा वैदेशिक रोजगारीका निम्ति खाडी ओर्लन्थे । यिनलाई त्यसो गर्न उनको लक्ष्यले दिएन । उनी सुनाउँछन्, ‘वर्षमा १÷२ ओटा मूत्र्तिको अर्डर आउँथ्यो । त्यही पैसा बचाएर भाडा तिर्थें र अन्य कुराको जोहो गर्थें ।’ त्यसैबीचमा उनीभित्रको लक्ष्यका मूत्र्ति कुँदिरहे निरन्तर । उनको उत्कट संकल्पलाई छेकेन खाली पेटले । वि. सं. २०६२/६३ सालमा अबचाहिँ बोल्ने समय आयो भन्ने लागेर बोलेको उनी बताउँछन् ।

उनले त्यतिखेर घोषणा गरेका हुन्, विभिन्न महत्वपूर्ण १००० ओटा मूत्र्ति राष्ट्रलाई उपहार दिने । यतिखेर अहिले उनीसँग लगभग २०० मूत्र्ति तयार भइसकेको सुनाए । ‘त्यो समय मेरो लागि मेडिटेसनको समय थियो । त्यही भएर पनि मैले त्यस्तो अभावका बीचमा पनि निरन्तर काम गरिराखें,’ उनी लामो सास फेर्दै भन्छन् । चरम अभावमा पनि उनलाई आफ्नो संकल्पले निरन्तर ढुंगाहरूलाई ढुंगा मात्र होइन त्यहाँ अनुहार देखाइरह्यो । ‘अरू कुनै रहर नै थिएन मसँग । म त एउटै कुरा सोचिरहन्थे कि म कसरी मेरो वाचा पुरा गरूँ,’ उनी त्यतिखेरका दिन सम्झिँदै भन्छन् ।

आफू बसेको बेञ्चबाट थोरैपछि तन्किँदै केही लामो सास फेर्छन् उनी । अनुहार अलि गम्भीर बनाउँछन् र शालीन पारामा भन्छन्, ‘अहिले पनि दुःख त छ तर पहिलाको जति भने छैन ।’ उनको बोल्ने शैली निकै फरक छ । जति सुकै लामो प्रश्नको पनि लगभग छोटो उत्तर दिनु र बिस्तारै भन्नु उनको शैली रहेछ । आम भाषामा भन्ने हो भने उनी बोली कम खर्च गर्दारहेछन् । सायद उनी बाँकी संवाद मूत्र्तिहरूसँग गर्दा हुन् ।

यति खेर जापानको कुमामोतो जिल्लाको खामी आमाकुशा शहरमा बिशाल पहरमा गौतम बुद्धको मूत्र्ति खोपिइरहेको छ । त्यहाँ आफ्नो जादूमयी छिनो चलाइरहेका छन् मञ्जुल मितेरी । चलाइ मात्र रहेका छैनन् बाँकी अन्य साथीहरूको नेतृत्वसहित निर्देशन पनि गरिरहेका छन् । समुन्द्रले हजारौं वर्ष लगाएर बनाएको कडा चट्टान खोपिरहेका छन् उनी । ‘यो मूत्र्ति पछिल्लो २०० वर्षमा निर्मित विश्वको सबैभन्दा ठूलो बुद्धको प्रस्तर मूत्र्ति हो,’ उनी भन्छन् ।

यसरी बुझ्दा उनी मूत्र्ति मात्र होइन इतिहास पनि खोपिरहेका छन् । नेपाली जातिको निम्ति यो एउटा गर्व गर्नलायक कुरा हो । अर्थात् मञ्जुलहरू यो संसारलाई सुन्दरताको एउटा चिज थपिरहेका छन्, जो नेपाली हुन् । त्यो विशाल पहरामा जम्मा गरेर ७ ओटा मूत्र्ति बनिरहेका छन् । चार अनुहार प्रस्तुत गरिरहेका छन् आफ्नो कला । ती सबै नेपाली हुन् । काभ्रेका सानुभाइ बिश्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित र मोरङका गणेश राई । त्यो कुरुप पहरालाई बुद्ध बनाउन मञ्जुल मितेरीलाई सहयोग गर्ने अभिभारा छ उनीहरूको काँधमा ।

गौतम बुद्ध शान्तिका प्रतीक हुन् । चीन धेरै बौद्ध धर्मावलम्बी भएको मुलुक हो । यो भूमि इतिहासदेखि बौद्ध धर्मालम्बीहरूको जानेमाने भूमि हो । त्यहाँका शासकहरूले बुद्धका थुप्रै किसिमका मूत्र्तिहरू बनाउन लगाए । आफ्नो बैभवको प्रतिस्पर्धाको प्रस्तुति गर्ने त्यो चलन सायद त्यो समयको खास थियो ।

त्यस्तैमा बन्यो करिब १३०० वर्षअगाडि चीनको हेनान प्रोभिन्समा बुद्धको गहिरो शान्त मुद्राको मूत्र्ति । त्यस प्रस्तर मूत्र्तिको नाम राखिएको थियो, लङमेन ग्रोटोज । यी मूत्र्तिहरूको शिल्पशैली परम्पराको दुर्लभ मूत्र्ति मानिन्छ । फेरि मानव सभ्यताको समयदेखि मानिसहरू एउटै चिजबाट आक्रान्त छन् । त्यो हो युद्ध । त्यस्तै भयो त्यहाँ पनि । उक्त लङमेन ग्रोटोज ४०० वर्षअगाडि प¥यो मुगलहरूको आक्रमणमा । मुसलमान सैनिकहरूको विजयको हर्षउल्लासको शिकार बन्यो त्यो बुद्धको शान्त शालिक । अहिले त्यो मूत्र्ति आधा मात्र अस्तित्वमा छ ।

मञ्जुलहरू अहिले त्यही मूत्र्ति पुर्नजीवित गरिरहेका छन् । कडा चट्टानी पहरामा झुण्डिएर त्यसलाई खोप्नु आफैंमा निकै बढी परिश्रमको कार्य हो । त्यो कार्य आफ्नो र राष्ट्रको प्रतिष्ठासँग जोडिएको उनी बताउँछन् । ‘मूत्र्ति बनाउनु भनेको चट्टानमा बढी भएको भाग फाल्ने र बाँकीलाई कौशलले भर्नु हो’ उनी भन्छन् । ग्रान्डर, ड्रिल, कटर मेसिन, छिनो र मार्तोल प्रयोग गरिरहेका छन् पहरामा झुण्डिएर मञ्जुलहरू । त्यत्रो ठूलो ऐतिहासिक जिम्मेवारी आफ्नो काँधमा रहेको कुरा बेलाबेला उनी आफैंलाई विश्वास लाग्दैन । भन्छन्, ‘यत्रोकाम म आफंै गरिरहेको छुजस्तै लाग्दैन ।’

मानिसहरूको संस्कृतिले मान्छेको सौन्दर्यमूल्य निर्धारण गरि नै हाल्छ । मूत्र्तिकारहरूमा पनि त्यो समस्या आउने उनी बताउँछन् । ‘जस्तो कि इन्डियनहरूले बनाएको मूत्र्तिको अनुहारमा उनीहरूकै मान्छेहरूको जस्तो झल्को, चाइनिजहरूको मङ्गोल अनुहार, अफ्रिकनहरूको आफ्नै अनुहारको कहीँ न कहीँ बनि नै हाल्छ,’ उनी भन्छन् । चिनियाँहरूको सौन्दर्यमूल्यका आधारमा १३०० वर्षअगाडि लङमेन ग्रोटोज बनाइएको हो, जुन बुद्धको एकदमै आकर्षक मूत्र्तिहरूमध्येमा पर्छ । उनी भन्छन्, ‘यदि हामीले हाम्रो सौन्दर्यमूल्यका आधारमा बनायौं भने त्यो लङमेन ग्रोटोज हुँदैन । त्यसैले यो हाम्रा लागि गम्भीर जिम्मेवारी हो ।’

यो जिम्मेवारी यिनलाई त्यसै भने आइपुगेको होइन । केही समयअगाडि यिनले एउटा मूत्र्ति बनाएका थिए । मूत्र्तिको नाम थियो घाइते बुद्ध । युद्धले ग्रस्त नेपालको प्रतिबिम्बको रूपमा बनाएका थिए उनले यो मूत्र्ति । जुन मूत्र्तिमा बुद्ध चोटग्रस्त थिए । अर्थात घाइते थिए बुद्ध । त्यसपछि उनलाई प्रस्ताव आयो, ४०० वर्षअगाडि घाइते भएको लङमेन ग्रोटोजलाई उपचार गर्ने । यसले उनलाई जपान पु¥यायो । ‘हामी ४०० वर्षअगाडि घाइते भएको लङमेन ग्रोटोजलाई उपचार गरिरहेका छौं,’ उनी पुःन गम्भीर हुँदै भन्छन् ।

निकै ठूलो संयोग मान्नुपर्छ ४ शताब्दीसम्म उपचारको सम्भावना नखोजिनु । अहिले आएर सम्भावनाको खोजी गरिनु । अनि नेपाली मूत्र्तिकारहरूले नै यो जिम्मा पाउनु । त्यसमा पनि यी गम्भीर र शान्त चेहेराको कारिगरीमा । यो ऐतिहासिक कारिगरी गरिरहेका छन् मञ्जुल मितेरी । २०१७ को सेप्टेम्बरदेखि सुरु गरेका हुन् उनले पहरालाई ध्यानमग्न बनाउन । ‘अब यो सकिन ६ वर्ष लाग्छ,’ उनी भन्छन् ।

यतिखेर उनी निकै गम्भीर छन् । भन्छन्, ‘मेरो जीवनमा खासै ठूलो लक्ष्य छैन अब । जापानको काम सक्ने र मेरो आफ्नो लक्ष्यको मूत्र्ति बनाइसक्ने । लगभग १२ वर्ष लाग्छ होला मलाई ।’ युवा प्रतिभा पुरस्कार २०७२ समेत प्राप्त गरेका यी शालीन व्यक्ति आफ्नो कबुलप्रति सचेत देखिन्छन् । साँच्चै भन्नुपर्दा उनी बुद्ध बनाउन ‘बुद्धि’ प्रयोग गरिरहेका छन् ।

नेपाल यतिखेर प्रतिभा पलायनको दुस्कर बाटोबाट गुज्रिरहेको छ । यो खास नौलो भने होइन । यिनै मञ्जुल जुन अरनिकोबाट प्रभावित भएर यस क्षेत्रमा आइपुगे, तिनै बलबाहु पनि प्रतिभा पलायनको एउटा उदाहरण नै त हुन् । अरनिको अर्थात् बलबाहु (सन्, १२४५(१३०६) लाई तिब्बतका शासकले ‘स्वर्ण स्तुपा’ बनाउन बोलाएका थिए । पठाएका थिए जयभिमदेव मल्लले ।

त्यसपछि कुब्ला खाँले बोलाए चीन । अनि त उनी नेपालै फर्केनन् । अहिलेको जस्तो यातायात र सञ्चारको व्यवस्था हुँदो हो त अरनिको नेपाल फर्कन पनि सक्थे होला । १३०० वर्षअघिका ती अरनिकोका अहिलेका अनुयायी मञ्जुल मितेरी भेटिएका थिए कोटेश्वरको चिया पसलमा । छोटो समयका लागि खास काम लिएर आएका रहेछन् यी ‘अरनिको’ । अरनिकोबाट प्रभावित भएर कला सिकेका यिनको जीवनले पलायनको पाठ भने नसिकोस् । यिनी अरनिको नै बनून् तर देश फर्किऊन् । एउटा होनाहार प्रतिभा देश नै नफर्किएको कथा पढ्न नपरोस् आउने पिँढीले ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...